अशोक लेलैण्डको भाईकिंग बस नेपालमा
काठमाडौं । अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को भाइकिंग बस नेपालमा भित्रिएको छ । अशोक लेलैण्डको आधिकारिक विक्रेता एलटी ईन्टरप्राईजेजले भाइकिंग बस नेपाल भित्र्याएको हो । आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैन्ड कम्पनीका उप सभापति रविकुमार पंगाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । नयाँ १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर जडान गरिएका छन् । भाइकिंग बसले न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने प्रतिवद्धता जनाएकोे छ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्ड बसहरुले सधैं कुशल लागत र आरामदायी बसका रुपमा ख्याति कमाएको बताए । हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो । जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै बस उत्पादकमा विश्वको सोह्रौँ ठूलो कम्पनी हो । कम्पनीको भारतमा ७ ओटा कारखाना छन् र साथै खाडी मुलुक, केन्या र बंगलादेशमा पनि कारखाना छन् । अशोक लेलैण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेलैण्ड यात्री परिवहनको १८ सिट देखि ८० सिट सम्मका विभिन्न सवारी साधन उत्पादन गर्दै आइरहेको छ । नेपालमा कम्प्नीका ट्रक/टिप्पर, बस, लाइट कमर्सिअल गाडीहरु, डिफेन्स प्रयोजनका स्पेशल गाडीहरु बिक्रि भैरहेका छन् ।
इभरडाइमको आधिकारीक बिक्रेतामा एफजी इन्कर्पोरेटिड नियुक्त
काठमाडौं । दक्षिण कोरियाली कम्पनी इभरडाइमले एफजि इन्कर्पोेरेटिड प्रालीलाई नेपालका लागि आधिकारीक बिक्रेता नियुक्त गरेको छ । यस अघि फोर्स ग्रुपले नेपालमा इभरडाइमका हेभी इक्युपमेन्ट आयात गर्दै आएको थियो । नेपालमा इभरडाइमको बजार राम्रो देखेसँगै फोर्स ग्रुपले एफजी इन्कर्पोेरेटिड प्राली नामको भगीनी कम्पनी खोलेर आधिकारीक बिक्रेता बनेको हो । करिब पाँच बर्ष अघिदेखि नै इभरडाइमका हेभी इक्युपमेन्ट नेपाली बजारमा थिए । हालसम्म इभरडाइमका ७५ थान भन्दा बढि हेभिइक्युपमेन्ट नेपाली उपभोक्तासम्म पुगिसकेको फोर्स ग्रुपका अध्यक्ष केदार लामिछानेले बताए । कम्पनीले ९ वटा सेवा सञ्जाल मार्फत इभरडाइमका हेभी इक्युपमेन्ट बेच्ने जानकारी दिएको छ । साथै २५ जना इञ्जिनियरहरुले मर्मतको सेवा प्रदान गर्नेछन् । फोर्स ग्रुपका निर्देशक विपिन लामिछानेले हेभी इक्युपमेन्टका साथमा पार्ट पुर्जाको आयात र व्यवस्थापनमा बिशेष ध्यान दिने बताए । इक्युपमेन्ट बेच्ने धेरै कम्पनीले पार्टपुर्जा सहज रुपमा उपलब्ध गराउन नसकेको आरोप लाग्ने गरेको तर आफ्नो कम्पनीले भने समयमै आवश्यक पार्ट पुर्जा उपलब्ध गराउने उनले जानकारी दिए । इभरडाइमका रक ब्रेकर, एट्याचमेन्ट, फायर फाइटिङ भेइकल, टावर क्रेन, बुम पम्प, ह्यामर ड्रिल जस्ता उत्पादन संसारका ८० भन्दा बढि मुलुकमा उपयोग भैरहेका छन् । दक्षिण कोरियामा हेभी इक्युपमेन्टको सबै भन्दा ठुलो बजार हिस्सा इभरडाइमले ओगटेको लामिछानेले बताएका थिए ।
एनआईबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत
काठमाडौं । एनआईबिएल प्रगति फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । आइतबार मात्र यो फण्डको सो मात्राको इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको छ ।
सीजी मोटोकर्पले ल्यायो तीन दिने सुजुकी एक्स्चेञ्ज मेला
काठमाडौं । सुजुकी मोटरको आधिकारिक विक्रेता सीजी मोटोकर्पले तीन दिने ‘सुजुकी एक्स्चेञ्ज मेला’ योजना ल्याएको छ । यस तीनदिने योजना मार्फत ग्राहकलाई झन्झट मुक्त कागजपत्र, सरल र कम किस्ताबन्धीको व्यवस्था गरिने कम्पनीले जनाएको छ । उक्त योजना मार्फत ८.९९ प्रतिशत न्युन व्याजदरमा फाईनान्स सुविधा साथसाथै पुनबिक्री सुविधा, सरल एक्स्चेञ्ज, एक्स्चेञ्ज बोनस, निःशुल्क २ वर्ष सर्भिसिङ्ग र ४ वर्ष वारेन्टिको सुविधा प्राप्त गर्न सकिने छ । कम्पनी अनुसार यो योजना सबै मोडलका गाडीहरुमा काठमाडौं उपत्यका भित्रका सम्पूर्ण सोरुमबाट सेवा लिन सकिन्छ । विशेष अफर अन्तर्गत ब्रिजा जेडडिआई मोडलमा विक्री मुल्य ३९ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।
चन्द्रागिरि केबलकार दैनिक एक घण्टा बन्द, लन्च ब्रेकको व्यवस्था लागु गर्ने
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चैत ६ गते(आइतबार)देखि लागु हुने गरी दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहिसमय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो । यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुने छैैन । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु जस्तैः–रेस्टुरेन्ट, बार, वालउद्यान नियमति संचालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।
नेप्से परिसूचक २४ अंकले उकालो लाग्दा ६८ करोडको सेयर कारोबार, सबै सूचक हरिया
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भएको छ । आइतबार नेप्से २४ दशमलब ८५ अंकले बढेर १३८२ दशमलब १९ अंकमा पुगेको छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बजारमा ६८ करोड ७७ लाख रुपैयाँको सेयर करोबार भएको छ । सो दिन कुल १३६ कम्पनीको १४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार करोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३६७ दशमलब ४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, विकास बैंक र बैंकिङ् समूह क्रमशः ६०, ५५, १७ र १२ अंकले उकालो लागेका छन् । त्यसैगरि, अन्य समूह, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ९, ६ र २ अंकले बढेका छन् । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, आइतबार यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १४६, १३९ र ७३ रुपैयाँ रहेको छ ।
सवारी लाइसेन्स लिन सजिलो, लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने
काठमाडौं । सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए । उनले भने, “ यसबाट लिखित परीक्षा दिँदा धेरै भिडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ ।” यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए । विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा पाण्डेले बताए। रासस
दीक्षा श्रेष्ठले जितिन् रेसनारी नेशनल क्याम्पियनसिपको उपाधी
काठमाडौं । ‘रेसनारी नेशनल क्याम्पियनसिप २०१७’ को प्रतियोगितामा दीक्षा श्रेष्ठले प्रथम स्थान हासिल गरेकी छिन् । त्यसैगरी वर्षा बस्नेतले दोस्रो र सुनिता देसारले तेस्रो स्थान हासिल गरेकी छिन् । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना सम्पन्न उक्त रेसिङ च्याम्पियनसिपमा २१ जना महिला राइडरले ११० सिसीको होन्डा नाभी कुँदाएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्रमशः रु. १० हजार, ७ हजार र ५ हजार नगद, शिल्ड र प्रमाणपत्ररेसनारी नेसनल च्याम्पियनसिप प्रदान गरिएको छ । मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष एसियाली स्तरको रेसिङमा भाग लिन थाइल्यान्ड/मलेसिया पठाउने व्यवस्था गरिने छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेन्द्र श्रेष्ठ (राजु) ले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । युवायुवतीहरुका बीचमा लोकप्रिय उक्त इभेन्ट गत वर्षदेखि सञ्चालन गरिएको हो । नेपालकै लागि नयाँ, रोमाञ्चकारी र साहसिक मानिने उक्त रेसनारी प्रतियोगिता महिला बाइक राइडरहरुलाई लक्षित गरि सञ्चालन गरिएको हो । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले यो प्रतियोगिता सञ्चालन गर्छ । पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यस पटक यो प्रतियोगिता सञ्चालन गरिएको हो ।