विकासन्युज

युनाइटेड मोदीको साढे ११ लाख आईपीओ जारी, उद्योग प्रवावित क्षेत्रले मात्रै आवेदन दिन पाउने

काठमाडौं १७, भदौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ११ लाख ५० हजार कित्ता साधारण शेयरको निष्काशन (आईपीओ) जारी गरेको छ । प्रति साधारण शेयर एक सय रुपैयाँ अंकित यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) पर्वत जिल्लाका बासिन्दाले मात्रै आवेदन दिन पाउने छ । न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाइने छ । यो कम्पनीको शेयरको विक्री खुला यही भदौ २६ गतेबाट हुने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कुश्मा, देवः विकास बैंकको कार्यालय कुश्मा र फलेबास पर्वतमा मात्रै आवेदन फाराम पाइने उल्लेख छ । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड हो ।

साइकलप्रेमी मन्त्री हेलिकोप्टर चढेको भाडा तिर्न बाँकी, हेलिकोप्टर भाडा १७ लाख भन्दा धेरै

काठमाडौं १७, भदौ । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ । सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका थिए । त्यसपछि जिल्लाका कार्यक्रम जाँदा प्रायजसो हेलिकोप्टर चढ्ने गर्थे ।   बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान मन्त्रीबाट बाहिरिएको एक महिना भइसकेको छ । तर, उनले भाडामा हेलिकोप्टर चढेको रकम अझै भुक्तानी भएको छैन । पासवानले मन्त्रालयको खर्च कम गर्ने तथा वातावरणमैत्री भन्दै सुरुमा साइकल चढेर मिडियामा प्रचारबाजी गरेका थिए । पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ नपाएपछि पासवान गौशालामा भाडाको घरमा बस्थे । गौशालादेखि मन्त्रालय उनले साइकलबाटै ओहोर–दोहोर गर्थे । पासवानको साइकल यात्रा एक महिनासम्म मात्र चलेको मन्त्रालयका एक कर्मचारीले बताए । ‘मन्त्रीज्यू करिब एक महिनासम्म त साइकलमा आउने–जाने गर्नुभयो,’ ती कर्मचारीले भने, ‘त्यसपछि साइकल छाडेर गाडीमै आउने–जाने गर्नुभयो ।’ मितव्ययी भन्दै साइकलप्रेमी बनेका तत्कालीन मन्त्री पासवान एक महिनापछि गाडीमा र त्यसपछि हेलिकोप्टर प्रयोगमा अगाडि देखिएका हुन् । मन्त्री छँदा पासवानले सेनाको हेलिकोप्टर पटक–पटक प्रयोग गरेका थिए । मन्त्रालयका अनुसार आफ्नो कार्यकालमा उनको हेलिकोप्टर भाडा मात्र १७ लाख रुपैयाँभन्दा धेरै पुगेको थियो । तर, पछिल्लो दुईपटक हेलिकोप्टर चढेको भाडा तीन लाख ७२ हजार नौ सय १४ रुपैयाँ मात्र उनले नबुझाएका हुन् । पासवानले काठमाडौंदेखि गौर, राजापुर गोलठा भन्ने ठाउँमा जाँदा दुई घन्टा ३५ मिनेटको दुई लाख १६ हजार ६ सय ७० रुपैयाँ र काठमाडौं–सिरहा ओहोर–दोहोर गर्दाको एक घन्टा ४५ मिनेटको एक लाख ५६ हजार दुई सय ४४ रुपैयाँ भाडा रकम बुझाउन बाँकी रहेको सैनिक स्रोतको भनाइ छ । नयाँपत्रिका दैनिकबाट ।  

चिनियाँ राष्ट्रपतिको दशैंमा नेपाल आउने इच्छा, भ्रमण एक दिनको

काठमाडौं १७, भदौ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दशैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन्। असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएको खबर आजको अन्नपूर्णमा छापिएको छ। असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी पर्छ । भारतको गोवामा हुने चीन, भारत, रूस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताएका छन्। भारतको गोवास्थित पणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन हुँदैछ। पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो, अहिले ब्रिक्स सम्मेलन पहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको छ,’ एक मन्त्रीले बिहीबार भने। ती मन्त्रीका अनुसार चिनियाँ अधिकारीहले आफ्ना राष्ट्रपतिको भ्रमणको मिति प्रस्ताव गरेपछि सरकारले बिहीबार चीनका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्ययलाई पठाइने निर्णय गरेको छ। नेपालमा दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो।

५५ करोडमा विक्री भयो सीता एयर, सुरेश राठी समूहले किन्यो

काठमाडौं १७, भदौ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर विक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको हो । सीता एयर खरीद गर्ने विषयमा दुई महिना अगाडि नै सीता एयर र राठीको समूहबीच सम्झौता भएपनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न भने अझै केही समय लाग्ने भएको छ । राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए ।  निजी लगानीको सीता एयर खरिद गर्न ५५ करोड रुपैयाँ खर्च गरिएको पनि खरिदकर्ता राठीले बताए । उनका अनुसार खरिदको सम्झौता केही महिना अगाडि नै भएपनि औपचारिक रुपमा कम्पनीको स्वामित्व परिवर्तन गर्न अझै दुई महिना लाग्न सक्ने भएको जानकारी दिए । एयरमा आफूले लगानी गरेको भएपनि साइलेन्ट पार्नरको रूपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकोले कुनै हल्ला नगरिएको पनि राठीले बताए । सीता एयर स्रोतका अनुसार दुई महिना अगाडि भएको दुइपक्षित सम्झौतालाई औपचारिकता दिन लागिएको छ । कम्पनीको स्वामित्व हस्तान्तरण गर्न आवश्यक प्रक्रिया मिलाउन अझै चार/पाँच दिन लाग्ने भएको पनि सीता एयर स्रोतको भनाइ छ । स्रोतका अनुसार राठीसहित पाँच जनाको व्यपारिक समूहबाट सीता एयर खरिद भएको हो । विराटनगरका व्यवसायी राठीको ट्रेडिङ व्यवसायमा दख्खल रहेको उल्लेख छ । राठीले भने आफूहरुले कुनै व्यवापारिक ग्रुप खडा नगरेको र स्वतः स्फूर्त रुपमा व्यवासायी गर्ने भएकोले पनि एयरलाइन्स संचालनमा पनि व्यवसायीक ग्रुप नरहने बताए । राठीका अनुसार आवश्यक प्रक्रिया पू¥याउँन, शेयर स्वामित्व हस्तान्तरण गर्न समय लाग्ने भएकोले खरिद गर्ने सम्झौता भएपनि आफ्नो मातहतमा सीता एयरको स्वामित्व भने आइनपुगेको जानकारी दिए । विराटनगरमा राठी जग्गाको कारोबार गर्छन । उनको अक्सिजन ग्याँस, जुट उद्योग रहेको छ । राठी गु्रपका नामले परिचित यी व्यवसायीको आयात तथा निर्यातको कारोबार रहेको छ । आन्तरिक उडानको यो वायुसेवा कम्पनीसँग दुईवटा मल्टिइन्जिनका जहाज छन् । सन् २००३ बाट संचालनमा आएको यो वायुसेवासँग डोर्नियर २२८ नामका १८ सीट क्षमताका जहाज संचालनमा छन् । सीतासँग यस अघि चारवटा जहाज भएपनि दुईवटा भने दुर्घटनाबाट घटेका हुन् । यो वायुसेवाले एउटा जहाजमार्फत काठमाडौंबाट लुक्ला दैनिक पाँच देखि सात वटा उडान गर्दै आएको छ भने नेपालगन्जबाट जुम्ला, हुम्ला र बाजुरामा एकएक उडान गर्दै आएको छ । लामो समयदेखि रणनीतिक साझेदार खोज्दै आएको यो वायुसेवाले पूर्ण स्वामित्व नै हस्तान्तरण गरेको उल्लेख छ । समाचार स्रोतः अन्नपूर्ण पोस्ट दैनिक ।  

मेलम्चीको ६० प्रतिशत काम सम्पन्न, ०७४ असोजभित्रै काठमाडौँमा पानी

काठमाडौं १७, भदौ । तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ। कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको शुक्रबारको गोरखापत्र दैनिकले समाचार छापेको छ। हाल १९ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ। जम्मा २७.५ किमी सुरुङ निर्माण गर्नुपर्नेमा अब ८ किमी मात्र बाँकी छ। समितिका अनुसार अगस्ट महिनामा सबैभन्दा धेरै १ किमी सुरुङ खनिएको छ। यही गतिमा महिनाको १ किमी सुरुङ खनियो भने पनि ८ महिनामा सुरुङ सम्पन्न हुनेछ । तोकिएको मिति अझ १२ महिना बाँकी छ।  अर्थात् २०७४ असोज महिना पानी ल्याउने मिति हो। दैनिक ३५ मिटरका दरले सुरुङ खनिएको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए। उनले भने, ‘२०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौं आउने कुरामा अब शङ्का छैन, तोकिएको समयमा काम सकिन्छ। उनका अनुसार सुन्दरीजल र सिन्धु जोडिनलाई अब १ किमी मात्र बाँकी छ, त्यसपछि अझ सहज हुनेछ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०७३ असोज महिनासम्ममा सुरुङ निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर भूकम्प र नाकाबन्दीका कारण ६ महिना काम हुन सकेन।  सोही कारण देखाउँदै निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्न समितिलाई निवेदन दिएपछि समितिले तत्काल अन्तरिम रूपमा ६ महिना म्याद थपेको छ ।  कामको प्रकृति हेर्दा एक वर्ष थप गर्नुपर्ने सम्भावना रहेको समितिले जनाएको छ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घर–घरमा वितरणका लागि पाइपलाइनको काम पनि तीव्र पारिएको छ। उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको कार्य पनि सोही समयअघि नै सम्पन्न गरिनेछ।  आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारमा ५ सय किमी पाइपलाइन बिच्छ्याएको छ।  ३ सय किमी बिच्छ्याउन बाँकी छ। ‘६० प्रतिशत काम सम्पन्न भइसकेको छ, ०७४ असोजभित्रै हामीले काम सम्पन्न गर्छौं, त्यही लक्ष्य अनुसार काम भएको छ, हामी समयमै काम गर्न सक्छौँ’, निर्देशनालयका प्रवक्ता लीला ढकालले भने। निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिनेछ। सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रथपका विभिन्न स्थानमा पानी टङ्की निर्माणको काम भइरहेको छ।  काठमाडौँको आरुबारी, महाङ्कालचौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्रको निर्माण भइरहेको प्रवक्ता ढकालले जानकारी दिए।

परिवार नियोजन संघमा ब्रम्हलुट, विघटनको संघारमा

काठमाडौं १७, भदौ । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ । संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमितता तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र संघको विधानलाई समेत उल्लघंन गर्दै मनोमानी ढंगले संचालन गर्न थालेपनि संघको अस्तित्व संकटमा परेको हो । संघले आफ्ना कार्यक्रम संचालन गर्न कानुनबमोजिम पेन गर्नुपर्ने कागजात पेस नगर्ने, परियोजनाहरु स्वीकृतिबिना नै संचालन गर्ने, कार्यक्रम संचालन गरेपश्चात अनुमोदन नगर्ने, समाज कल्याण् परिषद्बाट अनुगमन नगराउनेलगायत समाज कल्याण ऐन २०४९, समाज कल्याण नियमवाली २०४९, संस्था दर्ता ऐन २०३४ तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरु संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ । जसका कारण करिब १ करोड जनताले प्राप्त गरेको सेवा बन्द हुने अवस्थामा रहेको छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्योलमा परेको छ । नेपाल समाचारपत्र दैनिकबाट  ।

दूतावासबाट पाँच हजारमै राहदानी, खाडी मुलुकका नेपालीलाई लाभ

काठमाडौं १७, भदौ । एसियाली मुलुकमा रोजगारीमा रहेका नेपालीले अब ५ हजार रुपैयाँ (५० अमेरिकै डलर)मै राहदानी पाउने भएका छन् ।सकारको यो निर्णयबाट सबभन्दा बढी नेपाली रहेका खाडी मुलुक र मलेसियामा रहेका कामदारले राहात पाउनेछन् । ती मुलुकमा काम गर्न गएका नेपालीबाट राहदानीमा चर्को शुल्क लिएको भन्दै सरकारको आलोचना बढेपछि मन्त्रिपरिषद्को बिहीबारको बैठकले राहदानीको राजस्व एकैपटक ३० डलर (करिब तीन हजार रुपैयाँ) घटाउने निर्णय गरेको शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । विदेशका जेलमा रहेका नेपाली र अन्यको अवस्थाबारेसमेत जानकारी खोजिरहेको सरकारले पहिलो राहतका रुपमा राहदानीको राजस्व घटाएको हो । एसियाली मुलुक मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुबेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीले अब आफ्नै मुलुकको जिल्लामा तिरेसरहकै शुल्कमा राहदाी पाउनेछने ।

सडकमा सरुवा हुन तँछाडमछाड, आकर्षक कमाइले आकर्षण बढ्यो

काठमाडौं १७, भदौ । आर्थिक वर्ष ०७१/७२ मा ६ सडक कार्यालयद्वारा संचालित आयोजनामा वास्तविक खर्चभन्दा १ करोड ५० लाख रुपैयाँ बढी भुक्तानी भयो । महालेखा परीक्षकको ५३ औं प्रतिवेदनअनुसार बिलभन्दा बढी चेक काटिएको, दोहोरोपन नहेरिएको र ठेकेदारसँग घटाउनुपर्ने छुट नघटाएकाले बढी भुक्तानी भएको हो । ‘यस्तो हुनुको प्रमुख दोषी लेखापाल र प्राविधिक हुन्,’ महालेखा प्रवक्ता बाबुराम गौतमले भने । उनका अनुसार बढी भएको रकम असुल गरी सम्बन्धित अधिकारीलाई कारबाही गर्न सरोकारवाला निकायलाई पत्राचार गरिएको छ । ठेकेदारसँगको मिलेमतोमा अनधिकृत रुपमा कमाइ हुने भएकोले पनि कर्मचारीको आँखा सडकमा नै गएको हो । यही कारण पनि लेखापालहरु सडकमा नै आउन चाहेका हुन । कान्तिपुर दैनिकबाट ।