विकासन्युज

पिछडिएका वर्गको उत्थानका लागि नवीकरणीय ऊर्जाको उपयोगमा जोड

काठमाडौं । महिला तथा पिछडिएका वर्गलगायत विपन्न समुदायलाई नवीकरणीय ऊर्जाका प्रविधिमा पहुँच पुर्याउन नसकेसम्म सबैका लागि ऊर्जा तथा दिगो विकास लक्ष्य हासिल गर्न नसकिने यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागी वक्ताले बताए । नेपाल नवीकरणीय ऊर्जा परिसंघले आयोजना गरेको कार्यक्रममा महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोगमा जोड दिनुपर्ने उनीहरुको भनाइ थियो । नवीकरणीय ऊर्जा प्रविधिलाई बत्ती बाल्नेबाहेक परिप्रयोग बढाइ आयमूलक कामकाजमा पनि उपयोग गर्न अनुदान, वित्तीय सुविधा र व्यस्थापन, सीप हस्तान्तरण र उत्पादन हुने वस्तु वा सेवाको बजारीकरणका लागि सम्बन्धित निकाय, संघसंस्था, दातृ निकाय, वित्तीय संस्था, सहकारी संस्था सक्रियतापूर्वक परिचालन गर्नु आवश्यक रहेकामा जोड दिइयो । उक्त अवसरमा ऊर्जाविद् डा इन्दिरा शाक्यले सरकारका विभिन्न नीति नियममा महिला तथा ऊर्जाका सबालहरुको व्यवस्था गरिए पनि तिनको कार्यान्वयन नहुँदा महिला तथा पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न चेतनामूलक कार्यक्रमको आवश्यक रहेको बताए । सेवा नेपालका अध्यक्ष कल्याणी शाहले व्यवसायी र संघसंस्थाको ऐक्यबद्धताबाट महिला र पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न सकिने धारणा राखे । परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधि सबैका लागि उपलब्ध तुल्याई कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार, साना तथा घरेलु उद्योग तथा यातायातजस्ता आर्थिक-सामाजिक उत्थानका महत्वपूर्ण पक्षलाई सबल तुल्याउन परिसंघले सचेतना, उत्प्रेरणा र समन्वयका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । रासस

लोकतान्त्रिक फोरम काँग्रेसमा विलय

काठमाडौं । नेपाली काँग्रेससँग एकतापछि विजयकुमार गच्छेदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय भएको छ । एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ । अध्यक्ष गच्छेदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउने भएका छन् । लोकतान्त्रिक फोरमका सबै तहलाई नेपाली काँग्रेसमा समायोजन गर्ने सहमति भएको छ । पार्टी एकिकरणको दस्तावेजमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन । देशमा अधिनायकवादको खतरा समेत रहेका अवस्थामा बलियो लोकतान्त्रक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ । आइतवार नै घोषणा गर्ने भनिएको पार्टी एकिकरण राती अवेरसम्म विभिन्न राजनीतिक तथा सांगठनिक विषयम सहमति जुटाउन लागेका कारण हुन सकेको थिएन ।  

 सिटिजन्स बैंकद्धारा धादिङ् र गोरखाको ५/५ वटा गाविसमा नगद वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ् र गोरखा जिल्लाको गरी १० वटा गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले उक्त कार्यक्रम धादिङ्को लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग गाविस र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा गरेको हो । गत असोज ५ देखि १० गतेसम्म गरी ६ दिन संचालित उक्त कार्यक्रम वेल्ट हंगर हिल्फ/लुथेरियन वर्ल्ड फिडरेसनको सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो । विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । यस्ता प्रकारका कार्यक्रम बाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ ।  

राष्ट्र बैंकले दोस्रो त्रैमाशमा ६१ अर्ब ६१ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । कात्तिकदेखि पुससम्म आन्तरिक ऋण उठाउने नेपाल राष्ट्र बैंक नयाँ तालिका सार्वजनिक गरेको छ । आउदो कात्तिकदेखि पुससम्म ६१ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले सरकारको विकास योजना सञ्चालनका लागि विभिन्न वित्तीय उपकरण परिचालन गरेर आन्तरिक ऋण उठाउने गरेको छ । दोस्रो त्रैमाशमा उठाउन लागेको रकम कुल आन्तरिक ऋण निष्कासनको ४२.४९ प्रतिशत हो । चालु आर्थिक वर्ष १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारको तयारी छ । राष्ट्र बैंककाअनुसार दोस्रो त्रैमाशमा ट्रेजरी बिल्स उपकरणबाट २७ अर्ब २१ करोड, विकास ऋणपत्र ३२ अर्ब, ५ वर्षे नागरिक वचतपत्र २ अर्ब र वैदेशिक रोजगार वचतपत्रबाट ५० करोड रुपैयाँ ऋणपत्र निष्कासन गर्ने भएको छ । यस्तै चालु आवको पहिलो त्रैमाश साउनदेखि असोजसम्म ५७ अर्ब ५४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरेको थियो ।  

मोबाइल इम्पोटर्स एसोसिएनशको प्रथम बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । मोबाइल फोन आयातकर्ताहरुको छाता संगठन “मोबाइलफोन इम्पोटर्स एसोसिएशन एमपीआईए” को प्रथम वार्षिक साधारणसभा असोज २९ गते सम्पन्न भयो । साधारण सभाको अध्यक्षता संगठनका अध्यक्ष दीपक मलहोत्राले गरेका थिए । सभाले ९ सदस्यीय कमिटिको चयनपनि गरेको छ । नवनिर्वाचित कमिटिले नेपाल सरकारसँग सहकार्य गरी अबैध तथाअनधिकृत रुपमा कारोबार हुने मोबाइलको कारोबारलाई निरुत्साहित एवं न्यूनीकरण गर्ने छ । साथै, सभाले उत्कृष्ट व्यापारिक वातावरणको सिर्जना गरी ग्राहकहरुलाई सहज एवं सुविधा जनक तरिकाबाट उचित प्रतिस्पर्धात्मक वातावरणको निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

रिलायवल लाइफले ल्यायो मासिक ८ हजार ८ सय तिरेर करोडपति बन्ने योजना

काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले करोडपति बन्ने योजना ल्याएको छ । जीवन बीमा कारोबार सुरु गरेको दिन रिलायवलले मासिक ८ हजार ८१७ रुपैयाँ बीमा शुल्क भुक्तानी योजना ल्याएको हो । आगामी ४० वर्षपछि १ करोड रुपैयाँ फिर्ता दिने कम्पनीले जनाएको छ । “हामी सबै बन्न सक्छौ करोडपति मात्र चाहिन्छ इच्छाशक्ति” नाराका साथ ल्याएको रिलायवल धनपति जीवन बीमा योजनाले सानो बचतबाट करोडपति बन्न सकिने छ । यस योजनामा बिमितले न्युनतम ५ लाख रुपैयाँदेखि माथि जतिसुकै परिपक्वता मूल्य छनौट गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।  

रिडी हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता १५४ रुपैयाँ मात्र

काठमाडौं । सोमबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहको थियो ।

विद्युत प्राधिकरणले भन्यो: तिहारमा बत्ती कम बाल्नुस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा बढी बिजुली खपत हुने उपकरण प्रयोग नगर्न भनेको छ । बढी बिजुली माग हुने साँझको समयमा उच्च भोल्टेजका बत्ति, हिटर, राइसकुकर, ओभन, आइरन, एसी, इनडक्सन हिटर, वाटर पम्प जस्ता उपकरण प्रयोग नगर्न अनुरोध गरेको हो । प्राधिकरणले साँझ ५ देखि राती १० बजेसम्म प्रयोग नगर्न प्राधिकरणले सुझाएको छ । बढी बिजुली खपत हुने उपकरण प्रयोगमा ल्याउदा वितरण ट्रान्सफरमर, फिडर लाइन ओभरलोड भइ ट्रिप हुने र बिजुली आपूर्ति समेत बन्द हुने भन्दै प्राधिकरणले यस्ता उपकरण प्रयोग नगर्ने अनुरोध समेत गरेको छ । तिहारमा साँझका बेला दीपावली गर्नका लागि बढी बिजुलीको माग हुने र सोही अनुपातमा आपूर्ति गर्न कठिन हुने प्राधिकरणको भनाई छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात हुने छ ।