विकासन्युज

नेपालमा लगानी गर्न डेनमार्क इच्छुक

काठमाडौं, १८ असोज । नेपालका लागि डेनमार्कका कार्यवाहक राजदूत मदसेनले विदेशी लगानीकर्ता सम्मेलन गर्न नेपाल सरकारलाई सघाउन इच्छुक रहेको बताए । साथै नेपालमा लगानी गर्न डेनिश लगानीकर्ताहरु पनि ईच्छुक रहेको उनले बताए । तर नेपालमा सरकार र नीजि क्षेत्रबीच समन्वयको अभाव रहेको उनले बताए । मंगलबार नेपालको लागि डेनमार्कका कार्यवाहक राजदूत इनग्रिड दाल–मदसेनसँगको भेटमा मन्त्री जोशीले मन्त्रालय सुधारका लागि सरकारले हालै विशेष आर्थिक क्षेत्र सम्वन्धि ऐन र औद्योगिक व्यवसाय ऐन व्यवस्थापिका संसदबाट पास गरि सकेको बताएका छन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग मन्त्रालय अहिले नीतिगत सुधारमा सकृय रहेको बताएका छन् । औद्योगिक वातावरण तयार गरी नेपालमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्येले मन्त्रालय सुधारमा रहेको उनले बताए । ऐनको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले विनियमावली बनाउन कमिटी गठन गरेर प्रकृया अगाडि बढाई सकेको भन्दै उनले यसका अतिरिक्त कम्पनी ऐन समसामयिक सुधारका लागि मन्त्रिपरिषद्मा पेश गरेको जानकारी गराएका छन् ।उद्योग मन्त्री नवीन्द्रराज जोशीले परिणाम देखिने हिसावले काम गर्न निर्देशन दिएका छन् । नेपाल व्यवसाय मञ्चको बैठकलाई सम्बोधन गर्दै मन्त्री जोशीले यसका लागि कार्यतालिका बनाएर अघि बढ्न निर्देशन दिएका छन् । एक अर्को सरोकारवाला निकायहरुबीच समन्वयको अभाव देखिएको भन्दै मन्त्री जोशीले उद्योग मन्त्रालयको पहलमा बुधबार उद्योगसँग सरोकोर राख्ने पाँच वटा मन्त्रालयको बैठक बस्ने लागेको बताएका छन् । मन्त्री जोशीले निजी क्षेत्र र सरकार सँग सबै हिड्न सके मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए । बैठकमा उद्योग मन्त्रालयका सचिव शंकर कोईरालाले नेपाल व्यवसाय मञ्चलाई बलियो बनाउने उद्धेश्यले उद्योग मन्त्रालयले बजेटको व्यवस्था गरिसकेको बताए ।

वर्षदिनमा एक अर्ब पच्चीस करोडको बीउबिजन आयात

काठमाडौं, १८ असोज । करिब एक खर्ब रुपैयाँको खाद्यान्न आयात हुने देशमा यस वर्ष एक अर्ब २५ करोडको बीउबिजन आयात भएको छ । तेलहन र खाद्यन्नबालीमा ७० र तरकारीमा सतप्रतिशत परनिर्भर हुनुपरेको बीउबिजन अधिकृत महेश रेग्मीले जानकारी दिए । बीउबिजन केन्द्रको तथ्याङ्कअनुसार नेपाललाई कूल वार्षिक दुई हजार टन बीउको आवश्यकता पर्छ । तरकारीमा सिर्जना जातको गोलभेँडा र मकैमा खुमल हाइब्रिड–२ मा भने नेपाल आत्मानिर्भर भएको पाइन्छ । गत वर्ष ५४ मेट्रिक टन तरकारी, ७८७ मेट्रिक टन मकै र ९७७ मेट्रिक टन धान आयात गरिएको थियो । सो परिमाणको तरकारी, मकै र धान केन्द्रसँग अनुमति लिएर आयात गरिएको थियो । तीन गुणभन्दा बढी बीउ अनुमति बेगर आयात गरिएको बताइन्छ । भन्सार विभाग, त्रिपुरेश्वरले आव २०७२/७३ मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका १६ देसबाट दुई लाख ४७ हजार २१२ किलो तरकारीका बीउ आयात भएको उल्लेख छ । आयातित बीउमा काउली, ब्रोकाउली, बन्दागोेभी, भन्टा, भेंडेखुर्सानी, काँक्रा, फर्सी, लौका, घिरौँला, चिचिन्डो, गोलभेँडा, रायो, मुला, गाँजर, धनियाँलगायतका छन् । इटाली, चिली, अमेरिका, न्युजिल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, अष्ट्रेलिया, फ्रान्स, ताइवान, लेवनान, भारत, चीन, जापान, स्वीजरल्यान्ड, इन्डोनोसिया र कोरियाबाट बीय आयात गरिएको हो । यस वर्ष सबैभन्दा धेरै एक लाख ३९ हजार २३१ किलो चार करोड रुपैयाँ बराबरको बीउ भारतबाट आयात तथा अन्य देशबाट ३८ करोड रुपैयाँको आयात गरिएको छ । विश्वमा बीउ उत्पादन गर्ने १० कम्पनीबाट ६७ र नामकहलिएका अन्य तीन कम्पनीबाट ५० प्रतिशत बीउ आयत गरिएको हो । अमेरिकाको मोन्टान्सो विश्वमा सवैभन्दा धेरै बीउ निर्यात गर्ने कम्पनीमा सूचीकृत छ । प्राध्यापक डा गोपाल शिवाकोटी ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु’ भन्ने उखान हाम्रा पूर्वजले सिकाउदै आए पनि नेपालीले सो उक्तिलाई यतिखेर व्यवहारमा उतार्न नसकेको बताए । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की पूर्खाको बीउ छनोट गर्ने प्रविधि वैज्ञानिक रहेको बताउनुहुन्छ । तर आजभोलि किसान छिटो पाक्ने र धेरै फल्ने बीउको खोजीमा रहेकाले स्वदेशी बीउ क्रमशः विस्थापित भएको उनको भनाइ छ । पूर्खाले खाद्यान्न तथा दलहन एवम् तरकारी बालीमा पाकेको फलबाट ठूला दाना र स्वस्थ बिँया छनोट गरी पहिले नै जतन गर्दर्थ । तर अहिले हाइब्रिड जातको बीउमा निर्भर भएका कारण स्वदेशी बीउ प्रशोधन, सङ्कलन तथा जतन एवम् स्वस्थ बियाँको छनोट गर्ने बानी हराउँदै गएकाले बीउमा परनिर्भरता बढ्दै गएको हो । पूर्खाले खाद्यान्न भण्डारण गर्नु पूर्वनै बीउको जोहो गर्दथे । तर अहिले बजारमा सजिलैसँग बीउ खरिद गर्न सकिने भएपछि रैथाने जातका खाद्यान्न तथा दलहन एवम् तरकारीका बीउ पाइनै छोडेको छ । बीउबिजन ऐन २०४५ र बीउबिजन नियमावली २०६९ले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णशङ्कर जातका बीउ खास खास प्रक्रिया पुर्याइ नेपालमा आयात गर्न दिने कानुनी बाटो खुल्ला गरेको छ । सोही कारणले रैथाने जातका बहुगुणी बीउ लोप हुने सङ्घारमा छन् । राष्ट्रिय कृषि नीति २०६१ ले उत्पादन वृद्धिका लागि नेपालमा वर्णशङ्कर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जिएमओको प्रयोगलाई नियमन गर्ने नीति लिएको छ । बहुर्राष्ट्रिय कम्पनीका हाइब्रिड बीउलाई आयातमा प्रतिबन्ध छैन भने रैथाने बीउको जगर्ना र संरक्षणतर्फ ठोस पहल हुन नसकेकोले नेपाली जातका बीउबिजन गाउँघरबाट पलायन भएका छन् । नेपालमा निजी क्षेत्रका बीउबिजन कम्पनीले बिना अनुसन्धान अन्र्राष्ट्रिय क्षेत्रबाट आयातित बीउलाई प्याकेजिङ गरेरमात्र बिक्री वितरण गर्ने गरेको पाइन्छ । उनीहरुबाट सतप्रतिशत गुणस्तरीय बीउ आयात हुन्छ नै भन्न नसकिने सरकारी अधिकारीको भनाइ छ । रासस

१२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण प्रक्रिया सुरु

काठमाडौं, १८ असोज । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारणको काम अघि बढेको छ । आयोजना विकास समितिले धादिङ र गोर्खा जिल्लाका सात वटा गाउँ बिकास समिति अन्तर्गतको जमिनको मुआब्जा निर्धारणको काम अन्तिम चरणमा पुर्याएको हो । ‘नेपालले भोगीरहेको उर्जा संकट निवारणका लागि महत्वपुर्ण मानिएको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका सात वटा गाबिसको मआब्जा निर्धारण प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ’, उर्जा मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उर्जा मन्त्री जनार्दन शर्माले भने । आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार धादिङका सलाङ, मैदी, खरी र चैनपुर गाबिसको मुआब्जा निर्धारणको काम अन्तिम चरणमा पुगेको छ भने गोर्खाको घ्याल्चोक, भुम्लीचोक र दरबुङ गाबिसको मुआब्जा निर्धारण अन्तिम चरणमा पुगेको छ । दशैं शुभकामना तथा आफ्ना कामबारे ब्रिफिङ गर्न मन्त्रालयमा आयोजना गरिएका कार्यक्रममा उर्जामन्त्री शर्माले बुढीगण्डकी जलविद्युत आयोजनालाई विस्तारै कम्पनी मोडलमा अघि बढाउने स्पष्ट पारे । विकास समितिको मोडलले बुढीगण्डकी आयोजना अघि बढाउन नसकिने बताउँदै उनले भने–‘ठुलो लगानको आयोजना भएकाले समितिले बनाउन सक्दैन, त्यसकारण बुढीगण्डकीलाई कम्पनी मोडलमा अघि बढाउनु पर्छ, कम्पनी मोडलमा निर्माण गरिएका सफल परियोजनाहरुले पनि हामीलाई पाठ सिकाएको छ ।’ लगानी उठाउन १५ बर्ष लाग्ने भएकाले बुढीगण्डकीमा जनताको लगानी भन्दा पनि सरकारले ऋण लिएर लगानी गर्नु उपयुक्त हुने मन्त्रीको भनाई छ । यद्यपी जनताले चाहेको खण्डमा सेयर लगानी गर्ने अवसर भने दिन सकिने उनले बताए । उनले मुआब्जा वितरण लगायतका काम गर्न विकास समितिकै मातहतमा छुट्टै बिभाग गठन गरेर काम अघि बढाउने तयारी भैरहेको जानकारी समेत दिए । चालु आर्थिक बर्षको बजेटमा सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि ५ अर्ब ३३ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै थप ७ अर्ब पेट्रोलियम पदार्थमा पुर्वाधार शुल्कबाट उठाउने बजेटमा उल्लेख गरिएको छ । कुल १६० अर्ब लगानी आवश्यक पर्ने अनुमान गरिएको आयोजनामा ६० अर्ब मुआब्जाका लागि तिर्नु पर्छ ।

‘नेपाली हस्तकला क्षेत्रको विकासका लागि क्राफ्ट भिलेजको आवश्यकता’

काठमाडौं, १८ असोज । बाणिज्य परिषदको आयोजनामा नेपाल हस्तकला महासंघको पश्मिना वस्तुको क्रेता बिक्रेता भेला २०७३ सम्पन्न भएको छ । पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा क्रेताको चाहना अनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले निर्यात योग्य हस्तकलाको वस्तु पश्मिनाको प्रबद्र्धनको लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका छन् । सोही अवसरमा शाक्यले नेपाली हस्तकला क्षेत्रको विकास र प्रबद्र्धनको लागि क्राफ्ट भिलेजको आवश्यकता रहेको र त्यसको स्थापनाको लागि सरकारले सहयोग गर्नु पर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि ङईन्द्र प्रसाद उपाध्यायले नेपाली पश्मिनाको गुणस्तर अन्य मुलुकसँग अतुलनिय भएकोले नेपाली पश्मिनाको पहिचानमा गुणस्तरीयतामा कुनै सम्झौता नगर्न उत्पादकहरुलाई आग्रह गरेका छन् । साथै उनले हस्तकलाको प्रबद्र्धनको लागि नेपाल सरकार सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पुनःनिर्माण प्राधिकरणको परामर्श समितिमा सांसद मनोनयन गरिने

काठमाडौं, १८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकले भूकम्प प्रभावित जिल्लामा समावेशी सिद्धान्तका आधारमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १४ जना सांसदलाई परामर्श परिषद्को सदस्य मनोनीत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गर्न परामर्श परिषद् अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री दाहालले आवश्यक परामर्श गरी सांसद सदस्यको मनोनयन र सहजीकरण समिति गठन गर्ने बताएका प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । सहजीकरण समितिमा बढीमा ११ जना सदस्य रहने व्यवस्था छ । बैठकमा प्रधानमन्त्री दाहालले ४५ दिने अभियानअन्तर्गत जनतालाई आवास अनुदान वितरण गर्ने काम सन्तोषजनक भएको बताउँदै परामर्श परिषद्को बैठक बस्नु पूर्व निर्देशक समितिले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले पुनःनिर्माणलाई आफूले मुख्य प्राथमिकतामा राखेको र जनताको अपेक्षाअनुसार पुनःनिर्माणका काम अघि बढाउन सबै पक्षको सहयोग आवश्यक पर्ने महसुस गरेर नै परामर्श परिषद्लाई को कानुनीरुप दिइएको बताए । बैठकले लिएका निर्णय कार्यान्वयनका लागि आफूले निरन्तर अनुगमन गरेको जानकारी दिँदै उनले पुनःनिर्माणमा देखापरेका समस्या तथा चुनौतीलाई समाधान गर्दै अघि बढ्न यस्ता बैठकले सहयोग पु¥याउने धारणा व्यक्त गरेका थिए। नेपाली काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र प्राधिकरणले जनताको घर नबनाउने स्पष्ट पार्दै जनतालाई घर बनाउन आग्रह गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पुनःनिर्माणको कामलाई छिटो र छरितो अघि बढाउन सुझाव दिए । बैठकमा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सामान्य प्रशासनिक कार्यले युद्धस्तरमा काम गर्न नसकिने हुँदा छोटो प्रक्रियाद्वारा काम गर्न सकिने संयन्त्र बनाउन सुझाव दिए । परराष्ट्रमन्त्री प्रकाशशरण महतले पुनःनिर्माणको सबै काम प्राधिकरणले गर्ने नभएकाले सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए । बैठकमा सांसदहरु प्रेम सुवाल, प्रेमबहादुर सिंह, एकराज ढकाल, परामर्श परिषद्का सदस्यहरु उमेश उपाध्याय, शर्मिला कार्कीलगायतले पुनःनिर्माणसम्बन्धी गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका क्षेत्रमा भएका प्रगति, देखापरेका चुनौती तथा समाधानका लागि अपनाउनुपर्ने उपायका बारेमा चर्चा गरेका थिए। उनले पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजनाको खाकाअनुसार पुनःनिर्माण तथा पुनःस्थापनाको काम गर्न करिब नौ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने र हालसम्म दुई खर्ब ७२ अर्ब रुपैयाँ विभिन्न दातृ संस्था तथा निकायबाट प्राप्त हुने गरी सम्झौता भएको जानकारी गराए ।

सेयर बजार निरन्तर बढ्दै, परिसूचक १८०० नजिक, शिखरको २० करोडको कारोबार

काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १० लाख २७ हजार कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बङ्गलादेश बैंकको १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ४ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बैंक अफ काठमाडौं, कुमारी बैंक, प्रभु बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । सो दिन अन्य समूह र फाइनान्स समूह बाहेक बाकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३१ अंकले उकालो लागेको छ । हाइड्रोपावर र बैंकिङ् समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् ।

बुम रेमिट्यान्सको एजेन्टमा जनता बैंक नेपाल नियुक्त

काठमाडौं, १८ असोज । बुम रेमिट्यान्स प्रा.लीले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेश बाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । जनता बैंक नेपालका सबै शाखाहरुले बुम रेमिट् सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुत्तानी पनि गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक कल्याण बिक्रम पाँडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

हिरोको १ लाख रुपैयाँ नगद जित्ने दोश्रो भाग्यशालीको नाम घोषणा

काठमाडौं, १८ असोज । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” दशै योजना अन्र्तगत हिरोको १ लाख नगद जित्ने दोश्रो भाग्यशालीको नाम घोषणा गरेको छ । हिरोको हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद बर्दियाका विपिन कुमार गुप्ताले जितेका छन् । “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहले हिरो ब्राण्डका मोटर साइकल किन्दा ६ हजार पक्का डिस्काउन्ट, स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् । यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार नगद छुट हुनेछ । साथै स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।