दसैंका लागि आठ अर्बका नयाँ नोट वितरण गरिँदै, सर्वसाधारणका लागि आगामी आइतबारबाट
काठमाडौं १०, भदौ । यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको समाचार सोमबारको नागरिक दैनिकले छापेको छ। राष्ट्र बैंकले काठमाडौं उपत्याकाभित्र मात्र वाणिज्य बैंकमार्फत करिब डेढ अर्ब, विकास बैंकमार्फत २० करोड र फाइनान्स कम्पनी मार्फत ७ करोड रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण गर्दै छ । यसैगरी केन्द्रीय बैंकले उपत्यकाबाहिर ७ क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सरकारी कार्यालय, सैनिक, प्रहरी, सहकारी कार्यालयसमेत गरी कुल ८ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए । केन्द्रीय बैंकले निजी बैंक तथा वित्तीय संस्थाका लागि आइतबारबाट नयाँ नोट वितरण सुरु गरेको छ । सर्वसाधारणका लागि भने आगामी आइतबारबाट सुरु गर्ने छ । आइतबार ७ वाणिज्य बैंकले नयाँ नोट लगेको पनि कँडेलले जानकारी दिए । सोमबार र मंगलबार पनि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट केन्द्रीय बैंकले वितरण गर्दै छ । ‘राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकलगायतका ठूलालाई प्रति बैंक ९ करोड रुपैयाँसम्मका नयाँ नोट दिएका छौं,’ कँडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाले चेक लिएर आउने र सोही चेक बराबरको नयाँ नोट दिने गरेका छौं ।’ काठमाडौंमा मात्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई मात्र पौने २ अर्बका नयाँ नोट दिने योजना केन्द्रीय बैंकले बनाएको छ । यसैगरी मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार पाउने गरी नयाँ नोट वितरण गर्न लागेको कँडेलले बताए । ‘प्रतिदिन ४ हजारजनाले नोट साटने अनुमान गरिएको छ,’ उनले भने, ‘काठमाडौंमा मात्र सर्वसाधारणले १ अर्ब रुपैयाँ नयाँ नोट साटने अनुमान छ ।’ काठमाडौं उपत्यकाबाहिरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए। ‘एक व्यक्तिले ५, १०, २०, ५० र सय दरका नयाँ नोट ३७ हजार रुपैयाँसम्म साट्न पाउने गरी वितरण व्यवस्था मिलाउन लागिएको छ,’ उनले भने, ‘सेना, प्रहरी, निजामती कर्मचारी, राष्ट्र बैंकका कर्मचारीले भने विभागबाट सामूहिक सिफारिससहित आएर प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।’ गत वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति बढीमा २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न दिइएको थियो । गत वर्ष दसैंका बेला ५ अर्ब ६९ करोड रुपैयाँ नयाँ नोट वितरण गरिएकोमा यस वर्ष करिब ८ अर्ब रुपैयाँ बराबरका साटिने राष्ट्र बैंकले अनुमान गरेको छ । ‘उपत्यकाबाहिर भने प्रतिव्यक्ति कति रुपैयाँसम्म साट्ने भन्ने कुरा सम्बन्धित कार्यालयले नै निर्णय गर्नेछन्,’ कँडेलले भने । उनका अनुसार दसैंका लागि नयाँ नोट साट्ने व्यक्तिको भिडलाई ध्यान दिँदै यस वर्ष केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले कुपन व्यवस्था मिलाउने भएको छ । कुपन नम्बर अनुसार वितरण हुने भएकाले सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न पाउनेछन् ।
डिपोर्ट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा, फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा
काठमाडौं १०, असोज १० । इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएको छ। १४ वर्षदेखि मलेसियामा होटल व्यवसायमा संलग्न रहेका शाहले नक्कली भिसा लगाएर ठगी गरेको भन्दै परेको उजुरीको अनुसन्धानमा उनले १ सय ५० जनालाई मलेसियाको नक्कली भिसा लगाएको र तीमध्ये १ सय १४ विदेशी नागरिक रहेको खुलेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले जानकारी दिएको समाचार सोमबारको कान्तिपुर देनिकमा छापिएको छ । नक्कली भिसा लगाएर ११ हजारदेखि १५ हजार रिंगेटसम्म लिएको देखिएपछि अनुसन्धान गरेका थियौं, बस्नेतले भने, ‘त्यसैका आधारमा दूतावासले ७ महिनाअघि मलेसियन सरकारलाई जानकारी गराएको थियो।’ बस्नेतका अनुसार उनीविरुद्ध ३६ नेपालीले आफू ठगिएको भन्दै दूतावासमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो। अनुसन्धानमा शाहले नेपालीलाई मात्रै नभई अन्य विदेशी नागरिकलाई समेत नक्कली भिसा लगाइदिएर मलेसिया ल्याएको खुलेपछि मलेसियाको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने ‘एन्टी टेररिस्ट युनिट’ ले अगस्ट १७ मा पक्राउ गरेको राजदूत बस्नेतले जानकारी दिए। सोही युनिटले बंगलादेशी, मोरक्कन र मलेसियन नागरिकलाई समेत पक्राउ गरेको थियो। मलेसियन प्रहरीले ३ विदेशीलाई डिपोर्ट गर्दै मलेसियन नागरिकलाई भने अनुसन्धानका लागि हिरासतमा राखेको थियो। शाहलाई १४ दिनसम्म हिरासतमा राखेपछि ‘उसलाई नेपालमै अनुसन्धान गरी कारबाही गर्नू’ भन्दै मलेसियन प्रहरीले दूतावासमा बुझाएपछि नेपाल पठाएको बस्नेतको कथन छ। शाहको राहदानी फेला नपरेपछि दूतावासले ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाएको बस्नेतले बताए। नक्कली भिसा लगाएर मलेसिया ल्याएकामध्ये केही व्यक्तिको सम्बन्ध आतंकवादी संगठनसँग देखिएको हुन सक्ने बताउँदै राजदूत बस्नेतले त्यसबारे मलेसिया सरकारसँग जानकारी मागिएको बताए। गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्षसमेत रहेका शाह ठगीकै अभियोगमा कारबाहीमा परेका थिए। उनीविरुद्ध दूतावास र मलेसिया प्रहरीमा ठगीको उजुरी परेपछि २०१६ अप्रिल २३ मा बसेको एनआरएन मलेसियाको बैठकले उनलाई अध्यक्ष पदबाट हटाएको थियो। एनआरएन मलेसियाले उनीमाथि कारबाहीबारे जारी गरेको विज्ञप्तिमा ‘शाह विवादित भएपछि संस्थाको इज्जत र संस्थागत मर्यादाको विशेष ख्याल गर्दै पदाधिकारीको बहुमतले कारबाही गरेको’ उल्लेख छ। शाह भदौ १७ मा नेपाल आइपुगेपछि उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरी सार्वजनिक अपराधको अभियोगमा ११ दिन हिरासतमा राखेको थियो। मलेसियास्थित दूतावास अधिकारीले डिपोर्ट गरिएको भने पनि शाहका बारेमा विमानस्थल अध्यागमनमा कुनै रेकर्ड छैन। मलेसियन दूतावासको जानकारीका आधारमा पक्राउ गरे पनि अनुसन्धानका क्रममा कुनै पीडित नआएको र दूतावाससँग थप जानकारी माग्दा नआएपछि उनलाई सार्वजनिक अपराध अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको महाशाखाका एसपी सहकुल थापाले कान्तिपुरलाई शनिबार जानकारी गराएका थिए। राजदूत बस्नेतले शाहलाई नेपाल पठाउँदा परराष्ट्र मन्त्रालयसँगै गृहको शान्तिसुरक्षा महाशाखा र प्रहरीको अपराध अनुसन्धान महाशाखालाई जानकारी गराएको बताए। ‘उनीमाथि सुरुमा ठगीको आरोप मात्रै रहेकाले त्यो बेला त्यही उल्लेख गरेर पठाएका थियौं,’ राजदूत बस्नेतले भने, ‘त्यसपछि हामीसँग प्रहरीले थप जानकारी माग गरेन।’ शाह पक्राउ पर्दाताका ठगीकै आरोप भए पनि नेपाल डिपोर्ट भएको १८ दिनपछि मलेसियाको प्रहरीले पत्रकार सम्मेलन गरी ‘नक्कली कागजपत्र बनाएर आतंकवादी संगठनका सदस्यलाई सघाएको’ आरोप सार्वजनिक गरेको थियो।
नेपाली मोवाइलको बजारमा नयाँ ब्राण्ड थपिने, युरोपमा चर्चित प्रिमियम ‘युएमआई’ आउँदै
काठमाडौं, १० असोज। युरोप र पूर्वी एसियामा प्रख्यात रहेको प्रिमियम मोवाइल ब्राण्ड ‘युएमआई’ नेपाल अाउने भएको छ। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो। न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा मोवाइल आयातका लागि ‘टाइप अप्रुभल’को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए। राईसहित सातजनाको संयुक्त लागानीमा यो मोडेललाई नेपालमा भित्र्याउन लागेको उनले बताए। हङकङमा समेत विक्रि सेन्टर रहेको यो स्मार्टफोनको युरोपियन स्मार्टफोन बजारमा सात प्रतिशत हिस्सा रहेको छ। तिहारपछि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले सिटिसी मलमा चलिरहेको मोवाइल एक्स्पोमा प्रमोसनको काम गरिरहेको छ। कम्पनीले न्युरोडमा रहेको नोकिया केयरसँग विक्रिपछिको सर्भिस सेन्टरमा सहकार्य गर्नका लागि सहकार्य गरिसकेको जनाएको छ। कम्पनीले नोकिया केयरसँग सर्भिसको सेन्ट्रल हब बनाउने जनाएको छ। कम्पनीले सुरुवातमा तीनवटा प्रिमियम मोडेलका स्मार्टफोन भित्र्याउने भएको छ। ‘युएमआई लण्डन’, ‘युएमआई टच’ र ‘युएमआई सुपर’ नामका स्मार्टफोन बजारमा ल्याउने बताएको छ। लण्डनको सुरुवाती मूल्य १३ हजार पाँचसय, टचको सुरुवाती मूल्य २५ हजार र सुपरको सुरुपवाती मूल्य ३२ हजार रहेने कम्पनीले जनाएको छ।
अब महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने ! बैज्ञानिकले गरे सफल परिक्षण
काठमाडौं, १० असोज। अब महिलाविना पनि बच्चाको कल्पना गर्न सकिने भएको छ। बैज्ञानिकहरुले महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने सम्भावना बढ्दै गएको बताएका छन् । मुसामा गरिएको एक अध्यनबाट यस्तो सम्भावना दिएको बैज्ञानिकहरुको भनाइ छ। केवल शुक्राणुको मद्दत लिएर यो परीक्षण गरिएको थियो । नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित शोधको निष्कर्षमा भविष्यमा बच्चा पाउनका लागि महिलाको आवश्यकता नपर्ने सम्भावना औल्याइएको छ। बाथ युनिभर्सिटीका बैज्ञानिकहरुले एक अनषेचित अण्डाको प्रयोग गरेर रसायनको मद्धतबाट नक्कली भ्रुण पैदा गरेका थिए । यो नक्कली जिवित भ्रुणमा आम कोशिकामा जस्तै विभाजन हुने पक्रिया देखियो । शोधकर्ताहरुले मुसामा सफल भएको यो परीक्षण मानिसमा पनि सुदुर भविष्यमा लागु हुन सक्ने बताएका छन् । यो प्रक्रियामा कुनै पनि शुक्राणुबाट भ्रुण पैदा गर्नका लागि महिलाको आवश्यकता पर्दैन । भ्रुण उत्पादनका लागि रसायनको प्रयोग गर्न सकिने बैज्ञानिकहरुको आशा छ । एजेन्सीको सहयोगमा
आईएमईको प्रथम हप्ताको विजेता घोषित, तिलकले जिते आईएमईको युएम स्कुटर
काठमाडौं, ९ असोज । आईएमईले महान पर्व विजया दशमी लक्षित “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट कूल नेपाली रुपैंयाँ ३७,०८१ पठाएका आईएमई सेवाग्राही तिलकबहादुर श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । प्राप्त गरेको पुरस्कार श्रेष्ठले सिफारिस गरेका नेपालमा हुने आफन्तले पाउने कम्पनीले जनाएको छ । यहि आश्विन १ गतेदेखि आश्विन ३० गतेसम्म हुने “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेका छौं । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेटे आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ । साथै, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ ।
यती बैंकको सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं, ९ असोज । यती डेभलपमेण्ट बैंकको न्यूरोड शाखाले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी टोल सरसफाई कार्यक्रम आयोजना गरेको थियो । बैंकले दलाछी परिवार क्लबको सहकार्यमा काठमाडौं, दलाछीमा शनिबार टोल सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सभासद ध्यानगोबिन्द रंजितले समाजीक कार्यमा यती डेभलपमेण्ट बैंकले देखाएको सद्भाब र सहकार्यको लागी बैंकलाई धन्यबाद दिएका थिए । टोल सरसफाई कार्यक्रममा स्थानीय बासिन्दाहरुको पनि सहभागीता रहेको थियो । बैंकको “ संस्थागत सामाजिक दायित्व अन्तरर्गत सरसफाई कार्यक्रम” भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्ले सामाजिक हितका लागी हुने कार्यमा निरन्तर बैंकको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सम्हालिन जिम्मेवारी
काठमाडौं, ९ भदौ । नेपाल टेलिकमको नव नियुक्त प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले पदभार सम्हालेकी छिन् । उनलाई मन्त्रीपरिषदको असोज ६ गतेको निर्णयले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । राजभण्डारीले आइतबार पदभार सम्हालेकी हुन् । आगामी तीन बर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएकी राजभण्डारीले टेलिकमको बजार हिस्सा ७५ प्रतिशत पुर्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा एमबीए अफ टेक्नोलोजी गरेका थिईन ।
सरकारको राजश्व लक्ष्य भन्दा २१ प्रतिशत बढी, भदौसम्म २८ अर्व ७५ करोड संकलन
काठमाडौं, ९ असोज । सरकारले चालु आर्थिक वर्ष २०७३/०७४ भदौ मसान्तसम्ममा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ । सो अवधिमा असुली भएको राजस्व लक्ष्यको तुलनामा २९ प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा १७ करोड ४० लाख रुपैयाँ बढी प्रगति भएको छ । कुल राजश्वमध्ये आयकर तर्फ १२ अर्व २१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर १० अर्व ४५ करोड रुपैयाँ र अन्तःशुल्क तर्फ ५ अर्व ९१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ १०१ प्रतिशत उठेको हो । त्यसैगरी शिक्षा सेवा शुल्क १३ करोड ८३ लाख रुपैयाँ र स्वास्थ्य सेवा कर २० करोड ५६ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७९ प्रतिशत संकलन भएको हो । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३६ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर ११४ प्रतिशत र अन्तशुल्कको वृद्धिदर १४९ प्रतिशत रहेको छ । साथै, स्वास्थ्य सेवा कर वृद्धिदर १२३ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३७ प्रतिशत रहेको छ ।