विकासन्युज

टेलिकमको जिएसएम सेवा अब मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा

काठमाडौं । नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको हो । मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ । सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम-कोरला हाइवे अन्तर्गत ताङवे देखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउछ । यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सय भन्दा बढी घरधुरी लाभान्वित हुने टेलिकमले जनाएको छ । त्यसैगरी, दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजार भन्दा बढी सेवाग्राही लाभान्वित हुने छन् । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने छन् । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ ।

कारको दुनियाँमा आयो ‘जंगली साढे’ : चाबी बिना नै स्टार्ट हुने यस्तो कार

एजेन्सी । इटालीको चर्चीत कम्पनी की ल्याम्बर्गिनीले आफ्नो नयाँ एसयूभी, युरसलाई सार्वजनिक गरेको छ । युरसको अर्थ ‘जंगली साढे’ हुन्छ । यो भव्य गाडी ल्याम्बर्गिनीले विशेष फिचरसहित ल्याएको छ । लामो समयदेखि यो कारलाई कम्पनीले निर्माण गरिरहेको थियो । यो एउटा एक एसयूभी हो तर कम्पनीले यसलाई एसएसभी सुपरस्पोर्ट यूटिलिटी भेहिकलको रुपमा दाबी गरेको छ । यसलाई फोक्सवागेनको एमक्यूबी प्ल्याटफर्ममा तयार पारिएको छ । यो कारमा चार लिटरको ट्विन टर्बो बी ८ ईञ्जनि जडान गरिएको छ । यो ईञ्जिनले ६४१ बीएचपीको पावर र ८५० न्युटन मिटरको टर्क प्रदान गर्छ । यो ८  स्पिड आटोम्याटिक ट्रान्समिशन सिस्टम रहित छ । यसले परफर्मेन्स एसयूभी ० देखि १००  किलोमीटर प्रति घण्टाको स्पिडमा ३.६ सेकेण्ड पकड लिन्छ ।  जबकी यो २०० किलोमिटर प्रति घण्टाको स्पिड १२.८ सेकेण्डको पकड लिन सक्षम छ । यसको अधिकतम स्पिड ३०५ किलोमीटर प्रति घन्टा छ । यो दुनियाँकै सबैभन्दा तेज एसयुभी रहेको कम्पनीको दाबी छ । यो कार चाबी बिना नै स्टार्ट हुन्छ । ब्रेकिंङका लागि अगाडीको पांग्रामा ४४० एमएम र पछाडिको पांग्रामा ३७० एमएम कार्ब सेरामिक ब्रेक दिइएको छ । यसमा २१ ईञ्चको एल्वोइ ह्विल पनि दिइएको छ। यो ५ सिटर कार हो । अगाडीपट्टी यसमा चहकिलो एलईडी हेडलाइट छ । यसमा २१ स्पिकरका साथ थ्रीडि साउन्ड सिस्टम पनि छ । यसलाई अर्को वर्षदेखि बजारमा बिक्रीका लागि सुरु गरिने कम्पनीले जानकारी दिएको छ । यसको मूल्य दुई लाख अमेरिकी डलर रहेको छ ।

नेप्से सामान्य अंकले घट्दा ५७ करोडको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य १.९० अंकले ओरालो लागेर १५२.८७ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा ५७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १० लाख ८२ हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ५.२० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशत गुमाएका छन् । मंगलबार बीमा समूहको परिसूचक २७ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स, उत्पादनमूलक र ट्रेडिङ समूहका परिसूचक क्रमशः ६.६१, ३.२२ र ०.०९ अंकले उकालो लागेका छन् । अन्य बाँकी समुहको परिसूचक भने राताम्मे भएका छन् ।

१ सातामा २७ प्रतिशतले सस्तियो प्याज, भारत : ‘प्याजको भाउ १५-२० दिनमा घट्छ’

काठमाडौं । ६ दिनमा प्याजको भाउ २७ प्रतिशतले सस्तिएको छ । भारतमा क्रमिक रुपमा प्याजको भाउमा सुधार आउदा नेपाली प्याज बजार पनि प्रभावित भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले थोक बजारमा प्याजको भाउ प्रति किलो ८९ रुपैयाँमा किनबेच भइरहेको छ । गत विहीबार प्याजको भाउ प्रति किलो ११६ रुपैयाँ पुगेको थियो । आन्तरिक बजारले नधान्ने नेपालमा प्याज भारतबाट आयातमा निर्भर रहेको छ । करिब ९९ प्रतिशत प्याज भारतबाट आयात हुनेगरेको छ । ‘१५–२० दिनमा घट्छ‘ प्याजको भाउ १५-२० दिनमा घट्ने भारतको कृषि मन्त्रालयले जानकारी दिएको छ । भारतीय कृषि सचिव एसके पट्टानायकले आगामी २० दिनमा प्याजको भाउ घट्ने सम्भावना रहेको जनाएका छन् । पिटिआईसँग कुरा गर्दै उनले भने, ‘भान्छामा अति उपयोगी प्याजको समस्या अस्थायी मात्र हो । यो केही समयपछि समाधान भइहाल्छ ।’ भारतको नयाँ दिल्लीमा खुद्रा बजारमा प्याजको भाउ ७० देखि ८० भारतीय रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको छ । त्यस्तै भारतका अन्य प्रमुख सहरमा पनि उतिकै मात्रामा प्याजको भाउ बढिरहेको छ । उनले भने, ‘प्याजको ठुलो उत्पादक क्षेत्र महाराष्ट्रमा उल्लेखनिय प्रगती भइरहेको छ । आउदो दिनमा प्याजको भाउमा सुधार आउनेमा हामी आशावादी छौं ।’ देशका केही भागमा बेमौशमी वर्षा तथा सुख्खा बदलीका कारण प्याजको उत्पादन प्रभावित भएको छ ।

सिटी एक्स्प्रेस मनी ट्रान्सफरद्धारा अन्तिम हप्ताको बिजेता घोषित

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी र सिता कुमारी छेत्री छनोट भएका छन् । ओप्पो फोन विजेताका रुपमा पोखराका बसन्धरी गौतम र ईलामकी दुर्गा माया राई छनोट भएका छन् । त्यसैगरी, एल जी रेफ्रीजेरेटरको बिजेताको रूपमा महाराजगञ्जका चन्द्र बहादुर थिङ छनोट भएका सिटी एक्स्प्रेस मनी ट्रान्सफरले बताएको छ ।

सिटिजन्स बैंकको नयाँ वेवसाइट सार्वजनिक, घरबाटै खाता खोल्न मिल्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेवसाइट सार्वजनिक गरेको छ । डाइनामिक भर्सनमा स्तर वृद्धि गरिएको यस वेवसाइटलाई जुनसुकै स्मार्ट फोनबाट सजिलै  प्रयोग गर्न सकिने छ । यस वेवसाइटमा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ । अनलाइन आस्बा, डिम्याट, केवाइसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता आकर्षणहरु रहेको योे वेबसाइट अत्यन्तै ग्राहकमुखी रहेको छ ।  जसमार्फत सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । यस नयाँ वेबसाइटको सार्वजनिक गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे बताएका छन्  ।

सांग्रिला डेभलपमेन्ट बैंकको लघुुवित्त सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना लघुुवित्त विभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको हालसम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा बताएका थिए । साथै, प्रशिक्षक झलेन्द्र भट्टराई तथा यस विकास बैंकका कर्जा प्रमुुख निर्मलकुुमार श्रेष्ठले लघुुवित्त सम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बैंकको छ वटै शाखाहरुबाट लघुुवित्त विभागमा कार्यरत करिब १३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।  

महालक्ष्मी विकास बैंकद्धारा भक्तपुरको जेष्ठ नागरिक आश्रमलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई करिब ३८ हजार रुपैयाँ बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण गरेको छ । सोमबार सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रममा आयोजित एक कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आशकुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरेका हुन् । जाडो मौसममा वृद्धवृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बैंकद्धारा प्रदान गरिएको हिटर अति उपयोगी हुने भन्दै सस्ंथापक अध्यक्ष धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए । साथै, बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।