कल डिपोजिटको पैसा सेयरमा, बचतमाभन्दा धेरै व्याज खाेज्दै पैसा सेयरमा बजारमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कल डिपोजिटमा रहेको रकम सेयर बजारमा स्थान्तरण हुन थालेको छ । नेपाल राष्ट बैंकले बचतमा भन्दा धेरै व्याज दिन नमिल्ने व्यवस्था गरेपछि कल डिपोजिटको पैसा धितोपत्र बजारमा आउन थालेको छ । यसले सेयर बजार परिसूचक केही दिनदेखि दोहोरो अंकले बढेको छ । मंगलबार सेयर बजार परिसूचक ५ प्रतिशल अर्था करिब ७७ अंकले बढेर १६ सयभन्दा माथि उक्लेको छ । बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । कल डिपोजिटमा बचतमा भन्दा बढी व्याज लिन नमिल्ने व्यवस्था भएपछि कलमा व्याज आम्दानी नहुने भएकाले सेयरबजारतर्फ त्यो रकम मोडिएको उल्ल्लेख छ । काराेबार दैनिकबाट ।
अस्पताल लैजान पनि धामीझाँक्रीको सिफारिस, धामी पठाएमात्रै अस्पताल
रुकुम । अस्पतालमा जँचाउन लैजान पनि धामीझाँक्रीको सिफारिस चाहिन्छ भन्दा पत्याउन गाह्रो पर्छ। रुकुमको सिस्नेका बासिन्दा भने यस्तै नियती भोगिरहेका छन्। बिरामी भए पनि धामीको सिफरिस बिना उनीहरु अस्पताल जान सक्दैनन्। उपचार नपाएरै जिल्लास्थित ठूलेसिस्नेका १५ वर्षीय रुपे बुढाको २०७१ साउनमा निधन भयो। एक वर्षपछि उनका बुबा प्रजितले पनि संसार छाडे। बिरामी भएका प्रजितको उपचार त टाढैको कुरा के रोग लागेको थियो भन्नेसम्म पत्ता लागेन। उनलाई धामीले अस्पताल नलैजानू भनेपछि परिवारले झारफुकमै समय बितायो। यस्ते बलबहादुर बुढा, जोखे बुढा, गाउँमती, दलजित, कमललाल, देबबहादुरसहितका व्यक्तिको पनि धामीले अस्पताल नलैजानु भनेकै कारण ज्यान गयो। त्यस भेगमा बासिन्दा बिरामी भए भने अस्पताल लैजाने नलैजान भन्ने निर्णय आफन्त भन्दा पनि धामी झाक्रीमा भर पर्छ। कान्तिपुर दैनिकबाट ।
कक्षा १ मै प्रवेश परीक्षा ? नाम चलेको स्कुलमा पढाउन सोर्सफोर्स या परिक्षामा उर्तिण हुनुपर्ने
काठमाडौं । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले अभिभावक आफ्ना छोराछोरीका लागि राम्रो स्कुल खोज्न दौडधुपमा छन्। उनीहरूमध्ये धेरैका सन्तान कक्षा १ मा भर्ना गर्नुपर्ने उमेरका छन्। ‘छोरीलाई सेन्ट जेभियर्स वा सेन्ट मेरिजमध्ये एउटामा पढाउँ भनेर धाइरहेको छु,’ कक्षा १ का भर्ना गराउने तयारीमा रहेका राजधानीका एक अभिभावकले भने, दुईतिर जाँच दिन लगाएको छु। फेल भइन् भने कसरी सम्झाउने, बालमस्तिष्कमा कस्तो असर पर्ला ?’ नाम चलेका स्कुलले भर्खर पढाइ आरम्भ गर्न लागेका बालबालिका भर्ना गर्नुअघि समेत परीक्षा नै लिन थालेपछि अहिले उनीजस्ता धेरै अभिभावकको मनमा यस्तै डर छ। स्कुल जीवनको प्रवेशविन्दुमै बालबालिकालाई सयौं जनामाझ परीक्षा सामना गर्न लगाएर असफल देखाउनु मनोवैज्ञानिक मात्र नभई व्यावहारिक हिसाबले समेत उचित नहुने विज्ञहरूको धारणा छ। ‘भन्ने बेला बालबालिका माटोजस्तै हुन्, शिक्षाले आकार दिने हो भन्छन्,’ ती अभिभावकले भने, ‘जाँच लिएरै भर्ना गर्ने भनेपछि कैयन् सातादेखि नानीहरूलाई यी स्कुलका लागि जाँचको पूर्वतयारी गराउनुपरेको छ। तैपनि पास हुने कि फेल कुनै निश्चित छैन।’ राजधानीका सेन्ट जेभियर्स, सेन्ट मेरिजलगायत स्कुलमा भर्नाका लागि अभिभावक ‘सोर्सफोर्स’ खोज्दै पहुँचदार व्यक्तिहरूकहाँ धाइरहेका भेटिन्छन्। बूढानीलकण्ठ, रातो बंगला, जेम्स, लिटिल एन्जेल्सलगायत स्कुललाई ‘राम्रा’ विद्यार्थी छनोट गर्न भ्याइनभ्याई छ। सेन्ट जेभियर्सले कक्षा १ मा १ सय २० विद्यार्थी भर्ना लिने जनाएको छ, आवेदन भने झन्डै पाँच हजार परिसकेका छन्। त्यसैगरी सेन्ट मेरिजले १ सय ८० कोटामा विद्याथी भर्ना गर्छ। त्यसनिम्ति करिब ७ हजार जनाले फाराम भरेका छन्। यी दुई विद्यालयले फारमबापत प्रतिविद्यार्थी १ सय ५० रुपैयाँ शुल्क लिने गरेका छन्। यसैगरी नाम चलेका अन्य विद्यालयले कम्तीमा पाँच सय रुपैयाँ प्रवेश परीक्षाशुल्क लिन्छन्। सीमित विद्यार्थी कोटाका निम्ति सयौं अभिभावकबाट प्रवेश परीक्षा शुल्क लिएर विद्यालयले कमाउने मौका छोप्ने गरेका छन्। पहिलो चरणमा प्रवेश परीक्षा दिलाइन्छ। ज–जसले प्रवेश परीक्षा पास गर्छन्, उनीहरूका अभिभावकसहित अन्तर्वार्तामा बोलाउने गरिन्छ। ‘छोराले लिखित परीक्षा पास गरेकाले अन्तर्वार्ताका लागि हामी दम्पतीलाई नै बोलाएको छ,’ छोरालाई एक निजी विद्यालयमा भर्ना गर्न चाहेका अभिभावकले भने, ‘खोइ यो कस्तो खालको चलन हो। तैपनि छोरालाई भर्ना गर्न पाए हुन्थ्यो भन्ने लागेको छ।’ अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी कक्षा १ मा लिइने प्रवेशपरीक्षा अवैज्ञानिक रहेको बताउँछन्। ‘कक्षा १ मा भर्ना गर्ने नाममा कलिला बालबालकाको परीक्षा लिने अनि फेल गराउने नीति अवैज्ञानिक छ,’ संस्थागत विद्यालय मापदण्ड निर्देशिकाको बेवास्ता भएको उल्लेख गर्दै उनी भन्छन्, ‘कक्षा १ प्रवेश गर्ने बेलामै फेल भइस् भनेर बालमनोविज्ञानमा खराब असर पुर्याउने काम भइरहेको छ। विद्यार्थी छनोट प्रक्रिया वैज्ञानिक बनाउनुपर्छ भनेर शिक्षा मन्त्रालय, विभागका अधिकारीलाई पटक–पटक भन्दैआएका छौं।’ निर्देशिकाअनुसार साना बालबालिकाको विद्यालय घरबाट १० किमि र ठूलालाई १५ किमिभन्दा टाढा हुनु हुँदैन। तर, कुनै विद्यालय सञ्चालक र अभिभावकले यसलाई वास्ता गरेका छैनन्। शिक्षाविद् विष्णु कार्की निजी विद्यालयमा हुने प्रवेश परीक्षा निस्शुल्क हुनुपर्ने उल्लेख गर्छन्। ‘प्रवेश परीक्षाको नाममा महँगो शुल्क असुलेर व्यापारीकरण बढेको छ,’ उनले भने, ‘ठूला कक्षामा प्रवेश परीक्षा रोक्न मिल्दैन तर एक कक्षामै परीक्षा लिएर फेल गराउँदा बालमनोविज्ञानमा असर पर्छ।’ ठूला र महँगा विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीका निम्ति पहुँच विस्तार हुन नसकेको जनाउँदै कार्कीले विद्यालय भर्ना हुन पाउनु बालबालिकाको अधिकार भएकाले उनीहरूको मनोविज्ञानमा असर नपुर्याउन स्वयं अभिभावक सचेत हुनुपर्ने उल्लेख गरे। अर्का शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थी छनोट प्रक्रियामा ग्रेडिङ प्रणाली उपयुक्त हुने बताउँछन्। ‘तर, हाम्रो मुलुकमा रेटिङ गरेर भर्ना लिइन्छ जुन बेठिक हो,’ उनले भने, ‘स्कुलहरू ग्रेडिङ गरिनुपर्छ। जोनिङ गरिनुपर्छ। त्यो भएको छैन। अभिभावकले पनि आफ्नो आर्थिक हैसियत, क्षमतासमेत मूल्यांकन गरी उपयुक्त र नजिक पर्ने ठाउँमा पढाउन सके परिणाम सकारात्मक आउन सक्छ।’ कान्तिपुर दैनिकबाट ।
१० लाख भन्दा बढी कारोबार नगदमा गर्न नपाइने,साउन १ गतेबाट नगद कारोबारको सीमा लागू हुने
काठमाडौं । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ। गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरीफ नगद कारोबारको सीमा निर्धारण गरिएको हो। यो व्यवस्था लागू भए पछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाउने भएका छन्। यस अघि राष्ट बैंकले ५० लाखको सीमालाई ३० लाख रुपैयाँमा सीमित गरेको थियो । राष्ट् बैंकको परामर्शमा सम्पती शुद्धिकरण निवारणको प्रयोजनका लागि नगद कारोबारको सीमा घटाइएको उल्लेख छ । कारोबार दैनिबाट ।
४८० सुरक्षाकर्मीको घेरामा आरआरमा चुनाव, ६ विद्यार्थी संघकाे वहिष्कार, कडा सुरक्षा
काठमाडौं – उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीका अनुसार उपत्यकाका विभिन्न युनिटबाट ३५० नेपाल प्रहरी खटिएका थिए । एसएसपी जोशी आफैं पनि क्याम्पसको सुरक्षामा खटिएका थिए । परिसरका डिएसपी वसन्त रजौरेको अप्रेसन कमान्डमा ठूलो सुरक्षा घेरामा स्ववियु चुनाव सम्पन्न भएको थियो । बुथको सुरक्षादेखि विभिन्न तहमा गरी पद्मोदय मोडसम्म सुरक्षाकर्मी खटिएका थिए । यी हुन् चुनावमा खटिने डिएसपी स् आरआरको चुनावमा सुरक्षाका लागि महानगरिय प्रहरी परिसरका अप्रेसन कमान्डर बसन्त रजौरे, सिंहदरबार वृत्तका मनोहार भट्ट, महाराजगन्ज वृत्तका गोविन्द पुरी, गौशाला वृत्तका नवराज कार्की, थानकोट वृत्तका कृष्ण पंगेनी, नगर प्रहरी इन्चार्ज रमेश थापा, बानेश्वर वृत्तका नारायण चिमोरिया, लैनचौर वृत्तका सोमन्द्रसिंह राठौर, बालाजु वृत्तका सन्तोष तामाङ फिल्डमा खटिएका थिए । बालाजुका डिएसपी तामाङको विद्यार्थीसँगको झडपमा औंलामा चोट लागेपछि उनको ठाउँमा महाराजगन्जका डिएसपी पुरी खटिएका थिए। त्यसैगरी, सशस्त्रका डिएसपी रविचन्द्र बज्राचार्य दिनभर चुनावमा खटिएका थिए । बेलुकीको मतगणनामा वौद्ध वृत्तका डिएसपी विपिन रेग्मी र स्वयम्भू वृत्तका डिएसपी कोमल शाहसमेत खटिएका थिए । ३५८१ मतदातामा १२७८ मत खस्यो स् निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ ५ बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो । निर्वाचन कमिटी प्रमुख प्रा। हरिप्रसाद पराजुलीले मत कम खस्नुमा धेरै कारण रहेको बताए । उनले सबै विद्यार्थी संगठनको सक्रिय सहभागिता नरहनु, बिहानको समयमा क्याम्पस बाहिर तनावको स्थितिलगायतका कारण कम मत खसेको बताए । चुनावमा पाँचवटा विद्यार्थी संगठन सहभागी भएका थिए । चारवटा संगठन एकल र एउटा संयुक्त प्यानल चुनावमा रहेको थियो । केही संगठनले चुनावमा भाग नलिने बताएका थिए। २३ फागुनमा चुनाव गर्ने तयारी भए पनि स्थानीय तहको चुनावको घोषणा भएकाले आचारसंहिता लाग्ने भन्दै रोकिएको चुनाव सर्वोच्च अदालतको आदेशपछि मंगलबार सम्पन्न भएको हो । आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो । गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि आरआर क्याम्पसले २३ फागुनमा निर्वाचन गर्ने मिति तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थीहरू निर्वाचनमा मतदान गर्न सहभागी भए पनि प्रहरीको हस्तक्षेपले निर्वाचन स्थगित भएको थियो । आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी स् रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेका छन् । कुल एक हजार दुई सय ७८ मत खसेको थियो । नयाँ पत्रिका दैनिकबाट ।
ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंक गाभिने, पुँजी २ अर्ब ५० करोड पुग्ने
काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । मंगलबार ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १अर्ब १० करोड ४३ लाख रहेको र १ः१ को हकप्रद शेयर जारी प्रक्रियामा रहेको छ । त्यस्तै राप्तीभेरी विकास बैंकको चुक्ता पुंजी रु १४ करोड ३७ लाख रहेको छ भने यस बर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ । यसरी प्राप्ती पछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी २ अर्ब ३५ करोड पुग्नेछ भने चालु आर्थिक बर्ष २०७३÷२०७४ को मुनाफाबाट वितरण हुने बोनस शेयस पछि ज्योति विकास बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड नाघ्ने बैंकले जनाएको छ । साथै राप्तीभेरी विकास बैकको प्राप्तीपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्ने छ साथै शाखा संजाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर पक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरिसकेको छ ।
नेप्से ७६ अंकले बढ्दा १४१ कम्पनीका लगानीकर्ताले कमाए, ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । मंगलबारको सेयर बजार तीब्र गतिमा बढेको छ । तीब्र गतिमा बढेको सेयर बजारमा तीन पटक सम्म सर्किट ब्रेक लागेको छ । बजार ५ दशमलब ०१ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेको थियो । बजार उच्च अंकले बढेको परिसूचक १६१० दशमलब ६२ अंकमा अडिएको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन १ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १४१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सेयर मूल्य वृद्धि हुने १४१ कम्पनी मध्येमा पनि ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, माउन्ट मकालु डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, २४ कम्पनीका लगानीकर्ताले १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाएका छन् । उता एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लगानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् । १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाउने
टेलिकमले ल्यायो एयरटाइम क्रेडिट सुविधा, जीएसएम तथा सीडीएमए प्रिपेडमा लोन पाइने
काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेडका उपभोक्ताहरु माझ एयरटाइम क्रेडिट सुविधा ल्याएको छ । उक्त सुबिधा अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीहरुले ब्यालेन्स नहुँदा कल गर्न लोन रकम पाउने कम्पनीले जनाएको छ । उक्त सुविधा सम्बन्धी नेपाल टेलिकम र हंकङ्गस्थित टिआक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.ली. बीच सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुने कम्पनीले जनाएको छ । सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याएको बताएको छ । यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुने कम्पनीले जनाएको छ । सम्झौता अनुसार यो सुविधा आगामी ५ महिना भित्रमा सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।