हुन्डाईको ‘फ्रि चेक अप क्याप’ योजना, असोज २० गतेदेखि शुरु
काठमाडौं, १९ असोज । नेपालको लागी हुन्डाई गाडीको एक मात्र अधिक्रित बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लिले ‘हुन्डाइ हाइवे असुरेन्स’– हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरु सँग मनाउने उद्देश्यले हुन्डाई गाडिमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको आयोजकले बताएका छन् । यस फ्रि चेक अपमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडिको फ्रि चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट तथा कुलल्यान्टको मात्रा कम भएमा निस्शुल्क थप व्यवस्था गरिदिने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत कम्पनीले राजमार्गका बिभिन्न स्थानबिर्तामोड(काँकरभित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), डालीमा रिसोर्ट पार्किंङ (कुरिनटार), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्रि चेक अप पोइन्टको स्थापना गरीएको छ । यसका साथै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटरसम्म रोडसाइड असिसट्यान्टको पनि व्यवस्था गरिने कम्पनीले जनाएको छ । कार्यक्रम असोज २० देखी २२ गते सम्म बिहान १० बजे देखी साझ ६ बजे सम्म सञ्चालन हुनेछ ।
हिमालयन बैंकद्धारा करिव ६ हजार भूकम्प पीडितलाई अनुदान वितरण
काठमाडौं, १९ असोज । हिमालयन बैंकले मंगलबार सम्म ५ हजार ५६५ जना भूकम्प पीडितलाई नीजि आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ । बैंकले २०७३ जेष्ठमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजि आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्ने सम्झौता वमोजिम बैंकको उपत्यका बाहिरका ७ वटा जिल्ला शाखाहरुमा १३ हजार ९१७ वटा लाभग्राहीहरुको खाता खोलिसकेको छ । बैंकमा हालसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ३९ करोड ५ लाख ५० हजार रुपैयाँ प्राप्त भई ७ हजार ८११ वटा खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । बैंकमा खोलिएको खाता मध्येबाट हालसम्म ५ हजार ५६५ जना लाभग्राहीहरुले रकम बुझिसकेका छन् । बैंकले सकेसम्म छिटो भन्दा छिटो अनुदान वितरण गर्न सम्बन्धित जिल्ला विकास समिति तथा गा.वि.स. सचिवहरुसँग समन्वय गरी हरेक दिन विहान १० बजे देखि ४ बजे सम्म राहत वितरण गर्ने छ । साथै, यसै महिना देखि विदाको दिनमा पनि राहत वितरण गर्ने बैंकले जनाएको छ । बैंकले भूकम्प प्रभावित जिल्लामा नुवाकोटको बट्टार, रसुवाको वेत्रावती, धादिङ्गको धादिङ्गवेंशी, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, सिन्धुपाल्चोकको वाह्रविसे तथा गोर्खा जिल्लाको गोर्खा नगरपालिकामा रहेका शाखाहरुबाट अनुदान वितरण गरिरहेको छ ।
लक्ष्मी बैंकको ५५औँ शाखा बागलुङ्गमा
काठमाडौं, १९ असोज । लक्ष्मी बैंकले आफ्नो ५५ औँ शाखा बागलुङ्गमा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरु माझ बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा मार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी बैंकले व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ । बैंकले अब ५५ शाखा, २ विस्तार काउन्टर र ७५ एटिएमबाट ग्राहकलाई सुबिधा दिने भएको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्व १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि समयमा बैंकले करिब ११५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बुधबार पनि बढ्यो सेयर बजार, नेप्से परिसूचकले नाघ्यो १८००
काठमाडौं, १९ असोज । यो साता सेयर बजार लगातार बढिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ८ दशमलब १० अंकले बढेर १८०६ दशमलब ६० अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३२ कम्पनीको १० लाख कित्ता सेयर ९२ करोड ८४३ लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकममा भने गिरावट भएको छ । बुधबार बजारमा बैंक अफ काठमाडौं लुम्विनीको सबैभन्दा बढी २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य ७८७ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, सेवा विकास बैंक, कुमारी बैंक र ज्योति विकास बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरका लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सो दिन उत्पादनमूलक, हाइड्रोपावर र बीमा समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक उकालो लागेका छन् । होटल, बैंकिङ्, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ५८, १३, ४.८३, ४.६१ र २ अंकले बढेका छन् ।
एप्पल वल्र्डको ‘दशैंतिहार डबल अफर’ योजना, टिभीदेखि स्कुटरसम्मको उपहार
काठमाडौं, १९ असोज । एप्पल वल्र्ड मोबाइलले मोबाइल खरीद गर्ने ग्राहकलाई “दशैंतिहार डबल अफर”उपहार योजना ल्याएको छ । राजधानीको दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको उक्त वल्र्ड मोबाइलले बडा दशैं तथा दिपावलीको अवसर पारेर उक्त योजना ल्याएको हो । एप्पल वल्र्डका मेनेजर आरपी सिंहका अनुसार एप्पल वल्र्डले ग्राहकहरुमध्ये एक जनालाई प्रथम पुरस्कार स्वरुप यामाहाको फसिनो स्कुटर, दोस्रो पुरस्कार सामसुङको ४० इञ्चको एलइडी टेलिभिजन र तेस्रो पुरस्कारमा हुवावेको पि९ स्मार्टफोन बितरण प्रदान गर्ने जनाएका छन् । यसैगरि, सान्त्वना पुरस्कार स्वरुप नेपालमा उपलब्ध सबै मोबाइल कम्पनीहरुका एक/एक सेट वितरण गरिने मेनेजर सिंहले बताए । विभिन्न मोबाइल कम्पनीहरुले दिएका विभिन्न अफर, स्क्र्याच, लक्की ड्र सँगै एप्पल वल्र्डले पनि आफ्ना ग्राहकहरुलाई थप अफर दिएर डबल अफर बनाएको सेल्स मेनेजर दिपिका थापा मगरले जानकारी दिइन् । यसका अलावा एलजीको एल६०, एलबेलो, इन्टेक्सको स्टार २ लगायताका बिभिन्न कम्पनीका भिन्न मोबाइल सेटमा ५० प्रतिशत सम्म छुट गरेको र यो छुट योजना स्टक रहुन्जेल सम्म लागू हुने एप्पल वल्र्डले जनाएको छ । एक्सक्लुसिभ सोरुम मार्फत लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबार र मोबाइल एक्सचेन्जमा ख्याती कमाएको एप्पल वल्र्डले ६० मिनेट केयर सर्भिस पनि सँचालनमा ल्याएको छ । दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको मल्टिब्राण्ड सोरुमबाट मोबाइलको अनलाइन कारोबार पनि गरिरहेकोले समय अभाव हुनेहरुलाई अनलाइन मार्फत फाइदा लिन समेत आग्रह गरेको छ ।
प्रमोटर सेयर प्रमोटर बाहेकलाई बिक्री गर्न राष्ट्र बैंकले ल्यायाे अझ कडा नियम
काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयर प्रमोटरको विचमा मात्रै विक्री गर्नुपर्ने बाध्यकारी र प्रष्ट ब्यवस्था गरेको छ । यसअघि प्रमोटर सेयर प्रमोटर वाहेकलाई पनि विक्री गर्न सकिन्छ कि भन्ने अस्पष्ट ब्यवस्थाको कारण धितोपत्र वोर्ड र राष्ट्र बैंक विच सामन्जस्यता नहुने अवस्था आएपछि राष्ट्र बैंकले प्रष्ट ब्यवस्था गरेको हो । राष्ट्र बैंकले केही दिन अगाडि मात्रै सार्वजनिक गरेको एकिकृत निर्देशनमा प्रमोटर सेयर प्रमोटरका विचमा मात्रै कारोवार गर्न पाइने प्रष्ट ब्यवस्था गरेको छ । ‘मृत्यु भई वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशवन्डा भई हक हस्तान्तरण भएको बाहेक अन्य अवस्थामा संस्थापकले आफ्नै समुहका संस्थापकलाई मात्र सेयर नामसारी वा बिक्री गर्नु पर्नेछ,’ एकिकृत निर्देशनको ‘संस्थापक तथा संस्थापक समुहको सेयर नामसारी वा बिक्री सम्बन्धमा’ जारी गरिएको निर्देशनको खण्ड (ग) मा उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार सो ब्यवस्था बमोजिम संस्थापक समुहमा सेयर नामसारी वा बिक्री हुन नसक्ने अवस्था भएमा मात्र अन्य व्यक्ति वा संस्थालाई यस निर्देशनका अधिनमा रही सेयर नामसारी वा बिक्री गर्न सकिने छ । यसरी संस्थापक समुहको सेयर नामसारी वा खरिद गरी लिने व्यक्ति वा संस्था संस्थापक समुहमा नै समावेश हुनेछन् । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीको सेयर खरिद/बिक्री वा नामसारी गर्नुपुर्व राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ । स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस सहित यस बैंकमा आवेदन गर्नुपर्नेछ । यस्तै संस्थापक संस्थापक बीचमा सेयर खरिद/बिक्री भएमा प्रचलित कानुनको रित पु¥याई खरिद/बिक्री गरी सो को जानकारी १५ दिनभित्र यस बैंकलाई दिनु पर्नेछ । तर, चुक्ता पुँजीको दुई (२) प्रतिशतभन्दा बढी हुनेगरी संस्थापक सेयर खरिद गर्न चाहेमा संस्थापक संस्थापक बीचमा सेयर खरिद÷बिक्री गर्न वा हकप्रद शेयरको हक हस्तान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । तर कर्जा सुचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष नपुगेको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको आन्तरिक वा बाह्य लेखापरिक्षकमा नियुक्त रहेको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको कानुनी वा अन्य सल्लाहकार पदमा बहाल भएको, सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको, प्रचलित कानुन बमोजिम कर चुक्ता नगरेको वा स्थायी करदाता लेखा नम्बर नियमित नगरेको, कुनै बैंक वित्तीय संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएको, धितोपत्र दलाल वा बजार निर्माता, सहकारी संस्था, सम्बन्धित बैंक वित्तीय संस्थाबाट कर्जा लिएको वा वित्तीय स्वार्थ रहेको जस्ता ब्यक्ति र संस्थालाई प्रमोटर सेयर विक्री गर्न भने प्रतिबन्द लगाइएको छ । यस्तै चुक्ता पुँजीको पन्ध्र प्रतिशत भन्दा कम सेयर लिएको सेयरधनीले थप सेयर नामसारी वा खरिद गरी लिँदा निजको स्वामित्वमा उक्त संस्थाको चुक्ता पुँजीको पन्ध्र प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने अवस्था भएको, वा फर्म, कम्पनीको हकमा विगत २ वर्षदेखि सञ्चित मुनाफामा सञ्चालनमा नरहेको जस्ता कैफियत भएकालाई पनि प्रमोटर सेयर विक्री गर्न पाइने छैन ।
चन्द्रागिरि केबलकार दशैँको टिकाको दिन बाहेक अन्य दिन सञ्चालनमा आउने
काठमाडौं, १९ असोज । साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार विजयादशमी टिकाको दिन अर्थात असोज २५ गते एक दिन मात्र बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्य विदाका दिनमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने छ । साथै सेवाग्राहीको सुविधाका लागि सञ्चालित रेष्टुरेन्ट, बार, बाल उधान लगायतका सेवाहरु समेत सुचारु हुनेछन् ।
आइएमएफको बैठकमा भाग लिन गभर्नर डा. नेपाल अमेरिका गए, टिका थाप्न नेपाल फर्कने
काठडमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) तथा विश्व बैंकको संयुक्त आयोजनामा अमेरिकाको वासिङ्गटन डिसीमा आयोजना हुने बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । असोज २१ देखि २३ सम्म आयोजना हुने ‘विश्व बैंक तथा अन्तराष्ट्रिय मुद्राकोषको बार्षिक बैठक’ मा सहभागी हुन असोज १८ गते मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । आ–आफ्नो संस्थाहरुका नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न आइएमएफ बोर्ड अफ गभर्नर्स तथा विश्व बैंकको बोर्ड अफ गभर्नर्स सामान्यतया बर्षमा एक पटक बैठक गर्ने परम्परा अनुसार यो कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा १ सय ८८ सदस्य राष्ट्रका अर्थ मन्त्रालय, केन्द्रीय बैंक, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सदस्य राष्ट्रका प्रतिनिधिहरुले विश्व अर्थ व्यवस्था, अन्तर्राष्ट्रिय विकास तथा क्षेत्रीय सहकार्य लगायतका आर्थिक विषयहरुमा छलफल गर्नेछन् । गभर्नर डा. नेपाल बार्षिक बैठकका साथै उक्त बैठकको साइडलाइनमा आयोजना हुने ३३ औं सार्क फाइनान्स ग्रुप बैठकमा समेत सहभागी हुनेछन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क( का सदस्य मुलुकहरुका गभर्नर र अर्थ सचिव सदस्य रहने सार्क फाइनान्सको बैठकमा सदस्य मुलुकहरुको आपसी हितका बारेमा छलफल हुनेछ । अमेरिकामा रहँदा डा. नेपाल विभिन्न सामूहिक छलफलका साथै अन्तराष्ट्रिय मुद्रा कोषका डेपुटी म्यानेजिङ्ग डाइरेक्टर लगायत कोषका विभिन्न विभागका अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ताहरुमा समेत सहभागी हुने कार्यक्रम रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । कार्यक्रममा भाग लिन गभर्नर डा. नेपालका साथ गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित समेत त्यसतर्फ प्रस्थान गरेका छन् । कार्यक्रममा सहभागी भई गभर्नर डा. नेपाल असोज २४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । दसैंकाे टिकाकाे अघिल्लाे दिन उनी नेपाल अाइपुग्नेछन् ।