भैरहवाबाट गोल्छा टिमको उम्मेदवारी घाेषणा, पशुपति मुरारका र भवानी राणाकाे खुला समर्थन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाको समूहले भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । गाेल्छा समूहलार्इ समर्थन गर्दै उम्मेदवारी घोषणा सभामा वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ सहभागि थिए । वर्तमान अध्यक्ष मुरारका र आगामी अध्यक्ष भवानी राणा उक्त सभामा भाग लिनु र निर्वाचनको प्रतिस्पर्धामा उत्रिएको एउटा पक्षको समर्थनमा खुलेर मैदानमा जानुलाई धेरै व्यवसायीले ननिको मानेको देखिन्छ । ‘अध्यक्षको निर्वाचनले गुटको राजनीति निम्त्याएको भन्दै वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरि महासंघको विधान संशोधन गरिए पनि पुरानो समस्याले निरन्तरता पायो’ महासंघको एक पूर्व अध्यक्ष भने–‘कम्तिमा वर्तमान अध्यक्ष मुरारका र विधान अनुसार निर्वाचनपछि स्वतः अध्यक्ष भईसकेकी राणा चुनावी मैदानमा नउत्रिएको भए राम्रो हुन्थ्यो ।’ उम्मेदवारी घोषणा गर्न देशका विभिन्न स्थानबाट करिव ३०० जना व्यवसायी हवाईजहाज र हेलिकप्टरबाट भैरहवा उतारिएको थियो । यसअघि महासंघको निर्वाचनमा अध्यक्षको उम्मेदवारले जिल्ला जिल्लामा भोट माग्न गाडी र हवाई टिकटमा ठूलो खर्च गर्ने गरेका थिए । यसपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा हेटिकप्टर चार्टड गरेर विभिन्न जिल्लामा भोट माग्न हिडेका छन् । स्राेतका अनुसार गोल्छा समूहले निर्वाचनमा करिव १५ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरिएकाे छ । महासंघको निर्वाचन निकै महँगो र भड्किलो भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
३ अर्बको १० करोड किलो विदेशी प्याज नेपालीका भान्छामा
काठमाडौं । के तपाइँले आफ्नो भान्छामा पाक्ने प्याज स्वदेशी हो वा विदेशी भनेर कहिल्यै ख्याल गर्नु भएको छ ? तपाइँ हाम्रै भान्छामा पाक्ने तरकारीमा स्वाद भर्न बर्षेनी अरबौं नेपाली रुपैंयाँ बाहिरिरहेको छ । गत आर्थिक बर्ष २०७२/७३ मा मात्रै ३ अर्ब १८ करोड ६२ लाख २४ हजार ७ सय ८० रुपैंयाँ मूल्यमा १० करोड ५ लाख ८ हजार २ सय ४४ किलो प्याज नेपाल भित्रिएको छ । जबकी पाँच बर्ष अघि अर्थात आर्थिक बर्ष २०६८/६९ मा एक अर्ब १७ करोड पैंयाँमा ८ करोड ३२ लाख किलो प्याज आयात भएको थियो । यो क्रम बर्षेनी वृद्धि भैरहेको छ । आव ६९/७० मा एक अर्ब ८५ करोडको ९ करोड ४६ लाख किलो प्याज आयात भएको थियो । आव २०७१/७२ मा ३ अर्ब ७६ लाखको ९ करोड ६२ लाख किलो प्याज आयात गरिएको थियो । गत आवमा नेपाल भित्रिएको प्याजको औषत मूल्य प्रति केजी ३१ रुपैंयाँ ७० पैसा पर्न आउँछ ।
बैंक अफ काठमाण्डूकाे अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । चैत ४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि लुम्बिनी बैंकको अध्यक्ष थिए । उनी पर्यटन क्षेत्रमा विस्तापित व्यवसायी हुन् । गत बिहीबार बसेको बैंककाे २२औँ वार्षिक साधारणसभाले कम्पनीको संस्थापक लगानीकर्ताको तर्फबाट सञ्जयबहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ र राधेश पन्त गरि चार जनालाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ । साथै, उक्त सभाले कम्पनीको साधारण लगानीकर्ताको तर्फबाट डा. प्रेम हेमराज सुबेदी, गोबिन्दप्रसाद शर्मा रेग्मी, सौरभ केसी र मदनलाल जोशीलाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ ।
अशोक लेलैण्डको भाईकिंग बस नेपालमा
काठमाडौं । अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को भाइकिंग बस नेपालमा भित्रिएको छ । अशोक लेलैण्डको आधिकारिक विक्रेता एलटी ईन्टरप्राईजेजले भाइकिंग बस नेपाल भित्र्याएको हो । आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैन्ड कम्पनीका उप सभापति रविकुमार पंगाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । नयाँ १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर जडान गरिएका छन् । भाइकिंग बसले न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने प्रतिवद्धता जनाएकोे छ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्ड बसहरुले सधैं कुशल लागत र आरामदायी बसका रुपमा ख्याति कमाएको बताए । हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो । जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै बस उत्पादकमा विश्वको सोह्रौँ ठूलो कम्पनी हो । कम्पनीको भारतमा ७ ओटा कारखाना छन् र साथै खाडी मुलुक, केन्या र बंगलादेशमा पनि कारखाना छन् । अशोक लेलैण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेलैण्ड यात्री परिवहनको १८ सिट देखि ८० सिट सम्मका विभिन्न सवारी साधन उत्पादन गर्दै आइरहेको छ । नेपालमा कम्प्नीका ट्रक/टिप्पर, बस, लाइट कमर्सिअल गाडीहरु, डिफेन्स प्रयोजनका स्पेशल गाडीहरु बिक्रि भैरहेका छन् ।
इभरडाइमको आधिकारीक बिक्रेतामा एफजी इन्कर्पोरेटिड नियुक्त
काठमाडौं । दक्षिण कोरियाली कम्पनी इभरडाइमले एफजि इन्कर्पोेरेटिड प्रालीलाई नेपालका लागि आधिकारीक बिक्रेता नियुक्त गरेको छ । यस अघि फोर्स ग्रुपले नेपालमा इभरडाइमका हेभी इक्युपमेन्ट आयात गर्दै आएको थियो । नेपालमा इभरडाइमको बजार राम्रो देखेसँगै फोर्स ग्रुपले एफजी इन्कर्पोेरेटिड प्राली नामको भगीनी कम्पनी खोलेर आधिकारीक बिक्रेता बनेको हो । करिब पाँच बर्ष अघिदेखि नै इभरडाइमका हेभी इक्युपमेन्ट नेपाली बजारमा थिए । हालसम्म इभरडाइमका ७५ थान भन्दा बढि हेभिइक्युपमेन्ट नेपाली उपभोक्तासम्म पुगिसकेको फोर्स ग्रुपका अध्यक्ष केदार लामिछानेले बताए । कम्पनीले ९ वटा सेवा सञ्जाल मार्फत इभरडाइमका हेभी इक्युपमेन्ट बेच्ने जानकारी दिएको छ । साथै २५ जना इञ्जिनियरहरुले मर्मतको सेवा प्रदान गर्नेछन् । फोर्स ग्रुपका निर्देशक विपिन लामिछानेले हेभी इक्युपमेन्टका साथमा पार्ट पुर्जाको आयात र व्यवस्थापनमा बिशेष ध्यान दिने बताए । इक्युपमेन्ट बेच्ने धेरै कम्पनीले पार्टपुर्जा सहज रुपमा उपलब्ध गराउन नसकेको आरोप लाग्ने गरेको तर आफ्नो कम्पनीले भने समयमै आवश्यक पार्ट पुर्जा उपलब्ध गराउने उनले जानकारी दिए । इभरडाइमका रक ब्रेकर, एट्याचमेन्ट, फायर फाइटिङ भेइकल, टावर क्रेन, बुम पम्प, ह्यामर ड्रिल जस्ता उत्पादन संसारका ८० भन्दा बढि मुलुकमा उपयोग भैरहेका छन् । दक्षिण कोरियामा हेभी इक्युपमेन्टको सबै भन्दा ठुलो बजार हिस्सा इभरडाइमले ओगटेको लामिछानेले बताएका थिए ।
एनआईबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत
काठमाडौं । एनआईबिएल प्रगति फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । आइतबार मात्र यो फण्डको सो मात्राको इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको छ ।
सीजी मोटोकर्पले ल्यायो तीन दिने सुजुकी एक्स्चेञ्ज मेला
काठमाडौं । सुजुकी मोटरको आधिकारिक विक्रेता सीजी मोटोकर्पले तीन दिने ‘सुजुकी एक्स्चेञ्ज मेला’ योजना ल्याएको छ । यस तीनदिने योजना मार्फत ग्राहकलाई झन्झट मुक्त कागजपत्र, सरल र कम किस्ताबन्धीको व्यवस्था गरिने कम्पनीले जनाएको छ । उक्त योजना मार्फत ८.९९ प्रतिशत न्युन व्याजदरमा फाईनान्स सुविधा साथसाथै पुनबिक्री सुविधा, सरल एक्स्चेञ्ज, एक्स्चेञ्ज बोनस, निःशुल्क २ वर्ष सर्भिसिङ्ग र ४ वर्ष वारेन्टिको सुविधा प्राप्त गर्न सकिने छ । कम्पनी अनुसार यो योजना सबै मोडलका गाडीहरुमा काठमाडौं उपत्यका भित्रका सम्पूर्ण सोरुमबाट सेवा लिन सकिन्छ । विशेष अफर अन्तर्गत ब्रिजा जेडडिआई मोडलमा विक्री मुल्य ३९ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।
चन्द्रागिरि केबलकार दैनिक एक घण्टा बन्द, लन्च ब्रेकको व्यवस्था लागु गर्ने
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चैत ६ गते(आइतबार)देखि लागु हुने गरी दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहिसमय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो । यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुने छैैन । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु जस्तैः–रेस्टुरेन्ट, बार, वालउद्यान नियमति संचालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।