विकासन्युज

पाँच जना डिजेल तस्कर ट्याङ्करसहित पक्राउ

मोरङ, १ चैत । डिजेल तस्करी गर्न लागेको अवस्थामा मोरङ विराटनगरको एक पेट्रोल पम्पबाट गए राति ट्याङ्करसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नेपाल आयल निगम नजिक रहेको धिताल पेट्रोल पम्पबाट डिजेल तस्करी गर्न लागेको अवस्थामा ना४ख ४१४२ नम्बरको ट्याङ्कर र पम्पका तीन जना कर्मचारीसहित पाँच जनालाई प्रहरीले राति १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पम्पबाट ट्याङ्करमा खन्याएर डिजेल अन्यत्र लैजान लाग्दा प्रहरीले फेला पारेको थियो । प्रहरीले पम्पका कर्मचारी सुनसरी बकलौरी–३ का अन्दाजी ३०÷३५ वर्षीय सीताराम चौधरी, विराटनगर– ५ का २८ वर्षीय बजारु चौधरी, मोरङको अमरदह–८ का ३७ वर्षीय रमेशप्रसाद अधिकारीलाई पक्राउ गरेको हो । ट्याङ्करका चालक सुनसरी छिटाहा–२ का २४ वर्षीय जोगेन्द्र उराउ र सहचालक सुनसरी प्रकाशपुर–६ का २२ वर्षीय भीमबहादुर माझी पनि पक्राउ परेका छन् । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए। रासस

सांसद्को बैंक लक्करमा १४ थान गोली भेटियो, ल्हारक्याल लामा प्रहरी हिरासतमा

३० फागुन, काठमाडौं । सामान्यतय बैंकले उपलब्ध गराएको लक्करमा ग्राहकले हिरा, सुन, जाँदी लगायत वहुमुल्य सामान तथा नगद नै राख्ने गरेका छन् । एकीकृत माओवादीका विवादस्पद सा‌ंसद ल्हारक्याल लामाको इनभेष्टमेन्ट बैंकमा रहेको लकरमा गोली भेटिएको छ । दरबारमार्गमा रहेको इनभेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक गर्दा १४ थान थोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिए। ल्हारक्याल लामा अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनको सम्पत्तिमाथि छानबिन गरिरहेको थियो । छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता पुस्करले बताए । ‘बैंकमा रहेको लकर खोल्ने समयमा ल्हाक्याललाई अख्तियारले बैंकमा संगै लगेको थियो । गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । उनी मार्थि महानगरिय अपराध अनुसन्धान महाशाखाले छानविन अगाडि बढाउने भएको छ । लामालाई हातहतियार खरखजाना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता पुस्करले बताए । उनको नियुक्तीलाई लिएर त्यत्तिवेला पनि एमालेभित्र चर्को विरोध भएको थियो । पछि लामाले २ वटा नागरिकता फरक फरक नाममा लिएको प्रमाण बाहिर आएइपछि खनालले राजीनामा दिन लगाएका थिए। नागरिकता प्रकरणबाट टाढिँदै लामा एमाओवादी नजिक पुगे । एमाओवादी भित्र पनि लामालाई लिन हुन्न भनेर विरोध भएको थियो । तर विरोध पन्छाउँदै एमाओवादी अध्यक्ष प्रचण्डले लामालाई संविधानसभा सदस्यमा नियुक्त गरेका थिए।

९० अर्ब भारु ऋण डुवाएर विजय माल्या बेपत्ता

काठमाडौं, ३० फागन । विभिन्न १७ वटा बैंकको करिव ९० अर्ब भारतीय रुपैयाँ ऋण डुबाउदै भारतीय अर्बपति व्यापारी विजय माल्या बेपत्ता भएका छन् । पूर्व सांसद रहेका माल्याको बारेमा यतिबेला भारतको संसददेखि सडकसम्म खोजी भईरहेको छ । उनी भारत छाडेर तेस्रो देशमा लुकिछिपि बसिरहेको आरोप लागेको छ । विजय माल्या भारतीय संसदमा विपक्षी दलका नेताले माल्या देश छाडेर भाग्दा समेत सरकार किन मौन रह्यो भनेर प्रधानमन्त्री मोदीको आलोचना शुरु गरेपछि उनको बारेमा भारतीय सञ्चार माध्यमहरुले महत्वका साथ सामाचारहरु प्रस्तुत गरिरहेका छन् । तर माल्यले आफू भातर छाडेर नभागेको बताएका छन् । भारतीय संचार माध्यमहरुले आफ्नो बारेमा गलत प्रचार गरिरहेको दावी गर्दै युनाइटेड ब्रुअरी ग्रुपका अध्यक्ष माल्याले ट्वीटरमा भनेका छन्–संचारमाध्यमले जब खोजी शुरु गर्छ, त्यहाँ आगोमा दन्कन्छ, सत्य र तथ्य खरानीमा परिणत हुन्छन् । तर उनले भारतको अदालतको भने प्रशंशा गरेका छन् र ट्वीटेका छन–‘भारतको न्याय प्रणाली एकदमै पारदर्शी छ ।’ माल्याले आफू भारत छाडेर भागेको आरोप अस्वीकार गरे पनि भारत सरकारले उनी देशभित्र नरहेको जनाएको छ । भारतीय संसदमा जवाफ दिँदै अर्थमन्त्री अरुण जेटलीले भनेका छन्–उनको पासपोर्ट खोस्नु अघि नै उनी देश छाडिसकेका रहेछन । जेटलीका अनुसार बैंकहरुले उनीबाट ऋण उठाउन कुनै पनि कसर बाँकी राख्ने छैनन् । माल्यालाई ऋण दिएका बैंकहरुले उनी देश छाडेर भाग्न सक्ने आशंका व्यक्त गर्दै सरकारले उनको पासपोर्ट खोस्नु पर्ने माग राखेर आदालतमा निवेदन दिएका थिए । तर संघीय अनुसन्धान निकायले उनी गत हप्ता नै विदेश हिँडेको जानकारी दिएपछि घटना एकाएक चर्चामा आयो । अदालतबाट वा माथिल्लो निकायबाट उनको पासपोर्ट खोस्न वा विदेश जानबाट रोक्न कुनै आदेश आफूले नपाएको संघीय अनुसन्धान निकायको भनाइ छ । अहिले माल्या कहाँ छन् भन्ने बारे कसैले पनि प्रष्ट पारेका छैनन् । तर उनी बेलायत, अमेरिका वा फ्रान्समा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ । सञ्चार मध्यमहरुले जनाए अनुसार माल्यासँग अमेरिकाको न्युयोर्क सिटी, फ्रान्सको रिविएरा, दक्षिण अफ्रिका तथा गोवामा लगायत विभिन्न देशहरुमा कयौं आलिशान बंगलाहरु छन् । माल्याको उदय र पतन सन् १९८३ मा मदिरा व्यवसायमा प्रवेश गरेका थिए जतिबेला उनी २७ वर्षका मात्रै थिए । यो उनको पुस्तौलि पेशा हो । उनका पिता भिट्टल माल्याको हर्टअट्याकबाट निधन भएपछि बाहुको कम्पनी युवी समूहको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भए । माल्याले नेतृत्व गरेपछि युवी समूहको युनाइटेड स्प्रिट्सको कारोवार पनि बढ्न थाल्यो । उनले विश्वविद्यालय अध्ययन गरेको दक्ष जनशक्तिलाई आफ्नो कम्पनीमा प्राथमिकताका साथ भित्र्याए । भर्खरै खुला भएको भारतीय अर्थतन्त्र र बढ्दो सञ्चार माध्यमबाट उनले प्रयाप्त लाभ लिने गरी मदिराको बजारीकरण गरे । उनले सन् २००५ मा रोयल च्यालेन्ज ह्वीस्की बनाउने शाँ वालेस किने । सन् २००६ मा रामानोस भोड्का र व्यागपाइपर ह्वीस्की बनाउने कम्पनी हर्बर्टसन्स किने । सन् २००७ मा बेलायती ह्वीस्की कम्पनी ह्वाइट एण्ड मंक किने । त्यतिबेला को कम्पनी युवी स्प्रिट्स भारत मात्रै होइन विश्वको सबैभन्दा ठूलो मदिरा कम्पनी बन्यो । माल्यामा महत्वकांक्षा बढ्दै गयो । आफूलाई मदिराको वादशाह मात्र होइन, भारतको उद्योगपतिका रुपमा स्थापित गर्न चाहे । उनले त्यसका लागि इन्जिनियरिङ, फर्टिलाइजर, टेलिभिजनदेखि चार्टर्ड विमान कम्पनीहरुमा लगानी गरे । उनले चार्टर्ड विमान सेवापछि किंगफिशर एयरलाईन्स सुरु गरे । विजय माल्य जीवनी ‘द बिजय माल्या स्टोरी’ किताव लेख्ने गिरीप्रकाशका अनुसार किंगफिशर एयरलाईन्समा उनले पानी जस्तै पैसा बगाए । किंगफिशरलाई उनले फ्लाइग फाइव स्टार होटलका रुपमा चिनाउने प्रयास गरे । किंगफिशरमा मोडललाई एयर होस्टेसका रुपमा लिइयो, यात्रीका लागि विदेशबाट महँगा पत्र पत्रिका मगाइए । कसैको प्लेन छुटे उसलाई अर्को एयरलाइन्सबाट समेत पठाउने व्यवस्था गरियो । यही बेला पेट्रोलियमको मूल्य महँगो भएको थियो । यो सबैको असर कम्पनीको मुनाफामा पर्यो । सन् २०१२ मा किंगफिशर एयरलाईन्सका कर्मचारीले तलव नपाए पछि हड्ताल गरे । आयकर विभागले एयरलाईन्सको अकाउण्ट सिज गर्यो, एयरलाइन्स बन्द भयो । अक्टुवरमा सरकारले किंगफिशर एयरलाइन्सको लाइसेन्स सस्पेन्ड गरिदियो । उनले अनेक प्रयासपछि पनि किंगफिशर एयरलाईन्सलाई व्युँताउन सकेनन् । एयरलाइन्स बन्द भएपछि कम्पनीमा दायित्व माथि दायित्व थपिंदै गयो। कम्पनी बन्द भएपनि अहिलेसम्म एयरलाइन्समा १५०० भन्दा बढी कर्मचारी पेरोलमा छन् । ऋणको साँवा र व्याज बढ्दै गएको छ । समयमा कर चुक्ता नगर्दा त्यसको भार पनि थपिंदै गएको छ । हाल उनले भारतका विभिन्न १७ बैंकलाई करिव ९० अर्ब ऋण तिर्नुपर्ने देखिएको तर उनी बेपत्ता भएको विषयलाई भारतीय सांसद गम्भिर रुपमा उठाईएको छ । बैंकले कम्पनीलाई दिएको ऋण कम्पनीबाट नै उठाउन माल्याले चुनौति दिदै आएका छन् । ‘बैंकबाट मैले ऋण लिएको होइन ऋण किंगफिशर एयरलाइन्सले लिएको हो । त्यसैले पैसा पनि मेरो व्याक्तिगत सम्पत्तीबाट होइन किंगफिशरबाटै असुल गर ।’ उनको सम्पत्ति खोजी गर्न, सम्पत्तिहरु जफत गर्न र कर्जा असुलीमा सहयोग गर्न भारतीय बैंकहरुले सरकारलाई दवाव दिदै आएका छन् । माल्याले बैंकबाट लिएको कर्जाबाट निजी सम्पत्ति जोडेकोले उनको सम्पत्ति खोजी गरि जफल गर्नुपर्नेमा सञ्चार माध्यमहरुले जोड दिदै आएका छन् । सञ्चार माध्यम माल्याप्रति आक्रामक हुँदै उनको सम्पत्तिबारे प्रश्नहरु गर्न थालेपछि माल्याले ट्वीटरमा भनेको छन्–‘मेरो सम्मत्ति पार्लियमेन्र्टी डिस्क्लोजरमा उल्लेख गरिएको छ ।’ उनी सभासद हुँदा आफ्नो सम्पत्ति घोषणा गरिएको र त्यहि नै आधिकारी भएको उनको दावी छ । एजेन्सीहरु

सेयर बजार उच्च विन्दुमा, धितोपत्र बोर्ड भन्छ-लगानीकर्ता होसियार !

काठमाडौं, ३० फागुन । सेयर बजारको मूल्य मापक नेप्से विहीबार ११.४९ अंकले बढेर १३१८ पुगेको छ । यो अहिलेसम्मकै उच्चतम विन्दु हो । विहीबारको सूचकका आधारमा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको सेयर विक्री योग्य मूल्य १४ खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ हो । यो रकम नेपाली कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)को करिव ७१ प्रतिशत हो । सोही दिने नेपाल धितोपत्र बोर्डले सर्वसाधारण सेयर लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले अर्थतन्त्रका आधारभूत परिसूचकको अवस्था सन्तोषजनक नभएको अवस्थामा सेयरमा सजगतापूर्वक लगानी गर्न आग्रह गरेको छ । गत असारयता पुँजी बजार बढ्दो क्रममा रहेको भन्दै बोर्डले अर्थतन्त्र कमजोर हुँदा नेप्सेमात्रै उकालो लागेको भन्दै सचेत भएर लगानी गर्न आग्रह गरेको हो । नेप्से परिसूचक देशको अर्थतन्त्रको ऐनको रुपमा रहने भएकाले अर्थतन्त्र कमजोर भएको बेला सजग हुन पनि भनेको छ । बोर्डले बजारमा फैलन सक्ने हल्लाको पछाडि नलाग्न पनि आग्रह गरेको छ । बोर्डले विहिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । ‘धितोपत्र लगानीकर्ताले धितोपत्र खरीद बिक्री सम्बन्धि निर्णय गर्दा समग्र अर्थतन्त्र, सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका काम काबाहीहरुकोसमेत अध्ययन गरेर मात्र सुझबुझपूर्ण तबरले निर्णय लिइ लगानी गर्नुपर्नेतर्फ सचेत रहन लगानीकर्तालाई अनुरोध गर्दछ,’ बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विकास अवस्थाको आधारमा विकसित देशका पूँजी बजारहरुको तुलनामा नेपालको पूँजी बजार अत्यान्त पछाडि रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की बताउँछन् । तर बजारमा सेयरको माग र मूल्यवृद्धि उच्च छ । बजार परिपक्व नभएको र साना लगानीकर्ता डुब्ने जोखिम भएकोले लगानीकर्तालाई सजग गराउनु परेको उनी बताउँछन् । बोर्डको सचेनता मुलक सूचनालाई ठूला लगानीकर्ताले भने रुचाएका छैनन् । बजार घट्दा सरकारले सुधारको प्रयास गर्ने हो, बजारमा लगानीकर्ताले लाभ लिइरहेको समयमा सरकारी निकायको हस्तक्षेप राम्रो होइन, यस्तो विज्ञप्ती अरु देशमा जारी गर्दैनन्’ एक जना लगानीकर्ताले भने ‘पहिला पनि यस्तो विज्ञप्ती जारी गर्दा गर्दै बजार घट्यो, फेरी घट्ने जोखिम बढ्यो ।’ सार्वजनिक विदाका कारण तीनदिन बन्द भएर खुलेको विहीबारको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बीमा र लघुवित्त कम्पनीहरुले बजार बढाएपछि नेप्से परिसुचक ११ दशमलब ४९ अंकले बढेर १ हजार ३ सय १८ अंकमा पुगेको छ । सो दिन २ दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढे पनि बजारमा धेरै हिस्सा ओगटेका टेलिकम लगायत कृषि विकास बैंक बाहेक अन्य वाणिज्य बैंकमा भने खासै उत्साह भने देखिएको छैन । विहीबार १ सय २६ कम्पनीको ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । वित्त र अन्य समूह बाहेक सबै समूह उल्लेखनीय वृद्धि भएको बजारमा कारोबार रकममा समेत उल्लेखीय रुपमा बढेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै २० करोड रुपैयाँले बढेको हो । यस दिन बीमा समूहमा कम्पनीको मूल्य निकै बढेको छ भने धेरै कमाउनेको सूचीमा पनि विमा कम्पनी धेरै देखिएका छन् । विहिबारको बजारमा एकदर्जन वीमा कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । जलविद्युत, विकास बैंक, होटल र वाणिज्य बैंक समूह पनि बढेको छ । सुचिकृत मध्ये २६ कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा तीमध्ये १२ वटा वीमा कम्पनी रहेका छन् । वीमा समूहको सूचक मात्रै १ सय ८६ अंकले बढेको छ भने यो समूहको मात्रै ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको समेत चुक्तापँजी बढाउने तयारी गरेको छ । यसैकारण लगानीकर्ताहरुको ओईरो लघुवित्त कम्पनीमा लागेपछि सेयर मूल्य र कारोबार रकम बढेको हो । त्यस्तै वाणिज्य बैंक समूहले २३ करोडको कारोबार गर्दा लघुवित्त समावेश विकास बैंक समुहको पनि २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । पछिल्लो समयमा बीमा समूह र लघुवित्त समूहको सेयर मूल्य ह्वात्तै बढेको छ । यो समूहका कम्पनीको सेयर माग पनि अधिक छ । गत साताको अन्तिम कारोवार भएको दिन विहीबार बजारमा अत्याधिक सेयर माग हुने ५ कम्पनीमा सबै लघुवित्त संस्था रहेका छन् । सो दिन एउटा लघुवित्त संस्थाको १५ हजार कित्तासम्म सेयर माग भएको छ ।

सार्क विदेश मन्त्रिस्तरीय बैठकका लागि सिँगारिँदै पोखरा

पोखरा, २८ फागुन । यही चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क मन्त्रिस्तरीय बैठकको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरालाई अझै सुन्दर पारिएको छ । उच्चस्तरीय बैठकलाई लक्षित गरी गरिएको सरसफाइ रङ्गरोगन आदिका कारण पोखरा यतिखेर दुलहीजस्तो बनेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक हुन लागेको विशिष्टस्तरको बैठकका लागि बाटो मर्मत, रङ्गरोगन तथा आवश्यक सरसफाइसम्बन्धी सम्पूर्ण काम तीव्रताका साथ भइरहेको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले जानकारी दिए । पोखराको पहिचानसँग समेत जोडेर हेरिएको बैठकलाई सुव्यवस्थित गर्न क्षेत्रीय प्रशासक कोइरालाको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन सहयोग समिति र उक्त समितिलाई विषयगत रुपमा सघाउन गठित विभिन्न १० वटा सहयोग समितिलाई यतिखेर भ्याइनभ्याइ भएको छ । सहयोग समितिअन्तर्गत सुरक्षा व्यवस्था समिति, सौन्दर्यीकरण तथा सरसफाइ समिति, स्वागतद्वार निर्माण समिति, सांस्कृतिक कार्यक्रम समिति, अत्यावश्यक सेवा सञ्चालन समिति, स्वास्थ्य सेवा समिति, विमानस्थल व्यवस्थापन समिति, ट्राफिक व्यवस्थापन समिति, स्वागत व्यवस्थापन समिति, निर्माण तथा पूर्वाधार समिति र सम्मेलन कक्ष व्यवस्थापन समिति रहेका छन् । क्षेत्रीय प्रशासन कार्यालयका उपक्षेत्रीय प्रशासक लोकराज रेग्मीका अनुसार जिम्मेवारी तोकिएअनुसार सहयोग समितिहरू आ–आफ्नो काममा सक्रिय बनेका छन् । बैठकलाई लक्षित गरी अत्यावश्यकीय सेवा प्रवाह गर्ने सम्पूर्ण निकायमा पत्राचार गरी निर्देशन दिइसकिएको उनले जानकारी दिए । परराष्ट्र मन्त्रालयले गत फागुन ५ गते मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत विषयगत सहयोग समिति गठन गर्न पत्राचार गरेको थियो । पोखराको सौन्दर्यीकरणका लागि पोखराको पृथ्वीचोकदेखि सिर्जनाचोक, राष्ट्र बैंक चोक, होटल ग्रान्ड, होटल साङ्ग्रिला, होटल फिस्टेललगायतका ठाउँमा विभिन्न १७ वटा स्वागतद्वार निर्माण गरिएको पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार पृथ्वीचोकदेखि बैठकस्थल र विशिष्ट पाहुना जाने स्थानमा विभिन्न जातका ३०० वटा बिरुवा रोपिसकिएको छ भने दैनिक सरसफाइ कार्य जारी राखिएको छ । बैठकलाई नै लक्षित गरी पोखरा विमानस्थलदेखि मुस्ताङ चोक हँुदै होटल ग्रान्ड, होटल ग्रान्डदेखि होटल साङ्ग्रिलासम्मको बाटो मर्मत गरिसकिएको जानकारी दिँदै अधिकारीले मुस्ताङ चोकदेखि होटल फिस्टेलसम्मको बाटो शुक्रबार मर्मत गर्न लागिएको बताइ , विमानस्थलदेखि बैठकस्थल र होटेलसम्म जाने सडकको दक्षिणतर्फको विद्युत्का पोल पर सारिएको छ भने सडक मार्गमा पर्ने चोक, सडक पेटी, प्रतीक्षालय तथा बोटबिरुवामा रङ लगाइएको र बाटोमा पर्ने सम्पूर्ण होर्डिङबोर्ड पनि हटाइसकिएको छ । विशिष्ट पाहुनाका लागि आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका साथै उनीहरू चढ्ने सम्पूर्ण सवारी साधन पनि तयारी अवस्थामा राखिसकिएको र यी सबै तयारी लगभग १५ दिनको अन्तरालमा सम्पन्न भएको उनले बताए । बैठकको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको बताउँदै क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत ऋषिराम आचार्यले पोखराले विशिष्ट पाहुनाको स्वागतको प्रतीक्षा गरिरहेको बताइ । रासस

३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन ५० हजार, बैंक खाता अनिवार्य

काठमाडौं, २८ फागुन । सरकारले फागुन ३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैंयाँ वितरण गर्न लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दोलखाको सिंगटीबाट पाईलट प्रोजेक्टका रुपमा भूकम्प पीडितलाई पहिलो किस्ता वापत ५० हजार रुपैंयाँ वितरण गर्न लागेको हो । ३० गते सिंगटी स्रोत केन्द्रका लामीडाडा र लादुक गाबिसका २८ सय घरधुरीले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गर्नेछन् । लामीडाडा र लादुमका २८ सय घर धुरीलाई १४ करोड रुपैंयाँ वितरण गरिनेछ । प्राधिकरणले दुबैं गाबिसका भूकम्प पीडितहरुलाई बैंक खाता खोल्न लगाईसकिएको छ । घर निर्माणका लागि उपलब्ध गराईने रकम सिधै पीडितको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ । ‘सिंगटी स्रोत केन्द्रका सबै पीडितलाई बैंक खाता खोल्न भनिसकेका छौं, सबैले खाता खोलिसकेका छन, फागुन ३० गते सिंगटीका भूकम्प पीडितको बैंक खातामा ५० हजार जम्मा हुन्छ ।’ प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले भने । यस अघि फागुन २० गते नै सिंगटीका भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराउने भनिएको थियो । तर प्राबिधिक तयारी नपुगेकाले १० दिन ढिलो भएको हो । प्राधिकरणका कामु सचिव अधिकारीका अनुसार डिजिटल तथ्यांक संकलन सम्पन्न भएका सबै स्रोत केन्द्रहरुमा पहिलो किस्ताको रकम तत्कालै बाढ्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । ‘हितग्राहीको तथ्यांक संकलन भएका सबै स्रोत केन्द्रहरुमा द्रुतगतिमा पहिलो किस्ताको रकम वितरण आरम्भ हुन्छ ।’ कामु सचिव अधिकारीले भने । हाल सरकारले भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनको काम केन्द्रिय तथ्यांक बिभाग मार्फत गरिरहेको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउने तीन किस्तामा दुई लाख रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यसको पहिलो किस्ता ५० हजार, दोश्रो किस्ता ८० हजार र तेश्रो तथा अन्तिम किस्ता वापत ७० हजार रुपैंयाँ प्रदान गरिनेछ । सरकारले भूकम्प पीडितलाई दिने राहत तथा पुननिर्माण रकम सम्बन्धी कार्यबिधी फागुन १९ गते पारित गरेको थियो । अब भूकम्प पीडितले घर बनाउन सरकारले तयार पारेका २५ वटा नक्साकै भर पर्नु पर्दैन् । भूकम्प प्रतिरोधी भवनको नक्सा तयार गरेर स्थानिय निकायबाट स्विकृत गराएर आफु अनुकुलको भवन निर्माण गर्न सकिनेछ ।

डेपुटी गभर्नर नियुक्तिमा राष्ट्र बैंकभित्र तिव्र असन्तुष्टिः कूल पूजा भन्दै पाण्डे स्याङ्जातिर लागे, पंगेनी भन्छन्, मेरो करियरमा बन्देज लगाइयो

काठमाडौं, २७ फागुन । सरकारले हालै गरेको डेपुटी गभर्नर नियुक्तिप्रति राष्ट्र बैंकका केही कार्यकारी निर्देशकले असन्तुष्टि जनाएका छन् । कार्यसम्पादन मूल्यांकन, बरिष्ठता जस्ता विषय नहेरी राजनीतिक भागबण्डामा डेपुटी गभर्नर नियुक्त गरिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । सरकारले १९ फागुनमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलाई डेपुटी गभर्नरनमा नियुक्त गरेको थियो । यी दुबै जना कार्यकारी निर्देशकभन्दा बरिष्ठतामा अगाडि रहेका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले राष्ट्र बैंकभित्र आफ्नो बृत्तिविकासमाथि बन्देज लगाइएको गम्भिर आरोप पनि लगाएका छन् । कसले उनको करियरमाथि बन्देज लगायो भन्ने विषय भने उनले खुलाएका छैनन् । ‘नेपाल राष्ट्र (केन्द्रीय) बैंकमा मेरो बृत्तिविकास बन्द गरियो,’ पंगेनीले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । आफूभन्दा कनिष्ठलाई डेपुटी गभर्नर बनाएर आफ्नो अपमान गरेको अर्थ पंगेनीले लगाएका छन् । पंगेनीको फेसबुक स्टाटस गत ८ पुसदेखि राष्ट्र बैंकमा डेपुटी गभर्नर खाली थियो । खाली पदमा नियुक्तको लागि पंगेनी, शिवाकोटी, नारायणप्रसाद पौडेल र शिवनाथ पाण्डेको नाम सिफारिस भएको चर्चा चलेको थियो । यही ब्यहोराको समाचार सरकारी समाचार संस्था राससले पनि उल्लेख गरेको थियो । राससको समाचारमा नाम उल्लेख नभएका श्रेष्ठलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेपछि पंगेनी थप निरास बनेका हुन् । यद्यपि उनको नाम सिफारिस भएको थियो भन्ने आधिकारी समाचार बाहिर आएको भने थिएन । यस्तै डेपुटी गभर्नरकै लागि नाम सिफारिस गरिएका भनिएका शिवनाथ पाण्डेले पनि डेपुटी गभर्नर नियुक्तिप्रति असन्तोष जनाएका बताइएको छ । यसभन्दा अगाडि डेपुटी गभर्नर नियुक्त गर्दा एक जना सिए अनिवार्य जस्तै गरेर नियुक्त गरिएकोले यसपटकका एक्ला सिए पाण्डेलाई आफू पर्ने आशा थियो । यसअघि कनिष्ठ कार्यकारी निर्देशकमध्येवाट डेपुटी गभर्नर बनेका बीरविक्रम रायामाझी र महाप्रसाद अधिकारी सिए भएकैले डेपुटी गभर्नर बन्न सफल भएका बताइने गरेको थियो । यसैकारण पाण्डे डेपुटी गभर्नर बन्न सक्ने अनुमान गरिएको पनि थियो । तर २ जना डेपुटी गभर्नरमध्ये एक जना सिए हुनुपर्ने बाध्यकारी ब्यवस्था भने होइन । आफू डेपुटी गभर्नर नबनेपछि असन्तुष्टि जनाउदै उनी गृहजिल्लातिर लागेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘उहाँ कूल पूजा छ भन्दै स्याङ्जा जानुभएको छ, यो वहाना मात्रै हो, डेपुटी गभर्नर नबनेपछि उता लाग्नु भएको होला,’ राष्ट्र बैंककै उनका एक समकक्षीले भने । डेपुटी गभर्नर नियुक्ति पछि राष्ट्र बैंकभित्र असन्तुष्टि देखिएको यो पहिलो पटक भने होइन । राष्ट्र बैंक ऐनले कार्यकारी निर्देशकमध्येवाट डेपुटी गभर्नर बन्ने ब्यवस्था गरेको कारण जुनसुकै कार्यकारी निर्देशक पनि डेपुटी गभर्नर बन्न सक्ने अवस्था छ । डेपुटी गभर्नर नियुक्तिमा सरकारले योग्यता क्षमताप्रति त्यति ध्यान दिने गरेको भने छैन । यसअघि आफ्नो पालालमा डेपुटी गभर्नरको लागि चर्चा नै नपाएका तत्कालिन कार्यकारी निर्देशकहरु डा. युवराज खतिवडा र दीपेन्द्रबहादुर क्षेत्री राष्ट्र बैंककै गभर्नर बनिसके । र, उनीहरु दुबै जना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि बनिसकेका छन् । यी दुबै ब्यक्तिको क्षमता र कार्यकुशलताको अहिले पनि प्रशंसा गरिन्छ । तर यी दुबै जना डेपुटी गभर्नरको लागि सिफारिसै नभएपनि राष्ट्रिय ब्यक्तित्व भने बनिसकेका छन् । उनीहरु दुबै जनालाई डेपुटी गभर्नरको लागि योग्य नठर्याएर योग्य भन्दै बनाइएका तत्कालिन डेपुटी गभर्नर भने अहिले पनि कुनै निजी कम्पनीमा जागिर खाइरहेका छन् ।

सामसङ ग्यालेक्सी एस७ र एस७ एज नेपाली बजारमा, ७७ हजार ९ सय र ८८ हजार ९ सयमा किन्न पाईने

काठमाडौं, ३६ फागुन । सामसङको ग्यालेक्सी एस७ र ग्यालेक्सी एस७ एज नेपाली बजारमा भित्रिएका छन् । सामसङको नेपाली बिक्रेता आइएमएस प्राली र हिम इलोक्ट्रोनिक्सले सामसङका नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएका हुन् । स्मार्ट मोबाइलको बजारमा पछिल्लो संस्करणका रुपमा नेपाल भित्रिएका यी मोबाइलमध्ये सामसङ एस७ को मुल्य ७७ हजार ९ सय रुपैंयाँ र एस७ एजको मुल्य ८८ हजार ९ सय रुपैंयाँ तोकिएको छ । के के छन फिचर ? सामसङ एस ७ सामसङ एस ७ मा आईपी६८ को पानी तथा धुलो नपस्ने रेसिस्टेन्स रहेको छ । यसमा ४ जीबीको रोम, ३२ जीबीको इन्टर्नल र ६४ जीबीको एक्सटर्नल मेमोरी, ५.१ क्वाडकोर प्रोसेसर, १२ एमपीको स्मार्ट आइओएस क्यामेरा, ३००० एमएएचको ब्याट्री, ८०२.११ को वाईफाइ कनेक्टिभिटी लगायतका सुबिधा रहेका छन् । यसमा ५.१ इञ्चको ३डी मेटल ग्लासको स्क्रिनका साथमा जिरोटच एक्सपिरियन्सको सुबिधा पनि छ । न्युन प्रकाशमा समेत उच्च गुणस्तरको फोटो खिच्न सकिने यो मोबाइलमा सेल्फी, पानोरमा र थर्ड पार्टी एप्लिकेशन समेत रहेका छन् । सामसङ एस ७ एज सामसङ एस ७ एजमा ५.५ क्वाडकोर प्रोसेसर, ३२ जीबी इन्टर्नल र २०० जीबीसम्मको एक्सटर्नल मेमोरी, ३६०० एमएएचको ब्याट्र, २.४ गिजाहर्जको वाइफाई कनेक्टिभीटी रहेको छ । न्युन प्रकाशमा समेत उच्च गुणस्तरको फोटो खिच्न सकिने यो मोबाइलमा सेल्फी, पानोरमा र थर्ड पार्टी एप्लिकेशन समेत रहेका छन् । प्री बुकिङमा आकर्षक अफर कम्पनीले यी दुबै मोबाइलको प्र बुकिङमा आकर्षक छुटको अफर पनि अघि सारेको छ । बिहिबारदेखि सुरु हुने प्री बुकिङमा एस७ को खरिदमा १९ हजार ९ सय पर्ने सामसङ गिअर र एस७ एजको खरिदमा २० हजार मुल्य पर्ने सामसङ ब्याग सित्तैमा उपलब्ध हुनेछ । सिमित प्याक अफर पनि कम्पनीले ग्यालेक्सी एस७ एज, गिअर एस२ क्लासिक र लेभल युलाई एक लाख २२ हजारमा उपलब्ध गराउनेछ । यसमा २० हजार मुल्यको लेदर ब्याग समेत प्राप्त हुन्छ । त्यस्तै, एस७, गिअर ए२ र लेभल यु एक लाख ८ हजारमा किन्न सकिन्छ । त्यसमा २० हजार मुल्यको लेदर ब्याग पनि प्रदान गरिनेछ । ग्यालेक्सी एस७ र एस ७ एजको सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सामसङ इलेक्ट्रिोनिक्स नेपालका प्रणरत्न स्थापीतले नयाँ मोबाइलले स्मार्ट फोनका पारखी नेपालीहरुलाई नयाँ आयाम थपेको बताएका थिए । कार्यक्रममा सामसङ इण्डियाका राजीब मिश्रा, आइएमएसका दिपक मलहोत्रा, दिकेश मलहोत्रा, हिम इलेक्ट्रोनिक्सका शेखर गोल्छा लगायतको सहभागीता रहेको थियो ।