विकासन्युज

सनराइज बैंकको शाखा खुसिबुमा स्थानान्तरण, लकर सेवामा ५० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको ढल्कोमा रहेको शाखालाई खुसिबुमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौड्यालले गरेका छन् । बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकको सो शाखामा २०७४ बैशाख २७ गते सम्म लकरको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । हाल बैंकले नेपाल अधिराज्यभर ६८ वटा शाखा र ७७ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन.काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । बैंकले निकट भविष्यमा काठमाडौंको घट्टेकुलो, झापाको बुधबारे, सुर्खेतको विरेन्द्रनगर तथा मकवानपुरको हेटौडामा शाखा स्थापना गर्ने छ ।

सेयर बजारमा एक अर्ब २१ करोडको सेयर कारोबार, सबैभन्दा बढी नेपाल बैंकको

काठमाडौं । आइतबारको सेयर बजारमा एक अर्ब २१ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १४१ कम्पनीको १९ लाख २६ हजार कित्ता सेयर किनबेच भएका हुन् । आइतबार सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल बैंक अगाडि रहेको छ । बैंकको १० करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ । त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ११४० र ४३६ रुपैयाँ रहेको छ । दिनभर ओरालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदा सामान्य अंकले उकालो लागेको छ । परिसूचक शुन्य दशमलब ५६ अंकले बढेर १६५१ दशमलब ६० अंकमा अडेको छ । सो दिन तीन समूहका परिसूचक ओरालो लागेका छन् । बीमा, उत्पादनमूलक र होटल समूहको परिसूचक क्रमशः ३८, ३७ र १९ अंकले ओरालो लागेका हुन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।

एनसेलको लाभकर असुलिन्छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले ऐनसेल बिक्री वापतको पुँजीगत लाभकर असुलिने स्पष्ट पारेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै दाहालले कुनै हालतमा असुल्ने बताएका हुन् । उनले मलेसियाको अक्जियेता कम्पनीले आफू अन्यायमा परेकोले बिक्रेताबाट लाभकर उठाउन अनुरोध गरेकाले क्यबिनेटमा छलफल गरेको बताए । साथै, दाहालले ऐनसेलको बिक्रेता र क्रेता दुबैलाइ बोलाएर छलफल गर्ने पनि बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सन्तोष श्रेष्ठको उम्मेदवारी

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् । विज्ञापन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ डेढ दशकदेखि आनको गतिविधिमा सक्रिय रुपमा संलग्न छन् । आनको सचिव, महासचिव र अध्यक्ष हुँदै १० वर्षसम्म सफल नेतृत्व सम्हालेका श्रेष्ठले आगामी दिनमा महासंघलाई पनि सवल र शसक्त रुपमा अघि बढाउन पहल गर्ने उद्देश्य अनुरुप उनले उम्मेदवारी दर्ता गरेका बताएका छन् । नेपाली उत्पादनको बजारिकरण र औद्योगिक विकासको लागि संचार माध्यम र विज्ञापनको ठूलो भुमिका हुने र त्यसको लागि आफुले महासंघ भित्र रहेर सक्दो पहल गर्ने उनले बताएका छन् । विशेषगरी विज्ञापन र मिडिया रिसर्चमा राम्रो दख्खल भएका श्रेष्ठले संघमा रहेर पनि थुप्रै सुधारका कामहरु गरिसकेका छन् । सामाजिक कार्यमा बढी चासो राख्ने श्रेष्ठ बागमती सफाइ अभियानमा पनि एक मूख्य अभियन्ता हुन् । चार वर्षदेखि बागमती सरसफाइ अभियानमा संलग्न उनी अन्य सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय रहेका छन् । बागमती सरसफाइ अभियानको प्रचारप्रसार समितिका संयोजक रहेका श्रेष्ठको सरकार र कर्मचारीतन्त्रसँग राम्रो सम्बन्ध छ । नीतिगत सुधारका काममा सरकारसँग सहकार्य गर्न सक्ने क्षमता भएको श्रेष्ठले आगामी दिनमा महासंघ भित्र रहेर व्यवसायी मैत्री ऐन नियम निर्माणका लागि सक्दो पहल गर्ने बताए । कुनै पनि क्षेत्रमा व्यक्ति होइन संस्था बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने श्रेष्ठले महासंघमा पुगेपछि आफ्नो समय व्यवसायी मैत्री वातावरण र व्यवसायी हकहितमै लगाउने जानकारी दिए । ‘महासंघ वलियो भएमात्र त्यसभित्र आवद्ध व्यवसायीहरु सुरक्षित र सक्षम हुने हुन्,’ उनले भने, ‘महासंघमा पुगेपछि मेरो मुख्य भुमिका भनेकै महासंघ सुदृढिकरण र व्यवसायी मैत्री ऐन नियम तर्जुमा गर्न सरकारसँग पहल गर्नेछु ।’

नमस्ते वित्तीय संस्थाको विशेष साधारणसभा वैशाख १५ गते, चैत २८ गते बुक क्लोज

काठमाडौं । नमस्ते वित्तीय संस्थाको विशेष साधारणसभा आगामी वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि चैत २८ गते कम्पनीको बुक क्लोज हुँदै छ । उक्त सभामा कम्पनीले वेष्टर्न डेभलपमेन्ट बैंकसँग मर्जमा जाने प्रस्ताव लैजाँदै छ । जुन प्रस्ताव कम्पनीको १५१औँ कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

महासंघमा गएर अर्थतन्त्रमा नीतिगत योगदान दिन चाहान्छु-हेमराज ढकाल

हेमराज ढकाल, बस्तुगत तर्फको सदस्यका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघ तपाईं कुन कुन व्यवसायमा संलग्न हुनुहुन्छ ? मेरो व्यावसायिक यात्रा सवारी र यसका पार्टस्को व्यापारबाट शुरु भयोको त्यो पनि जापानबाट । त्यसपछि नेपाल आएर मैले कलंकीमा जोयन्ट भेञ्चरमा जापान अटो टेक्नो सेन्टरको पनि स्थापना गरे । त्यहाँ पुराना गाडी ल्याएर आधुनिक प्रविधिहरुबाट ठिक गरेर शोरुममा बेच्ने गरिन्थ्यो । पछि सरकारले पुराना गाडी ल्याउन प्रतिबन्ध लगायो । त्यसपछि मैले झापाको ज्यामीगरीमा रहेको डेढ सय बिगाह जमिनमा चिया खेती गर्न लागेँ । त्यहाँ रुख रोपेर हुर्काउनेसम्मको काम गरियो । सँगसँगै काठमाडौंमा मेरो म्याट्रेसको पनि व्यवसाय थियो । दुईवटा व्यवसायमध्ये कुन चाँहीमा जोड दिने भन्नेमा मलाई दुविधा पर्यो । मैले काठमाडौंमा मेरो परिवार पनि भएकाले म्याट्रेसको कारोबार सम्हाल्नुमै उचित ठानेँ।  मैले म्याट्रेस कारोबारलाई बिस्तार गर्दै गएँ । यो व्यवसायले राम्रो बजार लिँदै गयो र ’हरिटेज कार्पेट, मिठो निद्राको लागि’ भन्दै ब्राण्ड पनि गर्यौ । साथीभाईहरुको साहयताले धेरै कुरा पनि सिकायो । फर्निसिङसम्बन्धी राम्रो ज्ञान पाएपछि मैले बजारमा ‘ननवेभन’ कार्पेट ल्याए । हुन त नेपालमा पहिले पनि कार्पेट त बन्ने गर्दयो । तर ती सबै रिब टाइपको मात्र हुन्थ्यो । त्यसपछि जकार्ड जस्ता विभिन्न फरक किसिमका उत्पादन भित्रिएपछि व्यवसाय फस्टाउदै गयो । जसले गर्दा ६ महिनामै कार्पेट बजारको प्रमुख हिस्सा बन्न सफल भयो । केहि महिना अगाडि थानकोटमा म्याट्रेसमा प्रयोग हुने पोलिथिन फर्मको कारखाना स्थापना भएको छ । पछिल्लो समय हेरिटेजले फर्निसिङसम्बन्धी बस्तुहरुको पनि कारोबार थालेको छु । साथै मैले झापाका केही साथीहरुसँग मिलेर एक्सेल विकास बैंकपनि खोलेको छु । त्यहाँ पहिले सञ्चालक समिति सदस्य थिए, अहिले अध्यक्ष भएको छु । चेम्बर मोमेन्टमा तपाईंको सहभागिता कत्तिको छ ? हाल म श्रीलंका चेम्बर अफ कमर्शमा उपाध्यक्ष छु । एफएनसिसिआईले गर्ने विभिन्न कार्यक्रममा मेरो सहभागिता रहने गरेको थियो । तर प्रत्यक्ष चुनावमा उठेको थिइन । यसपाली पहिलो पटक कार्यसमितिका लागि उम्मेदवारी दिएको पहिलो छु । तपाईको उम्मेदवारी केका लागि ? मैले नेपाल चिया उत्पादक संघको तर्फबाट उम्मेदवारी दिएको छु । सानै देखि म चियाँ उत्पादनमा लागेको मान्छे । किसानदेखि उद्योगीसम्मको अनुभव छ । चिया उत्पादन गर्ने किसान र उद्योगबीच द्वन्द्व चल्ने गरेको छ । विदेशतिर आन्तरिक उत्पादनलाई बढावा गर्ने उदेश्यले सरकारले किसान र उद्यमीका लागि प्रोत्साहन गर्छन् । नेपालमा यस्ता कुराहरु अल्झिएका छन् । सरकारसँग बसेर सहमति त भएका छन् तर कार्यान्वयन भएको छैन । सोह्रवटा जिल्लामा चिया उत्पादन भएको छ । तीन सय अर्ब भन्दा बढी लगानी छ र एक लाख भन्दा बढीले रोजगारी पाएका छन् । यो अन्तराष्ट्रियस्तरमा निर्यात हुने उत्पादन हो । महासंघले सबै कुरामा ध्यान पुर्यारउन नसकेको हुनसक्छ । यसका लागि अलग्गै सचिवालय गठन गरेर यसको निर्यात प्रर्वद्धन तथा प्रत्साहनका लागि केहि गर्न सकिन्छ की भनेर मैले उम्मेदवारी दिएको हो । शेखर गोल्छाको टिम नै किन रोज्नु भयो ? मलाई शेखर गोल्छा टिमको सम्मिश्रण नै चित्त बुझेको हो । शेखर गल्छा आफै पनि व्यवासायद्वारा १६/१७ हजार जनालाई रोजगारी दिइरहनुभएको छ । औद्योगिक पूर्वाधार भित्र्याउनलाई उहाँमात्र नभई उहाँका पूर्वजको पनि योगदान छ । आर्थिक वृद्धि र रोजगारी श्रृजनामा पनि विशेष योगदान पुर्यावउने पारिवारिक पृष्ठभूमिका गोल्छा आफैमा पनि सफल व्यापारी हुनुहुन्छ । उहाँ मलाई भिजन भएको व्यक्तित्व लाग्छ । त्यस्तै उमेशलाल प्रधानको पनि पारिवारिक, व्यवासायिक तथा राजनीतिक पृष्ठभूमि राम्रो मानिन्छ । उहाँ मिलनसार प्रवृत्तिको सफल व्यापारी हुनुहुन्छ । ईतिहासकै पहिलो महिला अध्यक्ष भवानी राणापनि हुनुहुन्छ । त्यसैले यो टिम मलाई ठिक लाग्यो । दिनेश श्रेष्ठ पनि अत्यान्तै मिलनसार, एफएनआईसीलाई अत्यान्त धेरै समय दिन सक्ने र काम गर्ने व्यक्तिको रुपमा चिनिनु भएको छ । चन्द्र ढकाल रेमिट्यान्स क्षेत्रको पायोनियर नै हुनुहुन्छ । ग्लोबल आइएमइ बैंकको अध्यक्ष पनि हुनुहुन्छ । चन्द्रागिरी हिल केबलकार बनाउनु भयो । राष्ट्रिय अर्थतन्त्रमा उहाँको पनि ठूलो लगानी छ, योगदान छ । उहाँ जस्ता लगानीकर्ताको योगदानले महासंघमा राम्रो टिम बन्छ भन्ने सोचले नै मैले यताबाट उम्मेदवारी दिएको हो । तपाईले व्यवसायिक व्यक्तिहरुसँग के भनेर भोट माग्नु भएको छ ? भोट माग्न सजिलो छैन । एउटै मानिसलाई मनाउन पनि घण्टौं लाग्छ । किनभने उहाँहरु नेताको पनि नेता हुनुहुन्छ । त्यसै त त्यहाँ पुगिदैन । वस्तुगत संघको अध्यक्ष हुनु आफैमा ठूलो योगदान गरेका व्यक्ति हुनुहुन्छ । मैले त आफैले पनि विभिन्न बाधाअड्चनहरुलाई झेलेर चियादेखि म्याट्रेस, कार्पेटसम्ममा सफलपूर्वक व्यवसाय सम्हाल्दै आएको छु । मैले संकटकाल, भूकम्प र नाकाबन्दी जस्ता समस्या बावजुद पनि आफ्नो व्यवसायलाई जोगाउदै यहाँसम्म पुर्यायएको छु । जीरो लेबलदेखि संघर्ष गर्दै आएको छु । व्यवसाय त स्थापना गरे । एफएनसिसिआइ संस्थामा रहेर नीतिगत तवरमा काम गर्न सकिन्छ । सरकारले तीन सय अर्ब खर्च गर्न नसकेको तथ्यांङ्क छ । महासंघको पहल पनि कम हुन गएको हुनसक्छ । म पनि महासंघको टिममा परे भने केहि योगदान गर्नसक्छु भन्ने ठानेको छु । रेमिट्यानसले नै हाम्रो जिविकोपार्जन चलेको छ । यो दीर्घकालिनरुपमा त चल्दैन । आर्थिक क्रान्ति र सम्बृद्धिका कुरा गरिएपनि काम केहि भएको देखिदैन । सायद महासंघको पनि केहि कमीकमजोरी भयो होला । यसमा पनि केहि योगदान दिन सकिन्छ कि भन्ने मेरो सोच हो । एउटा व्यक्तगत प्रसंग जोड्न चाहन्छु  । तपाईंको दाजु चण्डीराज ढकाल महासंघको अध्यक्ष भएर पनि बाहिरिएको धेरै समय भएको छ । तपाईं महासंघमा किन ढिला प्रवेश गर्नुभयो ? अरुले छोरा र नातेदारलाई युवा अवस्थामै महासंघमा प्रवेश गराएको देखिन्छ । पहिलै नै आउन मलाई गाह्रो थिएन । तर म जबसम्म सक्षम हुन्न, महासंघमा आउनुहुदैन भन्ने सोचँे । कसैले नबोलाएको पनि होइन । अहिले पनि चुनावी प्रकृयाबाट त्यो पनि गाह्रो मानिएको वस्तु गतमा आउदैछु । अरु सजिला बाटाहरु नभएका होइनन् । त्यसैले दाई या बुवाको नाम लिएर भन्दा पनि आफ्नो बलबुताले आफै सक्षम भएर आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएकाले ढिलो भएको जस्तो लाग्छ ।

आजदेखि इटहरीबाट पनि सेयर कारोबार शुरु

काठमाडौं । सुनसरीको इटहरीबाट पनि सेयर खरिद बिक्रीको कार्य शूरु भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्जको अनुमति पछि बोकर नं ४७ निभ सेक्युरिटीजले आइतबारबाट सेयर कारोवार शुरु गरेको हो । हाल ५० वटा सेयर ब्रोकर कार्यरत रहेका छन् भने ५० वटै शाखा खोल्ने तयारी छ । शाखा विस्तार सगैँ नेपालभरीबाट लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सहज हुने छ । असार मसान्त सम्म सबै ब्रोकरले शाखा खोली सक्ने नेपाल स्टकले जानकारी दिएको छ ।

६० मत ल्याएर चुनाव जित्छुः पाण्डे

शंकर प्रसाद पाण्डे, बस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार बस्तु तर्फको उपाध्यक्षको उम्मेदवार बन्नु भएको छ, के के छन एजेण्डा ? मैले दुई कार्यकाल महासंघको केन्द्रिय कार्य समिति सदस्यको जिम्मेवारी पुरा गरिसकेको छु । दुबै कार्यकालमा बस्तुगत संघकै प्रतिनिधित्व गरेको हुँ । नेपाल पश्मिना उद्योग संघको अध्यक्ष भैसकेको छु । अहिले पनि शिल्क एसोसियसन अफ नेपालको अध्यक्षका रुपमा आफ्नो जिम्मेवारी बहन गरिरहेको छु । नेपालमा बस्तुगत तर्फका सदस्यहरुको समस्या के हो ? उनीहरुका लागि के के गर्ने भन्नेबारे मसँग लामो अनुभव छ । निर्यात प्रवद्र्धनका क्षेत्रमा पनि मैले लामो समयदेखि काम गर्दै आएको छु । महासंघको केन्द्रमा बसेर बस्तुगत संघहरुका लागि राम्रो भूमिका खेल्दै आएको छु । अहिले बैंक, फाइनान्स र इन्स्योरेन्स समितिको सभापतिका रुपमा महासंघमा काम गरिरहेको छु । मसँग बस्तुगत संघलाई अघि बढाउने स्पष्ट योजना छ । विगतमा मैले महासंघमा खेलेको भूमिका र आगामी दिनमा मैले निर्वाह गर्न सक्ने भूमिकाका लागि बस्तुगत तर्फका साथीहरुले यी एजेण्डाका आधारमा मलाई चुन्नु हुनेछ भन्ने अपेक्षा गरेको छु । जित्ने आधारचाँही केलाई देख्नु भएको छ ? मेरो इतिहास नै मेरो जित्ने आधार हो । महासंघको केन्द्रमा पुगेपछि कसले के काम गर्यो भनेर हेर्नेहरुले मलाई मतदान गर्छन् । अर्थात अघिल्ला दुई कार्यकालमा मैले निर्वाह गरेको भूमिका नै मेरो जित्ने आधार हो । मैले बस्तुगत क्षेत्रको पहिचान, अस्थित्व र भूमिकाका लागि आफ्नो सम्पुर्ण शक्ति खर्च गरेको छु । त्यसकारण नै यतिबेला मलाई ६० भन्दा बढि बस्तुगत संघका साथीहरुले सघाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  इतिहासको मुल्यांकन गर्नेहरुले मलाई सघाउँछन् । म ६० मतका साथ विजयी हुनेमा निश्चिन्त छु । चुनाव जितेपछि के के गर्ने योजना बनाउनु भएको छ ? मैले आफ्नो स्पष्ट योजना अघि सारेको छु । महासंघमा बस्तुगत संघको पहिचानलाई अझै उचाईमा पुर्याउने छु । हाम्रो एकतालाई अझै बजबुत बनाउने छु । सरकारसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने छु । बस्तुगत सदस्यहरुसँगको आन्तरिक छलफल र समस्याहरुको समाधानको पहलकदमी लिनेछु । कुन बस्तुगत संघको के बिशेषता हो त्यसका आधारमा उनीहरुलाई के सहयोग गर्न सकिन्छ अनि त्यस्तो सहयोग दिने निकाय कुन हो ? त्यसको पहिचान गरेर कार्यक्रमहरु अघि बढाउनेछु । बस्तुगत संघहरु निर्यात जन्य उद्योगका प्रतिनिधी पनि हुन, तपाई ती सबैको नेता बन्दै हुनुहुन्छ, निर्यात बढाउने योजना चाँही के के छन् ? महासंघमा बस्तुगत संघको उपाध्यक्ष भनेको बहुआयामिक क्षेत्रको प्रतिनिधी हो । आइटीदेखि, पश्मिना, देखि गलौँचा, फेल्ट, माछा, कपडा, बिस्कुट, चीनी, शिल्क, औषधी सबै उद्योगहरुको साँझा थलो हो यो । यो बिबिधताको उचित सदुपयोग गरेर मात्रै हामी आफ्नो पहिचान कायम गराउन सक्छौं । निर्यातजन्य सबै जसो उद्योेगहरु यसै अन्तर्गत पर्छन् । यो क्षेत्रको प्रवद्र्धनले मात्रै तिब्रगतिको आर्थिक विकास र समृद्धि सम्भव छ । हामीले निर्यात प्रवद्र्धनका लागि नगद अनुदानको दायरालाई थप फराकिलो पार्दै लैजानु आवश्यक छ । त्यसका अलवा उद्योगहरुको उत्पादन लगात घटाउने र नयाँ शिप तथा प्रबिधी भित्र्याउने तर्फ पनि ध्यान दिनुपर्छ । हाम्रा उत्पादनहरुको गुणस्तर अभिवृद्धिदेखि अन्तराष्ट्रिय बजारसम्म पहुँच विस्तारलाई पनि ध्यान दिनुपर्छ ।