विकासन्युज

कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंक उदासीन

काठमाडौं, १० माघ । सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको देखिएको छ । आव २०७३/७४ को पुस मसान्तसम्म एक खर्ब ३८ अर्ब रुपैयाँ कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा सात अर्ब ७४ करोड रुपैयाँ मात्र किसानलाई ऋण प्रवाह गरेको छ । यो लगानी कुल निक्षेपको शून्य दशमलव ६ प्रतिशत हुन आउँछ । त्यसभित्र पनि कृषि विकास मन्त्रालयले किसानलाई छुट्याएको अनुदान रकम एक अर्ब ९० करोड रुपैयाँ समावेश छ । नेपाल राष्ट्र बैंकले आफ्नो निक्षेपको अनिवार्य १० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने नीति लागू गर्दै आएको भए पनि राष्ट्रिय वाणिज्य बैंकले त्यसलाई बेवास्ता गरेको देखिन्छ । नेपालको कृषि गणनाले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहेको देखाएको छ । विप्रेषणमार्फत प्रतिवर्ष झन्डै पुग नपुग ६ खर्ब रुपैयाँ स्वदेश भित्रिने गरेको छ । तर दिगो विकासका लागि त्यस प्रकारको रकमले खासै अर्थ नराख्ने अर्थविद्हरु बताउँछन् । हाल दिनहुँजसो झन्डै एक हजार ५०० वैदेशिक रोजगारीमा गइरहेका युवा जमातलाई रोक्न बैंकले कृषि क्षेत्रमा गर्दैआएको यो लगानीबाट टेवा पुग्ने देखिँदैन । “निक्षेप सङ्कलन सन्तोषजनक छ” – बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने । बैंकले यसवर्ष एक खर्ब ३८ अर्ब निक्षेप सङ्कलन गरेको छ जसमध्ये कुल कर्जा लगानी ९३ अर्ब ४८ करोड रुपैयाँ छ । कृषि क्षेत्रमा भने सात अर्ब ७४ करोड रुपैयाँ मात्र लगानी भएको छ । लगानीको हिस्सालाई तुलना गर्दा उक्त लगानी सात दशमलव शून्य ५६ प्रतिशतमात्र हुन आउँछ । यसलाई निराशाजनक मान्नुहुन्छ कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता योगेन्द्रकुमार कार्की । कृषि क्षेत्र उत्पादनशील क्षेत्र हो । राष्ट्रिय वाणिज्य बैंकले वाणिज्य, व्यापार, होटल, मझौला उद्यम, गाडी, जग्गा, खरिद, घर निर्माण, शैक्षिक कर्जाजस्ता उपभोक्ता कर्जामा बढी लगानी गर्दैआएको । हाल उक्त बैंकका झन्डै २४ लाख ग्राहक छन् । बैंकले कृषि क्षेत्रको लगानीमा चासो नदेखाउने हो भने कुनै बेला साथमा पैसा भएर पनि खाद्यान्न खरिद गर्न नपाइने अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ कृषि विज्ञ भोलामानसिंह बस्नेत । राष्ट्रिय कृषक महासङ्घका अध्यक्ष उद्धव अधिकारी युवा जनशक्तिको पलायन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, सिँचाइको अपर्याप्तता, उन्नत जातका बीउबिजनको अनुपलब्ध जस्ता कारणले बैंकले कृषि क्षेत्रमा लगानी नबढाएको बताएका छन् । उनले मलखाद तथा कृषि अनुदानको राम्रो व्यवस्था नहुनु, किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्न नसक्नु, सरकारी उदासीन हुनु, शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गर्नु, चक्लाबन्दी, निर्वाहमुखी खेती प्रणालीमा सुधार हुन नसक्नु कृषि ऋणलाई व्यवस्थित र लगानीमा बढावा नदिनु जस्ता कारण कृषि पेसाबाट मानिस क्रमशः पलायन हुनेक्रम बढेको बताए । नेपालको छैटौँ कृषि गणना, २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । कृषि गणनामा १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको औँल्याइएको छ । एक लाख १६ हजार किसानले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको त्यसमा उल्लेख छ । छैटौँ कृषि गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको र ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको जनाइएको छ । बयालीस प्रतिशत कृषकले भने व्यावसायिक कृषि गर्न आफूहरुलाई ऋण उपलब्ध नभएको गुनासो गर्ने गरेका छन् । रासस

नबिल इक्विटी फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत

काठमाडौं, १० माघ । नबिल इक्विटी फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्र यो फण्डको सो मात्राको इकाइ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको छ ।

सोमबार मात्रै एक करोड ३२ लाख कित्ता बोनस र ४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १० माघ । सोमबार मात्रै एक करोड ३२ लाख ५३ हजार ४८८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ४ लाख १८ हजार  २८९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सनराइज बैंकको एक करोड ३२ लाख ५३ हजार ४८८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सोही दिन अन्य २ वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको २८ हजार २८९ कित्ता र माउन्ट मकालु डेभलपमेन्ट बैंकको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रभु बैंकको साढे १० करोडको प्रमोटर सेयर बिक्री, सोमबार ४३ करोडको सेयर कारोबार

काठमाडौं, १० माघ । सोमबार प्रभु बैंकको करिब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस बैंकको प्रमोटर सेयर ५ लाख १८ हजार ८२५ कित्ता १० करोड ४२ हजार रुपैयाँमा कारोबार भएको हो । यो सेयर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ । स्रोतका अनुसार शाक्य समूहको सेयर शेरचन समूहले किनेको हो । यो कारोबारसँगै बैंकको प्रवद्र्धक प्रभु समूहको हिस्सा वृद्धि भएको छ । सोमबार नै यस बैंकको पब्लिक सेयर २ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पब्लिक सेयर प्रतिकित्ता ३३० रुपैयाँमा किनबेच भएको छ । सोमबारको सेयर बजारमा ४३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार करिब १४ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन करिब १३४ कम्पनीको २३ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक ७ दशमलब ९६ अंकले घटेर १४५७ दशमलब ८८ अंकमा झरेको छ ।

‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता

काठमाडौं, १० माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा शुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक ५० करोड रुपैयाँ बराबरको आवेदन पर्ने गरेको छ । ऊर्जा मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री जनार्दन शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताए । प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा महत्वपूर्ण आयोजनाको छनोट गरेर निर्माण प्रक्रिया सुरु गरिने उनको भनाइ छ । कुनै आयोजनाको प्रारम्भिक लागत रकम जुट्नेबित्तिकै निर्माण अवधि, प्रतिफल तथा सम्पूर्ण जानकारीसहित मन्त्रालयले आवश्यक योजना सार्वजनिक गर्ने मन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले भने, “नागरिकबाट प्रतिबद्धता आइसकेपछि लगानी गर्ने आयोजना, त्यसको लागत, निर्माण अवधि र त्यसबाट आउने प्रतिफललगायतका बारेमा लगानीकर्तालाई जानकारी गराइन्छ । नागरिकले पहिलो चरणमा प्रतिबद्धता मात्रै जनाए हुन्छ ।” सो अभियानबाट प्राप्त भएको रकम राष्ट्रिय गौरवको जलविद्युत् आयोजनामा लगानी गर्ने सरकारको योजना रहेको छ । मन्त्री शर्माका अनुसार हालसम्म प्राप्त भएको प्रतिबद्धतामा विदेशमा रहेका युवाको बढी चासो रहेको पाइएको छ । मन्त्रालयका अनुसार आइतबार साँझसम्म दुई अर्ब ५३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । रासस

रसुवा महोत्सवमा ४० लाख बराबरको कारोबार, २० हजारद्धारा अवलोकन

रसुवा, १० माघ । महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने नाराका साथ रसुवा तेस्रो महोत्सव सम्पन्न भएको छ । महोत्सव अवधिमा ४० लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव आयोजक संस्था लहरेपौवा महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालका अनुसार गत पुस २८ देखि माघ ९ गतेसम्म आयोजित महोत्सवमा २० हजारले अवलोकन गरेको र स्टलमा राखिएका कृषिजन्य, हस्तकला, काष्ठकला, कृषि औजारलगायतका सामग्रीले ग्रामीणवासीलाई काममा थप प्रेरणा मिलेको जनाइएको छ । महोत्सव अवधिभर पर्यटन व्यवसायी, विभिन्न विधाका कलाकर्मी, गीतकार, गायककार, राजनीतिक दलका प्रतिनिधि समेतको सहभागिता रहेको आयोजक संस्थाले बताएको छ । रासस

सूचना प्रविधिको विकासमा ११ अर्ब ५० करोड खर्चिदै सरकार, आर्थिक समृद्धिको लागि सबै जिल्लालाई जोड्ने

काठमाडौं, १० माघ । सरकारले सूचना प्रविधिको विकासका लागि ११ खर्ब ५० करोड रुपैयाँ खर्चिने भएको छ । मध्यपहाडी लोकमार्गसँगै कनेक्टिभिटी गरी ‘इन्फरमेशन सुपर हाइवे’ निर्माणका सरकारले सो खर्चगर्ने तयारी गरेको हो । नेपालको सूचना प्रविधिको विकासको मेरूदण्डका रूपमा उक्त हाइवेलाई विकास गर्ने लागिएको हो । देशभरिका सबै जिल्ला सदरमुकाम तथा नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर सञ्जालको ‘लिज कनेक्टिभिटी’ तयार हुँदै छ । यसका लागि मेचीदेखि-महाकालीसम्ममा कुल ७ हजार ५ किलोमिटर लामो  अप्टिकल फाइबर तयार हुँदैछ । मध्यपहाडी लोकमार्गमा बिछ्याइने अप्टिकल फाइबरले आगामी २० देखि २५ वर्षसम्मको राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बताइएको छ । सरकारी क्षेत्रबाट परियोजनामा हुन लागेको सो लागनी दूरसञ्चार पूर्वाधारको क्षेत्रमा अहिलेसम्मकै बढी भएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । नवीन  प्रविधिहरूको  अधिकतम  उपयोग  गर्दै  सूचना  तथा  सञ्चार  सेवामार्फत्  सामाजिक, सांस्कृतिक विकास तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित उक्त परियोजना अघि बढाइएको हो । चौधौ योजनाको आधारपत्रमा मुलुकभरि सूचना तथा सञ्चारको सञ्जाल स्थापना गरी सूचनाको माध्यमबाट गुणस्तरीय सेवा पहुँचलाई समावेशी बनाइ आर्थिक विकास, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षण गर्दै राष्ट्र विकासको  योगदान टेवा पु¥याउने लक्ष्य सरकारले तोकेको छ । त्यस्तै बजेट तथा सरकारको नीति तथा कार्यक्रमले समेत यो परियोजना छिट्टै कार्यान्वयनमा लैजानले प्रतिवद्धता गरिएको थियो । मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर विच्छाउनका लागि प्रदेश नम्बर एक, दुई र तीन लागि सम्झौता गरिसकिएको छ भने प्रदेश चार र पाँचमा आवेदन मूल्यांकलन भइरहेको छ । छ र सातमा टेण्डर आह्वान भइरहेको छ । पूर्वी खण्ड उत्तर–दक्षिणी सडक र तीनओटै प्रदेशका ३२ जिल्लामा ४ अर्ब ८८ करोड रुपैयाँ खर्चेर कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने भएको छ । मध्यखण्डमा फाइबर बिछ्याउनका लागि कार्यका लागि प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान  गरेको छ । उक्त खण्डमा  १ हजार ४ सय ८२ किलोमिटर भूमिगत र ६ सय ३५ किलोमिटर एडीएसएस गरी कुल २ हजार १ सय १७ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने छ । तेस्रो खण्डमा अप्टिकल फाइबर बिछ्याउन केही दिनअघि सूचना जारी गरेको छ । सुपर हाइवेको तेस्रो प्याकेजमा कुल २ हजार ५ सय १२ किलोमिटर अप्टिकल फाइबरबाट दुवै प्रदेशका १९ जिल्लामा कनेक्टिभिटी पुर्याउने सरकारको योजना छ । उक्त खण्डमा सो परियोजनको लागि लागि ३ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान छ । सो परियोजनाबाट शहरोन्मुख बस्तीका साथै उत्तर दक्षिण जोड्ने सडक हुँदै पूर्वपश्चिम राजमार्गसमेतलाई फाइबरले जोड्ने सरकारको तयारी छ । उक्त फाइबरबाट मुलुकभर  विभिन्न किसिमका दूरसञ्चार सेवाको विकासका लागि आवश्यक पूर्वाधार तयार हुने बताइएको छ । स्वदेशी लगानीमा बन्न लागेको इन्फरमेशन सुपर हाइवे दूरसञ्चार सेवाप्रदायक तथा इण्टरनेट सेवाप्रदायक सबै कम्पनीहरूले उपयोग गर्न पाउनेछन् । यसले सबैजसो सेवा प्रदायकमा सेवाग्राहीको पहुँच पुग्नुका साथै प्रतिस्पर्धाका कारण सस्तो तथा गुणस्तरीय सेवासमेत पाउन सक्ने अनुमान गरिएको छ । देशभरि अप्टिकल फाइबर विच्छाउने स्थानमा कालोपत्र सडक सञ्जालको अभाव छ । सो कारणले फाइबर बिछ्याउने कार्य केही अप्ठ्यारो देखिएको छ । सडक पिच हुन समय लाग्ने भएकाले प्राधिकरणले अन्य विकल्पको प्रयोगबाट फाइबर विस्तार योजनालाई अघि बढाउने भएको छ । जमीनमुनि त्यतिकै बिछ्याउँदा राजमार्ग निर्माणका क्रममा क्षति पुग्ने तथा बाढी तथा पहिरोले बगाउन सक्ने सम्भावना देखिन्छ । पिच भएको सडकमा अप्टिकल फाइबर र त्यसबाहेकको क्षेत्रमा एडीएसएस पोलमा तार झुण्ड्याएर उच्च क्षमताको माइक्रोवेभ प्रयोग गरिने बताइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको क्षेत्रमा रहेका विभिन्न सेवाप्रदायकबाट प्रत्येक वर्ष वार्षिक आम्दानीको २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषामा राख्दै आएको छ । आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको उक्त परियोजना नेपालको दूरसञ्चार पूर्वाधारमा सरकारका तर्फबाट अहिलेसम्मकै ठूलो लगानी हो ।

एईसीसी ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न, ९ सय जना विद्यार्थीहरुको सहभागिता

काठमाडौं, १० माघ । एईसीसीले  ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न गरेको छ । कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिने अवसर प्रदान गरिएको आयोजकको दावी छ । आइतबार होटल याक एण्ड यतिमा आयोजना भएको उक्त कार्यक्रममा करिव ९ सय जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शेष घले (अध्यक्ष, एनआरएन)  मेलबर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजीले पनि कार्यक्रममा उपस्थिती जनाएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा नेपालमै पहिलो पटक विदेश अध्ययन सम्बन्धि जिज्ञासाको समाधानका लागि फेसबुक डिस्कशन सेशनको पनि आयोजना गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी उपलब्ध गराइएको थियो । सहभागीहरुलाई आयोजकले पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्ने अवसर प्रदान गरेको जानकारी दिइएको छ । साथै, तत्काल प्रक्रिया अगाडी बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसरपनि कार्यक्रममा प्रदान गरिएको थियो । कार्यक्रम मार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्क रहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधि सँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गरेका छन् । कार्यक्रममा सहभागीका लागि आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ । सहभागीलाई अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्ष सम्मका लागि कार्य अधिकार (वर्क राइट) पनि प्रदान गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।