विकासन्युज

प्रभु इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंको नयाँ सडकमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको नयाँ सडकमा स्थापना गरेको छ । कम्पनीले बुधबार उक्त शाखाको उद्घाटन गरि बीमा सम्वन्धी सम्पूर्ण कारोवार सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले गरेका छन् । उद्घाटनको अवसरमा अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुलाई आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिएका छन् । साथै उनले हालसम्म ९२/९५ प्रतिशत जनताहरु बीमासेवा लिन बाट बन्चित रहेको जनाएका छन् । त्यसैले अध्यक्ष चापागाँईले दुर्गम क्षेत्र लगायतमा सेवा बिस्तार गरि बीमासेवा प्राप्त गर्न बाँकी जनताहरुमा सेवा बिस्तार गर्न आग्रह गरेका छन् । सोही कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले चुक्ता पूँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद शेयर निश्काशनको प्रकृया अन्तिम चरणमा रहेको बताएका छन् । आगामी आ.व.को अन्त्य सम्ममा कम्पनीको चुक्ता पूँजी १०० करोड पुर्याउने मल्लले जनाएका छन् ।

प्रतिमेगावाट ५० लाख अनु्दान दिन मन्त्रालय सहमत, दुई सय मेगावाटले तत्काल अनुदान पाउने

काठमाडौं । जलविद्युत् आयोजनालाई मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता दिने सहमति भएको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालय सहमत भएको हो । अर्थ मन्त्रालयले जलविद्युत् आयोजनालाई मात्र अनुदान दिने व्यवस्था गर्ने सहमति केही दिन अघि गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । ‘अब अर्थ मन्त्रालयको सहमती आएपछि हामी उक्त अनुदान प्रस्तावलाई मन्त्री परिषद्मा लैजान्छौ,’ उनले भने ‘ उताबाट स्वीकृत भएर आएपछि अनुदान वितरण कार्य शुरु हुन्छ ।’ सरकारले दिएको समय सीमाभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने जुनसुकै आयोजनाले पनि प्रतिमेगावाट ५० लाख रपैयाँ अनुदान पाउँछन् । असारसम्ममा करिब दुई सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने अनुमान ऊर्जा मन्त्रालयले गरेको छ । यसका लागि १० अर्ब खर्च हुने देखिएको छ । आर्थिक २०७१/७२ को बजेटमार्फत आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एक मुष्ठ अनुदान दिने व्यवस्था सरकारले गरेको थियो । सरकारले तत्कालको विद्युत् संकट निवारण गर्न सहयोग पुर्याउने अर्थात आव २०७४/७५ भित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उत्पादकलाई अनुदानमा १० प्रतिशत थप गरिने समेत व्यवस्था छ । बजेटमै घोषणा गरिएको कार्यक्रम अर्थ मन्त्रालयले कार्यान्वयन नगर्दा निर्माण सम्पन्न भएका आयोजनाले समेत अनुदान पाएका छैनन् । राष्ट्रिय ऊर्जा संकट निवारण कार्ययोजनामा भएको व्यवस्था अनुसार आव २०८२/८३ सम्ममा निर्माण हुने आयोजनालाई अनुदान प्रस्ताव गरिएको थियो । तर, यसका लागि भने अर्थ मन्त्रालयले स्वीकृत दिएको छैन । तत्काल सुविधा पाउने आयोजनाहरूमा जिरी खोला साना आयोजनाले एक करोड २१ लाख अनुदान पाउने भएको छ । उक्त आयोजनाले २.२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । माईखोाल २२ मेगावाट उत्पादन गरेर ११ करोड, बेल्खु ५१८ किलोवाटले २८ लाख ४९ हजार, माथिल्लो पुवा एक ३ मेगावाट, माथिल्लो खुम्दी ५ मेगावाट, नौगाढ खोलाको ८.५ छ्याङ्दी २ मेगावाट, सुम्पाबुखारी ९९८ किलोवाट विद्युत् गर्ने हुने बताइएको छ । माई क्यास्केट ७ मेगावाट, माथिल्लो माई खोला ९.९८ मेगावाट , दरम खोला ए २.५ , झ्याक्दी खोला २ मेगावाट, टुंगुन ठोस्ने ४.३६ मेगावाट, माथिल्लो मस्र्याङ्दी ए ६ मेगावाट, खानी खोला २ मेगावाट, मिया खोला ९९६ किलोवाट, माथिल्लो मादी २५ मेगावाट आयोजनाले अनुदान पाउने गरी विद्युत् उत्पादन गर्ने भएका छन् ।

लक्ष्मी बैंकले शुरु गर्यो नयाँ ‘अनफिक्स्ड’ मुद्दती खाता

काठमाडौं ।  लक्ष्मी बैंकले ‘अनफिक्स्ड’ खाता नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरु माझ ल्याइएको बैंकले जनाएको छ । ‘अनफिक्स्ड डिपोजिट’ खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फर मार्फत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनीहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ । साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि-म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ । जसले गर्दा ग्राहकको ‘अनफिक्स्ड’ मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ । यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १० प्रतिशतमा उपलब्ध छ ।

एलआइसी नेपालले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २४ दशमलब ८० प्रतिशत बोनस सेयर र एक दशमलब ३०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । बीमा समितिको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि एलआइसी नेपालका लगानी कर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

महासंघमा दुई खेमाबीच धुर्विकरण तिब्र, गोल्छाको प्यानल तयार, प्रधानले शनिबार घोषणा गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति घोषणा भएपछि भावी नेतृत्वको लागि धुर्विकरण तिब्र भएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र शेखर गोल्छाबीच प्रतिस्पर्धा निश्चित भएको छ । गोल्छाले नेतृत्व गर्ने चुनावी प्यानल लगभग तयार भएको छ भने प्रधानले नेतृत्व गर्ने चुनावी प्यानल शनिबार घोषणा हुने भएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको चुनावी प्यानलमा जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उम्मेदवार रहने निश्चित भएको छ । एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल वा ज्ञानेन्द्रलाल प्रधान कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सो समूहमा विवाद छ । यो चुनाबी प्यानल निर्माणमा सक्रिय पूर्व अध्यक्ष चण्डिराज ढकालले एशोसिएट उपाध्यक्षको उम्मेदवार चन्द्रप्रसाद ढकाललाई बनाउन चाहेका छन् भने वर्तमान अध्यक्ष पशुपति मुरारका ज्ञानेन्द्रलाल प्रधानको पक्षमा देखिएका छन् । प्रधानलाई कोषाध्यक्ष मनाउन सो टिमले प्रयास गरिरहेको छ तर प्रधानले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका छन् । किशोर प्रधानको टिममा भने अहिलेसम्म पदाधिकारीहरुको उम्मेदवारीको टुङ्गो लागेको छैन । जिल्ला उपाध्यक्षमा ८ जना आकांशी भएकोले कसलाई बनाउने भन्ने निश्चित छैन । एशोसिएट उम्मेदवार को बन्दै छ भन्ने पनि स्पष्ट आएको छैन । एशोसिएट उपाध्यक्षको उम्मेदवार सौरभ ज्योतिको नाम चर्चामा छ । बस्तुगत उपाध्यक्षको उम्मेदवारमा अन्जन श्रेष्ठ, अनुप मल्ल र शंकर पाण्डे मध्ये एक जना हुने भएका छन् । प्रधानको चुनावी प्यानल शनिवार घोषणा गर्ने तयारी रहेको बताइएको छ ।

मिसन डेभलपमेन्ट बैंकको १९ लाख कित्ता हकप्रद सेयर बिहिबारदेखि

काठमाडौं । मिसनल डेभलपमेन्ट बैंककको शतप्रतिशत हकप्रद सेयरको आवेदन खुल्ला भएको छ । बैंकले बिहिबारदेखि एक बराबर एक कित्ताको हकप्रद सेयरको निष्काशन शुरु गरेको हो । बैंकले १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । मिसनको हकप्रद सेयर बैशाख ६ गतेसम्म भर्न पाइनेछ । बैंकले बिभोर क्यापिटल कृष्णगल्ली ललितपुर र बिभोर डेभलपमेन्ट बैंकको डिल्ली बजार कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

अब स्वास्थ्य सेवाको गुणस्तर प्रमाणीकरण हुने, शुल्क पनि नियमन गरिने

काठमाडौ । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ । परिषद्लाई स्वास्थ्य संवन्धी संपूर्ण सेवा तथा संस्थाहरुको मापन, मुल्यांकन, प्रमाणीकरण र दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेबारी दिईने भएको छ । आवधिक रुपमा सरकारी तथा निजि स्वास्थ्य सेवाहरुको गुणस्तर मापन गरी त्यसको प्रमाणीकरण गरेमा गुणस्तरहिन स्वास्थ्य सेवालाई नियन्त्रण गर्न सकिने र स्तरिय स्वास्थ्य सेवा दिनेहरुलाई प्रोत्साहन हुने स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । स्वास्थ्य सेवाको गुणस्तरको तह निर्धारण भएपछि मात्रै त्यसले सेवा शुल्क के कति सम्म लिन सक्ने, गुणस्तरहिन निजि अस्पतालले पनि महंगो शुल्क लिने प्रबृत्ति अन्त्य हुने लगायतका राम्रा प्रभावहरु स्वास्थ्य क्षेत्रमा पर्ने अपेक्षा गरिएको छ । नेपालको संविधानको धारा ५१ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा सहज, सुलभ, समान, गुणस्तरीय र पहुँच योग्य वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको प्रत्याभूत गर्न परिषद् गठन गरिने भएको हो । देशका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गुणस्तरलाई नियमन र नियन्त्रण गर्ने परिषदको स्थापना र संचालनबाट मात्र संभव भएकाले परिषद् गठन गर्ने अवधारणा ल्याईएको स्वास्थ्य मन्त्री थापाले बताए । उनकै सक्रियतामा तयार पारिएको परिषद् स्थापन संवन्धी सैद्धान्तीक अवधारणालाई मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले स्विकृत पनि गरेको छ । स्विकृत अवधारणा अनुसार परिषदको स्थापना गर्न तत्काल कानुनी व्यवस्था गर्ने तयारी भईरहेको उनले बताए । परिषद स्थापना र संरचना सम्बन्धी नीति र ऐनको मस्यौदा गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ सहित विभिन्न महाशाखाका प्रतिनिधिहरु र विज्ञहरु सम्मिलित मस्यौदा समिति पनि बनाइएको छ । परिषद् स्थापना भएपछि सार्वजनिक तथा निजी स्वास्थ्य संस्थाहरु सुलभ र गुणस्तरीय हुने विश्वास गरिएको छ । त्यसैगरी परिषद्ले स्वास्थ्य सेवाप्रदायक संस्थाहरुमा सामुदायिक विश्वास अझ बढाउन सहयोग गर्ने मन्त्री थापाले बताए ।

हाेटल, सिमेन्ट जलविद्युत् कम्पनीमा साढे २९ अर्ब रुपैयाँ लगानी थपिदै

फाल्गुन । सरकारले विदेशी र स्वदेशी लगानीकर्तालाई साढे २९ अर्ब रुपैयाँ लगानी गर्ने अनुमति दिएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले फरक–फरक ६ होटल, सिमेन्ट उद्योग र जलविद्युत् कम्पनीहरूमा लगानीको अनुमति दिएको हो । मन्त्री जोशीका अनुसार हाल सञ्चालनमा रहेका उद्योगहरूको पुँजी वृद्धि गरिएको हो । निर्णयअनुसार अब २६ अर्ब ५३ करोड ५८ लाख ६६ हजार ५ सय ४३ रुपैयाँ लगानी थपिने छ । यसअघि नै ३ अर्ब रुपैयाँ लगानी गरिसकिएको एक सिमेन्ट उद्योगले युनिट मर्ज गर्ने अनुमति पाएको छ । यो आधारमा बोर्ड बैठकले साढे २९ अर्ब लगानीबारे निर्णय गरेको हो । हाल उक्त उद्योग तथा आयोजनामा स्वामित्व रहेको स्वदेशी तथा विदेशी लगानीकर्ताको सेयर हिस्साअनुसार थप गरिएको लगानीमध्ये २० अर्ब ५० करोड ७५ लाख ९५ हजार ४ सय ५४ रुपैयाँ विदेशीको हुनेछ । ‘उनीहरूले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रक्रियाअनुसार रकम भित्र्याउनुपर्ने छ,’ बैठकमा सहभागी एक अधिकारीले भने । बोर्डले दिएको अनुमतिअनुसार लाङटाङ भोटेकोसी जलविद्युत् कम्पनीले १७ अर्ब ४८ करोड ९८ लाख ९४ हजार रुपैयाँ लगानी थप गर्ने भएको छ । रसुवाको थुमनलगायत ठाउँमा रहेको रसुवा भोटेकोसी जलविद्युत् आयोजनामा ९० प्रतिशत चिनियाँ लगानीकर्ता सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी र बाँकी १० प्रतिशत नेपाली नागरिक दीपक खड्काको लगानी रहेको छ । ९७ दशमलव ५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले लगानी थप गरेपछि १ सय २० मेगावाट जलविद्युत् उत्पादन गर्ने जनाइएको छ । ‘कुल पुँजी अब २० अर्ब ३८ करोड ९८ लाख ९४ हजार रुपैयाँ कायम हुने भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘स्वदेशी र विदेशीको सेयर स्वामित्वअनुसारकै अनुपातमा लगानी थप्ने भएका हुन् ।’ यसपछि सबैभन्दा ठूलो लगानी सर्वोत्तम सिमेन्ट प्रालिका नाममा बोर्डले अनुमति दिएको छ । यो उद्योगले ३ अर्ब ९७ करोड ५० लाख रुपैयाँ लगानी थप गर्ने अनुमति पाएको हो । ३८ प्रतिशत कृष्ण होल्डिङ लिमिटेड हङकङको र ६२ प्रतिशत नेपाली लगानीकर्ताहरूको सेयर स्वामित्व रहेको सिमेन्ट उद्योगमा पहिले ६ अर्ब रुपैयाँ लगानी थियो । बोर्डले पुँजी वृद्धि गर्न दिएको अनुमतिपश्चात् ९ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुग्ने भएको छ । ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनालाई पनि बोर्डले पुँजी वृद्धिको अनुमति दिएको छ । ‘भूकम्प तथा भारतको नाकाबन्दीका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न नसकी बजार मूल्य, ब्याज वृद्धि, सामान थप गर्नुपरेकाले पुँजी वृद्धि गर्नुपरेको कारण मस्र्याङ्दी ए जलविद्युत् आयोजनाले देखाएको छ,’ बैठकमा सहभागी ती अधिकारीले भने, ‘हाल ३ अर्ब ४० करोड ३ लाख ६७ हजार रुपैयाँ लगानी थप गर्ने भएको हो ।’ लगानी थप गरेपछि उक्त जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिको कुल पुँजी ११ अर्ब ५५ करोड २ लाख ५६ हजार पुग्ने भएको छ । यो प्रालिमा ९० प्रतिशत चिनियाँ लगानी सिनोहाइड्रो रिसोर्सेज लिमिटेड र १० प्रतिशत नेपाली कम्पनी सगरमाथा पावर प्रालिको लगानी रहेको छ । पुँजी वृद्धि गरेपछि जलविद्युत् आयोजनाले क्षमता भने वृद्धि नगर्ने भएको छ । ‘नाकाबन्दी र भूकम्पका कारण लागत बढेको, ब्याज भुक्तानी गर्न सर्ट टर्म लोन लिनुपरेकाले मात्रै पुँजी वृद्धिको प्रस्ताव उसले ल्याएको हो,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारसमेतको लगानी रहेको अर्घाखाँची सिमेन्ट प्रालिको दुईवटा युनिट गाभ्ने निर्णयसमेत बोर्डले गरेको छ । रूपन्देहीको मैनहिया–१ मा दुई छुट्टाछुट्टै युनिट गाभ्ने अनुमति दिन उद्योगले प्रस्ताव पेस गरेको थियो । ‘एकीकृत गरेपश्चात् ३ अर्ब रुपैयाँ लगानी पुग्ने भएको छ,’ बोर्डमा सहभागी ती अधिकारीले भने, ‘यसलाई नयाँ लगानी भन्न मिल्दैन । मर्जर गरिएको हो ।’ अर्घाखाँची सिमेन्टमा १७ दशमलव ५० प्रतिशत विदेशी र ८२ दशमलव ५० प्रतिशत स्वदेशी लगानीकर्ताको स्वामित्व छ । ओपीसी, पीपीसी, पीएससी र क्लिंकर उत्पादन गर्ने यसको मूल उद्योग कपिलवस्तुमा छ । झन्डै ६ महिनाअघि नै प्रस्ताव पेस गरेको सोल्टी होटल प्रालिको पनि पुँजी वृद्धिको निर्णय बोर्डले गरेको छ । १ अर्ब ६३ करोड ८६ लाख ५ हजार ५ सय ४३ रुपैयाँ लगानी थप गरी २ अर्ब ९० करोड ५६ लाख ७ हजार ६ सय ९८ रुपैयाँ पुर्‍याउने भएको हो । यसअघि १ अर्ब २६ करोड ७० लाख २ हजार १ सय ५५ रुपैयाँ मात्रै थियो । सोल्टीमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, इन्टरप्राइज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ । रामेछाप र ओखलढुंगाको तल्लो लिखु खोलाबाट २८ दशमलव १ मेगावाट विद्युत् उतपादन गर्ने श्वेतगंगा हाइड्रोपावर लिमिटेडले जगेडा रहेको ३ लाख २० करोड कित्ता सेयर विदेशीलाई बिक्री गर्ने भएको छ । ‘मौरिससको डोल्मा इम्प्याक्ट फन्डलाई एक सय रुपैयाँका दरले ३ करोड २० लाख रुपैयाँमा सेयर बिक्री गर्ने भएको हो,’ बैठकमा सहभागी ती अधिकारीले भने, ‘यसमा हालसम्म कुल पुँजी ४ अर्ब ९६ करोड ८० लाख ३ हजार रुपैयाँ छ ।’ (कान्तिपुरबाट)