‘एचआरमीट २०१७’ चैत १६ गतेदेखि शुरु, २५० कम्पनी सहभागी हुने
काठमाडौं । ग्रोथ सेलर्सले एचआरमीटको दशौं संस्करण ‘एचआरमीट २०१७’ आगामी चैत्र १६ गतेदेखि शुरु गर्ने भएको छ । कम्पनीले उक्त कार्यक्रम काठमाडौंको साल्टी होटलमा आयोजना गर्ने भएको छ । ‘एच आर फर अल, अल फर एच आर’ भन्ने नाराका साथ आयोजना गरिने आयोजकले बताएका छन् । चैत १७ गतेसम्म हुने उक्त कार्यक्रममा विभिन्न (निजि क्षेत्र, सरकारी, अर्ध सरकारी ,गैर सरकारी संघ संस्था लगायत अन्य विभिन्न संघ संस्था बाट) २५० भन्दा भन्दा बढीको सहभागीता रहने कम्पनीका अध्यक्ष मोहन ओझाले जानकारी गराएका छन् । साथै उनले हाल सम्म ५० प्रतिशतले कार्यक्रममा आउने प्रतिवद्धता दिएका छन् । यस कार्यक्रमका प्रमुख वक्ताहरुमा भारतबाट टिभीआरएलएसका प्रमुह कार्यकारी अधिकृत प्राडा टिभि राव तथा प्राडा आइएसएफ राज रहेका छन् । दुई दिने सो कार्यक्रममा यस वर्ष स्वदेशी तथा विदेशी विज्ञहरुले मानव संसाधन सम्बन्धी प्रस्तुती पेश गर्नेछन् । साथै नेपालमा कार्यकारी निर्देशक तथा मानव संसाधन विज्ञ बीचको सम्वन्धलगायतका विषयमा छलफल हुनेछ । अहिलेको अवस्थामा पनि कर्पोरेट हाउसले मानवसंधनको क्षेत्रमा गरिने खर्चलाई लगानीको रुपमा नलिनु दुखको विषय भएको बताए । कार्यक्रमलाई निम्बल इन्फोसिसले टाइटल स्पोन्सर गरेको छ भने डिएभी कलेज अफ म्यानेजमन्ट एशोसिएट्स पार्टनरको रुपमा रहेको छ ।
६८ परिवार दोलखालीले घर बनाउन पाए तीनै लाख, यी हुन ती भाग्यमानीहरु
काठमाडौं । भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लामा सरकारी मापदण्ड र प्रक्रिया पुरा गरि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका ६७ घरधुरीले तेस्रो किस्ताको आवास अनुदान रकम समेत प्राप्त गरेका छन् । भूकम्प अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण शुरु नगरेको गुनासो आइरहेका बेला दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तिव्रता पाएको हो । जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता वापतको एक लाख रुपैया समेत बितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा जिल्लाका क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा छन् । तेस्रो किस्ताको थप एक लाख रुपैया लिएका उनीहरुले घरको पुनर्निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका छन् । सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैया लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता वापत एक लाख रुपैया आवास निर्माणका लागी अनुदान दिइरहेको छ । प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरिसकेको छ । प्राधिकरणले दोस्रो किस्ता वापतको रकम जिल्ला पठाइसके पनि लाभग्राहीहरुले उक्त रकम लिन आवश्यक प्रक्रिया पुरा गरेका छैनन ।
भृकुटीमण्डपको अन्तराष्ट्रिय व्यापार मेलामा महासंघ चुनावको रौनक(फोटो फिचर)
काठमाडौं । राजधानीको भृकुटीमण्डमा बिहिबारदेखि छैठौं नेपाल अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ । मेलामा स्वदेशी तथा विदेशी गरि ३४० वटा स्टल रहेका छन् । मेलामा थुप्रै जिल्ला/नगर उद्योग बाणिज्य संघ तथा बस्तुगत संघहरुले सहभागीता जनाएका छन् । महासंघको आगामी निर्वाचनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने जिल्ला/नगर उद्योग बाणिज्य संघ र वस्तुगत संघहरुको उल्लेख्य सहभागीता रहेकाले बिहिबार भृकुटीमण्डपमा चुनावी रौनक देखिन्थ्यो । बरिष्ठ उपाध्यक्षका उम्मेदार शेखर गोल्छा र किशोर प्रधान दुबै भृकुटीमण्डको त्यो अवसरलाई सदुपयोग गर्न उद्यत देखिन्थे । जिल्ला तर्फको उपाध्यक्ष उम्मेदवार बनेका दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठ पनि मेलाको सदुपयोगमा जुटेका थिए । उता, एसोसियटका उम्मेदवार चन्द्र ढकाल, बस्तुगत तर्फका उम्मेदवार शंकर पाण्डे लगायत पनि उपस्थित थिए । बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेको शेखर गोल्छाले प्रधान समुहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदारी दिनै तयारी गरेका शंकर पाण्डेलाई भने–महासंघले वस्तुगतलाई हेरेन भन्ने तपाईहरुको गुनासो रहेछ, हामीले त सबैलाई हेर्ने हो, कसैलाई काखा कसैलाई पाखा गर्नै मिल्दैन, बैंकको सिइओले एकाउण्ट हेर्न जान्दिन भन्न नमिले झै महासंघले पनि कसैलाई नजिक र कसैलाई टाडा बनाउन मिल्दैन् । मेलामा महासंघका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा तथा पुर्व अध्यक्ष चण्डीराज ढकाल पनि मतदाताहरु रिझाउन लागि परेका देखिन्थे । बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान भने मेला उद्घाटन समारोहमा सहभागी भए लगत्तै बाहिरिएका थिए ।‘म चुनावको तयारी छु, मेला उद्घाटनमा सहभागी भएर तुरुन्तै बाहिरिनु पर्यो, मेलामा सहभागी व्यवसायीसँग एक पटक भेटघाट गरिसकेको छु’, प्रधानले भने । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । उनले निजी क्षेत्रको सहयोगबिना मुलुकले आर्थिक समृद्धि प्राप्त गर्न नसक्ने बताउँदै सरकार र निजि क्षेत्रका सहकार्यलाई अझै बजबुत बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मेलामा चीन, भारत, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीहरुको सहभागिता रहेको छ । चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्ड २ वटा कम्पनीले सहभागीता जनाएका छन् । हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण हुन ।
पाटा नेपालले शुरु गर्यो ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमूलक अभियानको रूपमा ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’ शुरु गरेको छ । सो अभियान विद्यार्थीहरूका लागि आफ्नो योग्यता, क्षमता र सीप प्रस्तुत गरी महत्वपूर्ण उपलब्धिहरू प्राप्त गर्न एक उपयुक्त माध्यमको रूपमा लिइएको छ । यस अभियानअन्तर्गत ‘पब्लिक स्पिकिङ’ शीर्षकको पहिलो प्रतियोगिता बुधबार काठमाडौंको मन्डिखाटार स्थित गेट कलेजमा सम्पन्न भएको छ, जसमा पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्था गेट, नाथम, क्याथ, एनसीटीटीएम, मिडभ्याली, पब्लिक युथ र आईएसटीबाट १५ जना विद्यार्थीले भाग लिएका थिए । सहभागीमध्ये आईएसटी कलेजकी छात्रा पेरिस्मा शर्मा विजयी भएकी छन् । विजेताले पुरस्कारस्वरूप आगामी १८ देखि २१ चैतमा श्रीलंकामा आयोजना हुने पाटा एनुअल समिटमा पाटा नेपालको सौजन्यमा सहभागी हुने अवसर प्राप्त गरेकी छन् । सो कार्यक्रमको उद्घाटनमा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले स्वागत मन्तव्य राख्दै पाटा नेपालको दक्ष जनशक्ति निर्माण तथा नेपाली पर्यटन क्षेत्रका नयाँ पुस्तामा नेतृत्व सीप अभिवृद्धि गर्ने उद्देश्यले पाटा नेपालले यो अभियान अघिसारेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव दीपेन्द्र पुरुष ढकाल, नाथम कलेजका भूपू प्राचार्य उज्ज्वल सत्याल र भोग एड एन्ड इभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत प्रभात रिमालले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । दीपेन्द्र पुरुष ढकालले पाटा नेपालले नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण एवं आवश्यक पहल अघि सारेको बताउँदै नेपाललाई अन्य गन्तव्यहरूसँगको प्याकेजमा भन्दा एक आत्मनिर्भर गन्तव्यको रूपमा प्रवद्र्धन गर्नुपर्ने खाँचो रहेको औंल्याएका छन् । यस अभियानअन्तर्गत पब्लिक स्पिकिङ, कन्टेन्ट राइटिङ, टुरिजम प्रोजेक्ट डेभलपमेन्ट, टेक फर टुरिजम र प्रोमो भिडियो गरी विभिन्न पाँचवटा विधामा अन्तर कलेज प्रतियोगिता सञ्चालन गरिने पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले जानकारी दिएका छन् ।
५ वर्षमा घरभित्रको धुवाँमुक्त बनाउने, एलपी ग्यासलाई प्रतिस्थापन गर्न जैविक ऊर्जा
काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपाललाई घरभित्रको धुवाँमुक्त बनाउने भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार पारिएको जैविक ऊर्जा रणनीतिले यस्तो महत्वकांक्षी लक्ष्य लिएको हो । सरकारले सन् २०२२ सम्ममा आधुनिक जैविक ऊर्जा प्रविधिको प्रबद्र्धन गरि घरभित्रको धुवाँमुक्त नेपाल बनाउने र २०३० सम्ममा ठोस इन्धन प्रयोग गरि सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने योजना बनाएको छ । यसका लागि सरकारले विभिन्न निकाय र संस्थाहरुको सहयोगलाई एकद्वार प्रणालीमार्फत कार्यान्वयनमा लैजान वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय समितिको गठन गरेको छ । परम्परागत रुपमा प्रयोग हुंदै आएको दाउरा, गुँईठा जस्ता ऊर्जाका स्रोतलाई आधुनिक, दिगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्न तथा वातावरण संरक्षण गर्ने उद्देश्य रणनीतिले लिएको वातावरण मन्त्री जयदेव जोशीले बताएका छन् । जैविक ऊर्जा प्रयोगमा ल्याउन सके बढ्दो एलपी ग्यासको खपत र परनिर्भरता प्रतिस्थापन गर्न सकिने उनले बताए । यसले गर्दा इन्धन आयातमा समेत कमि आउने छ । हाल करिब एक खर्बको हाराहारीमा नेपालमा इन्धन आयात हुने गरेको छ । शहरी क्षेत्रबाट उत्पादित फोहोरबाट ऊर्जा उत्पादन गरि फोहोरमैला व्यवस्थापनमा सहयोग पुर्याउने सरकारको अर्को उद्देश्य भएको जोशीले बताए । रणनीतिलाई प्रभावकारी ढंगबाट प्रयोग गरिएमा वन जंगल र वातावरणको संरक्षण हुनुका साथै जैविक ऊर्जाको उचित प्रयोगबाट जैविक स्रोत र साधनको सदुपयोग हुने मन्त्री जोशीले बताए । ‘आधुनिक जैविक ऊर्जाको विकास गर्ने नीति सरकारको उनले भने । ले लिएको छ । ’ बायोडिजेल र बायोइथानोलको प्रयोगबाट डिजेल र पेट्रोलको प्रयोगमा कमि ल्याउनका लागि कृषिजन्य अवशेष तथा जैविक फोहोरलाई उपयोग गरि दिगो जैविक ऊर्जाको उत्पादनमा बृद्धि गर्ने रणनीतिमा उल्लेख गरिएको छ । यसबाट नेपालका सबै घरधुरीमा स्वच्छ ऊर्जाका खाना पकाउने प्रविधि पुग्ने मन्त्रालयले बताएको छ । नेपालमा हालसम्म वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र मार्फत लघु तथा साना जलविद्युत आयोजनाबाट देशभर २९ मेगावाट विद्युत उत्पादन, १३ लाख भन्दाबढि घरधुरीमा सुधारिएको चुलो, ३ लाख ८० हजारभन्दा बढि बायोग्यास प्लाण्ट, ६ लाख ५० हजारभन्दा बढि सौर्य ऊर्जा प्रणाली जडान भै सकेको छ । ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा परम्परागत दाउरा लगायतका ऊर्जाको प्रयोग भइरहेको मन्त्रालयको तथ्याङ्क छ । यसलाई पूर्ण रुपमा विस्थापित गरि सरकारले नेपाललाई धुवाँमुक्त बनाउने लक्ष्य लिएको छ । वार्षिक करीव ७ हजार ५ सय व्यक्तिको मृत्यु घरभित्रको वायुप्रदुषणले गर्दा लाग्ने विभिन्न रोगबाट हुने गरेको पाईएको छ । पछिल्लो ‘राष्ट्रिय जीवनस्तर निर्धारण सर्वेक्षण’ को प्रतिवेदन अनुसार करीव ३० लाख घरधुरीको पहुँच सुधारिएको चुलो पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत् उन्नत सुधारिएको चुलोहरु, बायोग्यास, सौर्य कुकर/ड्रायर लगायतका खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिहरुको प्रवद्र्धन र विस्तारमा जोड दिएको छ ।
स्ट्याण्डर्ड चार्टर्डको एफपिओमा लगानी कर्ताको उच्च आकर्षण, दुई दिनमै ४ अर्बको आवेदन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानी कर्ताको उच्च आकर्षण देखिएको छ । मंगलबारबाट निष्काशन गरिएको एफपिओमा दुई दिनमै चार अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन भएको हो । बुधबारसम्म ३१ हजार ८७० आवेदकले ४ अर्ब १० करोड भन्दा बढिको आवेदन दिएका छन । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा साधारण सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ ।
अग्नि इनकर्पाेरेटेड अन्तर्गत महिन्द्रा गाडीहरु अब अनलाइन मार्फत बुकिङ्ग गर्न सकिने
काठमाडौं । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको नेपालका लागि एक मात्र आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले सेवाग्राहीहरुलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप अब अनलाइन मार्फत गाडिहरुको बुकिङ्ग प्रकृयाको सुरुवात गरेको छ ।गाडी बुकिङ्ग गर्ने ग्राहकहरुले यस कम्पनीको वेब साइट www.onlineagni.com मा गई उपलब्ध गाडीहरुको मोडल नम्बर, बिक्री मूल्य हेरी खरिद गर्नुका साथै ई–सेवा मार्फत नै रकम भुक्तान गरेको भौचर समेत प्राप्त गर्न र गाडी खरिद गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । नेपालभर रहेका महिन्द्रा गाडिहरुको शोरुम मार्फत बिक्री बितरण गर्न सकिने गरी कम्पनीले अनलाइन सेवा सुरुवात गरेको छ । हाल यो सेवा काठमाडौं उपत्यका र विदेशमा रहेका ग्राहकहरुको लागि उपलब्ध गराइएको छ ।
७ लाख ५८ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । सेयर बजारमा कुल ७ लाख ५८ हजार ९४ कित्ता सेयर लिलामीमा आउने भएका छन् । हिमालयन बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र मेगा बैंक नेपाल गरि तीन कम्पनीले सो मात्राको सेयर यस महिनामै लिलामी गर्ने भएका छन् । हिमालयन बैंकले चैत १० गतेदेखि १६ गतेसम्म १ लाख ४५ हजार ५८० कित्ता साधारण हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले गत कात्तिकमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिमामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट चैत १० गतेदेखि १६ गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५८ रुपैयाँ रहेको छ । त्यस्तै, वेष्टर्न डेभलपमेन्ट बैंकले पनि चैत १३ गतेदेखि २० गतेसम्म सर्बसाधारण र संस्थापक गरि २ लाख २५ हजार ६३५ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले ६२ हजार १३४ कित्ता साधारण हकप्रद सेयर र १ लाख ६३ हजार ५०१ कित्ता संस्थापक सेयर बेच्न लागेको हो । बैंकले गत मंसिरमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिलामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक प्रभु क्यापिटल कमलादीबाट चैत १३ गतेदेखि २० गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् । त्यसैगरि, मेगा बैंक नेपालले पनि चैत १३ गतेदेखि २० गतेसम्म साधारण हकप्रद र संस्थापक गरि ३ लाख ८६ हजार ८८२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले २ लाख १७ हजार ८९० कित्ता साधारण हकप्रद सेयर र १ लाख ६८ हजार ९९२ कित्ता संस्थापक सेयर बेच्न लागेको हो । बैंकले गत साउनमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिलामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्सालबाट चैत १३ गतेदेखि २० गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।