विकासन्युज

सेयर बजार निरन्तर बढ्दै, परिसूचक १८०० नजिक, शिखरको २० करोडको कारोबार

काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १० लाख २७ हजार कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बङ्गलादेश बैंकको १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ४ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बैंक अफ काठमाडौं, कुमारी बैंक, प्रभु बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । सो दिन अन्य समूह र फाइनान्स समूह बाहेक बाकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३१ अंकले उकालो लागेको छ । हाइड्रोपावर र बैंकिङ् समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् ।

बुम रेमिट्यान्सको एजेन्टमा जनता बैंक नेपाल नियुक्त

काठमाडौं, १८ असोज । बुम रेमिट्यान्स प्रा.लीले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेश बाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । जनता बैंक नेपालका सबै शाखाहरुले बुम रेमिट् सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुत्तानी पनि गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक कल्याण बिक्रम पाँडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

हिरोको १ लाख रुपैयाँ नगद जित्ने दोश्रो भाग्यशालीको नाम घोषणा

काठमाडौं, १८ असोज । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” दशै योजना अन्र्तगत हिरोको १ लाख नगद जित्ने दोश्रो भाग्यशालीको नाम घोषणा गरेको छ । हिरोको हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद बर्दियाका विपिन कुमार गुप्ताले जितेका छन् । “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहले हिरो ब्राण्डका मोटर साइकल किन्दा ६ हजार पक्का डिस्काउन्ट, स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् । यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार नगद छुट हुनेछ । साथै स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।

४ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, लाखौँ कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १८ असोज । मंगलबार डिप्रोक्स लघुवित्त विकास बैंकको ४ लाख ८८ हजार २३२ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब डिप्रोक्स लघुवित्त विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सोही दिन साल्ट ट्रेनिङ्को १ लाख ७ हजार एक सय कित्ता सेयर बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

युनिक फाइनान्सले तीन करोड ८१ लाख रुपैयाँ बोनस सेयर दिने

काठमाडौं, १८ असोज । युनिक फाइनान्स लिमिटेडले सेयरधनीलाई तीन करोड ८१ लाख ७७ हजार ६ सय रुपैयाँ बोनस सेयर दिने भएको छ । फाइनान्सको नवौ वार्षिक साधारण सभाले कम्पनी संचालक समितिले गरेको प्रस्तावलाई पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७२/७३ को प्रगती प्रतिवेदन, सोही समयको लेखापरिक्षण प्रतिवेदन सहितको आय व्यय विवरण, वासलात तथा नगद प्रवाह विवरण पारित गरेको छ । साथै, २०७३/७४ को लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु सर्वसम्मत पारित भएको छ । साथै संस्थापक समुह तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा बिनोदबहादुर खत्री, नरेशचन्द्र प्रधान र दिव्यश्वर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट मणि राज दाहाल सो सभाबाट संचालक पदमा निर्विरोध निर्वाचित भएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल २३ करोड ८६ लाख १० हजार चुक्ता पूँजी रहेको संस्थाको १६ प्रतिशत बोनश सेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी २७ करोड ६७ लाख ८७ हजार ६ सय रुपैयाँ हुने कम्पनीले जनाएको छ । संस्थाले गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा ८० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन तथा ६२ करोड रुपैयाँ कर्जा तथा लगानी गरिसकेको छ ।

सुबिसुको चौथो सेल्स आउटलेट ‘सुबिसु स्टेसन’ डिल्लीबजारमा

काठमाडौं, १८ असोज । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले आफ्नो चौथो सेल्स आउटलेट ‘सुबिसु स्टेसन’ काठमाडौंको डिल्लीबजार सञ्चालन गरेको छ । उक्त स्टेसनको उद्घाटन कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले गरेका छन् । यस स्टेसनबाट सुबिसुले डिल्लीबजार तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु रिटेल सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्न सो स्थानमा स्टेसन सञ्चालन गरेको कम्पनीले जनाएको छ । सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ । हाल सुविसु स्टेसनहरु ललितपुरको झम्सीखेल, काठमान्डौंको रानीबारी, सुकेधारा र दिल्लीबजारमा रहेका छन् । साथै कम्पनीको , आगामी दिनहरुमा बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना रहेको छ । सुबिसु नेपालको पहिलो र एकमात्र यस्तो कम्पनी हो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।

युनाइटेड इन्योरेन्सका प्रमोटर शशिकान्त अग्रवालले १७ हजार कित्ता संस्थापक सेयरलाई साधारण भनेर झुक्याएर बेचे

काठमाडौं, १८ असोज । युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमोटर शशिकान्त अग्रवालले प्रमोटर सेयरलाई साधारण भनी झुक्याएर विक्री गरेको तथ्य खुलेको छ । उनले आफ्नो नाममा रहेको १७ हजार प्रमोटर सेयरलाई साधारण भनेर झुक्याएर विक्री गरेका हुन् । अग्रवालले यस्तो बद्मासी गरेपछि दोस्रो बजारवाट साधारण सेयर खरिद गरेर खरिदकर्तालाई उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्जले निर्देशन दिएको छ । यसबारेमा बुझ्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन मानेनन् । अग्रवालले साधारण सेयर भनेर झुक्याएर प्रमोटर सेयर दिएको उजुरी परेपछि नेप्सेले युनाइटेडका अध्यक्षलाई समस्याको समाधान गर्न गत १८ साउनमा निर्देशन दिएको थियो । कम्पनीका अध्यक्षले त्यसको ६० दिनभित्रमा संस्थापक सेयर साधारण गरिसक्ने र समस्याको समाधान गर्ने भनेपनि अझै कार्यान्वयन भएको नेप्सेले जानकारी दिएको छ ।

सर्लाही मालपोतका कर्मचारी १२ लाख घुस सहित पक्राउ

सर्लाही, १८ असोज । जिल्ला मालपोल कार्यालय सर्लाहीका नायव सुब्बा राम नरेश राईलाई १२ लाख २५ हजार घुँससहित पक्राउ परेका छन । ईश्वरपुर नगरपालिका वडा नं ६ का बासिन्दाको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस दिन लागेको भन्ने विशेष सूचनाका आधारमा बर्दिबासबाट गएको अख्तियार दुरूपयोग कार्यालयका कर्मचारीले राईलाई मलंगवा नगरपालिका १० जिविस चौकस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । महोत्तरीका अख्तियार दुरूपयोग नियन्त्रण आयोगका राजकुमार लम्सालका अनुसार राईले घर जग्गा दर्ता गराए वापत १४ जनाबाट उक्त रकम घुस लिएका थिए ।