विकासन्युज

पशुपति मुरारका र भवानी राणाले निर्वाचनको आचारसंहिता विपरित काम गरेकोमा प्रधान समूहको गम्भिर आपत्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५१ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका समयमा वर्तमान अध्यक्ष पशुपति मुरारका र हालका वरिष्ठ उपाध्यक्ष भवानी राणा (जो स्वतः अध्यक्ष हुने व्यवस्था छ) हरुले निर्वाचन आचार संहिता विपरित गतिविधि सञ्चालन गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहले आपत्ति जनाएको छ । पत्रकार सम्मेलन गरी आपत्ति जनाउँदै प्रधान मुरारका र राणाले महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा र उनको समूहको पक्षमा प्रचार प्रसार गरेको, आफ्नो पदको मर्यादा विपरित एक पक्षका उम्मेदवारहरुलाई सार्वजनिक रुपमा नै “मेरो टिम ” भनि मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको केन्द्र तथा प्रदेशको निर्वाचन सम्बन्धमा विधानको कार्यविपरित गोल्छा समुहको हक हित हुने गरि विभिन्न संस्थागत निर्णयहरु एक पक्षिय ढंगबाट गरिएका प्रधान समूहले जनाएको छ । आफूले समर्थन गरेको गोल्छा समूहको उम्मेदवारी घोषणा गर्दै भवानी राणा मंगलबार पत्रकार सम्मेलन गरेर प्रधानले भने ‘वर्तमान अध्यक्ष र आगामी अध्यक्षले आचारसंहिता र संस्थाको विधान विपरित काम गरेकोमा हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । यस्ता प्रयासहरु प्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौं ।’ महासंघको निर्वाचनलाई स्वच्छ र सरल बनाउने उद्देश्य राखी गरिएको विधान संशोधनका प्रावधानहरुलाई महासंघको नेतृत्वमा आफ्नो कव्जा जमाउने र आफ्नो नियन्त्रणमा चल्ने व्यक्तिलाई पुर्याउने वदनियत पूर्ण प्रयासले महासंघको गरिमामा आँच पुग्ने र संस्था कमजोर हुने भएको हुने प्रधानले बताए । गोल्छा समूहको प्रचार प्रसारमा अगुवाई गर्दै पशुपति मुरारका र भवानी राणा डर, धाक, धम्की, लोभ लालचका जोडवलमा महासंघका सदस्यहरुको मत आफूतिर तान्न प्रयत्न भई रहेको भन्दै प्रधानले आगामी अध्यक्षले “मेरो गुट” भनेको समुहको पराजय भएको अवस्थामा उनको नेतृत्वको भविष्य कस्तो हुन्छ भनी उनले प्रश्न गरेका छन् । यस्ता आचारसंहिता विपरित, संस्थाको विधानको गरिमा र आसय विपरित काम गर्नेहरुलाई दुरुत्साहित गर्दै आगामी निर्वाचनमा आफ्नो समूहलाई विजय गराई महासंघको गरिमाको रक्षा गर्न प्रधानले मतदातालाई अपिल गर्दै प्रेस विज्ञप्ती निकालेका छन् ।

७७ हजार ७ सय भूकम्प पीडितलाई अनुदान दिनै समस्या, आयोगले बनायो अध्ययन कार्यदल

काठमाडौं । ७७ हजार ७ सय ८१ भूकम्प पीडितलाई अनुदान दिन समस्या उत्पन्न भएको छ । लालपूर्जा नभएका तथा जग्गा सम्बन्धी प्रमाण नभएपछि लाभग्राही सूचिमा परेका ७७ हजार ७ सय ८१ परिवार भूकम्प पीडितले अझै घर बनाउन पहिलो किस्ता समेत पाउन सकेका छैनन् । ‘जमिनको स्वामित्वले समस्या भयो, पुस्तौदेखि बसेका छन, तिरो तिरेका छन तर जमिनको लालपुर्जा छैन, अनुदान कार्यबिधीले लालपुर्जा नभएकाहरुलाई अनुदान दिन नमिल्ने व्यवस्था रहेछ’, पुर्ननिर्माण प्राधिकरणका सहायक प्रवक्ता भिष्म भुषालले विकासन्युजसँग भने । मंगलबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले जग्गा सम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागि पनि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरेको छ । बैठकले लालपुर्जा लगायत जग्गासम्बन्धी प्रमाणको अभावमा अनुदान सम्झौता हुन नसकेका लाभग्राहीको तथ्याङ्क यकिन गरि के कस्तो नीतिगत व्यवस्था गर्नेबारे सुझाव दिन कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । प्रशासन महाशाखा प्रमुख जर्नादन गुरागा“इ लगायत सम्मिलत समितिले एक साताभित्रमा त्यस्ता लाभग्राहीको हकमा कस्तो व्यवस्था गर्र्ने भन्नेबारे प्रतिवेदन तयार पार्नेछ । समितिमा नापी र मालपोतका प्राबिधिक समेत संलग्न रहेका छन् । प्राधिकरणले हालसम्म भूकम्प कम प्रभावित १७ जिल्लामा सर्वेक्षण सकिएका मध्ये दोस्रो चरणमा थप ४४ हजार ४ सय ४३ घरधुरीलाई लाभग्राही सूचिमा समावेश गरेको छ । लाभग्राही सूचिमा परेकालाई निजी आवास पुनर्निर्माणका लागी प्राधिकरणले आवश्यक प्रक्रिया र मापदण्ड पु¥याएर ३ लाख रुपैयामा प्रदान गर्नेछ । यसअघि पहिलो चरणमा १५ हजार ७ सय ४३ जनालाई कार्यकारी समिति बैठकले लाभग्राही सूचिमा समावेश गर्न स्वीकृति दिएको थियो । लुम्लेबाट पहिलो किस्ता भूकम्प कम प्रभावित १७ जिल्लाका लाभग्राहीलाई मंगलबार पोखराको लुम्लेबाट ५० हजार रुपैँया बितरण आरम्भ गरेको छ । १४ जिल्लामा के भयो काम ? भूकम्प प्रभावित १४ जिल्लामा पहिचान भएका ६ लाख ३६ हजार ३६ घरधुरी लाभग्राही मध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसंग मात्र निजी आवास पुनर्निर्माणका लागी अनुदान सम्झौता भएको थियो ।

१५ दिनदेखि रोकिएको भैरहवा विमानस्थलको निर्माण कार्य पुनः शुरु

लुम्बिनी। चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य पुनः शुरु भएको छ । विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन आफैँले काम शुरु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए । “चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण विगत १५ दिनदेखि रोकिएको विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले अहिले आफैँ शुरु गरेको छ,” आयोजना प्रमुख शर्माले भने, “तोकिएकै समय सीमाभित्र विमानस्थलको निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन आयोजनाले सोमबार चिनियाँ कम्पनीलाई चिट्ठी काटेको छ ।” आयोजना प्रमुख शर्माका अनुसार चिनियाँ कम्पनी आफैँले अहिले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र अग्नि नियन्त्रण भवन तथा जहाज पार्किङस्थलको निर्माण कार्य गरिरहेको छ । सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सहयोगीका रूपमा नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो । निर्माण कार्य जारी रहेकै अवस्थामा नेपाली कम्पनीले आफूलाई चिनियाँ कम्पनीले काम गरेबापतको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेर आन्दोलनमा समेत उत्रिएको थियो । दुई कम्पनीको विवादका कारण बन्द भएको विमानस्थल निर्माण कार्य सञ्चालन गराउन सरकारी स्तरबाट लामै छलफल चलेको थियो । सो छलफलमा विमानस्थलको निर्माणका लागि नेपाली कम्पनीले गरेको कामको नापजाँच गर्ने, नापजाँचपछि पाँच दिनभित्र नेपाली कम्पनीले चिनियाँ कम्पनीलाई बिलबीजक उपलब्ध गराउने र बिलबीजक प्राप्त भएको सात दिनभित्र चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई रकम दिने सहमति भएको थियो । निर्णयअनुसार नेपाली कम्पनीले गरेको नापजाँच कार्य सकिएको र पेस गरिएको बिलबीजकअनुसार रकमको विषयमा दुवै कम्पनीबीच छलफल (हिसाब किताब) जारी रहेको आयोजना प्रमुख शर्माले बताए । “दुवै पक्षको सहभागितामा उनीहरूबीच छलफल चलिरहेको छ,” आयोजना प्रमुख शर्माले भने – “चिनियाँ कम्पनीको सहयोगीका रूपमा पुरानै कम्पनी बस्ने वा अर्को नयाँ कम्पनी आउने विषयमा भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन ।” विसं २०२३ मा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनीले रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर मधेस आन्दोलन र नाकाबन्दीका कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकाले उसले सन् २०१८ जुन महिनासम्म निर्माण कार्य सम्पन्न गर्ने समय पाएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको हो । रासस

नारायणगढ-मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने, जाँच गरेर मात्रै गाडी जान दिइने

चितवन । सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए । उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए । चितवनको कविलासस्थित घुमाउनेमा दुई दिनअघि खसेको सुख्खा पहिरोका कारण दुईजनाको ज्यान गएको थियो । यो घटनामा अन्य दुईजना घाइते भए भने पाँचवटा गाडी पुरिए । सो घटनापछि सम्भावित दुर्घटना न्यून गर्न नारायणगढ-मुग्लिन सडक आयोजनालाई विशेष ध्यान दिन र कामलाई तीव्र गति दिन निर्देशन दिइएको भट्टले जानकारी दिए । अहिले उक्त आयोजनाले नारायणगढ-मुग्लिन सडकको ३४ किलोमिटरमा सडक चौडा पार्ने काम गरिरहेको छ । बिहान १० देखि ४ बजेसम्मको ६ घन्टाको अवधिमा सो क्षेत्रमा भिभिआइपी, भिआइपी र एम्बुलेन्सलाई समेत वैकल्पिक मार्गबाट पठाउने तयारी गरिएको प्रजिअ भट्टले जानकारी दिए । जोखिम क्षेत्रमा सौर्य बत्ती जडान गर्ने, आवश्यक ट्राफिक सङ्केत राख्ने, चेतनामूलक जानकारी राखिदिने र चालकलाई समेत सचेत गराउने जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिएका छन् । घटनालगत्तै आयोजनाका इन्जिनियरसँग छलफल समेत भएको र निर्माणलाई तीव्रता दिने र सावधानी अपनाउने विषयमा गम्भीर बन्न स्थानीय प्रशासनले निर्देशन दिइएको लुइँटेलले बताए । नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले काम गर्ने प्रविधिको अधिकतम प्रयोग भएको जानकारी दिँदै अझै थप सुरक्षाको उपाय अपनाइने बताए । “घुमाउनेमा अकल्पनीय घटना भएको हो, कसैले पहिरो खस्छ भनेकै थिएन,” उनले भने, “अब सम्भावित जोखिम क्षेत्रको थप पहिचान गरेर सावधानीका साथ काम अघि बढाउँछौँ ।” उनका अनुसार यसअघि जलवीरे, कालीखोला क्षेत्र उच्च जोखिम भनेर पहिचान भएको थियो र केराबारी र गाईघाटलाई पनि जोखिम क्षेत्रमा राखिएको थियो । भित्तो काटेपछि जाँच गरेर मात्रै गाडी जान दिइने नारायणगढ-मुग्लिन सडकको पुनःनिर्माणका क्रममा भित्तो काटिएको क्षेत्रमा रोड सेफ्टी इन्जिनियरमार्फत जाँच गरेर मात्रै गाडी पठाइने भएको छ । चितवनका प्रजिअ भट्टले विज्ञ इन्जिनियरले गाडी पठाउन योग्य छ भनेपछि मात्रै स्थानीय प्रशासनसँगको समन्वयमा गाडीलाई जान दिइने जानकारी दिनुभयो । अहिले सो सडकको चार-पाँच स्थानमा भित्तो काट्ने काम जारी छ । सडक चौडा पार्ने क्रममा विभिन्न घुम्ती, मोडमा र साँघुरो सडक क्षेत्रमा भित्तो काट्नै पर्ने आयोजनाले जनाएको छ । सबैभन्दा ठूलो भित्तो काट्नुपर्ने स्थान भने घुमाउने नै हो । सो क्षेत्रमा ठूलो पहिरो जोडिएको ढिस्को भएकाले विगत एक वर्षदेखि काम सुरु गरिए पनि सम्पन्न हुन सकेको छैन । गत सोमबार सोही क्षेत्रमा पहिरो खस्दा दुर्घटना भएको थियो । कामको ढिलासुस्ती र सावधानीका उपाय नअपनाउँदा जोखिम बढेको स्थानीयवासीले बताउँदै आएका छन् । विश्व बैंकको करिब रु तीन अर्बको लागतमा एसियाली मापदण्डको सडक निर्माणमा तीन ब्लकमा ६ वटा कम्पनीले यहाँ काम गरिरहेका छन् । ठेक्का सम्झौता सकिने समय आगामी वैशाख भए पनि काम आधा पनि नभएकाले सम्झौता अवधि पुनः थपिएको छ । रासस

सामसुङको नयाँ ग्यालेक्सि ए७ नेपाली बजारमा, मूल्य ५४ हजार ९ सय रुपैयाँ मात्र

काठमाडौं । सामसुङ नेपालले सामसुङको नयाँ ग्यालेक्सी ए७ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ५ दशमलव ७ इञ्च डिस्प्लेको उक्त फोन बजारमा सार्वजनिक गरेको हो । उक्त फोनमा आधुनिक डिजाइन तथा नवीनतम प्रविधिको भएकाले पावरफूल पर्फरमेन्सका साथ अधिकतम सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार कभ्र्ड ग्लास र मेटल बडी भएको उक्त फोनमा वाटर र डष्ट रेजिष्टेन्स, इनहान्ष्ड क्यामरा फिचर र फिङ्गरप्रिण्ट स्क्यानर पनि उपलब्ध छ । उक्त फोनमा रहेको वाटर एण्ड रेजिष्टेन्सले पानी, बालुवा, पसिना तथा धूलोजस्ता तत्त्वबाट सुरक्षित राख्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार उक्त स्मार्टफोनको फ्रण्ट तथा रियर क्यामेरा १६एमपीको रहेको छ । उक्त फोनमा उपलब्ध रहेको एफ१.९ लेन्स तथा स्क्रीन फ्ल्यासमार्फत प्रयोगकर्ताले उज्यालो तस्वीर र सेल्फी लो लाइट कण्डिशनमा पनि लिन सक्नेछन् । फोनको सरल यूआईले क्यामेरा कन्ट्रोल गर्न सजिलो बनाउनुका साथै एक हातको प्रयोगले स्क्रीन स्वीप गर्न, मोड बदलन तथा पिक्चर इफेक्ट्स चलाउन सजिलो बनाएको छ । प्रयोगकर्ताले फूड मोड प्रयोग गरी फोटो अप्टिमाइज गर्न वा फोटोको कलर मिलाउन गराउन पनि सक्नेछन् । उक्त फोनमा ३२ जीबी मेमोरीका साथै लञ्च अफरका रूपमा ३२ जीबीकै एडिशनल माइक्रो एचडी कार्ड उपलब्ध गराएको छ, जसलाई २५६ जीबीसम्म एक्सपेण्ड गर्न सकिने कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा उक्त फोनको मूल्य ५४ हजार ९ सय तोकिएको जानकारी कम्पनीले दिएको छ । फोनको खरीदमा ३२ जीबीको माइक्रो एसडी कार्ड र १० हजार ४ सय एमएएचको पावर बैङ्क निःशुल्क उपलब्ध छ ।

लिथुआनियाको नेपालका लागि महावाणिज्य दूतमा शोभाकर न्यौपाने नियुक्त

काठमाडौं । अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथु आनियाको नेपालका लागि महावाणिज्य दूत नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले आयोजना गरेको विशेष कार्यक्रमबाट उनी सो पदका लागि नियुक्त भएका हुन् । कार्यक्रममा न्यौपानेलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धी प्रमाण पत्र प्रदान गरेका थिए ।

दाना–कुश्मा विद्युत् प्रसारण लाइन निर्माण सुरु

म्याग्दी। म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको होे । आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको १२ ठाउँमा टावर निर्माणको काम सुरु भएको बताए । टावर राख्नका लागि अन्य ठाउँमा नक्साङ्कन गरिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, दोवा, हिस्तान, बेग, भगवती, पिप्ले, पर्वतको बाँसखर्क, माझफाँट, धाइरिङ, नाग्लीवाङ हुँदै खुर्कोटसम्मको ३८दशमलव ८५ किलोमिटर दुरीमा प्रशारण लाइनको १११ वटा टावर निर्माण हुने भएको छ । भौगोलिक अवस्था अनुसार २४ देखि ४३ मिटर अग्लो टावर रहनेछन् । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीयप्रशारण लाइनमा जोड्ने उद्देश्यले प्राधिकरणले दाना र खुर्कोटमा यसअघि नै २२० केभी क्षमताको सवस्टेसनको निर्माण सुरु गरिसकेको छ । सवस्टेसन निर्माणस्थलमा जग खन्ने काम भइरहेको इन्जिनियर न्यौपानेले जानकारी दिए । सवस्टेसन र प्रशारण लाइन निर्माणका लागि सम्झौता गरेको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिकले तीव्रताका साथ काम अघि बढाएको छ । दुई अर्ब ९० करोड रुपैयाँमा सम्झौता भएको आयोजना विसं २०७५ साउनभित्र सम्पन्न गर्ने लक्ष्य छ । मुस्ताङको टुक्चेमा १४ मेगावाट क्षमताको थापाखोला, म्याग्दीको नारच्याङमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला आयोजना निर्माणाधिन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको छ । रासस

संसारको सबैभन्दा महंगो हिराको लिलामी, बढी मूल्यमा बिकेका पाँच बहुमुल्य रत्न

बिबिसी । भर्खरै हङकङमा एउटा दुर्लभ हिराको ७.१ करोड अमेरिकी डलर मूल्यमा लिलामी भएको छ । हिरासम्बन्धी बिक्रीमा यो नयाँ विश्व रेकर्ड कायम भइको छ । ‘पिंक स्टार’ नाम दिइएको अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको छ । सन् २०१३ मा बिक्रीका लागि ल्याइएको यो हिरालाई खरीदकर्ताले किन्न मानेनन् । यसभन्दा पहिले महंगोमा बिक्री भएका पाँच हिरा गहना यस्ता छन् : ओपनहाइमर ब्लू   सन् २०१६को मे महिनामा ओपनहाइमर ब्लू नामको हिरा ५.०६ अमेरिकी डलरमा किम्री भएको थियो । १४.६२ क्यारेटको यो हिरालाई जेनेभाको क्रिस्टी अक्सन हाउसले फोनको माध्यमबाट लिलाम गरेको थियो । हिराको खरीदकर्ताबारे भने कुनै जानकारी पाइएको छैन । ब्लू मून सन् २०१५ को नोभेम्बर महिनातिर एउटा औठीमा प्रयोग गरिएको १२.०३ क्यारेटको ब्लू मून हिराको लिलामी भएको थियो । हङकङका व्यपसायी जोसेफ लूले यसको लागि ४.८४ करोड डलर दिएका थिए ।  उनले आफ्नी सात वर्षकी छोरीकालागि त्यो हिरा किनेका थिए र त्यसलाई उनले ‘ब्लू मून अफ जोसेफाइन’ नाम दिएका थिए । सनराइज रुबी गाढा रातो रंगको २५.५९ क्यारेटको सनराईज रुबी नामको पत्थरलाई एक व्यक्तीलाई तीन करोड अमेरिकी डलर तिरेर किनेका थिए । सन् २०१५ मा सबैभन्दा महंगोमा बिकेको हिरापछि यो सबैभन्दा महंगो पत्थर थियो । नारंगी हिरा सन् २०१३को नोभेम्बरतिर क्रिस्टी अक्सन हाउसले संसारकै सबैभन्दा ठूलो हिराको लिलामी गरेको थियो । त्यस समयमा प्रति क्यारेटमा यो हिरा सबैभन्दा बढी मूल्यमा बिक्री ग्राफ पिंक २७.७८ क्यारेटको यो चमकदार गुलाबी रंगको हिरालाई अहिलेसम्म भेटिएका ठूला हिराहरुमा लिइन्छ । यसको लिलामट्ठ ४.६२ करोड डलरमा भएको थियो । सन् २०१०को नोभेम्बरतिर यो हिराको बिक्रीलाई सबैभन्दा महंगो मानिएको थियो । यसलाई ब्रिटानी डिलर लरेन्स ग्राफले किनेका थिए ।