चौधरी ग्रुपद्वारा शाश्वत धाम उद्घाटनको तयारी पुरा, मन्दिरमा प्राणप्रतिष्ठा पूजा प्रारम्भ
नवलपरासी । चौधरी ग्रुपद्वारा नवलपरासीमा स्थापित शाश्वत धाम समुद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । शाश्वत धामको उद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिने कार्यक्रम रहेको ग्रुपले जनाएको छ । शाश्वत धाममा शुक्रबारदेखि प्राणप्रतिष्ठाको पूजा प्रारम्भ भएको छ । शाश्वत धामको प्राणप्रतिष्ठा पूजा सनातन हिन्दू धर्मका आराध्यदेव श्री पशुपतिनाथ, काञ्ची कामाकोठी पीठ र आर्ट अफ लिभिङ्ग श्री श्री सेन्टरका विशिष्ट पूरोहितहरुबाट सम्पन्न हुनेछ । यो पूजा प्रारम्भ भएको मितिले ४५ दिनसम्म जारी रहनेछ । समुद्घाटनकै अवसरमा शाश्वत धाममा कुुम्भाविशेकम् सम्पन्न हुनेछ । चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले सनातन धर्मप्रति आस्थावान आम समुदायको चाहनालाई सम्मान गर्दै नवलपरासी देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण गरेको हो । समुद्घाटन समारोहमा आर्ट अफ लिभिङ्ग फाउण्डेसनका संस्थापक श्री श्री रवि शंकरजी, काञ्ची कामाकोठी पीठका शंकराचार्य जगद्गुरु जयेन्द्र सरस्वतीजी तथा यस क्षेत्रका प्रमुख धार्मिक गुरुहरु तथा लब्धप्रतिष्ठित महानुभावहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । “एउटा फरक सपना पुरा हुन लागेकोमा म खुसी छु । १६ बर्ष अघि शंकराचार्य जयेन्द्र सरस्वतीज्यूको आशिर्वचन र श्रद्धेय गुरु श्री श्री रविशंकरज्यूको मार्गदर्शनबाट शाश्वत धामको स्थापना सम्भव भएको हो । अहिले म उहाँहरुको स्वागतका लागि ब्यग्र प्रतीक्षामा छु” अध्यक्ष चौधरीले बताए । यही फागुन २४ गते धामको उद्घाटन र मन्दिरमा प्राणप्रतिष्ठा पश्चात सर्वसाधारणको लागि औपचारिक पुजाआजा, दर्शन तथा अवलोकन खुला गरिने ग्रुपले जनाएको छ ।
ज्योति बिकास बैंकको १२औँ एटिएम प्युठानमा सञ्चालन
काठमाडौं । ज्योति बिकास बैंकले आफ्नो १२ औं एटिएम आज प्युठान जिल्लाको भिंगृबजारमा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार एक समारोहकाबीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त एटिएमको उद्घाटन गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ९ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ अर्व १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले १३ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।
मर्मतपछि अरनिको राजमार्ग नेपाललाई हस्तान्तरण, ७६ करोड रुपैयाँमा निर्माण सम्पन्न
काठमाडौं । भूकम्पले बिग्रिएको अरनिको राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । काठमाडौंदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म ११४ किमी सडकको पाँच स्थानमा भूकम्पले क्षति भई यातायात अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि चीनको ७६ करोड रुपैयाँ बराबरको अनुदान सहयोगमा मर्मत गरी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव धनबहादुर तामाङलाई नेपालका लागि चिनियाँ राजदूत यु हङले मर्मतसम्बन्धी कागजात हस्तान्तरण गरेका छन् । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे सिसिजु ग्रुप कर्पोरेसनले सडक मर्मत गरेको थियो । राजमार्गको ८३, १००, १०३, ११२ र ११४ किमीमा मर्मत गरिएको हो । मन्त्री रमेश लेखक र राज्यमन्त्री सीताराम महतोको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव तामाङले नेपाल र चीन जोड्ने हिमालय राजमार्ग मर्मतमा निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । राजदूत हङले भूकम्पपछि नेपाललाई चीनले गरेको सहयोगमध्ये राजमार्ग मर्मत पनि एक भएको बताए। मन्त्रालयका सहसचिव विष्णुओम वादेका अनुसार मर्मत गरिएका सडकबाहेक अन्यत्र पनि थप मर्मत गर्नुपर्ने आवश्यकता छ । बाँकी मर्मतका लागि चीनसँग सहयोग माग गर्ने वा सरकार आफैँले गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिएका छन् । अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा निर्माण भएको थियो । भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भए पनि नेपाल र चीनबीच व्यापार हुँदै आएको खासा नाका भूकम्पपछि बन्द छ । राजमार्ग मर्मत भई पूर्ण रुपमा सञ्चालन भएपछि नाका पनि खुल्ने आशा गरिएको छ । रासस
लगानी सम्मेलन भव्य रुपमा सम्पन्न, सवा १४ खर्ब लगानीकाे प्रतिवद्धता
काठमाडौं । सरकारले अायाेजना गरेकाे लगानी सम्मेलनमा करिब सवा १४ खर्ब रूपैयाँ लगानीकाे प्रतिवद्धता आएको छ । विहीबार र शुक्रबार राजधानीमा भएको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताबाट यति ठूलो लगानीको प्रतिवद्धता आएको हो ।सम्मेलन समापनपछि अायाेजित पत्रकार सम्मेलनमा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कुल १३ अर्ब ५२ करोड अमेरिकी डलर (१४ खर्व ३३ अर्ब) रुपैयाँ लगानीकाे प्रतिवद्धता अाएकाे बताए । लगानी सम्मेलनमा छिमेकी चीनले सर्वाधिक लगानीको प्रतिबद्धता जनाएको छ। चीनले आठ अर्ब ३० करोड अमेरिकी डलर (आठ खर्ब ८० अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जनाएको छ। पछिल्लो समय नेपालमा लगानी बढाइ रहेको चीनले सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ठूलो उत्साहका साथ सहभागिता जनाएको थियो। कुल १३ अर्ब ५२ करोड अमेरिकी डलर (१४ खर्व ३३ अर्ब) रुपैयाँको आवेदन भएकोमा चिनियाँ लगानीकर्ताले आधा भन्दा बढि हिस्सा चिनियाँ कम्पनीले नै ओगटेका छन्।बंगलादेशबाट दुई अर्ब ४० करोड अमेरिकी डलर (दुई खर्ब ५४ अर्ब रुपैयाँ)को प्रतिबद्धता आएको हो। बंगलादेशले पछिल्लो समय नेपालको जलविद्युत प्रति चासो देखाउँदै आएको थियो। बंगलादेश पछि जापान र बेलायती लगानीकर्ताले समेत एक/एक अर्ब अमेरिकी डलर (एक खर्ब सात अर्ब रुपैयाँ) लगानीको बचन दिएका छन्। यस्तै श्रीलंकाको लगानीकर्ताले ५० करोड अमेरिकी डलर (५३ अर्ब रुपैयाँ भन्दा बढी) लगानी प्रतिबद्धता जनाएका छन्। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदर भारतीय लगानीकर्ता भने ३१ करोड ७० लाख अमेरिकी डलर (३३ अर्ब ६० करोड रुपैयाँ) लगानीको प्रतिबद्धता जनाएका छन् । यस्तै नेपाली लगानीकर्ताले समेत ११ करोड ५० लाख (झन्डै १२ अर्ब रुपैयाँ) अमेरिकी डलर लगानीको बचन दिएका छन्। उद्योगमन्त्री नवीन्द्रराज जोशी सम्मेलन भव्य रूपमा सम्मन्न भएकाे बताए ।सरकारले सम्मेलनमा कम्तिमा १०० अर्ब नेपाली रुपैयाँ बराबर विदेशी लगानी भित्र्याउने लक्ष्यसहित यो सम्मेलन गरेको थियो । ‘लगानीको प्रतिवद्धता जनाउने तपाईहरु सबैलाई म धन्यवाद दिन चाहान्छु र तपाईहरुको प्रतिवद्धता वास्तविकता परिवर्तन गर्न र साँच्चै लगानी गर्न आग्रह गर्दछ’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग मन्त्री जोशीले बताए । उनले नेपालमा साँच्चिकै लगानीको बातावरण बनेको बताए । नेपालमा राजनीतिक रुपमा ठूलो परिवर्तन भएको, नयाँ संविधान आएको, नयाँ संविधानले आर्थिक समृद्धिमा जोड दिएको बताउँदै उनले भने ‘लगानी सम्मेलनमा मुख्य राजनीतिक दलका शीर्ष नेताबाट लगानीकर्तालाई संरक्षण गर्ने प्रतिवद्धताले पनि लगानी बढाउन प्रोत्साहित गरेको छ ।’ उनले विदेशी लगानीलाई सुरक्षा र सहुलियत दिने प्रतिवद्धता जनाउँदै हरेक विदेशी लगानीकर्ताले नेपालबाट राम्रो प्रतिफल पाउने स्पष्ट पारे । जोशीले नेपालमा लगानीका क्षेत्र धेरै रहेको बताउँदै जलविद्युत, पर्यटन, खानी, कृषि प्रशोधन, सूचना प्रविधि तथा टेलिकम र पूर्वाधारमा लगानीका लागि पर्याप्त अवसर रहेको बताए । भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन्। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी थिए ।
नारायणगढ- मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ, हालसम्म ३८ प्रतिशत काम सम्पन्न
चितवन । लक्ष्यअनुरुप काम हुन नसक्दा नारायणगढ-मुग्लिन सडकखण्ड विस्तारमा थप एक वर्ष लाग्ने भएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी अप्रिल महिनासम्ममा काम सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म ३८ प्रतिशतमात्रै काम भएको छ । यसअघि उक्त सडक विस्तारका लागि भूकम्प र नाकाबन्दीका कारण देखाएर दुईपटकसम्म समय थप गरिसकिएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले सम्झौताअनुसार आउँदो अप्रिल महिनामा काम सम्पन्न गर्नुपर्ने हुन्छ । यद्यपि तीनवटा खण्ड बनाएर विस्तार थालिएको सो सडकखण्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खण्डमा सात महिना र तेस्रो खण्डमा आठ महिना समय थप गरिसकिएको छ । दुईपटक गरेर मिति थप गरिएको छ, प्रमुख यादवले भने – आँपटारीदेखि दासढुङ्गासम्मको सडक खण्ड विस्तारमा सात महिना थप गरी सन् २०१७ अगस्ट २५ मा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रोखण्डमा सन् २०१७ नोभेम्बर २८ मा र सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डको सन् २०१७ डिसेम्बर २१ मा काम सम्पन्न गर्ने गरी म्याद थपिएको प्रमुख यादवले बताए । सो सडक विस्तारका लागि सन् २०१५ अप्रिल १९ तारिखबाट काम थालिएको हो । उक्त ३३ किलोमिटर सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन् । आयोजनाका इञ्जिनियर शिव खनालले दिउँसोमा बाटो रोकेर काम गरेको भए पनि अत्यावश्यक सवारी साधन र कामको प्रकृति जटिल भएकाले पनि सोचेअनुरुप काम हुन नसकेको बताए । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । यो सडक एसियन हाइवेअन्तर्गत पर्छ । चीन हुँदै नेपालको कोदारी, काठमाडौं, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । काठमाडौंबाट तराईका विभिन्न जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ । दैनिक आठ हजारको हाराहारीमा उक्त सडक हुँदै सवारी साधन आवतजावत गर्ने गर्दछन् । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । निर्माणमा ढिलाइ हुँदा धुलो, सडक जामलगायतका कारण यात्रुले सास्ती व्यहोर्दै आएका छन् । रासस
नेशनल ट्रेडिङ चैतभित्रै खारेजीमा, ३०० कर्मचारीलाई एक अर्ब ५४ करोडमा भिआरएस
काठमाडौं । सरकारले नेशनल ट्रेडिङ लिमिटेडलाई खारेजीमा लैजाने भएको छ । सरकारले यहि चैत महिनाभित्रै कम्पनी खारेजीको प्रक्रिया अघि बढाउन लागेको हो । कम्पनी खारेजीमा लैजानु अघि ३ सय भन्दा बढि कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाइनेछ । त्यसका लागि एक अर्ब ५४ करोड रुपैंयाँ आवश्यक पर्ने आपुर्ति सचिव प्रेम कुमार राईले बताए । ‘सरकारले व्यापार गर्न सक्दैन, नेशनल ट्रेडिङलाई खारेजीकै प्रक्रिया लगिँदैछ, कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउन एक अर्ब ५४ करोड आवश्यक पर्ने देखिन्छ’, सचिव राईले सार्वजनिक लेखा समितिमा भने । ३०० सय कर्मचारीमध्ये २१ जनाले भने भिआरएसमा जान अस्विकार गरेको उनले बताए ।‘काम गर्न सक्ने कर्मचारी भिआरएसमा जान तयार छन तर जो काम गर्न सक्ने अवस्थामा छैनन् उनीहरु भने भिआरएसका लागि तयार भैरहेका छैनन्, कन्भिन्स गरिरहेका छौं’, सचिव राईले भने । उनले हाल नेशनल ट्रेडिङले सरकारलाई ९९ करोड ऋण तिर्न बाँकी रहेको पनि जानकारी दिए । कर्मचारीले गत असोजदेखि तलब समेत खान नपाएको जानकारी दिँदै सचिव राईले असोजपछिको तलबका लागि १० करोड रुपैंयाँ अर्थमन्त्रालयसँग मागिएको पनि बताए । तर अर्थमन्त्रालयले अब तलब वितरणका लागि थप रकम दिन नसकिने जानकारी दिँदै कम्पनी नै खारेजीमा लगिने र कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउन भनेको हो । सोही अनुसार आपुर्ति मन्त्रालयले कम्पनी खारेजीको कागजपत्र बनाएर अर्थमन्त्रालय पठाईसकेको छ । अब सञ्चालक समितिको बैठकले कम्पनी खारेजीको निर्णय गर्दै प्रक्रिया अघि बढाउने अध्यक्ष मुकुन्द पौडेलले जानकारी दिए । करिब ३० अर्बको सम्पति रहेको कम्पनीले हिमालयन बैंकलाई ६ करोड ऋण तिर्न बाँकी छ भने हिमाल सिमेन्टसँग ३ करोड ऋण उठाउन बाँकी छ । चैत भित्रै खारेजीको कानुनी प्रक्रिया पुरा गरेर लिक्विडेटर नियुक्त भैसक्ने बताइएको छ ।
सुजल फुड्सको रसिलो क्याण्डी नेपाली बजारमा, गुलियो र चटपटा स्वादले भरिपूर्ण
काठमाडौं । सुजल फुड्स प्रा.लि.ले आफ्नो उत्कृष्ट उत्पादन रसिलो क्याण्डीको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । उक्त नयाँबजार प्रवर्धन योजनामा हास्यकलाकार दिपकराज गिरीलाई अनुवन्धन गरिएको छ । उक्त अभियानको नारा “चट्पटा स्वादिलो, पचाउछ सजिलो” रहेको कम्पनीले जनाएको छ । रसिलो क्याण्डीसुजल फुड्सको रजिस्ट्रर ट्रेडमार्क हो । कम्पनीका अनुसार यो एक हार्ड बोइल्ड क्न्फेक्सनरी हो जसको उत्पादन अत्याधुनिक प्रविधि प्रयोग गरी अति स्वस्थ्यकर वातावरणमा उत्पादन गरिन्छ, त्यसैलै हरेक पटक क्याण्डीको उपभोग गर्दा उत्पादनको गुणस्तर र स्वादमा एक रुपता पाइन्छ । चट्पटा स्वादिला हुनुका साथै प्राकृतिक जडिबुटी तथा मसलाले भरिपुर्ण रहेको यो क्याण्डीको मज्जा जहाँ पनि जहिले पनि लिन सकिन्छ । रसिलो क्याण्डी मोइस्चर प्रुफ मेटालिक प्याकेजिङ्गर आकर्षक फिनिसिङ्गमा उपलब्ध छ । यो क्याण्डी नेपाल अधिराज्यभर १ रुपैयाँमा उपलब्ध छ । उक्त अभियानले रसिलो क्याण्डीको गुलियो र चटपटा स्वादले ग्राहकवर्गमा प्रवाह गर्छ । जसले सबैको मन जित्दै लोकप्रिय ब्राण्ड बन्न सहयोग पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको सुजल फुड्सले अन्तराष्ट्रिय स्तरको वेकर, टफि, क्याण्डी लगायत वबलगम, स्टिक गम उत्पादन गर्दै आएको जनाएको छ ।
भारतकै कारण लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ-राजदुत उपाध्याय
काठमाडौं । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपालमा लोडेसेडिङ् अहिले नहुनुमा भारतको ठूलो हात रहेको स्पष्ट पारेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेको राजदुत उपाध्यायले रिपोर्टस क्लबमा आयोजीत पत्रकार सम्मेलनमा अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे । उनले भने,‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं, अहिले हामीले थप १२० मेगावाट विजलुी माँगेका छौ ं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले अघि थपे,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ, यो कुरा सबैलाई थाहा छ ।’ राजदुत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ, र स्थानीय तहको निर्वाचन हुनैपर्छ, भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन, र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन्।’ उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने,‘अब चुनाव हुनुपर्छ, त्यो आँफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन्।’ राजदुत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले थपे,‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं, गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’ नेपाल–भारत सम्बन्धमा अहिले कुनैपनि समस्याहरु नरहेको स्पष्ट पारे। उनले भने,‘सबै खाले चूनौतिहरु समाधान भैरहेको छन्, यो सकारात्मक कुरा हो।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको र अहिले उचाईमा पुगेको बताउँदै राजदुत उपाध्यायले भने,‘अहिले त द्धिपक्षीय ओभरराईड मेकानिज्म बनेको छ, रेलमन्त्री र वित्तमन्त्री पनि हालै काठमाडौं आउनुभयो।’ कुटनीतिज्ञ कला, कौशल राम्रो भयो र संयमित रुपमा प्रस्तुत गर्न सकियो भने द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर हुने उनको विश्वास थियो। त्यस्तै उनले नेपालमा ग्याँस तथा पेट्रोलियम पदार्थ लाईन बसेर लिने झन्झटलाई मध्येनजर गर्दै आईओसी र एनओसीवीच सम्झौता हुन गैरहेको बताए। उनले भने,‘प्रवन्धन त हामीले गर्ने हो नि।’ राजदुत उपाध्ययाले जनतालाई दुःख दिने निर्णयहरु कतैबाट पनि हुन नहुने जिकिर गरे। कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले द्धिपक्षीय सम्बन्धलाई सुदृढ र समुधुर बनेकोले अब आर्थिक समृद्धिको लागि दुवै देश मिलेर अघि बढ्ने बेला आएको बताए। उनले थपे,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर बनेको छ, अब द्धिपक्षीय सम्बन्धलाई विश्वासका साथ आपसी हित र आर्थिक समृद्धिको लागि बढि केन्द्रित गर्नुपर्छ।’