बीमा कम्पनीलाई लक्षित विशेष ऋणपत्र ल्याउने बीमा समितिका अध्यक्षको भनाई, नेपाल लाईफको क्षेत्रीय कार्यालय पोखरामा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उदेश्यले पोखरामा क्षेत्रीय कार्यालय खोलेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले शुक्रबार शो शाखाको उद्घाटन गरेका छन् । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको र जीवन बीमा क्षेत्रसंग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए । साथै उनले जीवन बीमाका क्षेत्रमा कम्पनीले गर्दै आएको सफलताहरुको सह्राहना गर्नुहुदै समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशिल रहने बताएका छन् । संचालक कमलेश कुमार अग्रवालले बिद्यमान परिवेशमा क्षेत्रीय कार्यालयको आवश्यकता झनै बढ्न गएको एवं बिकेन्द्रिकरणका माध्यमबाट शाखा कार्यालयहरुको अनुगमनमा प्रभावकारिता बृद्धि भई बीमितहरुले सरल र सहज बीमा सेवा उपलब्ध हुने विचार राखे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्दै बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सो को सुनिश्चितताको लागि दीर्धकालिन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको भएतापनि सोको पर्याप्त उपलब्धता नभईरहेकोले बीमा क्षेत्रका लागि दीर्धकालिन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको बताए ।
‘सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें’ पारस खड्का भन्छन्-‘बचत नगरेर गल्ती गरेछु’
काठमाडौं । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले तरलता अभावसँगै ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा शनिबार काठमाडौंको डिल्लीबजारस्थित साब पब्लिक स्कूलमा आयोजित कार्यक्रममा मेगा बैंकको सद्भावना दूतको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीले सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बालबालिका तथा अभिभावकहरुलाई अनुरोध गरे । ‘सानै उमेरदेखि बैंकमा बचत खाता खोल्ने हो भने बालबालिकाहरुमा बचाउनुपर्छ भन्ने बानीको विकास हुन्छ, त्यसैले आफ्ना सन्तानहरुलाई स्वतस्फूर्त रुपमा बचत गर्ने बानीको विकास गराउनुस्’, कार्यक्रमका प्रमुख अतिथि रहेका क्रिकेट टिमका कप्तान खड्काले भने, ‘बालबालिकाहरुको पहिलो प्राथमिकता पढाइ नै हो, तर उनीहरुलाई सानैदेखि अन्य कुराहरु पनि सिकाउनुपर्छ ।’ यसैगरी, नायिका कार्कीले नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएको बताए । ‘सानो हुँदा मसँग भएको सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें, तर अहिले महसुस हुँदैछ त्यो ठीक होइन रहेछ ।’, नायिका कार्कीले भनिन् ‘थोरै रकम भए पनि सानैदेखि बचत गर्ने बानी बसाऔं, रकम खेर नफालौं ।’ कार्यक्रममा मेगा बैंकका अध्यक्ष तथा सूर्योदय शिक्षा फाउन्डेशनका अध्यक्ष भोजबहादुर शाहले क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गरे । उनले बालबालिका र युवाहरुमा बचत गर्ने बानीको बिउ रोप्न मेगा सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरे । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्ने बताइन् ।
आफूले गरेको कामको मूल्याङकन गर्न अनुपबहादुर मल्लको आग्रह
काठमाडौं । अनुपवहादुर मल्लले नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषण गर्दै आफूले महासंघमा १८ वर्ष गरेको कामको मूल्याङकन गर्न आग्रह गरेका छन् । शुक्रबार महासघका अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, चण्डिराज ढकाल लगायत विभिन्न बस्तुगत संघको प्रतिनिधिहरुको उपस्थितिमा मल्ल र उनको टीमबाट ४ जना सदस्यले उम्मेदवारी घाेषणा छन् । आफूले महासंघमा १८ वर्षसम्म योगदान गरेको, चार पटकसम्म कार्यसमिति सदस्यमा निर्वाचित भएको, विभिन्न समितिको सभापति भएर काम गरेको, कार्यसम्पादनको आधारमा उपाध्यक्षको उम्मेदवारी दिएको बताए । निर्यात प्रवद्र्धन र महासंघको आम्दानी वृद्धिका कार्यमा आफूले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ । आफूले गत निर्वाचनमा सबैभन्दा बढी मत पाएको र राम्रो काम गरेको बताउँदै नेतृत्वले आफूलाई उम्मेदवार बन्दा सहयोग नगरेको उनले बताए । सरकारले एक नम्बर, दुई नम्बरको मान्छेलाई नछानेर ३/४ नम्बरको मान्छेलाई अवसर दियो, नियुक्ती दियो, बढुवा गर्यो भनेर हामी सरकारको आलोचना गर्छौ, तर महासंघको नेतृत्व छान्नेले बोनाफाइड मान्छे किन नछान्ने?’ उनले प्रश्न गरे । ‘मैले अहिलेसम्म कुनै चुनाव हारेको छैन, यस पटक पनि चुनाव जित्ने विश्वास लिएको छु’ मल्लले भने । ‘परिवारको कुरा हो भने म पनि जयस्थीति मल्लको सन्तानु हुँ, रणजीत मल्लको परिवारको मान्छे हुँ’ उनले भने–‘तर मैले जयस्थीति मल्ल र रणजीत मल्लको सन्तान हुँ भनेर म चुनावमा उठेको होइन, म सक्षम छु, विगतमा राम्रो काम गरेको छु भनेर म चुनावमा उठेको हुँ ।’ कार्यक्रममा सम्बोधन गर्न पुगेकी भवानी राणाले मल्लले महासंघमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंशा गरिन् । मल्लको टिमबाट रसायन तथा मेडिकल एशोसिएनको अध्यक्षका भक्तबहादुर हमाल, नेपाल कपाड तथा सिलाई व्यवसायी संघमा अध्यक्ष सुरज बज्राचार्य, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको अध्यक्ष हेमराज बढाल, मत्य व्यवसायी संघका तुलसीराज गिरीले उम्मेदवारी दिएका छन् ।
कहाँ गरिव छन् नेपाली ? एक वर्षमा ५३ अर्बको रक्सी पिउँछन्
काठमाडौं । नेपालीले वार्षिक ६१ अर्ब १८ करोड रुपैयाँ अल्कोहल तथा नन् अल्कोहोलिक पिय पदार्थमा खर्च गर्ने गरेका छन् । प्रतिव्यक्ति कुल खर्च योग्य आय एक लाख ९ हजार भएका नेपालीले यस्तो पिय पदार्थमा मात्रै वार्षिक उक्त रकम खचर्र्ने गरेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागको तथ्यांकअनुसार अल्कोहोलिक पदार्थमा ५३ अर्ब २६ करोड र नन् अल्कोहोलिक पदार्थमा ७ अर्ब ९२ करोड उपभोग गर्ने गरको विभागका महानिर्देशक सुमन अर्यालले जानकारी दिए । ‘गएको आर्थिक वर्ष २०७२/७३ मा चार हजार पाँच सय घरपरिवारबाट तथ्यांक संकलन गर्दा अल्कोहोलिक तथा नन् अल्कोहोलिक पदार्थका माध्यमबाट नेपालीले यति रकम उपभोग गरेका गर्ने गरेका हुन् । त्यसैगरी नेपालीले माछा तथा मासुमा एक खर्ब ३८ अर्ब २६ करोड, तरकारीमा एक खर्ब ६ अर्ब ६३ करोड खर्चने गरेका छन् । दुग्धजन्य पदार्थ तथा अण्डामा ७३ अर्ब ८७ करोड, तेल तथा घ्यूमा ६३ अर्ब ४९ करोड, फलफूलमा ३५ अर्ब ८३ करोड, मसलमा ३३ अर्ब ७१ करोड बराबरको उपभोग गर्ने गरेका छन् । चिनी तथा मिठाईमा २४ अर्ब ९० करोड, चिया तथा कफीमा ६ अर्ब २३ करोड खर्च हुने गरेको छ । विभागले भर्खरै सार्वजनिक गरेको चौथो घरपरिवार सर्वेक्षणले नेपाली घरपरिवारले औसतमा वार्षिक१८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ उपभोगमा खर्च गर्ने गरेका हुन् । प्रतिव्यक्ति वार्षिक उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ । खाद्यमात्रै एक व्यक्तिले वार्षिक ३३ हजार खर्च गर्ने गरेका छन् । प्रतिव्यक्ति कुल राष्ट्रिय आय भने ८० हजार ९२ रुपैयाँमात्र रहेको छ ।
महासंघको नेतृत्वका दावेदार १२ जनालाई उम्मेदवारी फिर्ता लिन दवाव, शंकाको घेरामा रहेका उम्मेदवार बढी तनावमा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवार बनेको १२ जनालाई उम्मेदवारी फिर्ता गर्न दवाव परेको छ । एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएपछि सदस्य पदमा पनि सर्वसहमित गराउने प्रयास अन्तरगत १२ जनालाई उम्मेदवारी फिर्ता गर्न दवाव परेको छ । उम्मेदवारी फिर्ता लिने म्याद २७ गतेसम्म भएपनि शनिबारसम्म फिर्ता लिन चुनावी समूहको दवाव परेको छ । एशोसिएटतर्फ १९ जना कार्यसमिति सदस्य पदको लागि ३१ जनाको उम्मेदवारी परेको छ । आवश्यक भन्दा बढी १२ जनाको उम्मेदवारी फिर्ता गराई सर्वसहमतिको प्रयास भईरहेको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘निर्वाचन भयो नै भने पनि १२ जना वाहिरिनुपर्छ, सर्वसहमतिमा १९ जना कार्यसमिति सदस्य चुनौं, अहिले उम्मेदवारी फिर्ता लिनु हुने १२ जनालाई विभिन्न उपसमितिमा मनोनयन गरी जिम्मेवारी दिन सकिन्छ’ उनले भने । सहमतिको प्रयास स्वरुप शुक्रबार साँझ परेली रेष्टुरेन्टमा बैठक बसेको थियो जहाँ मुरारका, भवानी राणा, शेखर गोल्छ, चन्द्रप्रसाद ढकाल, चण्डिराज ढकाल, ज्ञानेन्द्रलाल प्रधान र उम्मेदवारी दिएका ३१ सदस्य सहभागि थिए । उक्त बैठकमा स्वेच्छिक रुपमा १२ जनालाई उम्मेदवारी फिर्ता लिन सुझाव दिदै त्यसो नभए उच्च नेतृत्वले १९ जनाको टिम घोषणा गर्ने जनाउ दिईएको छ । टिम बाहिर पर्ने १२ जनाले चुनाव हार्ने निश्चित भएपछि सदस्य पदका उम्मेदवारहरु उम्मेदवार छनौटमा प्रभाव राख्ने व्यक्तिहरुलाई खुशी पार्न र टिममा पर्न सक्रिय भएका छन् । टिममा पर्ने निश्चित भएका उम्मेदवार प्रफुल्लित मुद्रामा देखिएका छन् भने शंकाको घेरामा रहेका उम्मेदवार निकै तवानमा देखिएका छन् ।
नेपाली वायुसेवामा थपिदै अर्बौको लगानी, १६ जहाज थप्ने ७ कम्पनीकाे अन्तिम तयारी
काठमाडौं । पछिल्लो समय नेपालबाट उडान र अवतरण गर्ने वायुसेवामा अर्बौको लगानी थप हुन थालेको छ । नेपाल वायुसेवा निगमले ठूलो जहाज खरिद गर्ने सम्झौता गरेको छ । निगमले इतिहासमै पहिलोपटक २ वटा वाइडवडि नामका लामो दुरीको अन्तर्राष्ट्रिय उडानको जहाज थप गर्ने भएको छ । निगमले एक वर्षमा २ वटा एयरवसको ए ३३०—२०० सिरिजका २८० सिट क्षमतको जहाज थप गर्दै छ । निगमले २२ अर्ब ४२ करोड रुपैयाँमा २ वटा जहाज खरिदको सम्झौता गरेको हो । निगलले आगामी एक वर्षभित्र नयाँ जहाज ल्याएर उडान सुरु गर्ने तयारीस्वरुप आवश्यक गृहकार्य गरिरहेको निगमले जानकारी दिएको छ । एक वर्ष भित्रै जहाज थपको तयारीमा लागेका र औपचारिक रुपमा घोषणासमेत गरिसकेका अन्य आन्तरिक वायुसेवाले पनि जहाज भित्र्याउने अन्तिम तयारीदेखि गृहकार्य गरेर आगामी वर्षको योजना तय गरिसकेका छन् । अहिले नेपालमा एक दर्जन वायुसेवाको नियमित उडान रहेको छ । यीमध्ये एक वर्षभित्र जहाज ल्याउने र भर्खर ल्याएर उडान तयारी गरिरहेकामा ७ वटा कम्पनीका १६ वटा जहाज रहेका छन् । भर्खरै आन्तरिक उडानमा निगम र गोमा एयरले दुई २ वटा र सौर्य र बुद्ध एयरले १ एक वटा जहाज ल्याएर उडान सुरु गरिसकेका छन् । निगमकै आन्तरिक उडानमा वाई १२ नामक २ वटा चिनियाँ जहाज आउने अन्तिम तयारीमा रहेको छ । आन्तरिक उडानमा नियमित सेवाको तयारी गरिरहेको श्री एयरलाइन्सले पनि ४ वटा जहाज एक वर्ष भित्रै ल्याउने भएको छ । यो कम्पनीले २ वटा भने काठमाडौ अवतरणको तयारीसमेत गरिसकेको छ । आन्तरिक उडानमै बुद्ध एयरको सिको गर्दै आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरले चारवटा एटीआर नामक ७२ सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले केही समयमा नै २ वटा र अर्को वर्ष थप २ वटा जहाज ल्याउने तयारी गरिरहेको छ । आन्तरिक उडानमा डोर्नियरबाट सेवा दिइरहेको सीता एयरले पनि नयाँ व्यवास्थापन भित्र्याएसँगै २ वटा जहाज थपको तयारी गरिसकेको छ । यो वायुसेवाले हाल उडानमा रहेकै प्रकृतिको २ जहाज थप गर्न पर्यटन मन्त्रलयसमक्ष तीन साता अगाडि नै निवेदन दिएको छ । आन्तरिक उडानमा हेलिकोप्टर कम्पनी पनि एक पछि अर्को गर्दै उडान थप गर्न लागि परेका छन्, बजार बढाउन नसकेको भएपनि प्रतिस्पर्धाले जहाज संख्या भने धमाधम बढिरहेको पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए । प्राइस वारको प्रतिस्पर्धा सुरु उनका अनुसार आन्तरिक उडानमा भएको यो प्रतिस्पर्धाले कुन वायुसेवा टिक्ने र कुन विस्थापन हुने भन्ने चुनौती अब देखिने भएको छ । जहाज थपसँगै वायुसेवाले आन्तरिक उडानमा प्राइस वार पनि गर्न थालेका छन् । यसले यात्रुलाई भने फाइदा पुगेको छ । त्यसो त हिमालयल एयरले सेवा दिन थालेपनि वायुसेवा निगमसँग प्रतिस्पर्धी बढेको छ । जसले गर्दा यात्रुले छनोट गरेर सेवा पनि लिन पाएका छन् । पछिल्लो समय सौर्य एयरले जहाज थप गरेपछि र निगमलसँग पनि जहाज थप भएकोले आन्तरिक उडानमा टिकटको मूल्य घटाउने अभ्यास हुन थालिसकेको छ । नेपालका अनुसार जसले प्रतिस्र्पामा गुणस्तरीयता कायम गरेर सेवा दिन सक्छ उसकैको बजार बन्ने पनि उल्लेख छ । कुन बायुसेवाका कति जहाज वायुसेवा कम्पनी संचालमा रहेका थपिने जहाज बुद्ध एयर ९ वटा १ वटा तारा एयर ७ वटा – यति एयरलाईन्स ६ वटा ४ वटा गोमा एयर ६ वटा – नेपाल वायुसेवा अन्तार्राष्ट्रिय ३ वटा २ वटा हिमालय एयरलाइन्स ३ वटा – नेपाल वायुसेवा आन्तरिक ६ वटा २ वटा सिम्रिक एयरलाईन्स ४ वटा – सीता एयर २ वटा २ वटा सौर्य एयर १ वटा १ वटा मकालु १ वटा – काष्टमण्डप १ वटा – श्री एयरलाइन्स – ४ वटा जम्मा ४९ वटा १६ वटा तथ्याक स्राेत: सम्बन्धित वायुसेवा कम्पनी प्रतिस्पर्धा सुगम क्षेत्रमा केन्द्रीत पर्यटन मन्त्रालयका अनुसार आन्तरिक वायुसेवाको उडान क्षमता विस्तार भएपनि सुगम क्षेत्रमै मात्र केन्द्रीत भएका छन् । हाल सुगम क्षेत्र उडानमा हुने जम्मा १६ लाख हवार्य यात्रुको सेवामा प्रतिस्पार्धा हुने गरेको पनि नेपालको बुझाई छ । उनका अनुसार अब आन्तरिक वायुसेवा दुर्गम क्षेत्र केन्द्रीत पनि हुनुपर्छ । निगमले आन्तरिक उडानमा जहाज थप गरेपछि दुर्गम क्षेत्रमा पनि सेवा विस्तार हुने अनुमान गरेपनि सरकारले कुनै न कुनै नियमले नकसेसम्म दुर्गमको सेवामा पहुँच विस्तार भने अझै चुनौतिपूर्ण छ । हालसम्म आन्तरिक वायुसेवाको सेवा सबै सहरी क्षेत्रका विमानस्थलमा केन्द्रीत भएकोले पनि दुर्गममा पहुँच विस्तार हुन सकेको छैन । मन्त्रालयका अनुसार १५ वर्ष अगाडिको अवधारणामा आएको दुर्गम क्षेत्र हवाई सेवा कोषलाई पुनः कार्यान्वयन गरेर दुर्गम क्षेत्र केन्द्रीत गर्न सकिन्छ । यसका लागि सुगममा उड्ने वायुसेवाले दुर्गमको लागि निश्चित प्रतिशतको योगदान गर्नुपर्छ । जुन वायुसेवा दुर्गममा जाँदैन त्यसले सुगमबाट उठेको पैसाको निश्चित प्रतिशत राख्नुपर्ने व्यवास्था गर्न लागिएको पनि मन्त्रालयको भनाइ छ । हाल नेपालका विभिन्न १२ वटा आन्तरिक वायसेवासँग ४९ वटा जहाज रहेका छन् । रहेको भएपनि तत्कालै थप भएका र हुने तयारिका जहाजको संख्या १६ वटा रहेको छ । यी वायुसेवामार्फत हुने उडान व्यवस्थापन अझै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चुनौतिपूर्ण रहेको छ ।
पाैने ५ कराेडमा बन्याे ५३ घरकाे मुसहर बस्ति, धुर्मुस सुन्तली सामाजिक हिराे
बर्दिबास । धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्दै छन् । त्यसैगरी, बस्तीमा निर्मित भ्युटावर सामाजिक अभियन्ता रामआशिष यादव र बस्तीमा निर्मित बालउद्यान तथा मुसहरका कुलदेवताको मन्दिर धुर्मुस(सुन्तलीका आमाबुबाले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम तालिका धुर्मुस(सुन्तली फाउन्डेसनले बनाएको छ । बाह्रै महिना दुःखमा जीवन जिउन बाध्य मुसहर समुदाय बस्ती निर्माणले दंग छन् । ‘खरले छाएको घर बर्खामा चुहिन्थ्यो । सानो खरको झुपडीमा खाना पकाउँदा चैत(वैशाखमा आगलागी हुने डर हुन्थ्यो । जाडोमा राम्रो ओड्ने ओच्छ्याउने नहुँदा घरभित्रै शीतलहर पस्थ्यो,’ बस्तीका ४५ वर्षीय सोनेलाल मुसहरले भन्नुभयो, ‘अब त हाम्रो सुन्दर पक्की घर बनेको छ । हाम्रो गाउँमा धुर्मुस(सुन्तली भगवान भनेर आउनुभयो । पीडैपीडामा जीवन बिताएका हाम्रो जीवनमा खुसीका दिन आएको महसुस भयो ।’ रोग, भोक, अशिक्षाले थलापरेका मुसहर समुदायमा पराले झुपडी तीन महिनामै आकर्षक पक्की घर बनेपछि मुसहर समुदायमा खुसियाली छाएको छ । पुस्तौंदेखि गरिबी र सामाजिक दुव्र्यवहारले मुसहर अस्तित्वहीन जीवन बाँच्दै आएका थिए । ‘हाम्रो पनि घर बन्छ । आँगनमा धारा बन्छ । छोराछोरी स्कुल जान्छन् भनेर सपनामा पनि सोचेका थिएनौं,’ एकीकृत नमुना मुसहर बस्तीका उपभोक्ता समिति अध्यक्ष बिल्टु सदाले भन्नुभयो, ‘आज हाम्रो घरघरमा बिजुली बत्ती पुग्यो । खानेपानी पुग्यो, पराले ओच्छ्यान खाटमा परिणत भयो । घर त झनै राम्रो भयो । अब हामी सुखमय जीवन बिताउँछौं ।’ मुसहर एक भएर श्रम गरी बस्ती बनाएका हुन् । बस्तीभित्र ५० आवासीय घर, बस्तीबाहिर तीनवटा अन्य जाति समुदायका घरसहित ५३ वटा घर, सामुदायिक भवन, बालउद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक र नालालगायत संरचना निर्माण गरिएको छ । बस्तीको बीच भागमा निर्माण गरिएको ३५ फिट अग्लो भ्युटावर छ । जहाँबाट बस्तीसहितका बर्दिबास चोकवरिपरिका गाउँको मनोरम दृश्य नियाल्न सकिन्छ । भ्युटावरबाट वरिपरिका गाउँ हेर्दा आफूहरूको सुखका दिन सुरु भएको महसुस भइरहेको २७ वर्षीय सञ्जीव सदाले सुनाउनुभयो । ‘हामीसँग हार्नलाई केही छैन तर जित्न पूरै संसार छ जस्तो लाग्छ’, भ्युटावरबाट बस्ती नियाल्दै गरेका बस्तीका एक्ला एसएलसी उत्तीर्ण मञ्जय सदाले भन्नुभयो, ‘हाम्रो गाउँ त फोटोमा देखेको अमेरिकाजस्तै भयो । राति बस्तीमा बलेको एकै प्रकारका बत्तीले बस्ती मात्रै उज्यालो देखिँदैन, त्यहाँ बस्ने बालबालिका र स्थानीयको भविष्य उज्यालिएको छ । हामी मुसहरको नवयुग सुरु भएको छ ।’रातो इँटा रंगको भित्तामा सेतो पेटी काटेर, नीलो रंगीन जस्ता लगाई सबै घर एकै आकार र एकै डिजाइनमा बनाइएको छ । अनुमानित लागत चार करोड ७८ लाख तय गरिए पनि बस्तीमा भ्युटावर, पक्की ढलान सडक र बस्तीबाहिर तीन घरको योजना थपिँदा अनुमानित रकमभन्दा बढी खर्च भएको धुर्मुस(सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभयो ।’बस्ती बनाउन कति खर्च लाग्यो भन्ने कुराको अन्तिम हिसाब गर्न हामी जुटेका छौं । बस्ती हस्तान्तरण समारोहमा सार्वजनिक गर्छौं’, फाउन्डेसन अध्यक्ष कट्टेलले भन्नुभयो। निर्माण गरिएको बस्ती अवलोकन गर्न टाढा(टाढाबाट दिनहुँ हजारौं मानिस आउने गरेका छन् । साँझपख त बस्ती अवलोकन गर्न आउनेको भीडले मेला लागेको अनुभूति गराउँछ । सुन्दर पर्यटकीय गन्तव्य बनेको छ एकीकृत नमुना मुसहर बस्ती । रंगरोगन, भ्युटावर र फिनिसिङको केही काम मात्र बाँकी छ । फाउन्डेसनले हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ । बस्ती निर्माण कार्यको पुस २५ गते हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) र जनकपुरको गंगासागर सरसफाइ तथा गंगा आरतीका अभियन्ता एवं पत्रकार रामआशिष यादवले शिलान्यास गर्नुभएको थियो । शिलान्यासकै दिन वैशाख १ मा बस्ती हस्तान्तरण गर्ने घोषणा गरिएको थियो । अन्नपूर्ण पोस्टबाट
स्टिकरबाट पानीकाे वर्गीकरण, सीधै पीउने, उमाल्नुपर्ने र लुगा तथा भाडा धुने गरी स्टिकर
काठमाडौं । उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ । काठमाडौं खानेपानी विकास बोर्डले ट्यांकरले आपूर्ति गर्ने पानीको शुद्धता मापन गरेर स्टिकर दिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । स्टिकर सर्वसाधारणले देख्ने गरी ट्यांकरमा टाँस्नुपर्नेछ । मन्त्रालयका अनुसार ५ वैशाखबाट उपत्यकाभित्र यो नियम लागू हुनेछ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले उपत्यकावासीलाई शुद्ध पानी वितरणको उद्देश्यले स्टिकरको व्यवस्था गर्न लागिएको बताए । ‘उपत्यकाभित्र खानेपानी अभाव छ । सर्वसाधारण ट्यांकरबाट ल्याइएको पानी पिउन विवश छन् । तर, त्यो पानीको शुद्धता नापिएको छैन,’ मन्त्री शाहीले भने, ‘पिउनयोग्य नभएको पानी पनि सर्वसाधारण पिउन बाध्य छन् । यसलाई नियन्त्रण गर्न स्टिकर प्रणाली लागू गर्न खोजिएको हो । ५ वैशाखबाट यो प्रणाली लागू हुन्छ ।’ खानेपानी विकास बोर्डले अनुगमन र परीक्षण गरेपछि ट्यांकरमा हरियो, नीलो र पहेँलो स्टिकर टाँसिने मन्त्री शाहीले बताए । ‘ट्यांकरले आपूर्ति गर्ने पानी कति शुद्ध छ भन्ने मापन हुनेछ । मापनका लागि काठमाडौं खानेपानी विकास बोर्डलाई निर्देशन भइसकेको छ,’ शाहीले भने, ‘शुद्ध र सीधै पिउनयोग्य पानी छ भने हरियो, उमालेर खानयोग्य भएमा नीलो तथा भाँडा र लुगा धुन मात्रै योग्य पानी मात्र आपूर्ति गर्ने भएमा पहेँलो स्टिकर दिने निर्णय भएको छ । अब सबैले नियम पालना गर्नुपर्नेछ । नियम नमान्नेलाई कारबाही हुन्छ ।’ कति छन् उपात्यकामा पानी बोक्ने ट्यांकर रु उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरण गर्न सात सय ट्यांकर सञ्चालनमा छन् । ती ट्यांकरले हाल दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएका छन् । तर, सुक्खायाममा दैनिक १० करोड लिटरसम्म माग हुने गरेको व्यवसायीको दाबी छ । उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेल, चोभार, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीछेउको क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानेर ट्यांकरबाट आपूर्ति हुने गरेको छ । दैनिक झन्डै १९ करोडको पानी बिक्री उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरबाट आपूर्ति हुने पानी दैनिक १७ करोड ५० लाख, जारको पानी दैनिक ३५ लाख, बोतलको पानी दैनिक ९६ लाख रुपैयाँको बिक्री हुन्छ । सबै गरी सुक्खायाममा उपत्यकामा दैनिक १८ करोड ८१ लाख रुपैयाँको पानी माग भइरहेको संघले जनाएको छ । जारमा पनि स्टिकर खानेपानी तथा सरसफाइ मन्त्रालयले बजारमा बिक्री भइरहेका जारको पानी परीक्षण गरेर स्टिकर दिने भएको छ । बोतल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ देखि ५० हजारवटा खपत हुने गर्छ । सुक्खायाममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने संघको दाबी छ । एकदेखि डेढ लिटर अटाउने बोतलको पानी दैनिक २० देखि २५ हजार केस खपत हुने संघले जनाएको छ । एक केसमा १२ बोतल हुन्छ । गर्मीमा ४० प्रतिशत बढी माग हुने संघको दाबी छ । नयाँ पत्रिका दैनिकबाट ।