फोरजीका उपभोक्ता साढे पाँच लाख, कहाँ कहाँ विस्तार हुँदैछ फोरजी ?
काठमाडौं । फोरजीका उपभोक्ता साढे पाँच लाख पुगेका छन् । नेपाल टेलिकमले गत पुस १७ गतेदेखि ३६ करोडको लागतमा चौथो जेनेरेशनको फोरजी सेवा आरम्भ गरेको थियो । प्रत्येक महिना करिब एक लाख भन्दा बढि फोरजीका उपभोक्ता थपिँदै आएको देखिन्छ । सुरुमा काठमाडौं र पोखरामा पोष्टपेड मोबाइलमा मात्रै आरम्भ गरिएको सेवा अहिले प्रमुख शहरहरुमा विस्तारको तयारी भैरहेको छ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार हाल फोरजीका उपभोक्ता ५ लाख ४१ हजार ५०० पुगेका छन् । तीमध्ये ४ लाख ७१ हजार प्रिपेडका उपभोक्ता छन भने ७० हजार ६ सय पोष्टपेडका उपभोक्ता छन् । टेलिकमले काठमाडौंमा ३०८ र पोखरामा २५ वटा बिटिएस टावर मार्फत सेवा आरम्भ गरेको थियो । हाल काठमाडौंमा ७९ वटा टावर थप्ने काम अघि बढेको टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । टेलिकमले हुवावे टेक्नोलोजीको प्राबिधिक सहकार्यमा फोरजी सेवा आरम्भ गरेको हो । अब कहाँ कहाँ जाने ? टेलिकमले देशका १५ वटा उप महानगरपालिका फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए । धरान, बिराटनगर, इटहरी, जनकपुर, बिरगञ्ज, हेटौँडा, बुटवल, नेपालगञ्ज, धनगढी, लगायत १५ वटै उपमहानगर पालिकामा फोरजी सेवा विस्तारका लागि टेण्डर आव्हानको तयारी भैरहेको अधिकारीले जानकारी दिए । उपमहानगरपालिकापछि अन्य ठुला शहरमा पनि फोरजी सेवा विस्तार हुनेछ ।
हुण्डाईको ३ एस सेन्टर बिराटनगरमा
बिराटनगर । बिराटनगरमा हुण्डाईको ३ एस सेन्टर सञ्चालनमा आएको छ । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बिराटनगरमा सेल्स, सर्भिस र स्पेयर पार्टसको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बिराटनगरस्थित रोयल अटो वल्र्ड प्रालीलाई ३ एस सेन्टरका रुपमा विकास गरिएको हो । रोयल अटोका भिमप्रसाद पौडेल र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ३ एस सेन्टरमा ५ वटा गाडीको शोरुम, उत्कृष्ठ प्राबिधिकहरु एयर कन्डिसन र वाइफाइ सुविधा रहेको छ । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले उपत्यका बाहेक पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।
भोली रिद्धि सिद्धिमा गहना किन्दा भारी छुट
काठमाडौं । न्युरोडको बिशाल बजारमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले बैशाख १५ गते(भोली) गहना खरिदमा भारी छुट दिने भएको छ । रिद्धि सिद्धिले विगतमा १० बर्षदेखि बैशाख १५ गते अर्थात अक्षय तृतियाका दिन सुन चथा हिराको गहना खरिदमा भारी छुट दिँदै आएको थियो । अक्षय तृतियाको दिनलाई नेपालीहरुले घरमा सुन चाँदीका गहना भित्र्याउने पवित्र अवसरका रुपमा लिँदै आएको ज्वेलर्सले बताएको छ । रिद्धि सिद्धि ज्वेलर्स नेपालकै पहिलो आइएसओ ९००१ः२००८ प्राप्त सुन तथा हिराको पसल हो । ज्वेलर्सका सञ्चालक नरेन्द्र कुमार गुप्ताले अक्षय तृतियालाई बिशेष पर्वका रुपमा मनाउँदै आएको र सोही अवसरमा उपभोक्तालाई छुट सुबिधा उपलब्ध गराएको बताए ।
सिजीका नयाँ एयर कुलर र फ्यान नेपाली बजारमा
काठमाडौं । सिजीका नयाँ एयर कुलर र फ्यानहरु नेपाली बजारमा भित्रिएका छन् । सिजीको डिजर्ट कुलर र पर्सनल कुलरमा बिभाजन गरिएका एयर कुलर बजारमा आएका छन् । यस्ता एयर कुलरलाई आइस च्याम्बरमा बिभाजन गरिएको छ भने पावरफुल मोटर तथा फ्यान जडान गरिएका छन् । कम्पनीले सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, वाल फ्यान, टेबल फ्यान ल्याएको हो । टेबल फ्यान मात्रै १२ वटा मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी फ्यानहरु रिपोट र नन रिमोट दुबै मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । डिलरहरुले गर्मी याम सुरु भएसँगै सिजीका फ्यान तथा एयर कुलरहरुको माग अध्याधिक बढेको बताएका छन् ।
कुल गार्हस्थ्य उत्पादनमा रियल स्टेटको योगदान ६० अर्ब ३९ करोड, निर्माण क्षेत्रको ४५ अर्ब ६७ करोड
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) मा रियल स्टेट तथा व्यावसायित सेवाबाट ६० अर्ब ३९ करोड योगदान पुग्ने अनुमान गरिएको छ । सहरी क्षेत्रमा घरजग्गाको कारोबारमा भएको बढोत्तरी तथा व्यावसायिक कारोबारमा आएको बृद्धिका कारण जीडीपीमा यसको योगदान बढ्ने देखिएको हो । कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ९ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । घरजग्गा कारोबारमा आएको बृद्धिका कारण गएको वर्षभन्दा यस वर्ष यो क्षेत्रको जीडीपीमा ३ अर्ब २ करोडले योगदान बढेको छ । गएको वर्ष जीडीपीमा घरजग्गा तथा व्यवसायिक क्षेत्रबाट ५७ अर्ब ३७ करोड योगदान पुगेको थियो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर भएपनि जग्गाको कारोबार गर्ने बढेपछि जीडीपीमा यस क्षेत्रको योगदान पनि बढेको हो । साथै भूकम्प र नाकाबन्दी पछि नवनिर्माण तथा पूर्वाधारका क्षेत्रमा राज्य तथा सरकारका क्षेत्रबाट ठूलो लगानी हुँदा एक वर्षमा पौने पाँच अर्बले बढेको छ । जीडीपीमा यस क्षेत्रको योगदान ७ दशमलव १८ प्रतिशत रहने अनुमान विभागले गरेको छ । गएको वर्षमा यस क्षेत्रको जीडीपीमा ४० अर्ब ९० को योगदान रहेकोमा यस वर्ष ४५ अर्ब ६७ करोड पुगेको छ । यस क्षेत्रको उत्पादनमा बढ्नुमा निर्माण तथा पुनर्निर्माणका कामहरूले गति लिनु, मेलम्ची खानेपानी, माथिल्लो तामाकोशी, बबई, रानी जमरा कुलेरियाजस्ता ठूला आयोजनामा निर्माण कार्यको काम तदारुक्ताको साथ अघि रहेको भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए ।
सुर्या लाईफको १० प्रतिशत बोनस र १० बराबर ४ कित्ताको हकप्रद सेयर
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बैशाख १३ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३४ लाख ५३ हजार ९ सय ४७ रुपैंयाँ नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । सोही बैठकले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । बीमा समितिको स्विकृतिपछि सुर्या लाइफले हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाउने छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउनु पर्ने नयाँ व्यवस्था अघि सारेपछि सुर्या लाइफले बोनस र हकप्रद सेयर सम्बन्धी निर्णय गरेको हो ।
एनसीसी बैंकको विशेष साधारणसभा रोकियो, नियमित साधारणसभा नगरी पटक पटक विशेष साधारणसभा गर्न नपाइने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले जेठ १५ गते बेलाएको विशेष साधारणसभा स्थगित भएको छ । वार्षिक नियमित साधारणसभा नगरी पटक पटक विशेष साधारणसभा गर्न नमिल्ने निर्णयसहित कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक रुपमा गर्नु पर्ने नियमित साधारणसभा गर्न निर्देशन दिएपछि एनसीसी बैंकले विशेष साधारणसभा रोकेको हो । बैंकले नियमित रुपमा गर्नु पर्ने वार्षिक साधारणसभा नगरेको १ वर्षभन्दा बढी समय भएको, गत असार मसान्तमा पनि विशेष साधारणसभा गरेको, फेरी विशेष साधारणसभा बोलाएकोले त्यसाे गर्न नमिल्ने कम्पनी रजिष्ट्रार कार्यालयको प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी बताए । बैंकले नियमित साधारणसभा नगरि पटक पटक विशेष साधारणसभा गर्न लागेको, केही सेयरधनीको विरोधमा उजुरी अाएकाे जानकारी दिदै कानुनी रुपमा समेत पटक पटक विशेषसाधारणासभा गर्न नमिल्ने देखिएकोले विशेष साधारणसभा रोक्न निर्देशन दिएको उनले बताए । बैंकले असार मसान्तसम्ममा पुँजी बढाएर ८ अर्ब रूपैयाँ बनाउनै पर्ने केन्द्रीय बैंकको समय सीमा रहेकोले छिटो हकप्रद सेयर निष्काशन गर्नु पर्ने जनाउँदै विशेष साधारणसभा बोलाएको थियो । बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको थियो ।
जथाभावी सूचना नचुहाउन संगठित संस्थालाई बोर्डको चेतावनी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जथभावी सूचना नचुहाउन संगठित संस्थाहरुलाई सचेत गराएको छ । नेप्सेमा सूचिकृत संस्थाहरुले सेयर बजारलाई प्रभाव पार्नेे खालका सूचनाहरु जभाभावी सार्वजनिक गरेको भन्दै बोर्डले आपक्ति समेत जनाएको छ । बोर्डले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेर संचालक समिति, साधारण सभा/विशेष साधारण सभाबाट आधिकारिक निर्णय हुनु अगाडी नै कम्पनीका अध्यक्ष÷संचालक तथा प्रमुख कार्यकारी अधिकृत सहितका उच्च स्तरका कर्मचारीले सूचना चुहाएर सेयर बजारलाई प्रभावित पारेको भन्दै त्यस्तो गतिबिधी रोक्न भनेको हो । जथाभावी सूचना प्रवाह हुँदा सेयर बजारका लगानीकर्ताहरु प्रभावित भई धितोपत्रको बजार मूल्यमा असर पर्नुका साथै लगानी कर्तालाई नोक्सानी भएको पनि बोर्डको निष्कर्ष छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई आधिकारिक व्यक्तिबाट मात्र त्यस्त सूचना सार्वजनिक गर्न निर्देशन दिएको छ । सो निर्देशिका अनुसार नगरेमा बोर्डले सम्बन्धित कम्पनीको धितोपत्रको कारोवार रोक्का गर्ने लगायतका कारबाही गर्ने चेतावनी पनि दिएको छ ।