विकासन्युज

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र रविशंकरबीच भेटवार्ता, धर्मबाट देशलाई एकतावद्ध बनाउन सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र आर्ट आफ लिभिङ फाउण्डेसनका अध्यक्ष श्री श्री रविशंकरबीच आईतबार प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको छ । चौधरी ग्रुपद्धारा नवलपरासीमा स्थापित शाश्वत धाम समुद्घाटन समारोहमा विशिष्ठ अतिथिका रुपमा सहभागी हुन रविशंकर आईतबार नै नेपाल आएका हुन् । उक्त अवसरमा रविशंकरले सनातन धर्मले देशलाई एकतावद्ध बनाउन सहयोग पुग्ने धारणा राखेको चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलले जानकारी दिए । उनले आफू शान्तिपूर्ण र समृद्ध नेपाल देख्न चाहेको र यो प्रयासमा सदैव नेपालको साथमा रहेको धारणा पनि राखेका छन् । प्रधानमन्त्री प्रचण्डल रविशंकरज्यूलाई स्वागत गर्दै देशमा शान्तिपूर्ण समाज निर्माण गर्दै समृद्ध नेपाल निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको बताएको पौडेलले जनाएका छन् । उक्त अवसरमा चौधरी ग्रुपका अध्यक्ष श्री विनोद चौधरी पनि सहभागी थिए ।

मर्चेन्ट बैकिङ कारोबार गर्न एनआईसी एशिया बैंकले सहायक कम्पनी खोल्यो, २३ वटा भए मर्चेन्ट बैकिङ संस्था

काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेड सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र एनआईसी एशिया बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले आईतबार संयुक्त रुपमा उक्त कम्पनीको उद्घाटन गरेका छन् । बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । धितोपत्रबोर्डबाट मचेन्ट बैंकिङ कार्य गर्न अनुमति पाएको यस कम्पनीले धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड व्यवस्थापनको काम गर्ने कम्पनीका अध्यक्ष सुधिर पाण्डेले जानकारी दिएका छन् । कम्पनी एनआईसी एशिया क्यापिटल खुलेसँगै मर्चेन्ट बैकिङ कारोबार गर्ने संस्थाको संख्या २३ वटा पुगेको नेपाल धितोपत्र बोर्डको रेकर्डले देखाएको छ । सहायक कम्पनी खोलेको उपलक्ष्यमा बैंकले आईतबार काठमाडौंको अन्नपूर्ण होटलमा रात्रीभोज आयोजना गरेको थियो । रात्रीभोजमा  सरकारी तथा नियामक निकायका अधिकारीहरु, राजनीति दलका नेताहरू, बैंकका मुख्य सेयरधनी, ग्राहक,  कर्मचारीहरू सहभागी रहेको बैंकले जनाएको छ ।

सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्स प्राप्ति गर्ने, बाेनस सेयरपछि २० प्रतिशत हकप्रद सेयर निश्काशन गरिने

काठमाडौं । सिभिल बैंक लिमिटेडमा हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन एवं ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्ता पूँजी ५ अर्ब ५ करोड पुग्ने छ भने यस बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । दुवै संस्थाको प्राप्ति र आ.व.२०७२/७३को मुनाफाबाट बोनस शेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको २० प्रतिशतले हकप्रद सेयर जारी गर्ने र नपूग रकमको लागी थप प्राप्ति, मर्जर मार्फत गई नेपाल राष्ट्र बैंकको मौद्रिक नीति असार मसान्त भित्र न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ ।

एनसीसी बैंकद्धारा एकिकृत सेयर प्रमाणपत्र लिन आव्हान

काठमाडौं । एनसीसी बैंकले एकिकृत सेयर प्रमाण पत्र लिन लगानीकर्तालाई आव्हान गरेको छ । एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम र इन्टरनेशन डेभलपमेन्ट बैंक र एनसीसी बैंक मर्जर भएपछि कायम हुने सेयर संरचनाको प्रमाण पत्र लिन आव्हान गरेको हो । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर धनीलाई फागुन २२ देखि २४ गतेसम्म, एपेक्स डेभलपमेन्ट बैंकका सेयरधनीलाई फागुन २६ देखि ३० गते, सुप्रिम डेभलपमेन्ट बैंकका सेयर धनीलाई चैत १ देखि ४ गतेसम्म र इन्टरनेशन डेभलपमेन्ट बैंकका सेयर धनीलाई चैत ६ देखि १० गतेसम्मको समय दिइएको छ । सेयरधनीहरुले बागबजारस्थित एनसीसी बैंकको सेयर शाखाबाट नयाँ सेयर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । डिम्याट खाता भएका सेयर धनीहरुका सवालमा भने स्वाप रेसिया अनुसारको सेयर खातामै राखिदिने पनि बैंकले जनाएको छ ।

करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । करिब ४३५ किलोमिटर लामो कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी ट्रयाक खोल्ने काम सकिएको संसद् विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिए । करिडोरको बागलुङ खण्डमा करिब ७० किमी सडक पर्दछ । करिडोरको बागलुङ खण्डको सडक निर्माणको जिम्मा नेपाली सेनाको निर्माण कार्यदललाई दिइएको छ । नेपाली सेनाले बागलुङमा पर्ने ७० किमी सडकमध्ये मालढुङ्गा टाकुरी खण्डको १३ दशमलव ८ किमी सडक गत वर्ष नै निर्माण गरिसकेको छ । “करिडोरको बागलुङ खण्डमा काम निकै तीव्रगतिमा चलिरहेको छ”- अधिकारीले भने, “विकास समितिले गरेको अनुगमनअनुसार बागलुङ खण्डमा ८३ प्रतिशतभन्दा बढी प्रगति भएको पाएका छौँ ।” चालु आर्थिक वर्षमा निर्माण सुरु गरिएको ५६ किमी सडकखण्डको पनि ६५ प्रतिशतभन्दा बढी काम सकिएको आयोजनाका प्रमुख सेनानी रेष्मीराज भट्टराईले जानकारी दिए । विसं २०३९ देखि ट्र्याक खोल्न थालिएको लामो र समय यत्तिकै अल्झिएको करिडोरको यस खण्डको काम करिब रु ५० करोडको लागतमा नेपाली सेनाले गरेको हो । विसं ०५७ मा कालीगण्डकी करिडोरको शिलान्यास भएको थियो । कालीगण्डकी करिडोरले छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्नेछ । नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । “बागलुङ खण्डमा निकै तीव्रगतिमा काम भइरहेको छ”- अधिकारीले भने, “अबको डेढ वर्षमा करिडोरमा निर्वाध रुपमा सवारीसाधान आवतजावत गर्न सक्नेछन् ।” करिडोरले चीन–भारत जोडेसँगै मुस्ताङको कोरला नाकासमेत सञ्चालनमा आउने विकास समितिका सभापति अधिकारीले बताए । बागलुङदेखि गुल्मीको रिडीसम्म करिडोर जोड्नका लागि केही स्थानमा मोटरवेल पुल र बेलिव्रिज निर्माण गर्न बाँकी छ । त्यसका लागि पर्याप्त बजेट नहुँदा समस्या भएको प्रमुख सेनानी भट्टराईले बताए । “अब करिब रु २० करोड निकासा भए यस खण्डको कामलाई पूर्णता दिन सकिन्छ”- उनले भने, “६५ प्रतिशत काम सकिएको छ, बजेट निकासा भए चालु आवमै काम गर्न हामी सक्षम छौँ”- करिडोरको बाटो कालोपत्र नै नभए पनि साइकल रोड भएकाले मालढुङ्गादेखि गुल्मीको रिडीसम्म साइकलमै जान सकिने गरी सडक निर्माण गरिएको छ । गुल्मीको मौदिखोला, बागलुङको चौँरीखोला, लुवाखोला, जैमिनुघाट ठेउलेखोलामा पुल निर्माण गर्नुपर्नेछ । आयोजनाका अनुसार आव ०७५/७६ सम्ममा करिडोरको अधिकांश भाग कालोपत्र गरिसक्ने योजना छ । करिडोरको विस्तारले बागलुङको जनजीवनसमेत फेरिन थालेको छ । करिडोरले हालसम्म जिल्लाको मुख्य सडक सञ्जालबाट वञ्चित रहेको दर्जनाँै गाविसलाई सडक सञ्जालसँग जोडिदिएको छ । जिल्लाको कृषि, पर्यटन, विद्युत्, उद्योग र व्यवस्थित बसोबासका लागि थुप्रै अवसरसमेत अब सिर्जना हुने बागलुङ उद्योग वाणिज्य सङ्घका महासचिव दयाराम पौडेले बताए । “सडक सञ्जाल जोडिएपछि करिडोर तथा मध्यपहाडी लोकमार्गका पर्ने जिल्लाका अधिकांश गाउँ बजारमा परिणत भएको छ”- पौडेलले भने, “सदरमुकामदेखि हप्तौँ लाग्ने विभिन्न गाविसका कुनाकुनामा सडक पुगेपछि व्यापार केन्द्रमा परिणत भएकाले व्यावसायिक सम्भावना फराकिलो भएको छ । रासस

भारतमा रहेका नेपाली व्यवसायीले नेपालमा सय करोड लगानी गर्ने

काठमाडौं । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा १०० करोेड रुपैयाँ लगानी गर्ने भएका छन् । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ । इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले बर्दियामा प्राकृतिक सौन्दय, वन्यजन्तुका साथै स्थानीय कलासंस्कृतिको समिश्रणका कारण पर्यटन व्यवसायको सम्भावना देखिएकाले सो रिसोर्टलाई पहिलो प्राथमिकतामा राखिएको बताए । बर्दियासँगै नजिक २५ स्थानमा पनि रिर्सोट निर्माण गर्ने जानकारी दिँदै नेपालको स्थानीय पर्यटनलाई विकास गरी त्यहीको उत्पादन र स्थानीय जनशक्तिलाई प्रयोग गर्दै आर्थिक विकासका लागि लगानी गर्न लागिएको उनले बताए । हालै सम्पन्न लगानी सम्मेलनमा भाग लिन नेपाल आउनुभएका फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि देशको राजनीतिक अस्थिरता, चन्दा आतङ्क र बेलाबेला भइरहने बन्दहड्तालले लगानीमा सुरक्षाको अभाव देखिएको बताए । उनले भने, “भारतमा रहेको अधिकांश व्यवसायी नेपालमा लगानी गर्न इच्छुक भएकाले सरकारले लगानी सुरक्षाको वातावरण बनाउनुपर्छ । देशमा अथाह सम्पदा छ, यस्ता सम्पदालाई सही रुपमा उपभोग गर्न सकिएको छैन, पारिवारिक पर्यटनले हाम्रो देशमा आर्थिक वृद्धि हुन्छ, हामीले वार्षिक १० लाख भारतीय पर्यटक भित्र्याउन सक्छौँ ।” आगामी पाँच वर्षभित्र लगानी रकम बढाएर पाँच सय करोडरुपैयाँ पुर्याउने पनि इन्डष्ट्रिजले जनाएको छ । रासस

वायुसेवा निगमले ६ महिनामा कमायो १३ करोड ७१ लाख, यस्तो छ आम्दानी र खर्चको हिस्सा

काठमाडौं । नेपाल बायु सेवा निगमले चालु आर्थिक बर्षको ६ महिनामा १३ करोड ७१ लाख २६ हजार ७० रुपैंयाँ(कर बाहेक) नाफा कमाएको छ । निगमले साउन १ गतेदेखि माघ २९ गतेको अवधीमा सो नाफा कमाएको हो । निगमले सो अवधीमा ५ अर्ब ४ करोड २० लाख ८६ हजार २ सय २८ रुपैंयाँ आम्दानी गरेर ४ अर्ब ४३ करोड १२ लाख ९९ हजार ९ सय ८४ रुपैंयाँ खर्च गरेको छ । सुगतरत्न कंसाकार, महाप्रबन्धक–नेपाल वायुसेवा निगम निगमले अन्तराष्ट्रिय हवाई उडानबाट ३ अर्ब ८ करोड ७ लाख ३५ हजार ३ सय ९० रुपैंयाँ आम्दानी गरेको छ भने आन्तरिक तर्फको उडानबाट ११ करोड ५८ लाख ८ हजार ९ सय ९ रुपैंयाँ आम्दानी गरेको छ । त्यस्तै, ग्राउण्ड ह्याण्डलिङबाट एक अर्ब ७६ करोड ३५ लाख २६ हजार ६ सय २६ रुपैंयाँ कमाएको छ । निगमले एक्सेस ब्यागेजबाट ३ करोड २६ लाख तथा कार्गाेबाट ३ करोड २५ लाख आम्दानी गरेको छ । त्यस्तै, भाडा तथा लिजबाट एक करोड ६८ लाख आम्दानी गरेको छ । निगमले निगमले उडान अपरेशनका लागि एक अर्ब ७० करोड, इन्स्योरेन्सका लागि १७ करोड ८६ लाख, भाडाका लागि एक करोड, मर्मत सम्भारमा ३८ करोड, कस्टुमर सर्भिसमा ६ करोड, मूल्य ह्रासमा ७३ करोड ४७ लाख र प्रशासन सञ्चालनका लागि एक अर्ब ३६ करोड २९ लाख खर्च गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारले आगामी तीन बर्षभित्रै चार वटा नयाँ विमान थप्ने गरि योजना अघि बढाएको बताए । उनले चाँडै चीनको ग्वाञ्जाओ र दुबईमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि बताए । २ महिनाभित्रै क्रेडिट कार्ड प्रयोग गरेर संसारभबाट नेपाल एयर लाइन्सको टिकट खरिद गर्न सकिने पनि महाप्रबन्धक कंसाकारले जानकारी दिए ।

मलेसियाद्वारा उत्तरकोरियाली राजदूतलाई देशनिकाला गरेको घोषणा

मलेसिया । उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएकोे शनिबार क्वालालम्पुरले बताएको छ । “उत्तरकोरियाली राजदूतलाई मलेसियामा राख्न सम्भव नभएको सरकारले घोषणा गरेको छ”– मलेसियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ । मन्त्रालयले किमको हत्या प्रकरणपछि शव परीक्षणबारे आएका अभिव्यक्तिलाई लिएर उत्तर कोरियासँग क्षमा याचना गर्न भनेको तर प्यायोङयाङले यसमा सकारात्मक नबेपछि राजदूतलाई देश निकाला गर्ने निर्णय गरिएको बताएको छ । मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए । उनले नाम मुटु, मधुमेह तथा उच्च रक्तचापका बिरामी भएको र उहाँको मृत्यु यसैकारण भएको हुनसक्ने बताएका हुन् । मलेसियाले यस भनाइको खण्डन गरिसकेको छ । उत्तर कोरियाली नेता किमका दाजुको मृत्युले मलेसिया र प्योङयाङबीच कूटनीतिक सम्बन्धमा नै समस्या ल्याएको छ । उत्तर कोरियाली नेताका सौतेनी दाजू जोङ नामको मृत्युपछि शव परीक्षण (पोस्ट मार्टम) गर्ने विषय संवेदनशील भएको बताउँदै स्वदेशमै झिकाउने प्रयास गरिएको थियो । तर मलेसियाले प्योङयाङको आग्रहलाई बेवास्ता गर्दै शव परीक्षण गरेको थियो । क्लालम्पुरले आफ्नो देशको कानुनको पालना गर्दै शवको परीक्षण गरिएको र शव परीक्षण नतिजामा नामको विषाक्त ग्यासको प्रयोगबाट मृत्यु भएको पाइएको बताएको छ । बिहीबार मलेसियाले उत्तर कोरिया विनाभिसा नै प्रवेश गर्न पाउने प्रावधानलाई रद्द गर्न लागिएको बताएको थियो । रासस/एएफपी/सिन्ह्वा