विकासन्युज

नेप्से परिसूचक ७.२६ अंकले बढेपनि कारोबार रकममा भने ४१ प्रतिशत गिरावट

काठमाडौं, १ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.२६ अंकले बढेर अन्तिम दिन १५३०.०६ अंकमा पुगेको छ । बजारमा परिसूचक बढेता पनि कारोबार भने अझै बढ्न सकेको छैन । साताभर जम्मा एक अर्ब ९३ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा चार दिन कारोबार भएको बजारमा १५६ कम्पनीको ३१ लाख २६ हजार चार सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४१ दशमलब १५ प्रतिशत कम हो । गत साता १५४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३३२१ कारोबारबाट तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरका ४२ लाख ९८ हजार दुई सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताभर सेयर बजारमा उतारचढाव आएको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८४ दशमलब २५ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक, बाणिज्य बैंक र जलविद्युत समूहको परिसूचक क्रमशः २०.७५, ८.६२, ४.७३ र ६.३३ अंकले बढेको छ । वित्त समूह र अन्य समूहको परिसूचक क्रमशः ३.५९ र २.९ प्रतिशतले बढेको छ । उत्पादमूलक समूहको परिसूचक ८ दशमलब ४२ अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.४२ अंकले बढेर ३३१.०० अंकमा आईपुगेको छ । यस साता सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । बैंकको ३० करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ को दुई लाख १० हजार कित्ता सेयर कारोबार भएको छ ।

राष्ट्र बैंकद्धारा खाद्य पदार्थको मुल्यबृद्धि ह्वात्तै घटेको तथ्यांक सार्वजनिक

काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले खाद्य बस्तुहरुको मुल्यबृद्धि ह्वात्तै घटेको दावी गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य बस्तुको मुल्यबृद्धि २.६ प्रतिशतमा सिमित रहेको दावी गरेको छ । तर बजारमा खाद्य पदार्थको मुल्य बृद्धि भने दोहोरो अंक भन्दा माथि नै रहेको विभिन्न निकायहरुले सार्वजनिक गरिरहेका छन् । गत वर्ष भारतले गरेको नाकाबन्दी र भूकम्पको असर मुल्यबृद्धिमा पर्दा मुल्यबृद्धिर बढेको थियो तर यस वर्ष सामान्य भएकोले मुल्उबृद्धिमा चाप नभएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्यबस्तुको मुल्यबृद्धि १२.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले दावी गरेको थियो तर आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक अध्ययन मा खाद्य पदार्थको मुल्उय बृद्धि २४ प्रतिशत सम्म रहेको तथ्य सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खाद्य पदार्थ अन्तर्गत घ्यू तथा तेलको मुल्यबृद्धि १९.८ प्रतिशतले बढेको छ भने दलहन तथा गेडागुडीको मूल्य २.३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा क्रमशस्४१.१ र ४४.१ प्रतिशतले बढेको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुग्धजन्य पदार्थ तथा अण्डा ३.१ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११.९ प्रतिशतले बृद्धि भएको थियो । त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको १.५ प्रतिशतले मात्र मुल्य बृद्धि भएको छ । सो को मुल्यबृद्धि गत वर्षको सोही अवधिमा ९.४ प्रतिशतले बृद्धि भएको थियो । त्यसैगरी फलफूल र मासु तथा माछा तर्फ ३.२ र ३.९ प्रतिशतले बृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । गत वर्षको सोही अवधिमा फलफुल र मासु तथा माछा तर्फ १०.२ र ९.६ प्रतिशतले बृद्धि भएको थियो ।

नौ जिल्लामा बन्दै छन् ४० वटा स्वास्थ्य संस्थाका नयाँ भवन, हेरौँ कुन कुन जिल्लामा?

हेल्थपोष्टको फाइल तस्बिर बैतडी, १ पुस । सुदूरपश्चिमका नौ जिल्लामा स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरी सुदूरपश्चिमका ४० वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्वीकृति दिएपछि सो सम्बन्धी प्रक्रिया अगाडी बढाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बन्दना भट्टले राससलाई जानकारी दिए। उनले विभिन्न जिल्लामा अस्पताल, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित चिकित्सक आवास गृहसमेत निर्माण गर्न लागिएको बताए। सूचना अधिकारी भट्टका अनुसार नयाँ भवन निर्माण हुनेमा एउटा कर्मचारी आवासगृह, एउटा अनमी आवासगृह, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा बर्थिङ युनिट र ३३ वटा स्वास्थ्यचौकी रहेका छन् । ती मध्ये सबैभन्दा बढी बैतडीमा नयाँ भवन निर्माण हुन लागेका हुन् । बैतडीको आमचौरा, शिवलिङ, सिगास, पञ्चेश्वर, रोडिदेवल, विशालपुर र गिरेगडा, शिखरपुर, महारुद्र, गुरुखोला, बासुलिङ र हाट गरी १२ वटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने उनले बताए । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार डोटीको काडामाडौँ, तिखात्तर, मुडेगाँउ, बगलेक, मान्नाकपाडी, कफल्लेकी, बाझँककानी र बर्छैन् देवली गरी आठवटा स्वास्थ्यचौकी, अछामको बैजनाथ र ढकारी स्वास्थ्यचौकी र बझाङको भामचौर, भमेना, मटेला, पारकाट्ने रकफलसेरी गरी पाँचवटा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण हुने छन् । यसैगरी डडेल्धुराको शीर्ष र कोटेली स्वास्थ्यचौकी, बाजुराको जुगाड र गुदुखाती स्वास्थ्यचौकी, कैलालीको फूलवारी स्वास्थ्यचौकी, कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्यचौकी तथा दार्चुलाको हिकिला स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने छन् । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका ती संस्थाका भवन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३४५ वटा नयाँ स्वास्थ्य संस्थाका भवन निर्माणका लागि छनोट गरेको हो ।रासस

मुस्ताङमा परीक्षण हुँदैछ हावाबाट विजुली, एक मेगावाट उत्पादन हुने

काठमाडौं, १ पुस । मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’का विज्ञान प्रविधि सल्लाहकार डा रवीन्द्र ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वायु ऊर्जा विभाग प्रमुख सन्तोष राई, एभरेष्ट बिन प्राली र दक्षिण अफ्रिकाका प्रतिनिधिको संयुक्त अध्ययन टोलीले केही दिन पहिले मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा तत्काल एक मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन तयार पारेको थियो । विश्वभर चलनचल्तीमा रहेको प्रविधिभन्दा दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि योग्य हुनसक्ने परीक्षणको क्रममा थाहा भएको सल्लाहकार डा ढकालले बताए । हाल उपलब्ध प्रविधि ६ मिटर प्रतिसेकेन्डभन्दा बढी बेगमा हावा चलेमा बन्द हुने र विद्युत् उत्पादन गर्न नसक्ने रहेको छ । तर दक्षिण अफ्रिकाको प्रविधि भने प्रतिसेकेन्ड ७.५ मिटरभन्दा बढी बेगमा समेत विद्युत् उत्पादन गर्न सक्ने रहेको छ । मुस्ताङमा जुनसुकै मौसममा पनि उलेख्य मात्रामा हावा चल्ने भएकाले वायु ऊर्जाको लागि सो स्थान धेरै पहिलेदेखि चर्चामा रहेको भए पनि काम अगाडि बढ्न सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले २५/२५ किलोवाट क्षमताको दुईवटा टर्वाइन राखेर विद्युत् उत्पादन गरेपनि हावाको बेग सहन गर्न नसक्ने पङ्खा जडान गरिएका कारण सो प्रणाली हाल बन्द छ । मुस्ताङको कागबेनी, मार्फा, मुक्तिनाथ, माथिल्लो मुस्ताङका जुनसुकै स्थानमा समेत वायु ऊर्जा प्रणाली जडान तथा विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । सन् २००८ मा संयुक्त राष्ट्रसङ्घले गरेको अध्ययनअनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् वायु ऊर्जामार्फत उत्पादन गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ७०० मेगावाटको सम्भावना छ । सबैभन्दा बढी सम्भावना मुस्ताङमा देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले पनि मुस्ताङमा १० मिटर प्रतिसेकेन्ड हावा लाग्ने प्रशस्त स्थान रहेका छन् । प्रचलनमा रहेका प्रविधिअनुसार एक रोपनी जग्गामा पाँच सय किलोवाट वायु ऊर्जा उत्पादन गर्न सकिन्छ । तर अफ्रिकाको नयाँ प्रविधिबाट सोही क्षेत्रमा एक मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । सो प्रविधिअनुसार एउटा टर्वाइनबाट ३।५ किलोवाट विद्युत् उत्पादन गर्न सकिन्छ । नेपालमा वायु ऊर्जाको सम्भावना भए पनि विद्युत् खरिद दर, लगानीको वातावरण तथा सरकारको सहजीकरणको अभावमा उल्लेख्य मात्रामा लगानी भित्रन नसकेको हो । तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जुम्लाको तातोपानीमा १५ किलोवाट, मकवानपुरको भोर्लेनी र नवरपरासीको धौवडीमा १०/१० किलोवाट क्षमताको वायु ऊर्जा उत्पादन गरिसकेको छ । केन्द्रका वायु ऊर्जा विभाग प्रमुख राईले नेपालका अन्य स्थानभन्दा मुस्ताङ नै उपयुक्त रहेको र केन्द्रले समेत तीन वर्षदेखि जिल्लाका विभिन्न स्थानमा हावाको परीक्षण गरिरहेको बताए । “दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि उपयुक्त हुनसक्छ । त्यसले हावाको बेग सहन गर्नसक्ने र सामान्य हावामा पनि विद्युत् उत्पादन गर्न सक्ने देखिएको छ,” उनले भने। मुस्ताङको एउटै स्थानमा आठ किलोमिटर लामो खुल्ला मैदान छ । सो स्थानमा वायु ऊर्जाको सम्भावना अत्याधिक रहेको छ । यस्तै सप्तगण्डकी, कोसी र कर्णालीका दक्षिणी र मध्य दक्षिणी भेगमा वायुको गति भारतको राजस्थानको जत्ति नै रहेको छ । भारतको राजस्थानमा दुई हजार ५०० मेगावाट विद्युत् वायु ऊर्जाबाट निकालिएको छ । त्यस्तै नेपालको सुर्खेत, अछामका दुईवटा गाउँमा समेत सम्भावना देखेर बोलपत्र आह्वान भइसकेको छ । घरायसी प्रयोगमा समेत उपयोगी हुने भएकाले बढी हावा चल्ने जुनसुकै स्थानमा वायु ऊर्जा प्रणाली जडान गर्न सकिन्छ । वायु ऊर्जा प्रणालीबाट तत्कालै उत्पादन सुरु हुने भए पनि सुरुमा लागत बढीपर्ने भएकाले लगानीकर्ता लगानी गर्न हिच्किचाइरहेको बेला एभरेष्ट बिन इनर्जीले परीक्षणको रुमपा मुस्ताङमा विद्युत् उत्पादनको तयारी गरेको हो । एभरेष्ट बिन इनर्जीका अध्यक्ष डिल्लीराज पोखरेलले परीक्षणको रुपमा विद्युत् उत्पादनको तयारी गरेको बताए । नेपालमा वायु ऊर्जाको अत्याधिक सम्भावना भए पनि सरकारले वातावरण नबनाउँदा लगानीकर्ता लगानी गर्न इच्छुक नभएकाले सरकारले अनुदान दिने प्रणालीमा पुनः विचार गर्नुपर्नेमा उनले जोड दिए । सरकारले वायु ऊर्जाबाट उत्पादन हुने विद्युत्को तत्काल विद्युत् खरिद दर समेत तय गर्नुपर्ने देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वायु ऊर्जाको सम्बन्धमा प्रक्रिया अगाडि बढाएको भए पनि लगानी बोर्डमा दर्ता भएको ‘द’ गोर्खाज यूके’ लिमिटेडको अधिकृत पुँजी एक अमेरिकी डलर मात्रै पाइएको छ । सो कम्पनी हाल आफ्नो सम्पर्कमा नरहेको बोर्डले जनाएको छ । रासस

निक्षेप ग्यारेन्टी हुने गरी ऐन ल्याउँछौं–मन्त्री थानी

काठमाडौं, १ पुस । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारीका निक्षेपकर्ताहरुको पैसा ग्यारैन्टी हुने गरी ऐन ल्याउने बताएका छन् । उनले सहकारीमा निक्षेपकर्ताको रकमको सुरक्षा नभएको भन्दै आफू मन्त्री भएकै बेलामा निक्षेप सुरक्षित हुने गरी ऐन ल्याउने बताए ।  नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन)को २५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री थानीले सो कुरा बताएका हुन् । सहकारी सदस्यहरुको हितमा केन्द्रित हुनुपर्ने बताउँदै उनले भने, ‘सदस्यको निक्षेपको ग्यारेन्टी हुनेगरी ऐन ल्याउँछौं, कसैलाई डुव्न दिदैनौ ’ । सदस्य दुब्लाउने र संस्था मोटाउने काम हुनु नराम्रो भएको उनको भनाइ थियो । ऋणीलाई जिम्मेवार बनाउन र गलत ऋणी पहिचान हुने गरी ऐनमा समावेश गरिने मन्त्री थानीले बताए । सहकारी सिद्वान्त, भावना अनुकुल ऐन ल्याउने विश्वास व्यक्त गर्दै मन्त्री थानीले भने–‘ऐन सहकारीमैत्री नै आउँछ’ सहकारी अभियानले भनेबमोजिम सबै कुरा भने समावेश गर्न नसकिने उनको भनाई थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीले सहकारमैत्री ऐन ल्याउन आग्रह गरे । ‘प्रस्तावित ऐन हाम्रो अनुकुल छैन्, उनले भने– ‘सहकारीमैत्री ऐन आए सहकारीले आर्थिक विकासमा योगदान दिन सक्छ ।’ सहकारीले मानिसको जीवनस्तर सुधार गर्न सक्नुपर्ने उनको भनाई थियो । नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाईले सहकारीमा सबै अट्न सक्ने भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए । सबैको भावना अनुलकुल हुने गरी ऐन ल्याइन आफूहरु क्रियाशील भएको उनले बताए ।

लक्ष्मी लघुवित्त र नेपाल ल्यूब आयलको वार्षिक साधारणसभा आगामी पुस २२ गते

काठमाडौं, १ पुस । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पनि वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । त्यस्तै, नेपाल ल्यूब आयल लि.को पनि २५औँ वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस ७ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

पर्यटक फर्कन थालेपछि खुम्बुक्षेत्र सुनसान

सोलुुखम्बु, १ पुस । चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक चिसोका कारण फर्कन थालेपछि अहिले पर्यटकीयस्थल खुम्बुक्षेत्र सुनसान देखिन थालेको छ । चिसो बढेसंगै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा फर्कने पर्यटकको उपस्थिति बाक्लो हुँदै गएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । मुख्य सिजनमा पर्यटकको दर्ता गर्न भ्याइनभ्याई भएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीलाई पर्यटकको चाप घट्न थालेपछि यतिखेर हलुङ्गो भएको कार्यालयका गणेश पन्तले बताए । पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले खुम्बुक्षेत्रमा जाने पर्यटकलाई अपनाउनुपर्ने नियम र उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा जानकारी दिइने गर्छन् । अहिले पर्यटकका लागि उपयुक्त मौसम छैन । उपयुक्त मौसम नभएकाले पर्यटकको आगमन अत्यन्त न्यून हुने गरेको कार्यालयले जनाएको छ । टे्किङ सिजन सुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायी सबै फर्किएका छन् । कात्तिकको अन्त्यमा सिजन सकिएको भए पनि मङ्सिरको अन्त्यसम्म भने पर्यटकको हल्का आवतजावत हुने गर्दछ । दसैँ अघिनै पर्यटक भरियाका लागि खुम्बु पुगेकाहरु समेत बाटोमा फर्कदैँ गरेको पाइन्छ । मौसम प्रतिकुलताका कारण अघिल्लो वर्षमा कतिपय पर्यटकको हवाई उडान रद्द हुँदा पर्यटन व्यवसायी प्रत्यक्ष रुपमा मारमा परेका थिए भने यसवर्ष मौसममा कुनै खराबी नआएपछि पर्यटकहरु सहजै फर्कन पाएका छन् । त्यस्तै, बढ्दो चिसोका कारण पर्यटक आउन छाडेपछि यहाँका होटल व्यवसायी जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा जान थालेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकले काम गर्नेलाई होटल जिम्मा लगाएर आफू अन्यन्त्र हिँडेका छन् ।

मूल्य वृद्धि ४.८ प्रतिशतमा झर्यो, व्यापार घाटा ९७.९ प्रतिशतले बढ्यो

काठमाडौं, १ पुस । मूल्य वृद्धि घट्दो दरमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मूल्य वृद्धि ४.८ प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक  वर्षको असोजमा भने मूल्य वृद्धि ६.७ प्रतिशतमा रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धि १०.४ प्रतिशतमा रहेको थियो । त्यस्तै आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ९७.९ प्रतिशतले बढेर २ अर्व ७७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३७.८ प्रतिशतले घटेको थियो । निर्यात भन्दा आयातमा उच्च वृद्धि भएपछि व्यापार घाटा चुलिदै गएको हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारततर्फ २३.२ प्रतिशत, चीनतर्फ ३६.६ प्रतिशत र अन्य मुलुकतर्फ ९ प्रतिशतले निर्यात बढेको छ । यसअवधिमा आयात ८७.४ प्रतिशतले बढेर ३ अर्व ०१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६.८ प्रतिशतले घटेको थियो । निर्याततर्फ १७ प्रतिशतले वृद्धि भई २४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९.१ प्रतिशतले घटेको थियो । यस अवधिमा रेमिट्यान्स वृद्धिद्धर घटेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्सको वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भई २३२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिद्धर १९.४ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, शोधनान्तर स्थिति बचतमा रहेको छ । चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर २१ अर्व ९८ करोड रुपैयाँ बचतमा रहेको छ । यो गत असोजसम्ममा ८३ अर्ब ७० करोडले बचतमा रहेको थियो ।