विकासन्युज

एनआईसी एशियाको १५ प्रतिशत हकप्रद खुला, वैशाख १९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वसाधारणको लागि १५ प्रतिशत (अर्थात १०० बराबर १५ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत १६ गते (बुधबार)देखि एक सय अंकित दरको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले काठमाडौंको सुन्धारमा रहेको सिभिल क्यापिटल मार्केट र बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंमा रहको एनआईसी एशिया बैंक तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद निष्कासन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार भएको थियो ।

राष्ट्र बैंकको नियमनमा अब सहकारी पनि, अर्बभन्दा माथिको विगोमा १० वर्षसम्म कैद

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको हिसाव किताव जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐनको ड्राफ तयार भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र हिसाव नदेखाउन परिपाटीको अन्त्य गर्न नयाँ सहकारी विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । सहकारीको मूल्य मान्यता पालना गराउने तथा सहकारीको हित प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सहकारी ऐन आवश्यक भएकोले यस्तो ड्राफ तयार पारिएको सरकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले बताए । ‘नयाँ ऐन पास भएपछि सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेपछिमात्र आफ्नो कारोवार तथा सेवा सञ्चालन गर्न पाउने छ,’ उनले भने ‘बैंकले उनीहरूको नियमन गर्नेछ । ऐन पास भएपछि प्राकृतिक व्यक्तिमात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । विद्यमान ऐनमा व्यक्ति वा संस्था पनि सहकारीको सदस्य हुन पाउने व्यवस्था छ । सहकारी संस्थाहरूले एक अर्बभन्दा माथिको विगोमा १० वर्षसम्म कैदको व्यवस्था गरेको विधेयकमा उल्लेख गरिएको छ । उक्त विधेयकमा १ अर्बभन्दा बढी जतिसुकै रुपैयाँ भएपनि ८ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ । नयाँ ऐनमा १० करोड रुपैयाँभन्दा माथिको विगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक देखि १० करोडसम्म विगो भएमा ४ वर्षदेखि ६ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । सहकारीले प्रदान गर्ने ऋण तथा ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी भएमा त्यस्तो कार्यको गम्भिरता तथा प्रकृतिको आधारमा ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था नयाँ ऐनमा व्यवस्था गरिएको छ । कुनै सदस्यलाई आफ्नो पूँजीकोषले तोकेभन्दा बढी हुने गरी ऋण प्रदान गरेमा, सदस्य बनेको ३ महिनाअघिनै ऋण दिएमा ऐनले उक्त जरिवानको व्यवस्था गर्न लागेको हो । यदि ऐन पासभएमा शेयरपूँजीको दश गुणाभन्दा बढी हुने गरी बचत संकलन गरेमा तथा शेयर पूँजीको १५ प्रतिशतभन्दा बढी शेयर लाभांश वितरण गरेमा उक्त ऐन आकर्षित हुने व्यवस्था गरिएको छ । कुनै व्यक्ति वा सहकारी संस्थाले पुनः यस्ता कसुरहरु दोहोराएमा त्यस्ता व्यक्ति वा सहकारीलाई रजिष्ट्रार वा कार्यालय प्रमुखले प्रत्येक पटकको दोव्वर जरिवाना गर्न सक्ने छ । नयाँ ऐनमा सुरक्षित पूँजी फिर्ता कोषबाट कारोबारको आधारमा नाफाको बढीमा ४० प्रतिशतसम्म रकम फिर्ता दिने व्यवस्था गरिएको छ । ‘२०४८ मा बनेको सहकारी सम्बन्धी ऐन पुरानो भएको र ऐनले गरेका व्यवस्थाले कतिपय मुद्दाहरु सल्टाउन अप्ठ्यारो परेपछि मन्त्रालयले नियम उलंघन गर्नेलाई कडा सजायको व्यवस्था सहित विधेयक तयार पारेको छ,’उनले भने ‘यसको क्षेत्र तथा दायरामा पनि परिर्वतन गर्नु पर्नेछ । हाल भएका सहकारीलाई व्यवस्थित गर्न तथा नयाँ बन्ने सहकारी संस्थाले महानगरपालिकामा एउटा वडामा, उपमहानगरपालिकाले दुई वडा, नगरपालिकाको हकमा जोडिएका तीन वडा र गाउँपालिकामा सोही गाउँपालिकाको आफ्नो कार्य क्षेत्र विस्तार गर्न पाउने व्यवस्था ऐनले गरेको छ । विषयगत सहकारीमा भने यसको आधारमा ऐनले तोकिए बमोजिम कार्यक्षेत्र तथा अन्य व्यवस्था तोकिने छ । सहकारीमा बढ्दै गएको अनियमितालाई रोक्न तथा सहकारीलाई सुरक्षित एवम् पारदर्शी व्यवसाय बनाउन मन्त्रालयले समय सापेक्ष नयाँ ऐनको विधेयक तयार पारी व्यवस्थापिका संसद्को अर्थ समितिमा पठाएको हो । मन्त्रालयले गत साउत ७ गते उक्त विधेयक तयार पारी संसदीय समितिमा दर्ता गराएको थियो भने असोज १८ गते समितिमा गएपनि हालसम्म उक्त ऐनमा कुनै छलफल नभएको मन्त्रालयले जानकारी दिएको छ ।

ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा बौद्धमा

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा बौद्धमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका छन् । शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसँग मर्जरको लागि नेपाल राष्ट्र बैंकसँग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि निवेदन पेश गर्ने पक्रियामा रहेको बताए । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने छ । बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

नेपाल बैंकले पायो २३.७४ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल बैंकले पनि २३.७४ प्रतिशत (१०० बराबर २३.७४ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले मंगलबार नै बैंकलाई १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटल मार्केटले गरिरहेको बोर्डले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ५ अर्ब ५४ करोड रुपैयाँ नाग्ने छ । बुधबार बैंकको सेयर प्रतिकित्ता ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

१७ जिल्लाका साढे १५ हजार भूकम्प पीडितलाई एक हप्ता भित्रै घर बनाउन ५० हजार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लाका १५ हजार ७ सय ४३ परिवारलाई एक हप्ताभित्रै घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराउने भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लाका ९६ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ताको अनुदान बितरण गरिसकेपछि प्राधिकरणले कम प्रभावित १७ जिल्लामा घर निर्माणका लागि अनुदान रकम बितरण प्रक्रिया शुरु गर्न लागेको हो । १७ जिल्लाका १५ हजार ७ सय ४३ परिवारको पहिचान समेत भैसकेको छ । पहिचान भैसकेको लाभग्राहीसँग एक हप्ताभित्रै अनुदान सम्झौता गरेर पहिलो किस्ता वापतको ५० हजार उपलब्ध गराउन लगेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको कार्यकारी समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । १७ जिल्लामा एक लाख ९४ हजारको हाराहारीमा भूकम्प पीडित रहेको प्रारम्भिक तथ्यांक छ ।‘एक लाख ९४ हजार परिवार लाभग्राही रहेको पुर्वानुमान छ, अहिलेका लागि साढे १५ हजारबाट अनुदान वितरण थाल्ने योजना बनाएका हौं’, प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । १७ जिल्लामा प्राधिकरणका कार्यकारी सदस्यहरुको टोलीले अनुदान सम्झौताका लागि अभिमुखीकरण तालिम सम्पन्न गरिसकेका छन् । अनुदान सम्झौता सम्पन्न भए लगत्तै भूकम्प प्रभावित लाभग्राहीको आवास निर्माणका लागि बैकिङ प्रणाली मार्फत पहिलो किस्ता वापतको ५० हजार रुपैया अनुदान पाउनेछन । सेवा प्रदायक बैङ्क तत्काल तोकी पठाउन प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सबै जिल्ला समन्वय समितिहरुलाई प्राधिकरणले पत्र लेखीसकेको छ । यसैगरी बैठकले भूकम्प अतिप्रभावित १४ जिल्ला मध्ये ११ जिल्लाबाट प्राप्त २० हजार ९ सय ६७ गुनासोलाई सम्वोधन गर्ने निर्णय गरेको छ । त्यस मध्ये ५ हजार ७ सय ५९ घरधुरी लाभग्राही सूचिमा समावेश भएका छन भने तथ्याङ्क प्राप्त नभएका ५ हजार ७ सय ८६ को पुनः सर्वेक्षण गर्ने र थप २ हजार ३ सय ६१ घरधुरीको स्थलगत सर्वेक्षण गरिनेछ । लाभग्राही सूचिमा नपर्ने देखिएका ७ हजार ६१ घरधुरीको स्थलगत निरिक्षणबाट निर्कयौल गरिनेछ । प्राधिकरणले यस अगावै ९३,३७४ गुनासोहरुको सुनुवाई गरिसकेको छ ।

प्रदेशमा सहर विकास गर्न विशेष, ससर्त र निःसर्त अनुदान दिँइदै, सबै प्रदेशमा सहर विकास गर्न अनुदान

काठमाडौं । सहरी विकास मन्त्रालयले प्रदेशमा सहर विकास गर्न तीन प्रकारको अनुदान दिने भएको छ । सरकारले हरेक प्रदेशमा कम्तिमा एउटा सरह निर्माण गर्ने उद्देश्यले विशेष, ससर्त र निःसर्त अनुदानको तयारी गरेको छ । यसका लागि मन्त्रालयले ‘सहरी विकास ऐन’कै तयारी गरिरहेको सहरी विकास मन्त्रालयका सहसचिव ईन्जिनियर शम्भु केसीले बताए । उनका अनुसार सरकारले २१७ नगरपालिकालाई सहर बनाउँन ३६ खर्ब खर्चने गरी ल्याएको राष्ट्रिय सहरी विकास रणनीति २०७३ ले पनि सहरी विकास ऐन बनाएर सो रकम खर्च गर्नुपर्ने उल्लेख गरेको छ । मन्त्रालयले पनि विभिन्न प्रदेशमा सोही क्षेत्रका स्थानीय सरकारले सहर विकास गर्न सक्ने गरी बजेट खर्चेने व्यवस्था गर्दै छ । यसका लागि अहिले नै तीन प्रकारको अनुदान दिइने भएको छ । यो अनुदानसँगै आगामी वर्षको बजेट विनियोजन हुँदा प्रदेशले पाउँने पूर्वाधारको बजेटमा सहरी क्षेत्र विकासमा खर्च गर्न अवश्यक रकमलाई पनि सर्त तोक्नुपर्ने उल्लेख छ । उनका अनुसार सरकारी बजेटको सही सदूपयोग गराउने, लक्षित उद्देश्या समयमा नै पूरा गराउने र व्यवस्थित सहरीकरणका लागि पनि सहरी विकास ऐनको आवश्यकता परेको केसीले बताए । सहरी विकास रणनीतिलाई सार्थक बनाउन पनि एक वर्षभित्र मन्त्रालयले ऐन ल्याउने भएको छ । यसका साथै सरकारले व्यवस्थित सहरीकरणका निम्ति भू उपयोग नीति, वस्ती विकास नीतिपनि बनाउने उल्लेख छ । नमूना गाँउ अब स्मार्ट सहर सरकारको यस अघिको नमूना गाउँको पहिचान अब स्मार्ट सहरमा हुने भएको छ । सरकारले सरही विकास प्रणालीलाई सुधार गर्दै विभिन्न सेवा सुविधासहितको व्यवस्थित सहर बनाउन चरणबद्ध रुपमा योजना पनि अगाडि सारेको छ । यस्ता योजनामा स्मार्ट सहरको परिकल्पना अनुसार पूर्वाधार निर्माण, एक सहर एक पहिचान, खानेपानी तथा सरसफाई, फोहोरमैला व्यवस्थापन, आवासको पहुँच विस्तार, सहरी वातापरण समाजिक जीवन अनुकुल बनाउने र सहरी अर्थतन्त्रमा सुधार ल्याउने सहितको योजना अगाडि सारेको छ । राष्ट्रिय सहरी विकास रणनीतिको कार्यान्वयन गर्न र २१७ नगरपालिकामा सहर बनाउन मात्रै ३६ खर्ब ५ अर्ब खर्च गर्नुपर्ने गरी सहरी विकास मन्त्रालयले १५ वर्षे योजना अगाडि सारेको छ । यो योजना अनुुसार सबै नगरपालिमा आकर्षक र व्यवस्थित सहर बनाउने उद्देश्य रहेको छ । यो उद्देश्य अनुसार महानगर बाहेकका स्थानमा मात्रै यो रकम खर्च गरेर सहर बनाउने योजना तय भएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो रकममध्ये नगरपालिकाले मागेको सहरी पूर्वाधारको लागि अहिलेको भन्दा थप पूर्वाधार बनाउन माग नै २४ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ ।

स्वदेशी लघुवित्तको ३ लाख कित्ता साधारण सेयर निष्कासन, चैत २५ गतेदेखि आवेदन दिन पाइने

काठमाडौं । स्वेदशी लगघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो संस्थाले १ सय रुपैयाँ अंकित ३ लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । बाँकी २ लाख ७३ हजार कित्ता साधारण सेयरको निष्कासन गरेको हो । यो वित्तीय संस्थाले १० करोडको जारी पुँजीमा ३ करोड रुपैयाँ थप गर्ने उद्देश्यले यो सेयर निष्कासन गरेको हो । यसको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । अगामी चैत्र २५ गतेबाट खुला हुने यसको सेयर आवेदनका लागि छिटोमा चैत्र २९ र ढिलोमा बैशाख ८ गतेसम्मको समय तोकिएको छ । यो वित्तीय संस्थाको सेयरकालागि आवदेन दिन चाहनेले न्युनतम ५० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मलाई आवेदन दिन पाउने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हो । यसको सेयर आवेदन एनएमबी बैंकका शाखाहरु, एनएमबी क्यापिटल लिमिटेड र स्वदेशी लघुवित्तको केन्द्रीय कार्यालय सुनसरीमार्फत दिन सकिने उल्लेख छ ।

मोटोपन घटाउन चिनी कर लागू हुँदै, यस्ता छन् धेरै चिनीले लग्ने राेगहरू

काठमाडाैं । बेलायती सरकारले बढ्दो मोटोपन कम गर्न सन् २0१८ देखि लागू हुने गरी गुलियोयुक्त पेयमा चिनी करको घोषणा गरेको छ । बढ्दो मोटोपन, खासगरी बालबालिकाहरूलाई यस्तो पेय पिउन कम गर्नका लागि चिनी कर प्रत्येक एक लिटरमा २४ पेन्स (पैसा) हुने भएको छ । मोटोपन यही रूपमा वृद्धि हुँदै गएमा बेलायती स्वास्थ्य सेवा नै टाट पल्टने कुराको चेतावनी विज्ञहरूले पहिले नै दिएका छन् । चिनी करबाट बेलायतमा वार्षिक ५0 करोड पाउन्डभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको छ । जुन रकम स्कुलको खेलकुदमा खर्च गरी बालबालिकाहरूको क्रियाशीलतालाई अरू बढाउने योजना बनाइएको छ । यसरी मोटोपन कम गर्ने लक्ष्य राखिएको छ । चिनी कर लगाउने पहिलो देश मेक्सिकोमा यसपछि चिनीयुक्त पेयको उपभोग १२ प्रतिशत कम हुनुको साथै पेय तथा अन्य खाना बनाउँदा पनि चिनीको कम प्रयोग गरिएको एक तथ्यांकले जनाएको छ । यसको सीधा असर मानिसको स्वास्थ्यसँग जोडिएको छ । धेरै चिनी मौन घातक एक तीन सय ३0 मिलिलिटरको क्यान कोलामा करिब ३५ ग्राम चिनी (७ टेबल चम्चा ) हुन्छ । एउटा मार्सबार चकलेटमा ३३ ग्राम चिनी हुन्छ । यी दुवै एक महिलाले एक दिनमा खान सुझाव दिइएको चिनीभन्दा बढी हुन आउँछ । एक पुरुषलाई एक दिनमा ३७.५ ग्राम (नौ टेबल चम्चा ) र महिलालाई २५ ग्राम (६ टेबल चम्चा) भन्दा बढी नखानु भन्ने विज्ञहरूको सुझाव छ । चाहिनेभन्दा बढी चिनी खानु स्वास्थ्यका लागि उपयुक्त नभएको कुरा अनेक अनुसन्धानले प्रमाणित गरेको छ ।नुन र उच्च रक्तचाप सँगसँगै चिनी मौन घातकको रूपमा आएको छ । सन् २00८ मा गरिएको अध्ययनमा बढी फ्राकटोज (फलफूल र वनस्पतिबाट पाइने गुलियो जुन पचाउँदा सीधा रक्त कोषिकामा जान्छ) खानाले लेप्टिन प्रतिरोधको अवस्थासँग जोडिएको छ । लेप्टिन भनेको एउटा हार्मोन हो जसले खाना खाँदा पुगेको संकेत दिन्छ । हाम्रो समस्या चाहिँ दिमागले पुग्यो भनेर दिएको सूचनालाई बेवास्ता गर्छौं । धेरै बेवास्ता भएपछि कोही व्यक्तिहरूमा लेप्टिनले कार्य गर्न चाहँदैन । त्यसो भएपछि शरीरलाई खाना पुगेको भन्ने संकेतको कार्य नभएपछि सधैं धेरै खानुपर्ने भयो । जसले मोटोपन धेरै बढाउने भयो । यस्तो मोटोपन बढ्नु कुनै लक्षणहरू या चेतावनीको घन्टी नै बज्छ । चाँडै धेरै वजन बढ्छ भने सायद फ्राकटोजले कति भन्ने लेखाजोखा गर्नु उपयुक्त हुन्छ । अधिक चिनीले ल्याउने जोखिम चिनीले खासगरी भुँडी ठूलो बढाउने कार्य गर्छ । पार्क, स्कुल आदिमा बालबालिका देखेर मोटोपनको अनुमान गर्न सकिन्छ । यी सबै मोटोपनमा बढी देखिने ठूलो भुँडी हो । यसको मुख्य कारण फ्राकटोज बढी भएको खानाले गर्दा हो । फ्राकटोज भनेको खाना तथा फलफूलमा पाइने एक किसिमको चिनी हो । सन् २0१0 मा गरिएको अध्ययनले ग्लुकोज नभई बढी फ्राकटोज भएको खानाले भिसरिएयल फ्याटमा हुने कोषलाई परिपक्व बनाउने कारण बन्छ, जसले ठूलो भुँडीलाई अरू बढाउँछ । ठूलो भुँडीले मुटुरोग, बाथ, उच्च रक्तचाप, क्यान्सर र मधुमेहको जोखिम बढाउँछ ।अमेरिकी मुटु संघले सन् २0१३ मा गरेको अध्ययन अनुसार चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्न सक्ने प्रमाण देखाएको छ । राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ । अध्ययनले चिनी तथा स्ट्राचमा हुने मोलिक्युल जसलाई ग्लुकोज मेटाबोलाइट ६ फोस्फेट भनिन्छ, जसले मुटुको मांसपेशीमा हुने प्रोटिनलाई बदल्ने कार्यको जिम्मेवारी लिन्छ । यस बदल्ने क्रियाले हार्ट फेलियरको कारक बन्न सक्छ । हार्ट फेलिएर भएका करिब आधा बिरामी पाँच वर्षभित्र मर्नसक्ने तथ्यांक छ । चिनी क्यान्सरमा पनि जोडिएको छ । पोषणको क्षेत्रमा चिनीको कुरा गर्दा इन्सुलिनलाई अलग राख्न गाह्रो पर्छ । किनभने इन्सुलिन कोषहरूमा चिनीको सानो हेरचाह गर्छ । धेरै खाइयो या हाम्रो इन्सुलिनले कार्य गरेन भने शरीरले विद्रोह गर्छ । इन्सुलिन प्रतिरोध र क्यान्सरसँग जोडिएको धेरै अध्ययनले जनाइसकेको छ । आन्द्रामा हुने हार्मोन जीआईपीलाई चिनीले बढाउने काम गर्छ । जीआईपीलाई बी केटनिन भन्ने प्रोटिनले नियन्त्रण गर्छ जुन पूरै चिनीको लेबलसँग भर पर्छ । यस्तो भएपछि प्यानक्रियाजले इन्सुलिन बढी निकाल्छ । अनुसन्धानले देखाएको छ कि केटनिनले कोषको क्यान्सर हुने प्रबलतालाई बढाउन सक्छ। चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्छ । राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ । अरू अध्ययनले धेरै चिनी र स्ट्राचले स्तन र नितम्ब क्यान्सरको सम्बन्ध भने नकारात्मक देखाएको छ । हालै गरिएको अध्ययनमा घ्रेलिन हार्मोन परिवर्तन हुने व्यक्तिमा बढी चिनी खाने बानी देखिएको छ । घ्रेलिन भन्ने हार्मोनले दिगागलाई भोक लागेको बारे भन्छ । घ्रेलिन वंशाणुगतसँग पनि जोडिएको छ । चिनी र मदिरा दुवैको कलेजोलाई टक्सिक गर्ने असर उस्तै हो । चिनीले मदिराले बढाएको रोगलाई अरू बढी जोखिम बढाउने काम गर्छ । दिमागलाई भार चिनीले दिमागको पावरलाई कम गर्न सक्छ । सन् २00९ मा गरिएको अध्ययनले ग्लुकोज खाँदा कोषहरू बूढो हुने बीच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । कोष बूढो हुँदै जाँदा चाउरी पर्नेदेखि अरू खतरनाक रोगको कारक बन्न पनि सक्छ । तर, डरलाग्दो के छ भने बढी चिनी खानाले दिमाग चाँडै बूढो हुने प्रमाण देखिएको छ । जसले गर्दा स्मरण शक्ति कम हुनुको साथै अन्य रोगको सिकार बन्ने प्रबल जोखिम बढ्छ । दाँतमा कीरा लाग्नुलगायत अनेक स्वास्थ्यका जोखिमहरू बढी चिनीको उपभोगबाट हुन सक्छ । धेरै खानामा चिनी लुकाइएको हुन्छ । त्यसैले कुन खानामा कति चिनी छ, जानकारी राख्नुपर्छ । आफूले खाने चिनीको लेखाजोखा राखेर यसको अधिक सेवनलाई कम गर्न सकिन्छ । अत्यधिक चिनीको सेवनले आयु कम हुन्छ । सन् २0१३ मा गरिएको अध्ययनले संसारमा एक लाख ८0 हजार मानिस हरेक वर्ष अकालमा मर्ने कारण बढी चिनी खानाले भनेर जनाएको छ । चिनीले मोटोपनको वृद्धि गराएको छ । चिनीले प्रशस्त ऊर्जा दिन्छ तर यसले पेट भरिएको संकेत फाइबरयुक्त खाना, प्रोटिनले जस्तो दिँदैन । यो महत्वपूर्ण हो कि दूधबाट आउने चिनी ल्याक्टोज र फलफूलबाट आउने चिनी र फाइबरले शरीरलाई फाइदा गर्छ । यो ठिक्कको परिणाममा खानुपर्छ । त्यसकारण बढी चिनी उपभोगलाई कम गरी यसबाट हुने रोगको जोखिमलाई कम गर्ने पहल गर्नु नै बाञ्छनीय हुन्छ । यसको सुरुवात जस्तै चियामा चिनी कम गर्ने, चकलेट, मिठाई कहिलेकाहीँ ठिक्कको परिणाममा मात्र खाने, फिजी पेयलाई लगाम लगाउने आदि गर्नाले मोटोपनलगायत माथि उल्लेख गरिएको रोगको जोखिम कम गर्न सकिन्छ । एउटा सानो जीवनशैली परिवर्तनले ठूलो स्वास्थ्य लाभ हुन सक्छ । (अन्नपूर्ण पाेष्टबाट)