विकासन्युज

पाल्पामा १३७ वटा झोलुङ्गे पुल निर्माण

पाल्पा, १ कात्तिक । पाल्पा जिल्लामा १३७ ओटा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि उनीहरु अहिले खुसी बनेका छन् । वर्षौंदेखि खोलाले बगाउँछकी भन्दै जोखिम मोलेर यात्रा गर्ने यहाँका स्थानीय पुल बनेपछि यात्रामा निस्किदाको मनको त्रास समेत मेटिएको छ । यातायातको सुविधा पुग्न नसकेका दुर्गम गाउँमा खेतमा मेलापात, औषधि उपचार गर्न माइत आवतजावत गर्दा खोला तरेर जानुपर्ने बाध्या हट्दा स्थानीय महिला तथा बालबालिका हर्षित बन्दै आफ्ना गृहकार्यमा जुटेका छन् । पाल्पा जिल्लामा झोलुङ्गे पुलको अवधारणाअन्तर्गत केन्द्रबाट एक करोडको हाराहारीमा पुल निर्माण तथा मर्मतका लागि रकम निकासा हुँदै आएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख भीमार्जुन पाण्डेयले जानकारी दिए । पुल निर्माण र मर्मतलाई थप व्यवस्थापन गर्न नियमित मर्मत सम्भार, बृहत् मर्मत सम्भार र नयाँ निर्माण गरी तीन भागमा सञ्चालन हुँदै आएको छ । पुलको मर्मत सम्भारका लागि प्रत्येक पुलका लागि एकजना हेरालुको समेत व्यवस्था गरिँदै आएको पाण्डेयले बताउछन । चालु आवमा पाल्पा जिल्लामा सात वटा नयाँ झोलुङ्गे पुल निर्माण हुनेछन् । सात वटा पुल निर्माणपछि यहाँका स्थानीय बासिन्दालाई अझै यात्रा सहज हुने भएकाले निर्माणका लागि सहयोग गर्दै आएका छन् । रासस

भूकम्प पीडितलाई एक लाख थप्ने रकमको जोहो भएन, रकमान्तर गर्ने अर्थमन्त्रालयको तयारी

काठमाडौं, १ कात्तिक । सरकारले भूकम्प पीडितका लागि थपिदिने भनिएको एक लाख नगद अनुदानका लागि श्रोतको अभाव देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको बैठकले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि एक लाख नगद अनुदान थप्ने निर्णय गरेको थियो । त्यस अघि निजी आवास निर्माणका लागि दुई लाख रुपैँया दिने व्यवस्था थियो र त्यसकै आधारमा प्राधिकरणले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ वितरण समेत गरिरहेको छ । तर सरकारले एक लाख थपेर निजी आवास निर्माणका लागि तीन लाख नगद अनुदान पुर्याउने घोषणा गरेको लामो समय वितिसक्दा समेत श्रोतको व्यवस्थापन भने गर्न सकेको छैन् । पुननिर्माणका कामबारे विश्व बैंक र एसियाली विकास बैंकले सन्तोषजनक प्रतिक्रिया जनाईरहेका बेला सरकारले थप एक लाख दिने घोषणा गरेपछि ती निकायले रकमको श्रोतबारे जिज्ञासा राखेका थिए । अर्थमन्त्री कृष्ण बहादुर महराले श्रोत व्यवस्थापनबारे ठोस योजना प्रस्तुत नगरेकाले दाताहरु असन्तुष्ठ रहेका बताइन्छ । पछिल्लो समय अर्थमन्त्रालय भूकम्प पीडितलाई थप्ने भनिएको एक लाख रुपैंयाँका लागि रकमान्तर गर्ने निष्कर्षमा पुगेको छ । ‘अहिलेसम्म कुन श्रोतबाट थप एक लाख दिने भन्ने बाटो देखिएको छैन तर सरकारले निर्णय गरिसकेकाले रकमान्तर गरेर भएपनि भूकम्प पीडितलाई एक लाख रुपैंयाँ थपिन्छ’, अर्थ सचिव शान्तराज सुवेदीले विकासन्युजसँग भने । उनले पहिलो किस्ता वापत उपलब्ध गराइएको ५० हजार रुपैंयाँको कामको लेखाजोखा गरेर मात्रै दोश्रो किस्ताको रकम दिने र सो अवधीसम्ममा रकमान्तर गरेरै भएपनि श्रोतको जोहो गर्ने पनि स्पष्ट पारे । पहिले तीन किस्ता वापत पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रोमा ७० हजार रुपैंयाँ दिने व्यवस्था थियो । थप एक लाख रुपैंयाँ दिने निर्णयसँगै दोश्रो किस्ता एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख दिने व्यवस्था गरिएको छ । हाल पुननिर्माणका लागि ७४५ अर्ब रुपैंयाँ अपुग हुने देखिएको छ । कुल ९३८ अर्ब लागत अनुमान गरिएको पुननिर्माणका लागि दाताहरुले ३४३ अर्ब रुपैंयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमध्ये २७२ अर्ब रुपैंयाँको सम्झौता भैसकेको छ ।

विश्वका सर्वाधिक मूल्यवान कम्पनी, एप्पल शिर्षस्थानमा कायम, कसको कति प्रतिशत शेयर बढ्यो?

काठमाण्डौं, १ कार्तिक। अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एप्पल इङ्क सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । इण्टरब्राण्डले सार्वजनिक गरेको बेष्ट ग्लोबल ब्राण्ड्ज शीर्षकको प्रतिवेदनअनुसार १ खर्ब ७८ अर्ब डलर ब्राण्ड मूल्यसहित एप्पल सूचीको शीर्ष स्थानमा रहेको छ । १ वर्षअघिको तुलनामा यस वर्ष कम्पनीको ब्राण्ड मूल्य ५ प्रतिशत बढेको छ । सूचीको दोस्रो स्थानमा १ खर्ब ३३ अर्ब डलरसहित अल्फाबेट इङ्कको भगिनी कम्पनी गूगल इङ्क सूचीको दोस्रो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार विगत १ वर्षमा कम्पनीको ब्राण्ड मूल्य ११ प्रतिशत बढेको छ । सूचीको तेस्रोदेखि पाँचौं स्थानसम्म अमेरिकी हल्का पेय निर्माता कम्पनी कोकाकोला, सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेशन र जापानी अटोनिर्माता कम्पनी टोयोटा मोटर रहेका छन् । अमेरिकी चिपनिर्माता कम्पनी आईबीएम कर्पोरेशन, कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्स, अमेरिकी अनलाइन रिटेलर अमेजन डट कम, जर्मन लक्जरी अटोनिर्माता कम्पनी मर्सिडिज बेञ्ज, अमेरिकी विद्युतीय कारनिर्माता कम्पनी जनरल इलेक्ट्रिक सूचीको छैटौंदेखि १०औं स्थानमा रहेका छन्। समीक्षा अवधिमा सामाजिक सञ्जाल फेसबूक इङ्क, ई–कमर्श कम्पनी अमेजोन र खेलौना निर्माता कम्पनी लेगो ब्राण्ड मूल्यमा सबैभन्दा धेरै वृद्धि हासिल गर्ने कम्पनी भएको प्रतिवेदनमा उल्लेख छ । १ सय बहुमूल्य कम्पनीको सूचीमा यस वर्ष प्रविधि र अटोमोबाइल कम्पनीले २९ स्थान ओगटेका छन् । ब्राण्डको वित्तीय प्रदर्शन, उपभोक्तामा यसको प्रभावलगायतका पक्षलाई दृष्टिगत गरेर सूची तयार पारिएको हो । यस सूचीमा पहिलोपटक फ्रान्सेली फेशन ब्राण्ड डियोर र अमेरिकी अटोनिर्माता कम्पनी टेस्ला मोटर्स पर्न सफल भएका छन् । यी दुई कम्पनी क्रमशः सूचीको ८९औं र १ सयौं स्थानमा छन् । जर्मन लक्जरी फेशन ब्राण्ड ह्युगो बोस, अमेरिकी अटोकम्पनी शेभ्रोले भने सूचीबाट बाहिरिएका छन् । एजेन्सीको सहयोगमा

फेसबुकले स्ट्रिम भिडियोमा ‘एप्पल टिभी’ र ‘क्रोमकास्ट’ थप गर्यो

काठमाडौं, १ कार्तिक। इन्टरनेट र सोसियल साइट जाइन्ट फेसबुकले लाईभ स्ट्रिम भिडियोमा दुईवटा आइपी टिभी थप गरेको छ। फेसबुकले एप्पलको अनलाईन टिभी सर्भिस ‘एप्पल टिभी’ र गुगल क्रोमको ‘क्रोमकास्ट’ थप गरेको हो। कम्पनीले स्थापित टेक कम्पनीहरुसँग अझ धेरै सहकार्य तथा प्रयोगकर्तालाई फेसबुकमा आएपछि अरु सोसियल साइटमा जान नपरोस भनेर यो सुविधा थप गरिएको जनाइएको छ। तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यो सुविधा प्रयोग गर्नका लागि फेसबुक खोलेपछि टप कर्नरको दाहिने भागमा रहेको टिभीको संकेतलाई थिच्नुपर्दछ। त्यसपछि तपाई कुन भिडियो स्ट्रिम खोल्न चाहनुहुन्छ त्यसलाई सेलेक्ट गरेर प्रयोग गर्न सकिन्छ। तत्काल एप्पलका डिभाइसहरुमा मात्र उपलब्ध यो सेवा केहि समयपछि एन्ड्रोइड अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि आउने कम्पनीले जनाएको छ। फेसबुकका प्रोडक्ट डाइरेक्टर ब्रेन्ट ऐरेले फेसबुकका प्रयोगकर्ताले अब लाईभ स्ट्रिम हेर्न अरु ब्राउजर वा साइटमा जान नपर्ने तरिकाले डिजाइन गरिएको जनाएको छ।  प्रयोगकर्ताले उक्त भिडियोमा तत्काल प्रतिक्रिया जनाउन वा कमेन्ट गर्न सक्ने सुविधा दिइने जनाइएको छ।

राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै, राष्ट्रपतिको छोरी र पूर्व राष्ट्रपतिको नातिबीच टिकाटालो

काठमाडौं १, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ। अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ। राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो। उनीहरुको विहे आगामी माघ महिनाका लागि तय गरिएको छ।

२ वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट, दरबन्दी भने सात जनाको

काठमाडौं ३०, असोज । पर्साको घोडदौड पिपरा ८ लक्ष्मीपुरमा रहेको स्वास्थ्थ चौकी २ वर्षदेखि परिचरको भरमा चलिरहेको समाचार सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । हेल्थपोस्टमा एक जना हेल्थ अस्ष्टिेन्ट एचए, ३ जना अहेव , दुइ जना अनमी र एक जना परिचर गरी ७ कर्मचारीको दरबन्दी छ। तर २ वर्षदेखि परिचर सुरेश राउत कुर्मीकै भरमा हेल्थपोस्ट चलिरहेको स्थानीय जगदिश साहले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयले परिचर पनि नपठाएपछि गाविस कार्यालयले स्थानीय स्रोतबाट मासिक ४ हजार रुपैयाँ तलव दिएर कुर्मीलाई राखेको हो।

अलकायदाका नाममा धम्क्याएर ३३ लाख असुली, ६ वर्षमा ३१ देशका एक सय २८ लागुऔषध कारोबारीलाई पक्राउ

काठमाडौं १, कात्तिक । नेपाललाई ट्रान्जिट तथा आधार बनाएर गाँजादेखि कोकिनसम्मको कारोबार हुने गरेको छ । प्रहरीले पछिल्ला ६ वर्षमा ३१ देशका एक सय २८ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धेरै भारतीय रहेको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । भारतीयसँगै चिनियाँ र पाकिस्तानी लागुऔषध तस्कर नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । पछिल्लो समय दक्षिण अमेरिकी तथा अफ्रिकन देशका नागरिक नेपालमार्फत लागुऔषध ओसार–पसारमा सक्रिय बनेको प्रहरीको भनाइ छ । नाइजेरियन सक्रिय पाकिस्तानमा उत्पादन हुने सेतो हेरोइन नेपाल हुँदै विभिन्न देशमा तस्करी हुने गरेको छ । ०७० भदौमा सेतो हेरोइनका मुख्य कारोबारी साइदा परविन र उनका दुई सहयोगीलाई लागुऔषध नियन्त्रण ब्युरोले साढे ५ केजी सेतो हेरोइनसहित पक्राउ गरेको थियो । परविन अन्तर्राष्ट्रिय कारोबारी समूहकी एक सदस्य हुन् । उनी अदालतमा चलखेल गरी सफाइ पाएर पाकिस्तान पुगिसकेकी छिन् । उनका दुई सहयोगी अता मोहम्मद साह, सइद हुसेन काज्मी जेलमै छन् । परविनलाई पुनरावेदन अदालतले १५ वर्ष कैद सजाय सुनाइसकेको छ । उनीहरू पक्राउ परेपछि नेपाललाई ट्रान्जिट बनाई हेरोइन तस्करी घटेको छ । नेपालकै बजारका लागि खैरो हेरोइन भने भारतबाट तस्करी हुने गरेको छ । हेरोइन तस्करी घटिरहेका वेला नेपालमा कोकिनको कारोबार भने बढेको छ । नेपालमा पहिलोपटक २०६८ सालमा कोकिन बरामद भएको थियो । त्यसयता करिब २५ किलो कोकिन बरामद भइसकेको छ । गत १२ जेठमा मात्र नाइजेरियन र भेनेजुयलाका दुई नागरिक कोकिनसहित पक्राउ परेका थिए । नेपालका कोकिन प्रयोगकर्ता नभएपछि ट्रान्जिट देशका रूपमा नाइजेरियन समूहले ओसार–पसार गर्दै आएको छ । उनीहरूले दक्षिण अमेरिकी देशका नागरिकलाई भरियाका रूपमा प्रयोग गरी कोकिन कारोबार गर्दै आएको डिआइजी जयबहादुर चन्द बताउँछन् । युरोपका साथै भारत, चीन, थाइल्यान्डलगायतका देशमा समेत नेपाल हुँदै कोकिन जाने गरेको छ ।

तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सेलायो, एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित

काठमाडौं ३०, असोज । नेपाल विद्युत प्राधिकरणले मुलुककै एकमात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सार्वजनिक गरेपनि कायान्वयनको भने सुरसार नदेखिएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ। उर्जा संकट न्यूनिकरणका लागि भन्दै एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित भएको हो । प्राधिकरण व्यवस्थापनाले विगतमा विश्व बैंकलाई पत्र लेखेरै आयोजना अघि बढाउने तयारी गरे पनि त्यसै सेलाएको छ । प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले कुलेखानी जलाशययुक्त आयोजनामाथि सोलार बनाउने योजना अघि बढ्न नसकेको स्वीकार गरे ।