आस्वा प्रणालीको निर्देशिका बोर्डबाट स्वीकृत, आगामी माघबाट लागू हुने
काठमाडौं, २४ कात्तिक । सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि एप्लिकेशन सपोर्टेड बाइ बल्केड अमाउन्ट (एएसबिए) प्रणाली लागू गर्न लागिएको छ । सो खरिदका लागि आवेदन दिने सम्बन्धी विद्यमान प्रणाली लामो समय (७० दिनसम्म) लाग्ने गरेको, झन्झटिलो रहेको, लागत उच्च हुने गरेको, लगानीकर्ताहरुले आफ्नो लगानी रकममा पूरा प्रतिफल प्राप्त नगरिरहेको, संकलित रकमका कारण बैंकिङ्ग प्रणालीको तरलतामा उतार चढाव आउने गरेको हुनाले उक्त आस्वा प्रणाली लागु गर्न लागिएको बोर्डले जनाएको छ । साथै, धितोपत्रको सूचिकरण गर्न समेत लामो समय लाग्ने गरेको जस्ता समस्याहरु लगानीकर्ताहरुले भोगिरहनु परेको स्थितिलाई दृष्टिगत गरी यस समस्यालाई निराकरण गर्ने क्रममा सार्वजनिक निष्काशनमा एएसबिए लागू गर्न लागिएको हो। एएसबिए प्रणालीको सम्बन्धमा आवश्यक निर्देशिका बनाउन बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैकर्स संघ तथा नेपाल मर्चेन्ट बैकर्स संघका प्रतिनिधि सहितको समितिले भारत र बंगलादेशको अभ्यास तथा नेपालको वित्तीय प्रणालीको व्यवहारिक पक्ष समेतलाई मध्यनजर गर्दै पेश गरेको “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” बोर्डले स्वीकृत गरेको र यस व्यवस्थालाई २०७३ माघदेखि लागू गर्ने योजना रहेको छ । सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्ने र हाल धितोपत्र बाँडफाँडका लागि करिव ७० दिन लाग्ने गरेकोमा उक्त कार्य बढीमा २० दिनभित्र गर्न सम्भव बनाउने उद्देश्यले लागू गर्न लागेको हो । यस प्रणालीमा हाललाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी न्यूनतम चुक्ता पुँजी कायम भएको, कम्तीमा २० जिल्लामा शाखा कार्यालय भई सबै शाखामा एबिबिएस बैंकिङ्ग सुविधा उपलब्ध भएको, काठमाडौं उपत्यका भित्र कम्तीमा चार शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन भई सूचीकृत भएको लगायतका मापदण्ड पूरा गरेका “क” र “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोर्डबाट अनुमति लिई सार्वजनिक निष्काशनको दरखास्त संकलनको काम गर्न सक्ने छ । साथै, यसको सफल कार्यन्वयन पश्चात् “ग” वर्गका वित्तीय संस्थाहरुले समेत उक्त कार्य गर्न सक्ने व्यवस्था गर्न सकिने छ । उक्त प्रणाली अन्तर्गत लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा आफूले धितोपत्रमा लगानी गर्न चाहेको रकम रोक्का राख्न बोर्डले तोकेको ढाँचा अनुसारको विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन गर्न सक्ने, धितोपत्र बाँडफाँट भएपश्चात् धितोपत्र पाउने लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा खरिद रकम हस्तान्तरण हुने र धितोपत्र नपाएको अवस्थामा लगानीकर्ताको खातामा रोक्का रहेको रकम फुकुवा हुने व्यवस्था रहेको छ । यो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँडको समयमा उल्लेख्य सुधार हुने, नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्नुपर्ने अवस्थाको अन्त्य हुने, निष्काशित धितोपत्रको सूचिकरण समेत छिटो गर्न सम्भव भई लगानीकर्ताहरुले बजारबाट छिटो निकास पाई लाभान्वित हुने सक्ने बोर्डको विश्वास छ । लगानीकर्ताहरुले बैंक मार्फत आवेदन गर्दा हरेक लगानीकर्ताको पहिचान (केवाइसि)मा सहयोग पुग्ने र वित्तीय क्षेत्रमा पारदर्शिता अभिबृद्धि हुने, वित्तीय बजारमा अर्वाैं रकम बिना प्रतिफल होल्ड भई बस्ने अवस्थाको अन्त्य हुने, छदमभेषी लगानीकर्ताहरु न्यूनिकरण भई बास्तविक लगानीकर्ताहरु लाभान्वित हुने बोर्डले जनाएको छ । हाल आइपिओदेखि लिष्टिङ् गर्न सम्म लाग्ने गरेको करीव ६ महिनाको समयावधिलाई २ महिनाभित्र गर्ने क्रममा यो पहिलो पाइलाको रुपमा रहेको छ । उक्त प्रणालीले धितोपत्रको सार्वजनिक निष्काशन प्रकृयामा ठूलो फड्को मारी धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने बोर्डले विश्वास लिएको छ ।
टिसिएलको ‘टप थ्रि विथ गिफ्ट थ्रि’ उपहार योजना नेपाली बजारमा अत्याधिक सफल
काठमाडौं, २४ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै टि.भी. ब्राण्ड टिसिएलले दशैं तिहारलाई लक्षित गरी ल्याएको ‘टप थ्रि विथ गिफ्ट थ्रि’ उपहार योजना अत्याधिक सफल भएको छ । उक्त उपहार योजनाले टिसिएल टिभीका ४०, ४९ र ५५ इन्चका स्मार्ट टिभी साथै ४८ इन्चको टिसिएल कर्भ टिभीहरुको विक्री अत्याधिक भएको र हुँदै आएको कम्पनीले जनाएको छ । गुणस्तरिय उत्पादन सँगै टिसिएलले सँधै उपभोक्ताहरुको चाहनालाई मध्य नजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने गरेको छ । नेपालका लागि टिसिएल टिभीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्र्तगत इ.ओ.एल. प्रा.लि. रहेको छ ।
भूकम्प पीडित उपत्यकाबासीको लागि साढे ३ अर्ब रुपैयाँ निकासा, प्रति परिवार ५० हजार भुक्तानी तत्काल
काठमाडौं, २४ कात्तिक । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान रकम ५० हजार रुपैयाँ उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको छ । उपत्यकामा अनुदान सम्झौता जारी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार कार्तिक २३ गतेसम्म ३ हजार ७७ घरधनीसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौताका लागि काठमाडौंमा ४२ हजार ५ सय, ललितपुरमा २४ हजार १ सय २८ र भक्तपुरमा २४ हजार ९ सय घरधनीको नाम पहिचान भई स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा पठाइसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।
रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, पूँजी ६९ करोड रुपैयाँ पुग्ने
काठमाडौं, २४ कात्तिक । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको कात्तिक २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्दछ । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६९ करोड २१ लाख रुपैयाँ पुग्ने छ । बुधबार फाइनान्सको प्रतिकित्ता सेयर करिब ८४३ रुपैयाँमा किनबेच भइरहेको छ ।
“ओप्पो विङ्गो अफर” योजनाको विजेतालाई ४२ ईञ्चको टीभी
काठमाडौं, २४ कात्तिक । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो दशैँ–तिहार लक्षित “ओप्पो विङ्गो अफर” योजनाको विजेता छनोट गरेको छ । मङ्गलवार, काठमाडौंको ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सर्वसाधारण माझ प्रत्यक्ष गोलाप्रथा मार्फत कम्पनीले विजेता छनोट गरेको हो । कम्पनीको “ओप्पो विङ्गो अफर” योजना अन्तर्गत गोलाप्रथा मार्फत पहिलो पुरस्कारको विजेताका रुपमा जय प्रकाश (कुपन नं २३५३) र सुजाता मगर (कपन नं ३४३३) घोषित भएका छन् । तिनले कम्पनीको तर्फबाट १–१ थान स्काइवर्थ ब्राण्डको ४२ ईञ्च टीभी जितेका छन् । त्यसैगरी, कुपन नं. २४५१, १०९८, १३४०, ३७२७ र १०८३ रहेका ग्राहकले १–१ थान “ओप्पो एफ वान एस” स्मार्टफोन जितेका छन् । योजना अन्तर्गत १० जना “ओप्पो नियो सेवेन” स्मार्टफोन विजेताकोपनि घोषणा गरिएको छ । कम्पनीका अनुसार कुपन नं १३३४, ३९७९, ११५२, ११२९, २५६८, २६२२, १०३५, ११७४, २६८१ र १३१५ रहेका ग्राहकले नियो सेवेन स्मार्टफोन जितेका छन् । कम्पनीद्वारा अक्टोवर १ देखि नोवेम्वर १ सम्म योजना सञ्चालन गरिएको थियो । लक्कि ड्र मार्फत छनोट भएका विजेतालाई एक विशेष कार्यक्रम मार्फत पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
काठमाडाैं उपत्यकामा तीन वटा स्मार्ट सिटी निर्माण हुँदै, काँडाघारीदेखि तेलकोट क्षेत्र पहिलाे प्राथमिकतामा
काठमाडौं, २४ कात्तिक । सरकारले उपत्यकाका तीन ठाउँमा एक लाख २० हजार रोपनी क्षेत्रफलमा तीन वटा स्मार्ट सीटी निर्माण गर्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाईमा व्यवस्थित शहरीकरणको योजना अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा एक/एक वटा स्मार्ट सिटी निर्माण गर्न लागिएको हो । काठमाडौंको मनोहरा करिडोर अन्तर्गत काँडाघारीदेखि भक्तपुरको चागुँ नारायण हुँदै तेलकोट क्षेत्रमा एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सीटी निर्माण गरिनेछ । त्यसको अध्ययन काठमाडौं उपत्यका विकास प्राधिकरणले सुरु गरिसकेको प्रमुख विकास आयुक्त भाइकाजी तिवारीले बताए । त्यस्तै, भक्तपुरको गुण्डु, दधिकोट हुँदै बालकोट क्षेत्रमा १० हजार हजार रोपनी जमिनमा स्मार्ट सीटी निर्माण हुनेछ । ललितपुरको भैसेपाटी, खोकना, बुङमतिदेखि छम्पीको बोर्डरसम्म फैलिएको अर्काे १० हजार रोपानीको स्मार्ट सीटी निर्माण गरिनेछ । ‘तीन जिल्लामा तीन वटा स्मार्ट सीटी निर्माणको अध्ययन भैरहेको छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजसँग भने । के के सुबिधा हुनेछन् स्माटी सीटीमा ? छरिएर रहेको बस्तीलाई एकिकृत गरेर स्मार्ट सीटी निर्माण गरिन्छ । यो आइटीसँग जोडिएको हुन्छ । जापानमा एउटा घरमा डाक्टर बोलाउनु पर्दा कस्तो डाक्टर बोलाउने हो, त्यस्तै स्विच अन गरे पुग्ने व्यवस्था रहेको तिवारीले बताए । तर नेपालमा भने तत्काल त्यस्तो स्मार्ट सीटी सम्भव नभएको तिवारी बताउँछन् । उनका अनुसार नेपालमा निर्माण हुने स्मार्ट सीटी वातावरण मैत्री र आधुनिक सुबिधासहितको हुनेछ । स–साना कामका लागि शहर छोडेर जानु पर्ने बाध्यताको अन्त्य त्यस्ता स्मार्ट सीटीले गर्नेछन् । स्कुल, अस्पताल, स्विमिङ पुल, मनोरञ्जनस्थल, बैंक, खेलकुद ग्राउण्ड, सरकारी सेवा सुबिधा, पार्क लगायतका सबै सुबिधा भएको व्यवस्थित शहर नेपाली सन्दर्भको स्मार्ट सीटी भएको उनी बताउँछन् । यस्तो शहर अहिलेको शहर भन्दा १० किलोमिटर भन्दा टाढा हुनुपर्ने मान्यता रहेको छ । तीन क्षेत्रमा बाहेक बाहेक पनि प्राधिकरणले सुन्दरीजल, झोर, चोभार लगायतका क्षेत्रमा समेत स्मार्ट सीटीको सम्भावना अध्ययन गरिरहेको छ । हरिसिद्धीमा भने स्मार्ट सीटीको निर्माणबारे अध्ययन गरिसकिएको थियो । तर पछि विवाद भएपछि त्यो रोकिएको उनले बताए ।
यस्तो हुनेछ भारतले ल्याउन लागेको ५ सय र २ हजारको नयाँ नोट
काठमाडौं, २४ कात्तिक । भारतले नक्कली नोटको कारोबार बढेर अर्थतन्त्रमै संकट आउन थालेको भन्दै ५ सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाएपछि त्यसको विकल्पमा नयाँ नोट ल्याउन लागेको छ । भारतले पाँच सय दरको नयाँ नोट ल्याउन लागेको छ भने एक हजार दरको सट्टा एकै पटक २ हजार दरको नोट ल्याउन लागेको हो । भारतले ल्याउने २ हजार दरका नयाँ नोटको नमूना पाँच सयको नयाँ नोटमा एकतिर माहात्मा गान्धीको फोटो हुनेछ भने अर्काेतिर लाल किल्लाको तस्विर हुनेछ । त्यस्तै, २ हजारको नयाँ नोटमा एकातिर माहात्मा गान्धी र अर्काे भागमा मंगलायनको तस्विर हुने रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)ले जनाएको छ । नयाँ नोटहरुमा आधुनिक सेक्युरिटी फिचर्सहरु समावेश गरिएको जनाएको छ ।
डोनाल्ड ट्रम्प जित नजिक, सिनेटमा पनि रिपब्लिकनकै बहुमत
काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । कुल २७० इलेक्ट्रोरल मत आवश्य पर्नेमा हालसम्म उनले २५४ इलेक्ट्रोरेल मत प्राप्त गरिसकेका छन् । प्रतिद्धन्द्धी डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनले जम्मा २१५ इलेक्ट्रोरल मत प्राप्त गरेकी छिन् । सिनेटमा समेत रिपब्लिकनहरुकै बहुमत पुग्नेदेखिएको छ । हालसम्म मत गणना सम्पन्न भएका राज्यहरुमा रिपब्लिकनहरुले अधिकांशमा बहुमत प्राप्त गरेका छन् । सम्भावित मत परिणामले ट्रम्पलाई आफ्नो योजना अनुसार काम गर्ने अवसर प्रदान गर्नेछ । उनले अमेरिकालाई मुस्लिम निषेधित मुलुक बनाउने, मेक्सिकोको सिमानामा पर्खाल लगाउने लगाएतका घोषणा गरेका थिए । ट्रम्प विजय उन्मुख भैरहँदा अमेरिकी सडकहरुमा ‘वि हेट मुस्लिम एण्ड ब्ल्याकः वि वान्ट आवर ग्रेट नेशन ब्याक’ लगायतका नारा घन्किन सुरु भएको छ ।