यामाहाको ‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन विजेता घोषित
काठमाडौं, ११ असोज । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन जना साप्ताहिक विजेताको नाम घोषणा गरेको छ । उक्त योजनामा बिर्तामोडका अरुण फुयाल चौथो विजेता घोषित भएका हुन् । उनले बिर्तामोडस्थित सयपत्री ट्रेडलिंकबाट सुपरमोडल स्कुटर फेसिनो खरिद गरेका थिए । यामाहाको दशैं स्किमका पहिलो विजेता ललितपुरका पुकार शर्मा हुन् । उनले रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए । उनीपछि भक्तपुरका रवि भोमी र पर्साका आशिष भुजेल क्रमशः दोस्रो र तेस्रो साताका विजेता घोषित भए । भोमीले द ह्विल्सबाट फेसिनो र भुजेलले पर्साबाट रे जी खरिद गरेका थिए । एमएडब्लुले दशैंको सुखद अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो जसअन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यामाहाकाको दशैं योजनाबाट ग्राहकहरु उत्साहित भएको हामीले पाएका छौं । यो योजना तिहारसम्म जारी रहनेछ । ‘टेक्नो ट्रिप टु टोकियो’का साप्ताहिक विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् । एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को समेत विक्री गर्दै आएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
राजधानीमा ‘थाईल्याण्ड नेपाल दशैं फेष्टिवल’ आगामी शुक्रबारदेखि हुँदै
काठमाडौं, ११ असोज । नजिकिँदै गरेको दशैंको पुर्वसन्ध्यामा राजधानीमा थाइल्याण्ड नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ । सायम लंचंग बैंककको आयोजना यहि असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म फेष्टिबल आयोजना हुन लागेको हो । फेष्टिवलले नेपाल र थाइल्याण्डको व्यवशायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको आयोजकले थाईल्याण्ड नेपाल दशैं फेष्टिवलमा नेपाल, थाइल्याण्ड र बंगलादेशको गरी १ सय ५० बढी प्रदर्शनी कक्षहरु रहने जानकारी दिएको छ । उक्त फेष्टिबल नेपालका लागि थाई राजदुताबास, थाइल्याण्ड नेपाल चेम्बर अफ कमर्श तथा ललितपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा आयोजना हुन लागेको छ । थाई एयरवेजले प्रवद्र्धन गरेको फेष्टिबलले गुणस्तरीय उत्पादनको प्रयोगमा नेपाली उपभोक्तालाई अभ्यस्त बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ । फेस्टिवलको मार्के्टिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । सिन्थेसिस एक्विजिसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने एक्स्पोमा ३० भन्दा बढी बंगलादेशी व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् । त्यसै गरी थाइल्याण्डका ४० भन्दा बढी व्यवशायीको पनि फेष्टिबलमा सहभागिता रहनेछ । विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री एक्सपोको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, कृषि जन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ । एक्स्पोमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादन निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बैंकक साटा साट गर्न पनि एक्स्पोले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । नेपाल र बैंकक द्धिदेशिय सम्बन्ध बिस्तारका बहुआयामिक पक्षहरुलाई समेत फेस्टिवलले उजागर गर्नेछ । उक्त फेष्टिवलको सफलताले नेपाल बैंकक बीचको सम्बन्ध बिस्तार, सहकार्य बिस्तार र आगामी दिनको व्यवशायिक मार्ग निर्देशन गर्ने अपेक्षा आयोजकको रहेको छ ।
असोज महिना भरी माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सब
काठमाडौं, ११ असोज । माछापुच्छ्रे बैंक लिमिटेड १७ औँ बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले असोज महिना भरी बिभिन्न कार्यक्रमका साथ माछापुच्छ्रे महोत्सब मनाई रहेको छ । १७औं बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा माछापुच्छ्रे बैंकले सम्पूर्ण शाखाहरु मार्फत ग्राहकलाई मुस्कान सहितको सेवा प्रदान गरी ने बताएको छ । साथै, बैंकले यस महोत्सब अवधि भर ग्राहकहरुलाई कर्जा लगायत डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंग, लकर आदि सेवाहरुमा छुट दिने बताएको छ । महोत्सवमा सहभागी हुने ग्राहकहरुलाई विभिन्न डिस्काउण्ट कुपनहरु पनि उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले सर्वसाधारणहरुलाई असोज महिना भित्र माछापुच्छ्रे महोत्सवमा सहभागी भई विभिन्न लाभ उठाउन आव्हान गरेको छ । हाल बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र ७२ वटा एटिएमबाट ४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा जारी छ ।
सनराइज बैंकद्धारा बाल संगठनका बालबालिकालाई लत्ता कपडा वितरण
काठमाडौं, ११ असोज । सनराइज बैंक लिमिटेडले मंगलबार आफ्नो नवौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बैंकले संगठनमा रहेका १४० जना बालबालिकाहरुलाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं कर्मचारीहरुले वितरण गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । यसै क्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठले सनराइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुर्याउँदै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गरेका छन्र । साथै, श्रेष्ठले भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी बैंकलाई अनुरोध गरेका छन् ।
टोयोटाको तीन दिने दशैं एक्सचेञ्ज मेला सम्पन्न, मेलामा १० ओटा नयाँ कार बुकिङ्
काठमाडौं, ११ असोज । टोयोटाको नेपालका लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले ‘टोयोटा दशैं एक्सचेञ्ज मेला’ सम्पन्न गरेको छ । ग्राहकहरुको आवश्यकता तथा रुचीलाई ध्यानमा राख्दै विभिन्न आकर्षक योजना ल्याउने क्रममा कम्पनीले तीन दिनसम्म उक्त मेलाको आयोजना गरेको थियो । ललितपुरको ग्यालेक्सी अटोमोबाइलमा आयोजित उक्त मेलामा टोयोटाको नयाँ कारसँग ग्राहकले कुनै पनि आफ्नो पुरानो कार साट्न सकिने व्यवस्था गरिएको थियो । त्यस्तै, टोयोटाका विभिन्न प्रयोग भैसकेका (पुराना) तर प्रमाणित कार खरिद गर्ने सुविधा समेत मेला मार्फत उपलब्ध गराइएको थियो । मेलामा सहभागी हुन आउने ग्राहकहरुले आफ्नो सवारीको निःशुल्क परिक्षण (१६० वटा फ्री–चेक प्वाइण्टहरु) गराउनुका साथै भाग्यमानी ग्राहकहरुले आकर्षक उपहार समेत प्राप्त गरेका थिए । ३ दिनको मेला अवधिभर कुल १ सय ५० जनाले मेलाको अवलोकन गरेकोमा २५ वटा सर्टिफाइड कार तथा १० वटा टोयोटाका नयाँ कार बुकिङ भएको थियो । मेलाले विशेष गरी अटोमोबाइलका ग्राहकलाई सवारी साधन सम्बन्धि सम्पूर्ण ज्ञान उपलब्ध गराएको थियो । साथै ग्राहकहरुको पुरानो कारलाई टोयोटाका स्तरीय गाडीहरुसँग उचित अफर सहित साट्ने मौका प्रदान गरेको ग्यालेक्सी अटोमोबाइलका इश्वरी भट्टराईले बताए ।
शहरी क्षेत्र बाहिर बैंकका शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, भूकम्प प्रभावित जिल्लामा आफूखुसी शाखा सार्न पाइने
काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका, महानगरपालिका, उपमहानगर पालिका र नगरपालिका वाहेकका स्थानामा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न स्वीकृति नचाहिने ब्यवस्था गरेको छ । यसअघि कुनै पनि ठाउमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नको लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो । अव त्यस्ता स्थानमा शाखा खोल्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको संचालक समितिले निर्णय गरे पुग्ने भएको छ । संचालक समितिले गरेको शाखा खोल्ने सम्बन्धि निर्णयको जानकारी राष्ट्र बैंकलाई ७ दिन भित्रमा दिए पुग्ने भएको छ । राष्ट्र बैंकले मंगलवार सवै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको हो । यस्तै काठमाडौं उपत्यका वाहेकका भूकम्प अति प्रभावित १३ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा सोही जिल्लाको अर्काे स्थानमा सार्न पनि राष्ट्र बैंकको स्वीकृति लिइ रहनु नपर्ने भएको छ । यसअघिको स्वीकृत स्थानमा शाखा राखिराख्न असुविधा भए जिल्लाकै अर्काे उपयुक्त स्थानमा सम्बन्धित बैंक वित्तीय संस्थाले नै निर्णय गरेर सार्न सक्ने ब्यवस्था राष्ट्र बैंकले गरेको हो ।
एलजीको नयाँ शोरुम टान्डीमा
काठमाडौं, ११ असोज । सिजी इलेक्ट्रोनिक्सले ‘वादे रेडियो टिभी सेन्टर’ नामक नयाँ शोरुम टान्डीमा खोलेको छ । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्ने र नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउने उद्देश्यले सो स्थानमा शोरुम खोलेको कम्पनीले बताएको छ । उक्त नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत एलजीका कुनै पनि सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । साथै, उद्घाटन दिनदेखि दैनिक रुपमा १५ दिनसम्म लक्की ड्र मा भाग लिन सक्ने कम्पनीले बताएको छ ।
नेसनल ट्रेडिङबाट कम तेल वितरण,पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम
काठमाडौं, ११ असोज । नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए । ‘हेलो सरकार’मा परेको निवेदका आधारमा जाँच गर्दा उक्त परिमाणमा फेला पारेको हो । “नागरिकलाई तेल भर्दा ठगी गरेकाले उक्त पम्पलाई तेल वितरणमा रोक लगाएका छौँ,” उनले भने । यस्तै कार्यालयले नयाँ बजारमा रहेको खुश्बु कोल्डस्टोरले इजाजत अनुमतिपत्र नलिई सञ्चालन गरेको तथा ढक, तराजु जाँच नगराई सञ्चालन गरिएको जनाएको छ । उक्त कोल्डस्टोरलाई जरिवानाका लागि कार्यालयमा हाजिर हुन बोलाइएको छ । यसैगरी हेलो सरकारको उजुरीकै आधारमा बत्तीस पुतलीमा रहेको कुमारी आयल स्टोरमा पनि अनुगमन गरिएको छ । रासस