इन्भेष्टमेन्ट बैंकको एफपिओ बीमा कम्पनीले किन्न नपाउने, सर्वसाधारणलाई फाइदा
काठमाडौं, १२ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री खुल्ला गरिरहेको थप साधारण सेयर (एफपिओ)मा ठूला लगानीकर्ता विषेश गरेर बीमा कम्पनीहरुले सेयर खरिद गर्न नपाउने भएका छन् । धितोपत्र निष्कासन निर्देशिका २०६५ ले संस्थापक सेयरधनीले साधारण सेयर खरिद गर्न प्रतिवन्द गरेको कारण संस्थापक सेयर भएका कम्पनी तथा ब्यक्तिले एफपिओ किन्न नपाउने भएका हुन् । धितोपत्र निष्कासन निर्देशिका २०६५ को ब्यवस्था गत बर्ष राष्ट्रिय बाणिज्य बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर विक्री गरेको थियो । यस्तो सेयर अधिकांश बीमा कम्पनीले खरिद गरेका थिए । एउटा बैंक तथा वित्तीय संस्थाले अर्काे बैंक वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्न नपाइने ब्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा छ । सोही ब्यवस्थाको कारण बैंक वित्तीय संस्थाले सेयर खरिद गर्न नपाएपछि अधिकांश बीमा कम्पनीहरुले सेयर खरिद गरेका नबिल इन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले जानकारी दिए । ‘राष्ट्रय बाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर विक्री गर्दा अधिकांश बीमा कम्पनीले खरिद गरेका हुन सक्छन्, अन्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्न नपाउने भएपछि बीमा कम्पनीले खरिद गरेका थिए, अहिले पनि त्यस्तो सेयर उनीहरुसँगै भए अहिले इन्भेष्टमेन्ट बैंकको एफपिओमा लगानी गर्न नपाउने भएका छन्,’ पराजुलीले भने । अहिले बैंक वित्तीय संस्थाको सेयरमा लगानी गर्ने संस्थागत र ठूला लगानीकर्ता भनेकै बीमा कम्पनीहरु हुन् । कानुनी अप्ठेरोको कारण इन्भेष्टमेन्ट बैंकको एफपिओमा बैंक वित्तीय संस्थाले लगानी गर्न नपाउने भएपछि त्यस्तो सेयर ब्यक्तिगत लगानीकर्ताले मात्रै खरिद गर्नुपर्ने भएको छ । बैंकले प्रतिकित्ता ६०१ रुपैयाँ तोकेर ९० लाख ६९ हजार ३८८ कित्ता नयाँ साधारण सेयर निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रतिकित्ता ५०१ रुपैयाँ प्रिमियम जोडेर उक्त सेयर निष्काशन गरेको हो । नयाँ सेयरको लागि फागुन ११ गतेबाट आवेदन खुला गरिएको छ । छिटोमा १४ गते र ढिलोमा २८ गते सेयर आवेदन संकलन बन्द हुनेछ । आवेदकले न्यूनतम १० र बढीमा २ लाख कित्ता सेयर आवेदन गर्न पाउने छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धन नागरिक लगानी कोष रहेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ छ । नयाँ सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ हुनेछ । बैंकले आगामी सात वर्षसम्म सेयर पुँजी ७ अर्ब २५ करोड रुपैयाँ मात्र रहने जनाएको छ । नयाँ सेयर निष्काशन गर्दा बैंकले ४ अर्ब ५४ करोड ३७ लाख ६३ हजार रुपैयाँ अतिरिक्त आम्दानी गर्ने छ । उक्त रकम बैंकको संचित कोषमा जम्मा हुनेछ । नयाँ सेयर निश्काशन पछि बैंकको जगेडा तथा कोषहरुमा १० अर्ब २० करोड रुपैयाँ हुनेछ । शुन्य लागतको यो रकमले बैंकको नाफा बृद्धिमा योगदान गर्नेछ । आगामी पाँच वर्षको वित्तीय विवरण प्रक्षेपण गर्दै बैंकले संचित कोष पाँच वर्षपछि २२ अर्ब २२ करोड रुपैयाँ हुने जनाएको छ । बैंकको घोषणा कार्यान्वन भएमा यस बैंकको सेयर भविष्यमा उच्चदरले बृद्धि हुनेछ । तर आगामी पाँच वर्षमा संचित कोष २२ अर्ब २२ करोड रुपैयाँ हुन्छ भन्ने प्रक्षेपणसँगै लगानीकर्ताले भविष्यमा पाउने लाभांशबारे अनिश्चिता बढाएको छ । बैंकले शनिबार सार्वजनिक गरेको आह्वान पत्रमा आगामी पाँच आर्थिक वर्षका वार्षिक कम्तिमा २ अर्ब १९ करोड र बढीमा ३ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा हुने उल्लेख छ । प्रक्षेपण गरिएअनुसार जगेडा तथा कोषहरुमा राख्ने हो भने आगामी पाँच वर्षसम्म बैंकले कमाएको नाफा सबै संचित कोषमा राख्नु पर्नेछ । र, सेयरधनीलाई लाभांश दिन दिइने छैन । आर्जित नाफा संचित कोषमा जम्मा गर्दा बैंक बलियो हुन्छ । भविष्यमा बैंकको प्रतिसेयर आम्दानी बढ्दै जान्छ । बैंकले प्रतिसेयर आम्दानी आगामी पाँच वर्षमा ३० रुपैयाँदेखि ४७ रुपैयाँ सम्म हुने बताएको छ । र, बजारमा सेयरको मूल्य वृद्धि हुनेछ । सेयरधनीले बैंकबाट नभई सेयर बजारबाट लाभ लिनेछन् । यस्तो अभ्यास विश्व धेरै कम्पनीले गर्ने गरेका छन् नेपालमा हालसम्म भएको छैन ।
टेलिकमका प्रबन्ध निर्देशकलाई मन्त्रीको प्रश्नः गुणस्तर कहाँ कहाँ सुध्रियो ?
काठमाडौं, १२ फागुन । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई मोबाइल सेवाको गुणस्तर सुधारबारे दर्जनौं प्रश्न गरेका छन् । टेलिकमको १२ औं बार्षिकोत्सवका अवसरमा दुई महिना भित्र गुणस्तर सुधार्न दिएको अल्टिमेटपछि कहाँ कहाँ गुणस्तर सुध्रियो भन्दै मन्त्री राईले प्रबन्ध निर्देशकसहितको टोलीलाई मन्त्रालयमै बोलाएर प्रश्न गरेका हुन् । मन्त्री राईले बार्षिकोत्सव समारोहमा दुई महिना भित्रै गुणस्तर सुधार नगरे बाहिरबाट प्राबिधिक टोली गठन गरेर छानबिन गर्ने चेतावनी दिएका थिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्य सहित उच्च अधिकारीहरुलाई मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले टेलिकमको मोबाइल सेबाप्रति जनताको गुनासो बढेको भन्दै सबै उपाय अबलम्बन गरेर सेवा सुधार गर्न निर्देशन दिनुभएको हो । आफ्नो सोही २ महिने अल्टिमेटम स्मरण गराउदै राईले टेलिकम पदाधिकारीहरुसँग यसबीचमा सेबा सुधारका लागि भएका प्रयासहरुको जानकारी लिएका हुन् । सोही अवसरमा मन्त्री राईले मोबाइल सेवाको गुणस्तर सुधारबारेमा एक साताभित्रै सुधारको अनुभूति हुने गरि प्रबिधि परिचालन गर्न टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्रालयका निमित्त सचिव एकनारायण अर्याल सहितको छलफलमा मन्त्री राईले तत्काललाई काठमाडौं उपत्यकालाई क्लस्टर बिभाजन गरेर भने पनि एक महिनाभित्र पूर्ण रुपमा सुधारको अनुभूति ग्राहकलाई हुनुपर्ने बताए । सञ्चार मन्त्री राईले देशका सबै भूभागमा टु जी बिस्थापित गरि थ्री जी सेबा बिस्तार गर्ने र फोर जीमा जाने योजना टेलिकमसँग मागेका थिए । गत साता टेलिकमको जिएसएम मोबाइल सेबा केही बेरसम्म सम्पूर्ण रुपमा अबरुद्ध भएको घटना गम्भिर रहेको भन्दै मन्त्री राईले कमी कमजोरी कहाँबाट भएको हो छानविन गरेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन समेत दिए । प्रतिस्पर्धी बजारमा बिभिन्न समस्या देखाएर टेलिकमको सेबा कमजोर बनाउने कुरा स्वीकार्य नहुने उनले बताए । ‘लोडसेडिङ राष्ट्रको समस्या हो,इन्धन चाहिए तत्काल म मिलाइदिन्छु तर उर्जा समस्या देखाएर टेलिकमको सेबामा सम्झौता गर्न सकिन्न’ मन्त्री राईले भने । मन्त्री राईले ग्राहकका गुनासो सुन्ने,अनुगमन गर्ने र सेबा सुधार गर्ने प्रतिबद्धता सहित काम गर्न टेलिकम व्यवस्थापनलाई निर्देशन समेत दिए । टेलिकमका प्रबन्ध निर्देशक आचार्यले लोडसेडिङका कारण टेलिकमका बिटिएस टावरहरु डाउन हुँदा नेटवर्कमा समस्या आउने गरेको भन्दै पर्याप्त ब्याकअपको काम भइरहेको जानकारी दिएका थिए । मन्त्री राईको निर्देशनपछि २ महिनाभित्र अनुभूति हुने गरि सुधार ल्याउन युद्धस्तरमा काम भइरहेको समेत आचार्यले स्पष्टीकरण दिएका थिए । सोही अनुसार काठमाडौंको छाउनी,कपन,पाटन,नैकाप र गोंगबु क्षेत्रमा ट्रान्समिसन सम्बन्धी काम सम्पन्न भइसकेको र १५ दिनभित्र बलम्बु,किर्तिपुर,नगरकोट,पुलचोक,ग्वार्को र सैबु लगायतका क्षेत्रमा पनि सो काम गरि मोबाइल सेवालाई प्रभावकारी बनाउने काम भइरहेको प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
सरकारले अनिवार्य गरेको बैदेशिक रोजगार बीमामा ठूलो रकम एजेन्टलाई कमिसन, कस्ले खान्छ यस्तो कमिसन ?
काठमाडौं, १२ फागुन । बैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा बीमा गराउनै पर्ने भएपनि यस्तो बीमामा ठूलो परिमाणको रकम एजेन्टलाई कमिसनको रुपमा दिने गरिएको छ । सरकारले बैदेशिक रोजगारीमा जानेलाई अनिवार्य रुपमा बीमा गराउनै पर्ने ब्यवस्था यसअघि नै गरिसकेको छ । बीमा समितिका निर्देशक श्रीमान कार्कीको संयोजकत्वमा गठिन समितिले गरेको अध्ययनले यस्तो बीमा गराएको भन्दै एजेन्ट कमिसनको रुपमा बर्सेनि ३४ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको देखाएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले बिमितलाई दिने सुविधा कसरी बृद्धि गर्न सकिन्छ भनेर अध्ययन समिति गठन गरेको थियो । सो समितिका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेब अधिकारी र वोर्डका संचालक डा. रमेश कोइराला सदस्य छन् । समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाइ सकेको छ । प्रतिवेदनका अनुसार अहिले २० लाख ६० हजार ८ सय ९१ जनाले बैदेशिक रोजगार (म्यादी) बीमा गराएका छन् । यस्तो बीमाबाट ४ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यसमध्ये बीमा कम्पनीहरुले एजेन्ट कमिसनको नाममा ३४ करोड २१ लाख ३२ हजार रुपैयाँ खर्च गरेका छन् । यस्तो परिमाण विगत ३ बर्षको तथ्यांकले देखाएको हो । सरकारले अनिवार्य गरेको बीमामा यति धेरै कमिसन कसले खान्छ भन्नेमा अध्ययन समिति पनि अन्योलमा परेको बोर्ड स्रोतले जानकारी दिएको छ । ‘कानुनी रुपमा एजेन्टले नै कमिसन पाए भन्न सकिन्छ, तर बैदेशिक रोजगारीमा जाने ब्यक्तिसम्म एजेन्टको पहुच कम हुन भएकोले एजेन्ट देखाएर अर्कै कसैले यस्तो कमिसन खाइरहेको पनि हुन सक्छ,’ बोर्डका एक अधिकारीले भने । एजेन्ट कमिसन म्यानपावर कम्पनीका संचालकले खाने गरेको श्रम मन्त्रालयका अधिकारीको अनुमान छ । ‘एजेन्ट कमिसनको नाममा खर्च भएको रकम म्यानपावर कम्पनीको हातमा पुग्ने देखिन्छ, म्यानपावरका कर्मचारीले बीमा गराउनको लागि बीमा कम्पनीसम्म लैजाने गरेको कारण अरुले त्यस्तो कमिसन पाउन सक्ने सम्भवाना नै हुन्न,’ मन्त्रालयका एक अधिकारीले भने । समितिले बोर्डमा बुझाएको प्रतिवेदनमा एजेन्ट कमिसन हटाउन सुझाव दिइएको छ । यस्तो कमिसन हटाएर बीमा शुल्क ४५ प्रतिशत बृद्धि गर्ने हो भने बिमितलाई दिइदै आएको सुविधा दोब्बर गर्न सकिने अध्ययनको ठहर छ ।
नेपाल उद्योग परिसंघको निर्वाचन २१ गते, हरिभक्त शर्मा अध्यक्ष बन्ने पक्का
काठमाडौं, ११ माघ । नेपाल उद्योग परिसंघ नयाँ नेतृत्व नेतृत्व चयन प्रक्रियामा जुटेको छ । परिसंघले फागुन २० र २१ गते १३ औ साधारणसभा आयोजना गर्दैछ । सो साधारणसभाले राष्ट्रिय परिषद् (गभर्निङ काउन्सिल), चार जना उपाध्यक्षसहित नयाँ नेतृत्व चयन गर्नेछ । विधानअनुरा वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा परिसंघको अध्यक्ष निर्वाचित हुनेछन् । विनोद चौधरीको नेतृत्वमा स्थापना भएको परिसंघमा शर्मा तेस्रो अध्यक्ष हुदैछन् । हरिभक्त शर्मा परिसंघको विधानमा वरिष्ठ उपाध्यक्षलाई सर्वसहमतिमा अध्यक्ष बनाउने व्यवस्था गरिएकोछ । निर्वाचन समितिले जनाएअनुसार परिसंघमा संस्थापक सदस्यहरु (आजीवन समेत) मध्येबाट १३ जना, प्रतिष्ठानगत सदस्यहरु (आजिवन समेत) मध्येवाट १२ जना र संस्थागत सदस्यहरु (आजिवन समेत) मध्येवाट ३ जना गरि जम्मा २८ जनाको राष्ट्रिय परिषद सदस्यहरुको निर्वाचन हुँदैछ । गभर्निङ काउन्सिल र उपाध्यक्षहरुको भने निर्वाचत हुनेछ । गभर्निङ काउन्सिलले पछि वरिष्ठ उपाध्यक्ष चयन गर्ने परिसंघको विधानमा उल्लेख छ । परिसंघको साधारणसभा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम ह्यात होटलमा हुने र बन्दसत्र तथा निर्वाचनका कार्यक्रम परिसंघको कार्यलय रहेको थापाथलीस्थीत ट्रेड टावरमा हुने परिसंघले जनाएको छ । परिषद्को सदस्यमा उम्मेदवारी दर्ता गर्न ५० हजार रुपैयाँ लाग्नेछ । हाल परिसंघको व्यक्ति तथा कम्पनी गरी करिव १५० सदस्य रहेको स्रोतले बतायो ।
१० ब्रोकर मिलेर नयाँ डिपी स्थापना हुदै, सर्वसाधारणलाई पनि सेयर दिने सोच
काठमाडौं, ११ फागुन । १० ओटा ब्रोकर मिलेर नयाँ निक्षेप सदस्य कम्पनी (डिपी) स्थापनाको पहल अगाडि बढेको छ । एक भन्दा बढी सेयर दलाल ब्यवसायी (ब्रोकर) मिलेर नयाँ डिपी कम्पनी खोल्न धितोपत्र वोर्डले बाटो खुल्ला गरेसँगै यस्तो पहल भएको हो । नयाँ कम्पनी स्थापनाको लागि कम्पनी रजिष्टार कार्यालयको प्रक्रिया पूरा गरिसकिएको ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले जानकारी दिए । नयाँ कम्पनी स्थापनाको लागि १० ब्रोकर कम्पनीले सवै कम्पनीले बराबर सेयर लगानी गर्ने भएका हुन् । अन्जनराज पौडेल ‘नयाँ डिपी स्थापनाको लागि कम्पनी रजिष्टारको कार्यालयको प्रारम्भिक काम सकिएको छ, धितोपत्र वोर्डले राय दिने वित्तीकै कम्पनी दर्ता हुन्छ र हामी काम सुरु गर्छाैं,’ थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नम्बर १३) का संचालक समेत रहेका पूर्वअध्यक्ष पौडेलले भने । नयाँ कम्पनीको नाम डिपी एण्ड क्लियरिङ हाउस लिमिटेड प्रस्ताव गरिएको छ । कम्पनीको चुक्ता पूजी १ करोड ५० लाख रुपैयाँ राख्ने तय भएको छ । नियामक निकाय धितोपत्र वोर्ड अनुमति दिएमा यस्तो कम्पनीले पोर्टफोलियो म्यानेजमेन्टदेखि पूजी बजार सम्बन्धित अन्य काम पनि गर्ने सोच बनाएको बताइएको छ । कम्पनी संचालनको अनुमति पाउने वित्तिकै कम्पनीको लागि प्रमुख कार्यकारी अधिकृतदेखि लिएर अन्य कर्मचारीसमेतको ब्यवस्थापन गरिहाल्ने तयारी कम्पनीको छ । कम्पनीको कार्यालय स्थापनाको लागि केही स्थानमा भवन समेत हेर्ने कार्य भएको पौडेलले जानकारी दिए । पब्लिक कम्पनी दर्ता गर्न लागिएको हो । धितोपत्र वोर्डले अनुमति दिएमा यस्तो कम्पनीको सेयर सर्वसाधारणलाई पनि विक्री गरिने गरी कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा ब्यवस्था गरिएको बताइएको छ । धितोपत्र वोर्डले केही साता अगाडि मात्रै एकभन्दा बढी ब्रोकर मिलेर नयाँ कम्पनी स्थापना गरी आएमा नयाँ डिपीको लागि अनुमति दिन सकिने नीतिगत ब्यवस्था गरेको थियो । नयाँ कम्पनीको संस्थापक सेयरधनीमा कुमारी सेक्युरिटिज, जेएफ सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी, थ्राइभ ब्रोकरेज हाउस, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ, मिदास स्टक ब्रोकिङ कम्पनी, निभ सेक्युरिटिज, सिप्रबी सेक्युरिटिज र स्वेता सेक्युरिटिज रहेका छन् । धितोपत्र वोर्डका अधिकारीहरुले पनि यस्तो कम्पनीलाई तत्काल अनुमति दिने बताउदै आएका छन् ।
बाणिज्य बैंकको सेयरमा लगानी गर्दै हुनुहुन्छ ? यस्तो छ बैंकहरुको प्रतिसेयर आम्दानी
काठमाडौं, १० फागुन । गत पुस मसान्तसम्मको वित्तीय विवरणका आधारमा बैंकहरुले प्रकाशित गरेको आफ्नो कम्पनीको प्रतिसेयर आम्दानी भिन्न भिन्न रहेको छ । केही बैंकहरुको प्रतिसेयर आम्दानी ५० रुपैयाँभन्दा माथि रहेको छ भने केही बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा कम छ । सेयरमा लगानी गर्नेहरुले लगानी गर्ने कम्पनीको प्रतिसेयर आम्दानी कति छ भनेर हेर्ने र्पेन हुन्छ । बैंकहरुले प्रकाशित गरेको विवरणका आधारमा बैंकहरुको प्रतिसेयर आम्दानी र खुद नाफा निम्न अनुसार छ । माछापुच्छ्रे बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा रहेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४० करोड १३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत बर्ष यस्तो नाफा ३४ करोड ४० लाख रुपैयाँ थियो । जनता बैंक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १० करोड ९२ लाख रुपैयाँ थियो । एनसीसी बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४२ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २३ करोड ९२ लाख रुपैयाँ थियो । सनराइज बैंक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २६ करोड ४ लाख रुपैयाँ थियो । बैंक अफ काठमाण्डू प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३३ करोड ७ लाख रुपैयाँ थियो । एनएमबी बैंक प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ५ लाख रुपैयाँ थियो । एभरेष्ट बैंक प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ४८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ७७ करोड १२ लाख रुपैयाँ थियो । कुमारी बैंक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २१ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १८ करोड १६ लाख रुपैयाँ थियो । कृषि विकास बैंक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३६ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३८ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५३ करोड ४५ लाख रुपैयाँ थियो । एनबी बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ छ । गत बर्ष यस्तो सेयर आम्दानी २७ रुपैयाँ थियो । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३६ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३३ करोड ११ लाख रुपैयाँ थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ४५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ६१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ६४ करोड ४६ लाख रुपैयाँ थियो । सिभिल बैंक प्रतिसेयर आम्दानी १० रुपैयाँ ८३ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १५ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १७ करोड ६९ लाख रुपैयाँ थियो । सिटिजन्स बैंक इन्टरनेसनल प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३१ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ९८ लाख रुपैयाँ थियो । सेन्चुरी कमर्शियल बैंक प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १६ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ९ करोड ९८ लाख रुपैयाँ थियो । हिमालयन बैंक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६६ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ८० करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५८ करोड ९५ लाख रुपैयाँ थियो । नविल बैंक प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ५० पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ थियो । ग्लोबल आइएमइ बैंक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ५४ करोड ४ लाख रुपैयाँ थियो । एनआइसी एशिया प्रतिसेयर आम्दानी २७ रुपैयाँ १८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ५० करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३६ करोड ६ लाख रुपैयाँ थियो । सानिमा बैंक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४० करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा २७ करोड ८१ लाख रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट बैंक प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९८ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ९६ करोड ६० लाख रुपैयाँ थियो । प्राइम कमर्शियल बैंक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ४६ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्ष यस्तो नाफा ३६ करोड २१ लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनी र विकास बैंकको बजार प्रशस्त छ-झपट बोहरा
भपट बोहरा बैंकिङ क्षेत्रमा चिनिएको नाम हो । मालिका विकास बैंकको संस्थापक कार्यकारी अध्यक्ष बोहरा पछि साझा विकास बैंकको अध्यक्ष हुँदै सिनर्जी फाइनान्सको अध्यक्ष बन्नु भएको छ । समस्यामा रहेको यो फाइनान्स उहाँको नेतृत्वमा सुधार होला वा नहोला ? तर धेरैले सुधारको आश गरेका छन् । प्रस्तुत छ : विकास बैंक संघका पूर्व अध्यक्ष समेत रहेका बोहरासँग फाइनान्स सुधारका योजना के छन् भनेर गरिएको विकास वहस ।[divider] झपट बोहरा,अध्यक्ष, सिनर्जी फाइनान्स लिमिटेड मालिका विकास बैंकको अध्यक्ष छोडेर साझा विकास बैंकको अध्यक्ष हुनुभयो, फेरी सिनर्जी फाइनान्सको अध्यक्ष हुनुभएको छ, किन यसरी संस्था परिवर्तन गरिरहनु भएको ? मालिका विकास बैंक मेरै अगुवाईमा स्थापना भयो । पहिलो पटक राजधानी बाहिर विकास बैंक स्थापना गर्ने कामको नेतृत्व गरेँ र १२ वर्ष मालिका विकास बैंकको कार्यकारी अध्यक्ष भएर काम गरेँ । मालिकालाई एउटा उचाईमा पुर्याएपछि मैले छोडेँ । ग्रोमर मर्चेण्ट बैंकर लिमिटेड पनि मेरै अगुवाईमा स्थापना भएको हो । यो कम्पनी प्रभु ग्रुपले लियो । साझा विकास बैंक पनि मेरै अगुवाईमा स्थापना भएको हो । त्यो राम्रै रुपमा सञ्चालन भैरहेको छ । म करिब महिनादेखि सिनर्जी फाईनान्सको अध्यक्ष बनेको छु । तत्कालिन एल्पिक एभरेष्ट फाइनान्सको थोरै सेयर किनेको थिएँ । मर्जपछि सिनर्जी फाइनान्स बन्यो । अहिले यो फाइनान्स सुधारको चरणमा छ । यसलाई पनि सुरक्षित अवतरण गराउनु पर्नेछ । मैले मालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा मात्रै जागिर खाएँ । अहिले म कर्मचारी होइन, प्रोफेसनल बैंकर र इन्टरप्रेनर हुँ । इन्टरप्रेनरका रुपमा कम्पनीहरुको स्थापना गरिरहेको छु । प्रत्येक मान्छेले आफू भित्र रहेको उद्यमशिलता देखाउन सक्नुपर्छ । एकै ठाउँमा बसिरह्यो भने उद्यमशिलता निष्क्रिय हुन्छ । ठाउँ परिवर्तन गर्दा अवसर र ज्ञान समेत हासिल गर्न सकिन्छ । अहिले उद्यमशिलता देखाउँदै अघि बढिरहेको छु । यसले मलाई र मैले नेतृत्व गर्ने दुबै संस्थालाई फाइदा पुगेको हुन्छ । समस्यामा गुज्रिरहेको सिनर्जी फाइनान्सलाई कसरी अघि बढाउनु हुन्छ ? राम्रा संस्थाहरुमा जो सुकैले नेतृत्व गर्न सक्छन् । त्यहाँ मेरो आवश्यकता पनि पर्दैन । जहाँ समस्या र चुनौति छन्, त्यहाँ गएर ती चुनौतिहरुको सामना गर्दै अघि बढाउनुमा छुट्टै आनन्द हुन्छ । सिनर्जीमा हामीले सुधारका प्रक्रिया अघि बढाईसकेका छौं । अप्ठेरापछि सहज परिस्थिति आउँछ नै । हामी विधिको शासन र नीति नियमको पालना गर्छाै । नीति नियमको सच्चा पालना गर्दै कर्जा असुली द्रुतगतिमा अघि बढेको छ । खराब कर्जाधारीहरु पनि सम्पर्कमा आईरहेका छन् । पुस मसान्तसम्ममा करिब एक करोडको सञ्चालन मुनाफा आर्जन गरिसकेका छौं । संस्थालाई दीर्घकालिन रुपमा दिगो बनाउन सञ्चालकदेखि सबै कर्मचारी लागिपरेका छन् । चालु आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको अवस्था कस्तो हुन्छ ? असार मसान्त भित्र सिनर्जी फाइनान्सलाई यहि पूँजी, यहि व्यवस्थापन र यहि कर्मचारी संरचनाले सक्षमरुपले सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउँछौं । त्यो हाम्रो वित्तिय विवरणले देखाउने छ । १२ करोड कर्जा असुली गरियो भने नाफामा २४ करोडले वृद्धि देखिन्छ । असार मसान्तसम्ममा संचित नोक्सानी आधा भन्दा बढि घटाईसक्छौं । खराब कर्जा ३४ प्रतिशतबाट घटाएर २० प्रतिशत भन्दा तल झार्छाै । असार मसान्तसम्ममा फाईनान्सलाई सञ्चालन मुनाफामा लैजान सकिन्छ । लगानीकर्ताले प्रतिफल पाएपछि साँचो अर्थमा संस्था सुधारिएको मानिन्छ, सेयरधनीले लाभांश कहिले पाउँछन् ? थुप्रै व्याज असुली गर्न बाँकी छ, भाका नाघेका कर्जा छन् । गैर बैंकिङ सम्पति पनि धेरै छ । तीनको असुलीपछि लाभांश दिन सकिन्छ । अर्थतन्त्र सुध्रिदै गयो र हामीले भने जस्तै भयो भने आगामी आर्थिक वर्षको नाफाबाट लगानीकर्ताले केहि न केहि लाभांश पाउँछन् । खराव भएका कर्जाहरुको धितो सुरक्षणको अवस्था कस्तो छ ? हामी शतप्रतिशत खराब कर्जा असुल्न सकिन्छ भन्नेमा विश्वस्त छैनौं । तर धेरै जसो कर्जा भने असुल्न सक्छौं । खराब ऋणीहरुसँगको अन्तरक्रियाबाट धेरै हदसम्म ऋण उठाउन सकिन्छ भन्ने देखिएको छ । हामीसँग ७५ देखि ८० करोडको स्थिर सम्पति छ । नेपालका फाइनान्स कम्पनीमध्ये राम्रो स्थिर सम्पति भएको कम्पनी हो सिनर्जी । ३० देखि ४० करोडको पोर्टफोलियो तलमाथी भएपनि फरक पर्दैन् । हामीसँग ब्याकअप राम्रो छ । स्थिर सम्पति धेरै छ । ऋणीको ब्याक अप पनि राम्रो छ । केहिका लागि राईट ब्याक गर्नुपर्छ । केहिलाई बैंकिङ कसुर लगाउन सकिन्छ । बहुसख्याक ऋणमा धितो राम्रो छ । हामीले नयाँ भ्यालुएटर नियुक्त गरेर कर्जा र धितोका पुनः मुल्यांकन गरिरहेका छौं । कुन ऋणी र धितोको अवस्था के हो भनेर हेरिरहेका छौं । कर्जा तीर्न नसक्ने ऋणीका लागि एउटा फण्ड बनाएर काम गर्दैछौं । अप्ठेरोमा परेको ऋणी र संस्थालाई नै पनि यसले सहयोग नै गर्छ । हिजो धितो लिँदा दुई लाख मूल्य निर्धारण गरिएको थियो भने अहिले सात लाख मूल्य निर्धारण हुन सक्छ । त्यसकारण सिनर्जी फाईनान्स नयाँ ढंगले अघि बढ्छ र आफ्नो पोजिसन सुधार गर्छ । त्यसका लागि हामीले सबै प्रक्रिया अघि बढाईसकेका छौं । छिट्टै सकारात्मक परिदृष्य देख्न सकिन्छ । डिपोजिटको साईज पनि घटेको छ, लेण्डिङ पनि घटेको छ, तपाईले योजना बनाएअनुसरा उपलब्धी हासिल कसरी हुन्छ ? हामीसँग लगानीका पर्याप्त अवसरहरु नभएर एग्रेसिभले डिपोजिट नलिएका हौं । कर्जाको कुरा गर्ने हो भने कमर्सियल बैंकले ६ देखि ७ प्रतिशतमा कर्जा उपलब्ध गराईरहेका छन् । हामी सस्तोमा निक्षेप लिएर सस्तोमै कर्जा प्रवाह गराउने योजनामा छौं । छिट्टै निक्षेपमा पनि बढाउने र कर्जा पनि बढाउने लक्ष्य छ । निक्षेपमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदरको तादम्यता मिलाएर निक्षेप र कर्जाको आकार बढाउँछौं । गत असोज मसान्तमा एक अर्ब ८० करोड निक्षेप थियो अहिले १० करोड बढेर एक अर्ब ९० करोड पुगेको छ । अब कर्जाको प्रवाह पनि बढ्छ । सबै शाखालाई टार्गेट दिईसकेका छौं । मर्जमा जाने वा आफैं पूँजी पुर्याउने हो ? अहिले बाफिया ऐनको संसोधन प्रक्रिया अघि बढेको छ । त्यसले फाईनान्स कम्पनीहरुको उदेश्य के के राख्छ ? के थपिन्छ वा के घटाईन्छ ? फाइनान्सलाई सञ्चालन गर्न सक्ने अवस्था रहन्छ वा रहन्न भन्ने पनि हेर्छाै । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको नियमको अक्षरस पालना गर्नु हाम्रो दायित्व हो । सोही अनुरुप फाईनान्स कम्पनी नै रहँदै ८० करोड पुँजी पुर्याउने कि विकास बैंकसँग मर्जमा जाने कि वा बाणिज्य बैंकसँग मर्जर वा एक्विजिसनमा जाने भन्ने सबै विकल्प खुल्ला छन् । जहाँ सहज हुन्छ त्यही सहकार्य हुन्छ । अहिले नै यहि गर्ने भन्ने निष्कर्ष निकालि सकिएको छैन । हाम्रो पहिलो लक्ष्य भनेको संस्थाको आन्तरिक वित्तय अवस्था सुधार्नु हो । अवस्था सुध्रेपछि बाणिज्य बैंकले पनि राम्रो मूल्य दिन्छन् । त्यसरी मर्जमा गईयो भने सेयरको मूल्य बढि पनि पाईन्छ र कर्मचारीको व्यवस्थापन पनि सहज हुन्छ । प्रारम्भिक चरणमा केहि संस्थाहरुसँग छलफल पनि गरिरहेका छौं । उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछौं । यी त तत्कालिन कार्यक्रम भए, दीर्घकालिन योजना के छन् ? स्ट्याण्डर्ड चाटर्ड बैंकले नै पनि पूँजी वृद्धिको योजना बुझाउन सकिरहेको छैन । हामी त फाईनान्स कम्पनी हौं त्यो पनि नाजुक अवस्थामा पुगेको छ । केन्द्रीय बैंकले दिएको पूँजी वृद्धिको योजना अनुसार हामी अघि बढ्ने हो । त्यसका लागि सबै विकल्पहरु खुल्ला गरेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेको कम्पनीको वित्तीय अवस्था सुधार गर्ने नै हो । विकास बैंक र फाइनान्स कम्पनीहरुलाई सर्भाइभ हुन मुस्किल जस्तै देखिएको छ, कसरी अघि बढ्ने ? कतिपय विकास बैंकको सेयर मूल्य बाणिज्य बैंकको भन्दा बढी छ । डिपोजिट ग्रोथ र खराब कर्जा पनि बाणिज्य बैंकको भन्दा राम्रो देखिन्छ । ऐन कानुनले विकास बैंक र फाइनान्स कम्पनीलाई प्रशस्तै ठाउँ दिएको छ । त्यसको सदुपयोग गर्न सक्ने क्षमतामा भर पर्छ । उदेश्य, क्षेत्र र योजना साथ अघि बढियो भने खासै समस्या छ जस्तो मलाई लाग्दैन । क, ख, ग र घको वर्गिरकण हट्ने भन्ने सुनिएको छ । यद्यपी आफ्नो उदेश्य अनुसार अघि बढ्ने कुरामा समस्या नहोला । बणिज्य बैंक र विकास बैंक तथा फाईनान्स कम्पनीको ब्याजदरमा दुई गुणको अन्तर छ, यति ठूलो ब्याजदरको अन्तरलाई चिर्दै कसरी प्रतिष्पर्धा गर्ने ? घ वर्गका वित्तिय संस्थाले २० देखि २२ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । सहकारीहरुले २४ देखि २८ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । फाईनान्सले १२ देखि १८ प्रतिशतमा लगानी गरिरहेका छन् । विकास बैंकले १० देखि १४ प्रतिशतमा लगानी गरिरहेका छन् भने बाणिज्य बैंकहरुले ६ देखि १० प्रतिशतमा ऋण लगानी गरिरहेका छन् । सहकारी, फाइनान्स, विकास बैंक र बाणिज्य बैंकका आ आफ्नै प्रकारका उपभोक्ता छन् । सबैको आफ्नै बजार छ । बाणिज्य बैंक नभएको ठाउँमा विकास बैंक र फाइनान्सले बजार खोज्ने हो । कम लागतमा निक्षेप ल्याएर कम ब्याजदरमै ऋण लगानी गर्ने हो । वित्त कम्पनी र विकास बैंक तथा फाईनान्सले महंगो लागतमा निक्षेप संकलन गर्ने भएकाले ऋणको ब्याजदर पनि बढि नै हुन्छ । सबैको आफ्नै क्षेत्र र बजार छ । आत्तिनु पर्ने अवस्था छैन । तत्कालै नयाँ लगानी केमा गर्दै हुनुहुन्छ ? जीन्दगीको दुर्भाग्य भनौं, सात बर्षदेखि इन्स्योरेन्स कम्पनी पाईप लाईनमा थियो । ग्रोमर यति धेरै अघि बढि सक्यो तर इन्स्योरेन्स कम्पनी ल्याउन सकिएको छैन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटिड (जिआईसी नेपाल) नाम थियो त्यसको । तर अहिलेसम्म पनि लाइसेन्स पाउन सकिरहेको छैन् । रेगुलेटरी बडिको आफ्नै नीतिले होला सायद लाईसेन्स पाईएन । ५० वर्षको उमेर पुग्यो । धनगढीमा बाख्रा पालन सुरु गरिसकेको छु । त्यसलाई व्यवसायीक रुपले अघि बढाउने भन्दा पनि कृषि प्रधान मुलुकको गरिमा जोगाउन भनेर मात्रै बाख्रा पालन सुरु गरेको हुँ । ८० भन्दा बढि बाख्रा छन् । बेचेर पैसा कमाउने भन्दा पनि सोख हो मेरो । बच्चामा स्कुल विदा हुँदा बाख्रा चराउन जान्थे । त्यसकै सम्झनामा बाख्रा पालेको हुँ । त्यसबाट आत्म सन्तुष्ठि मिल्छ । अब १५ वर्षजति सक्रिय जीवन बाँकी होला । अब सामाजिक काम तिर लाग्छु होला । अब दिन दुःखीको सेवा गर्ने सोच बनाएको छु ।
नगद लाभांश सेयरधनीकै बैंक खातामा जम्मा गराउने काम जटिल–मर्चेण्ट बैंकर
काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डले सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था मिलाउन दिएको निर्देशनप्रति मर्चेण्ट बैंकरले असन्तुष्ठि जनाएका छन् । नविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत समेत रहेका मर्चेण्ट बैंकर एसोसियसनका अध्यक्ष प्रविण रमण पराजुलीले सेयरधनीको नगद लाभांश तत्काल बैंक एकाउण्टमा जम्मा गर्ने व्यवस्था कार्यान्वयनका लागि जटिल रहेको बताए । ‘सेयरधनीको नगद लाभांश उनीहरुकै बैंक खातामा जानु राम्रो हो तर हामीसँग डाटाबेस राम्रो नभएकाले कार्यान्वयनमा समस्या छ’ पराजुलीले भने । उनले गतिलो तथ्यांकको अभाव भएको र सबै लगानी कर्ताको बैंक खाता समेत नहुने भएकाले खातामै नगद लाभांश पठाउने काम सहज नभएको बताए । सबै वित्तिय संस्थाहरुमा फाइल बोकेर जाने अवस्था नभएकाले पनि उक्त व्यवस्था कार्यान्वयनमा जटिलता रहेको उनको भनाई छ । ‘सबै संस्थासँग समन्वय गर्नु पर्छ, त्यो कठिन छ’ पराजुलीले भने । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयरधनीहरुको लागत संकलन गरिरहेको र सो लागत आएपछि मात्रै सेयर धनीको बैंक खातामै नगद लाभांश जम्मा गर्न सकिने उनको भनाई छ । तर सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सेयर धनीकै खातामा नगद लाभांश जम्मा गराउने व्यवस्था तत्काल कार्यान्वयन आवश्यक रहेको बताए ।‘बोर्डले दिएको निर्देशन अत्यन्तै सकारात्मक छ, त्यसको कार्यान्वयन गर्नु पर्छ, हामी तयार छौं ’ दाहालले भने । केहि बैंक तथा वित्तिय संस्थाहरुमा रहेको एबिबिएस(एनि ब्राञ्च बैंकिङ सर्भिस) चार्जका कारण आउन सक्ने समस्या समाधानका लागि पनि बैंकर संघ तयार रहेको उनले बताए । ‘एबिबिएस चार्जले केहि समस्या ल्याउन सक्छ तर हामी बैंकरहरु त्यसको समाधानका लागि तयार छौं, सेयर धनीकै खातामा नगद लाभांश जम्मा हुने व्यवस्थाको कार्यान्वयन जरुरी छ ।’ दाहालले भने । सेयर बजारलाई प्रबिधी र लगानी कर्ता मैत्री बनाउन पनि सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा गराउने व्यवस्था अत्यावश्यक रहेको उनको भनाई छ । उता, सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले सेयर धनीको खातामै नगद लाभांश जम्मा गराउने व्यवस्थासँग मर्चेण्ट बैंकरहरुको सम्बन्ध नरहेको बताए । सेयर धनीकै खातामा नगद लाभांश जम्मा गराउने व्यवस्था सूचिकृत कम्पनीसँग सम्बन्धीत रहेकाले मर्चेण्ट बैंकरले टाउने दुखाउनु नपर्ने विश्लेषक भट्टराईको भनाई छ । ‘बोर्डले निर्देशन सूचिकृत कम्पनीलाई दिएको हो, मर्चेण्ट बैंकर भनेको बिचमा काम गर्ने निकाय हो, बोर्ड र सूचिकृत कम्पनीका बिचमा सहमति भएको बिषयमा मर्चेण्ट बैंकरले भाँजो हाल्नु हुन्न ।’ भट्टराईले भने । नेपाल धितो पत्र बोर्डले फागुन ६ गते निर्देशन जारी गर्दै सेयर धनीको नगद लाभांश बैंक खातामै जम्मा हुने व्यवस्था कार्यान्वयन गर्न भनेको थियो । तर मर्चेण्ट बैंकरहरु भने सो निर्देशन प्रति असन्तष्ठ रहेको श्रोत बताउँछ । श्रोतका अनुसार बैंक खातामै नगद लाभांश जम्मा हुने व्यवस्था कार्यान्वयन गर्दा मर्चेण्ट बैंकरको आम्दानी घट्ने भएकाले उनीहरु सो व्यवस्थाको विपक्षमा छन् ।