विकासन्युज

पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट, धार्मिक पर्यटनमा असर पर्ने चिन्ता

काठमाडौं । पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अधिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । बाँदरआतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरूमा असुरक्षा बढेको तथा सहज रूपमा पूजाआजा गर्न वञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख गरिएको छ । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । पशुपतिमा पूजाआजा गर्न आउने भक्तजनलाई दिनहुँ बाँदरहरूले आक्रमण गर्ने, घाइते बनाउने एवं पूजा सामग्री लुट्ने, लत्ताकपडा च्यातिदिने तथा पूजाआजा गर्न बाधा व्यवधान उत्पन्न गर्ने गरेको भन्दै त्यस्ता क्रियाकलापलाई रोक्नुपर्ने रिटमा उल्लेख गरिएको छ । पशुपति क्षेत्रमा आउने आन्तरिक तथा विदेशी भक्तजन बाँदरको आतंकका कारण भयमुक्त वातावरणले घुम्न र दर्शन गर्ने वातावरण बिथोलिएकाले समाधानका लागि अदालतमा रिट दायर गरेको पाठकले बताए । केही समयअघि नयाँ पत्रिका दैनिकमा ‘पशुपति र स्वयम्भूका बाँदरमा क्यान्सर र एचआइभी संक्रमण’ भन्ने समाचार प्रकाशित भएपछि बाँदरबाट थप जोखिम सिर्जना भएको उनले रिटमा उल्लेख गरेका छन् । कुनै पनि नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रपूर्वक घुम्न पाउने वातावरण बाँदरको आतंकले बिथोलिएको उनले बताए । बाँदरआतंक नरोके धार्मिक पर्यटनमा असर अधिवक्ता मधुर पाठक पशुपति क्षेत्रका बाँदरको आतंक समाधानको उपाय नखोजे धार्मिक पर्यटनमा असर पुग्ने बताउँछन् । सरकारले पशुपति क्षेत्रमा स्वतन्त्र र निर्भीक रूपमा हिँड्ने वातावरण सिर्जना गरोस् भन्ने उद्देश्यले रिट दायर गरेको उनले बताए । पशुपति क्षेत्रको अध्ययन, अवलोकन, भ्रमण र दर्शन गर्न जाने स्वदेशी तथा विदेशी नागरिकमा भय र त्रासको वातावरण सिर्जना हुन गएको अवस्था छ । ‘यस्ता संवेदनशील विषयमा राज्यले समयमै उचित व्यवस्थापन र सम्बोधन नगरेमा त्यसले धार्मिक र सांस्कृतिक पर्र्यटन र विकासमा नराकात्मक प्रभाव पर्न जाने निश्चित छ,’ रिटमा उल्लेख छ । उनले रिटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको साख गिर्न सक्ने खतरा रहेको जिकिर गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।

खेलाडीलाई भत्ता थोरै हुँदा टिक्ने गाह्रो, अन्तर्राष्ट्रिय प्रतिष्पर्धालाइसमेत कम भत्ता

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने राखेपले उपलब्ध गराउँदै आएको न्यून भत्ताका कारण विभिन्नखाले मानसिक दबाब झेल्न बाध्य छन् । अपर्याप्त भत्ताका कारण उनीहरूको ध्यान अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीभन्दा पनि अपर्याप्त डाइट र बसोबासको समस्यामा बढी केन्द्रित हुने गरेको छ । अर्को वर्ष इन्डोनेसियाको राजधानी जकार्तामा हुने एसियाली खेलकुद र सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३ औं सागलाई ध्यानमा राखी पदकको सम्भावना भएका १२ वटा एकल खेललाई प्रशिक्षणमा समावेश गरिएको राखेपले जनाएको छ। राष्ट्रिय टिम तयारीका लागि खेलाडी चयन गर्दा १२ औं सागको नतिजा, सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हासिल गरेको सफलता र एकल खेललाई प्राथमिकतामा राखिएको जानकारी राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले दिए । उनले १२ औं साग र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका खेलाडीलाई राष्ट्रिय तयारी टिममा सहभागी गराइएको बताए । राखेपले राष्ट्रिय टिममा सहभागी खेलाडीमध्ये उपत्यका भित्रकालाई दैनिक तीन सय र उपत्यका बाहिरकालाई ६ सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । खेलाडीलाई प्रदान गरिने दैनिक भत्तामध्ये दुई सय रुपैयाँ भने डाइटका लागि कटाउने गरिएको जानकारी संयोजक रानाभाटले दिए । उनका अनुसार यस आर्थिक वर्षमा राष्ट्रिय टिम तयारीका लागि तीन करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । राष्ट्रिय टिम तयारीमा सहभागी खेलाडीले राखेपले दिने भनेको भत्ताबापतको रकम हालसम्म आफूहरूले नपाएको गुनासो गरेका छन् । १२ औं सागकी स्वर्णपदक विजेता उसुकी नीमा घर्तीमगरले दिनहुँ डाइट खान पाए पनि पकेट खर्चबापतको रकम अहिलेसम्म नपाएको बताइन् । समग्रमा हामीलाई दिइने डाइट त ठीकै छ तर भत्ताबापतको बाँकी रकम भने अहिलेसम्म पाउन सकिएको छैन उनले भनिन् । उसुका राष्ट्रिय खेलाडी राजु लामाले पनि निकै दुःख सहेर राष्ट्रिय टिमको तालिम गरिरहेको बताए । धादिङ ७ जीवनपुरका लामा काठमाडौंमा कोठा भाडामा लिएर प्रशिक्षणमा सहभागी छन् । काठमाडौंमा आफन्त कोही छैनन् । प्रशिक्षणकै लागि कोठा भाडामा लिएर बसेको छु । महिनामा चार हजार रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । राखेपले दिने भनेको भत्ता पनि अहिलेसम्म पाएको छैन । आफ्नै खर्चले अहिलेसम्म धानिरहेको छुु, उनले दुखेसो पोखे । काठमाडौंमा अहिले सामान्य खाने हो भने पनि छाकको दुई सय रुपैयाँ पर्छ । यसैगरी होटेल र लजको भाडा पनि महँगो छ । काठमाडौंमा दैनिक पाँच सयभन्दा कम मूल्यको कोठा पाउन कठिन छ । पाइहाले पनि होटेलको सुविधा चित्तबुझ्दो हुँदैन । यस्तो अवस्थामा राखेपले खेलाडीलाई मारमा पारेको गुनासो अधिकांश खेलाडीको छ । खेलाडीले पाउने भत्ता उपत्यकाबाहिरका खेलाडीः ६ सय रुपैयाँ उपत्यकाभित्रका खेलाडीः तीन सय रुपैयाँ डाइटबापत कट्टा गरिने रकमः दुई सय रुपैयाँ उपत्यकाबाहिरका खेलाडीः चार सय रुपैयाँ उपत्यकाभित्रका खेलाडीः एक सय रुपैयाँ खेलाडीको खर्च दुई छाक सामान्य खानाः चार सय रुपैयाँ आवासः पाँच सय रुपैयाँ राष्ट्रिय टिम तयारीमा सहभागी खेलः १२ वटा राष्ट्रिय टिम तयारीमा सहभागी खेलाडीः एक सय ८७ जना राष्ट्रिय टिम तयारीमा सहभागी प्रशिक्षकः ५५ जना छुट्ट्याइएको बजेटः तीन करोड ३९ लाख रुपैयाँ अन्नपूर्ण पोस्ट दैनिकबाट ।

गोल्छा समूहको दोस्रो पटक उम्मेदवारी घोषणा, भवानी राणाले भाेट माग्दै भनिन्–‘यी मेरा बलिया हात हुन्’

काठमाडौं । एक सातापछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्दै गरेकी भवानी राणाले आफ्नो समर्थक समूहको पहिचाहन गराउँदै आफ्ना बलिया हातलाई निर्वाचित गर्न मतदातालाई आग्रह गरेकी छिन् । मंगलबार राजधानीको अन्नपूर्ण होटलमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा, जिल्ला तथा नगर उपाध्यक्ष उम्मेदवार दिनेश श्रेष्ठ, एशोसिएटबाट निर्विरोध निर्वाचित चन्द्रप्रसाद ढकाल, बस्तुगत समूहको उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठ र कोषाध्यक्षका उम्मेदवार ज्ञानेन्द्रलाल प्रधानको पृष्ठभूमिसहित व्याख्या गर्दै उनले भनिन–‘यी मेरा बलिया हात हुन्, बलिया हात भएनन भने मैले प्रभावकारी रुपमा काम गर्न सक्दिन ।’ आफूले चेम्बर आन्दोलनमा २० वर्ष काम गरेको बताउँदै महासंघको अध्यक्ष पदमा पुर्याउने सहयोग गर्ने चण्डिराज ढकाल, पशुपति मुरारका लगायत सबैको उनले प्रशंशा गरिन् । उम्मेदवारी दर्ता पूर्व बुटवलमा पुगेर उम्मेदवारी घोषणा गरेको यो टिमले दर्ता पनि फेरी उम्मेदवारी घोषणासभा गरेको हो । यो सभामा आफ्ना समूहबाट सदस्यहरुको उम्मेदवार समेत घोषणा गर्ने अनुमान गरिएको थियो तर त्यसो गरिएन । गोल्छा समूहको पदाधिकारीहरुलाई पूर्व अध्यक्षहरु चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठले माला, खादा र पुष्प गुच्छा दिएर समर्थन जनाएका थिए । सो कार्यक्रममा उम्मेदवारहरुले आफूले महासंघमा गरेको योगदान स्मरण गराउँदै भविष्यमा गर्ने कार्ययोजना सुनाएका थिए ।

एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त

काठमाडौं । एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त भएका छन् । चैत २१ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो । बैठकले कंसाकारलाई संस्थापक शेयरधनी समूहको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो । कंसाकारको कार्यकाल चैत २१ गतेदेखि नै शुरु भएको छ ।

घरजग्गा मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उल्घाटन गर्ने

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले चैत २५ देखि २८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना गर्ने घर जग्गा मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति भण्डारीले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको हो । संघका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले चैत २८ गते नेपालमै पहिलो पटक हाउजिङ समिटको पनि आयोजना गरिएको जानकारी दिए । घर जग्गा मेलामा १२० वटा स्टल मार्फत आधुनिक तथा व्यवस्थित घर, अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्रीको प्रदर्शनी गरिनेछ । फर्निचर, पाइप, सेनेटरी वेयर्स, पेन्ट्स, वास्तुकला तथा घर सजावटका समानहरुको पनि स्टल रहनेछ । मेलामा एक लाख २० हजार भन्दा धेरै भिजिटर्स आउने अपेक्षा गरिएको मेला संयोजक विपिन चित्रकारले बताए ।

नेपाल ग्रामीण विकास बैंकको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले नयाँ सेयर (एफपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँको ९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न उक्त कम्पनीलाई बिक्री प्रवन्धकमा नियुक्त गरेको हो । मंगलबार सम्पन्न एक कार्यक्रमबीच उक्त नियुक्ति सम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतामा नेपाल ग्रामीण विकास बैंकका तर्फबाट नि. कार्यकारी अधिकृत राजेश शर्मा तथा निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा-प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।

२२ हजार घुससहित नापीका सर्वेक्षक पक्राउ

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ । जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक रामलोचन ठाकुरलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटेको टोलीले ठाकुरलाई पक्राउ गरेको हो । गोप्य उजुरीका आधारमा सेवाग्राहीसँग सर्वेक्षक ठाकुरले घुस लिएर काम गर्ने कोठामा गएको समयमा अख्तियारको टोलीले उनलाई खानतलासी गरेपछि रु २२ हजार घुसको रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रहरी उपरीक्षक लम्सालले जानकारी दिए । अख्तियारले विगत केही दिनदेखि मालपोत, नापीलगायत सेवाग्राहीको बढी भीड रहने कार्यालयमा अनुगमन बढाएको छ । विगत केही दिन पहिले मात्र धनुषाको मालपोत कार्यालयबाट एक कर्मचारीलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । धनुषाकै नापी कार्यालयबाटै आइतबारमात्र नापी कार्यालयकै अमिन कृष्ण जोशीलाई समेत रु ३० हजार घुसको रकमसहित पक्राउ गरेको थियो । रासस

ओठको श्रृंगारमा १४ करोड ७६ लाख खर्च

काठमाडौं । नुनदेखि सुनसम्म आयात हुने देशमा महिलाको श्रृंगार सामग्री आयात हुनु नौलो कुरा होइन् । तर अचम्म त के छ भने नेपाली महिलाहरुले आफ्नो ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिकै लागि करोडौं रुपैंयाँ बाहिरिएको छ । बर्षेनी दशौं करोड नेपाली मुद्रा महिलाहरुले ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिकाका लागि बाहिरिँदै आएको हो । आर्थिक बर्ष २०७२/७३ मा १४ करोड ७६ लाख रुपैंयाँ मूल्य बराबरको लिपिष्टिक नेपाल भित्रिएको छ । ३३ वटा देशबाट नेपाली महिलाहरुले लगाउने लिपिष्टिक आयात भएको हो । आर्थिक बर्ष २०७१/७२ मा १० करोड ५३ लाख मुल्य बराबरको लिपिष्टिक आयात भएको थियो भने आव २०७०/७१ मा १६ करोड ३० लाखको आयात भएको थियो । गत आवमा ७ करोेड ९ लाखको लिपिष्टिक भारतबाट आयात भएको देखिन्छ भने ४ करोड २० लाखको लिपिष्टिक चीनबाट आयात भएको छ । त्यस्तै, १ करोड, इटालीबाट एक करोड ३४ लाख, जर्मनीबाट एक करोड १९ लाखको लिपिष्टिक आयात भएको छ । यी देशमा बनेको लिपिष्टिक लगाउँछन नेपाली महिला बंगलादेश, ब्राजिल, क्यानाडा, चीन, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, फ्रान्स, जर्मनी, हङकङ, भारत, इण्डोनेसिया, इटाली, जापान, जोर्डन, कोरिया, लिसेीटाइन, लक्जमबर्ग, मलेसिया, मेक्सिको, पाकिस्तान, पोल्याण्ड, रसिया, सिंगापुर, स्पेन, स्विडेन, स्विजरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका र भियतनामा बनेका लिपिष्टिक लगाउँदै आएका छन् ।