बुटवल पावरले ४० लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति
काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु-एफपिओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले चैत १३ गते धितोपत्र बोर्डमा निवेदन दिएर एनएमबी क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ ।
सडक, पुल र रेलका लागि ८८ अर्ब बजेट, कति बढ्ला विकास ?
काठमाडौं । आगामी आर्थिक बर्षमा सडक, पुल र रेल मार्ग निर्माणका लागि ८८ अर्ब रुपैंयाँ खर्च हुने भएको छ । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि ८८ अर्ब पूँजीगत बजेटको सिलिङ पाएको हो । राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई ९५ अर्बको सिलिङ भित्र बजेट बनाउन भनेको छ । जसमा ८८ अर्ब पूँजीगत बजेट छ भने ७ अर्ब चालु खर्च तर्फ बजेट सिलिङ दिएको छ । मन्त्रालयमा सडक विभाग, यातायात व्यवस्थापन विभाग, रेल विभाग र सडक बोर्ड मार्फत सडक पुर्वाधार, रेल मार्ग र यातायात व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । ‘यो पुर्वाधारसँग सम्बन्धित मन्त्रालय हो, यसको सबै पूँजीगत खर्च सडक, पुल, रेल र यातायातका क्षेत्रमै खर्च हुने हो’, मन्त्रालयका प्रवक्ता राजेन्द्र राज शर्माले विकासन्युजसँग भने । मन्त्रालयले चालु आर्थिक बर्षमा ७८ अर्बको बजेट पाएको थियो र सोही अन्तर्गतका कार्यक्रमहरुमा हाल खर्च गरिरहेको छ ।‘बर्षेनी १५ देखि २० प्रतिशत बजेट सिलिङ वृद्धि हुँदै आएको छ, यसपालीमा पनि सोही अनुसार हामीलाई बजेट पेश गर्न भनिएको हो’, मन्त्रालयको सह सचिव समेत रहेका प्रवक्ता शर्माले भने । उनले सडक र पुल माग्दै दैनिक दुई तीन सयको हाराहारीमा आवेदन आईरहेको पनि जानकारी दिए ।‘दैनिक सैंयौंको संख्यामा पुल र सडकका लागि निवेदन दिनेहरु आईरहेका छन्, मैले सडक विभागमा पठाउने गरेको छु, बजेट कसरी बनाउने भन्ने बुझाउन नसक्दा जनता विकास माग्दै सिधै मन्त्रालय धाएर दुःख पाईरहेका छन’, शर्माले भने । उनले केहि सांसदहरु समेत फलानो ठाउँमा सडक र पुल चाहियो भन्दै आउने गरेको गुनासो पनि सुनाए ।‘सडक र पुलका कार्यक्रम डिभिजन कार्यालय हुँदै सडक विभागबाट आउँछन तर माननियहरु नै सडक र पुलका लागि निवेदन बोकेर आउनु हुन्छ’, शर्माले भने । मन्त्रालयले रेल विभागलाई ४ अर्ब बजेटको सिलिङमा कार्यक्रम बनाउन भनेको पनि उनले जानकारी दिए ।
एचएच बजाजको नयाँ शोरुम स्याङ्जामा, बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदमा सजिलो
काठमाडौं । नेपालमा अत्यधिक बिक्री हुने पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्नो नयाँ शोरुम स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै जाने उद्देश्यले सो स्थानमा सन्तोषी स्पेयर पार्टस नामक नयाँ शोरुम संचालनमा ल्याएको हो । एचएच बजाज आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएचबजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । उक्त अवसरमा, एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी स्याङ्जामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले स्याङ्जामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । ’ नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
एनआईसी एशिया बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित बालबालिकाहरुलाई सहयोग गरेको छ । बैंकले मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजा पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको छ । साथै, बैंकले भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पुर्याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।
सनराइज बैंकको शाखा सितापाइलामा स्थानान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको सितापाइला चोकमा आफ्नो शाखा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरेका छन् । बैंकले नारायणी नेशनल फाइनान्स लि.लाई प्राप्ती गर्दा शंखमुलमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्का शाखालाई सितापाइलामा स्थानान्तरण गरिएको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । हाल बैंकले ६८ वटा शाखा र ७६ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।
एलजी एयर कन्डिसनिङ कन्क्लेभ सम्पन्न, एयर कन्डिसनरका नयाँ भेराइटी बजारमा
काठमाडौं । सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले एलजी एयर कन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ । सिंगापुरमा सम्पन्न उक्त कन्क्लेभमा एलजीका मल्टि भि एचभिएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवर्द्धन गरिने बताइएको थियो । एयर कन्डिसनरको प्रवर्द्धन गरि भविष्यमा उर्जाको बचत गर्न तथा ग्रिनर इभोलुसका लागि एलजीका उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एयरकन्डिसनिङ कन्क्लेभमा एलजीले घरायसीका साथै कमर्सियल एयर कन्डिसनरको पनि उत्पादन शुरु गरेको छ । सन् १९६८ मा कोरियामा सुरु भएको ब्राण्ड एलजीले एयरकन्डिसनरका नयाँ भेराइटी बजारमा ल्याएको जनाएको छ ।
सेयर बजारमा उतारचढाव, नेप्से २२ अंकले घट्दा २ अर्ब ५४ करोडको सेयर कारोबार
काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । मंगलबार उच्च अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक २२ दशमलब ३३ अंकले ओरालो लागेर १५८८ अंकमा झरेको छ । बजार खुलेको केही समयमै बढेर १६४३ अंकमा पुगेको परिसूचक करिब एक घण्टामै घटेर १५९५ अंकमा झरेको थियो । त्यस्तै, करिब साढे १२ बजेतिर बढेर १६३५ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा भने निरन्तर ओरालो लागेर १५८८ अंकमा अडेको छ । बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने सुधार नै भएको छ । सो दिन २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन मंगलबारको तुलनामा १ अर्ब १६ करोड ७१ लाख रुपैयाँले बढी हो । मंगलबार एक अर्ब ३८ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । बुधबार १४९ कम्पनीको ५० लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा ७ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १५२ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ७३, ६६, २० रु १६ अंकले ओरालो लागेका छन् ।
वेष्टर्न डेभलपमेन्ट बैंकले ३ करोड ३० लाख रुपैयाँ लाभांश दिने, चुक्ता पूँजी ३४ करोड नाघ्ने
काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ करोड ३० लाख ४४ हजार २१० रुपैयाँ बराबरको लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ३ करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस र १६ लाख ५२ हजार २१० रुपैयाँ बराबरको नगद गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय चैत १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्र बैंकका सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ३४ करोड ५३ लाख रुपैयाँ नाघ्ने छ । बुधबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ रहको छ ।