विकासन्युज

एक बर्षसम्म आएन पेट्रोलियम खानी अन्वेषणको चिनियाँ रिपोर्ट

काठमाडौं । एक बर्ष अघि अर्थात गत अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । सो टोलीले ती खानीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । चिनियाँ टोलीले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका थिए । तिनै नमुनाको परिक्षणबाट सो क्षेत्रमा प्रयोग गर्न सकिने पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक अनौपचारिक रिपोर्ट चीनले गत असोजमै नेपाल पठाएको पनि थियो थियो । त्यस्तो रिपोर्ट आएपछि उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई आधिकारीक रिपोर्ट उपलब्ध गराउन आग्रह गर्दै पत्र लेख्यो । चाइना जिओलोजिकल सर्भेले थप अध्ययन भैरहेको जानकारी दिएको थियो । लामो समयसम्म चीनले कुनै औपचारिक जानकारी नगराएपछि नेपालले फेरी अर्काे पत्र पठायो तर पनि चीनले कुनै प्रतिक्रिया जनाएको छैन् ।‘हामीले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई २ पटकसम्म पत्र लेखिसक्यौं, तर उनीहरुले रिपोर्ट अझै पठाएका छैनन’, उद्योग मन्त्रालयका एक अधिकारीले भने । नेपालले पुस दोश्रो साता चीनलाई पहिलो पत्र लेखेको थियो भने चैतमा पुनः अर्काे पत्र पठाएको पनि उनले जानकारी दिए । उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक रिपोर्ट सकारात्मक रहेको बताउँदै औपचारिक रिपोर्टका लागि आग्रह गरिएको बताउँदै आएका छन् । पत्रमा थप अनुसन्धानका लागि पनि चिनियाँ टोलीलाई आग्रह गरिएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो ।

एनसिएम मर्चेन्ट बैंकिङ्गको नाम अब सनराईज क्यापिटल लिमिटेड

काठमाडौं । सनराईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । रत्नराज बज्राचार्यको अध्यक्षतामा बसेको उक्त विशेष साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरी “सनराईज क्यापिटल लिमिटेड” नामांकरण गर्ने निर्णय पारित गरियो । साथै कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्घि गरी जारी पूँजी २० करोड तथा चुक्ता पूँजी १० करोड कायम गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा पे्रषित दफाहरु संशोधन गर्ने सम्बन्धमा यस विशेष साधारण सभामा सर्वसम्मतबाट पारित गरेको छ ।

धितोपत्र बोर्डले भन्यो-स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ बैशाख २६ अघि नै बांडफांड गर्नु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ बैशख २६ गतेभित्रै बाडफाँट गरिसक्न निर्देशन दिएको छ । बजारमा लागनी योग्य पुँजीको अभाव रहेको भन्दै बोर्डले शुक्रबार निष्काशन बन्द भएको मितिले ५० दिनभित्रै बाडफाँट गर्न बिक्रि प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो । स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ निष्काशन चैत ४ गते बन्द भएको थियो । सो मितिले ५० दिनभित्रै बाडफाँट गर्न बोर्डले निर्देशन दिएपछि बैशाख २६ अघि नै बाडफाँट हुने भएको हो । स्ट्याण्डर्डको एफपिओ बाडफाँट भएमा २ लाख २५ हजार लगानी कर्ताको ३८ अर्ब रुपैंयाँ बजारमा आउनेछ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १४० लाख कित्ता एफपिओ निष्काशन गरेको थियो । ३ अर्ब ३० करोड ६ सय रुपैंयाँको एफपिओको निष्काशन चैत १ देखि आरम्भ भएर ४ गते बन्द भएको थियो ।

कहिले साटिन्छन् ५०० र १००० दरका भारु ? राष्ट्र बैंक भन्छ-जवाफ कुरिरहेका छौं

काठमाडौं । चैत दोश्रो साता रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)को टोलीले प्रतिव्यक्ति ४५ सयसम्म ५०० र १००० हजार दरका भारु साटिदिने प्रतिवद्धता गरेको थियो । तर नेपाल राष्ट्र बैंकले दुई देशबिचको सम्झौता अनुसार कानुनी मानिएको २५ हजारसम्म भारु साट्न पाउनु पर्ने अडान राख्यो । आरबिआईले ४५ सय भन्दा बढि भारु नसाट्ने अडान कसेपछि अन्ततः नेपालले त्यसैलाई स्विकार गर्न बाध्य भएको छ । नेपाल राष्ट्र बैंकले अप्रिल १३ तारिखका दिन आरबिआईलाई पत्र लेखेर ५०० र १००० दरका ४५ सय रुपैंयाँ साट्ने निर्णय सहितको पत्र पठाएको थियो । तर आरबिआईले अझै त्यसको जवाफ दिएको छैन् ।‘हामीले अप्रिल १३ तारिखका दिन पत्र लेखेर ४५ सय साट्न तयार रहेको जानकारी गराएका छौं, आरबिआईले पत्र आइपुगेको जानकारी दिएको छ तर जवाफ पठाएको छैन, हामी जवाफ कुरिरहेका छौं’, नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले विकासन्युजसँग भने । ढुंगानाका अनुसार तत्कालका लागि ४५ सय रुपैंयाँ साट्ने र त्यस लगत्तै थप २०५०० रुपैंयाँ साट्नका लागि दबाव दिने रणनीतिमा केन्द्रिय बैंक पुगेको हो ।‘तत्कालका लागि ४५ सय साट्ने र त्यस लगत्तै थप सटही सुबिधा लागि कुटनितिक लबिङ बढाउँदा उपयुक्त हुने निष्कर्षसहित अघि बढेका छौं’, ढुंगानाले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ९ देखि एक हजार र पाँच सय दरका भारु कारोबार रोक लगाएको घोषणा गरेका थिए । कालोधन नियन्त्रण योजना अन्तर्गत मोदी सरकारले नोटबन्दीको घोषणा गरेको थियो । जसको असर नेपाल, भुटान लगायतका देशभा पनि परेको छ । नेपाल–भारत सम्झौता अनुसार दुबै देशका नागरिकले एक अर्काे देशको २५ हजार रुपैंयाँसम्म राख्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेपालले २५ हजार भारु सटही सुबिधा पाउनुपर्ने अडान राख्दै आएको छ । भारु सटहीबारे छलफल गर्ने नेपाली टोली एक पटक भारत गएको थियो भने भारतीय टोलीले २ पटक नेपाल आएर सघन छलफल गरिसकेको छ ।

गणगोरको आउटलेट कमलादीमा, कोलकताको स्वाद चाख्न पाइने

काठमाडौं । कोलकाताको गणगोर फुड्स एण्ड सर्भिसेज प्रालिले काठमाडौंको कमलादीमा शाखा विस्तार गरेको छ । कम्पनीले नेपालमा पहिलोपटक बिस्तार गरेको गणगोर फुड्स एण्ड सर्भिसेज एउटा ‘फ्रेन्चाईज’ हो । शतप्रतिशत शुद्ध शाकाहारी फ्रेन्चाइजमा शुद्ध घिउबाट मिठाई बनाइने कम्पनीले जनाएको छ । गणगोरमा कोलकत्ताका प्रसिद्ध ८० प्रकारका मिठाई, २० प्रकारको नम्किन, ड्राइफुड, इटालियन कफी ‘बस्स्तिा’ उपलव्ध हुने कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त फुड्स एण्ड सर्भिसेजमा काम गर्ने कामदार पनि कोलकाताकै मदर संस्थाले नै पठाइदिएको छ । तर उनीहरुले नेपाली कामदारलाई एक वर्षसम्म तालिम दिएर फर्किनेछ । हाल कमलादीस्थित गणगोर फुड्स एण्ड सर्भिसेजमा ४० जना कामदार रहेका छन् । करिब पाँच करोड रुपैयाँ लगानीमा स्थापना भएको गणगोरमा ३० जना क्षमताको कन्फ्रेन्स हल, १ सय जनासम्म क्षमताको बर्थडे हल र १५ वटा डिलक्स रुमकोसमेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले वैशाख १२ र १३ गते मातातीर्थ औंसीमा १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीका सल्लाहकार निशान्त जोगाइले जानकारी दिए । कम्पनीका अनुसार ३३ बषअघि कोलकात्तामा दर्ता भएको गणगोर भारतमा १० भन्दा बढी शाखा रहेका छन् ।

जहाजमै साढे दुई अर्ब खर्चदैँ यति एयरलाइन्स, २ वटा एटीआर ७२ जहाज ल्याउँदै

काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरलाइन्सले जहाज थप्नमै करिब साढे दुई अर्ब रुपैयाँसम्म खर्च गर्ने भएको छ । यो वायुसेवाले एटीआर ७२—५०० नामका ७२ सिट क्षमताको जहाज उक महिनाभित्रै ल्याउने भएको छ । जहाज ल्याउने र उडान गर्ने समय तय भैसकेको छ, अब जहाज लिने समयलाई मात्रै आन्तरिक प्रक्रिया पूरा गरेर लिने दिन तय गर्नु बाँकी रहेको यति एयरलाइन्सका बरिष्ठ अपरेशन निर्देशक गोविन्द पौडेलले जानकारी दिए । उनका अनुसार २ वटा ७२ सिट क्षमताका एटीआर जहाज ल्याउने र भएका २९ सिट क्षमतको जेटस्ट्रीम भने विस्तारै विस्थापन गर्दै जाने योजना तय भइरहेको उनको भनाइ छ । बजारको आवश्यकता ठूला जहाजमा भएको र आन्तरिक उडानका विमानस्थल पनि स्तरोन्ती हुँदै ठूला जहाज उडान योग्य हुन थालेकोले पनि यतिले आफ्नो रणनीति क्षमता धेरै भएका वायुसेवातर्फ मोडेको पनि उल्लेख छ । यो वायुसेवाले मेको तेस्रो सातासम्म जहाज ल्याइसक्ने भएको छ । उनका अनुसार यो जहाजको उत्पादनै अरुभन्दा महंगो भएकोले नयाँ नभएर केही समय उडेको जहाज खोजिएको छ । जहाज तय पनि भैसकेको छ । यति स्रोतका अनुसार एउटा ८ वर्ष र अर्को ९ वर्ष पुरानो जहाज फेला परेको छ । सो जहाज नयाँको अहिको बजार मूल्य एउटैको डेढ अर्ब रुपैयाँ छ । यतिले जहाज तय गरेको र संगापुरसम्म जहाज बिक्रेतालाई नै ल्याइदिने र त्यहाँबाट यति आफैंले ल्याउने तय गरेको छ । हाल यो वायुसेवासँग ५ वटा २९ सिट र एउटा ३० सिट क्षमताको जेट स्ट्रीम जहाज उडाइरहेको छ । यो वायुसेवाले जहाजको उडान क्षमता बढाउन ७२ सिट क्षमतको जहाज ल्याउने लागेको बताएको छ । यो वायुसेवासँगै स्थापना भएको बुद्ध एयरले एटीआर ७२ मात्रै ४ वटा पुर्याईसकेको छ । यो वायुसेवासाग हाल ७ वटा एटीआर रहेको छ । एटीआर जहाज मार्फत नै ५८ प्रतिशत बजार हिस्सा ओगट्न सकेकोले पनि यही वायुसेवासँग प्रतिस्पर्धा गर्ने गरी अरु निजी वायुसेवाले पनि आफ्नो रणनिित बनाउने गरेका छन् । मन्त्रालयका अनुसार यो वायुसेवाले ७२ सिट क्षमताका चार वटा एटीआर जहाज ल्याउन अनुमति पाएको छ । हजाज ल्याउन अनुमति पाएको ६ महिनाभित्रै जहाज ल्याउनुपर्ने सर्त मनत्रालयले तोकेको छ । यसले भने पहिले २ वटा ल्याउने र बजारको आवश्यकता बढाएर पुनः थप गर्दै जाने जानकारी दिएको छ पौडेलले यतिसँग भएको जेटस्ट्रीमलाई विस्थापन गर्नेकै लागि एटीआर ल्याउन लागिएको बताएका छन् । उनका अनुसार एटीआर चलाउँदै जाने र भएका जहाज नयाँ गन्तव्यमा चलाउने वा विक्री गर्ने भन्ने विषयको टुंगो जहाज आएपछि मात्रै लगाउने पनि उल्लेख छ । यति एयरले हाल काठमाडौंबाट पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, भद्रपुर, तुम्लिङटारसहितका सहरी क्षेत्रका (सुगम गन्तव्यमा)मा नियमित उडान गरिरहेको छ । यो वायुसेवाले ताराका ७ वटा जहाजमार्फत विभिन्न दुर्गम क्षेत्रका पहाडी गन्तव्यमा पनि उडान गरिरहेको छ । थप भएका जहाजले पनि भएकै गन्तव्यमा उडान गर्ने पनि यो वायुसेवाले जानकारी दिएको छ ।

वासिंगटन डिसीमा नेपालको प्रशंसा, आइडीए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने विश्व बैंकको उद्घोष

चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा गरिएको छ । बिहीवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाई बधाई दिएका थिए । बैठकमा नेपालको आर्थिक विकासलाई अझ तिब्र पार्न सहयोग गर्न आइडीए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने निर्देशक एन्डिन जानकारी दिए । बिश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) कार्यक्रम अन्र्तगत बिकासोन्मुख देशहरुलाई सहयोग गर्दै आएको छ । थप सहयोगले सन् २०१८ मा नेपालकोे आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालय अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले बताए  । सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर चिरञ्जीवी नेपाललाई नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोले नेपालका अर्थमन्त्री कृष्णवहादुर महरालाई बधाई सुनाइदिन आग्रह गरेका छन् ।

म्यादी प्रहरीलाई ७३,६०० रूपैयाँ तलब सुविधा दिने मन्त्रिपरिषद्को निर्णय, साढे तीन लाखको बीमा

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले म्यादी प्रहरीहरूको पारिश्रमिक निर्धारण गरेको छ । सरकारले म्यादी प्रहरीले ५५ दिनको पारिश्रमिक ५१ हजार रुपैयाँ पाउने गरी तलव निर्धारण गरेको हो । सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेको प्रधान मन्त्री तथा मन्त्री परिषद् कार्यालयले जानकारी दिएको छ । निर्वाचन अविधभर शान्ति सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । आवश्यक तालिम दिएर गृह मन्त्रालयले म्यादी प्रहरीलाई सम्बन्धित मतदान केन्द्रमा खटाउने छ । यसका साथै निर्वाचनमा खटिँदा म्यादी प्रहरीले सात दिन थप विशेष भत्ता पनि पाउने छन् । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । त्यसरी नै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने निर्णय गरेको छ । साथै म्यादी प्रहरीले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । अघिल्लो चुनावमा पोशाक नपाएको भन्दै म्यादी प्रहरीले गुनासो गरेपछि पोशाक बराबर सो रकम दिने निर्णय गरेको हो । निर्वाचनका बेला खटिने म्यादी प्रहरीका लागि सरकारले दुर्घटना र स्वास्थ्य गरी तीन लाख ५० हजारको बीमाको व्यवस्था समेत गरेको छ । उक्त अवधिमा कुनै दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि निर्वाचन अवधिभर ५५ दिनका लागि प्रति म्यादी प्रहरी २ लाख बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरेको हो । साथै, उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने निर्णय पनि भएको छ ।