दामी र हामीनिटको पर्व लक्षित अफरमा कपडा किन्दा ७५ प्रतिशतसम्म छुट
काठमाडौं । दामी र हामीनिट इन्डस्ट्रिजले पर्वकाे अवसर पारेर दशैंको खुशी बाँडौं अफरको मेला आयोजना गरेको छ । ५ सयदेखि १५ सयसम्मको कपडाको खरिदमा ७५ प्रतिशत सम्म छुट अफर ल्याएको छ । ५ हजारभन्दा माथिको खरिदमा एउटा आकर्षक गिफ्ट ह्याम्पर दिने कम्पनीले जानकारी दिएको छ । केएल टावरको तेस्रो तल्लामा रहेको हामीनिटले महिला तथा पुरुषका लागि ऊलन कपडा, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल ,जिन्स पाइन्ट, टाउजर, साथै, वच्चाहरुका कपडालगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ । हामीनिट ब्राण्डले छिटो समयमा नै लोकप्रिय ब्राण्डको रुपमा नेपालीका माझमा आफुलाई परिचित गराउदै लैजाने उद्देश्यका साथ आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताए । यो मेला भदौ २९ देखि असोज १३ गते सम्म केएल टावर चावहिलमा मेला जारी रहने कम्पनीले जनाएको छ ।
एनआईसी एशियाको २१ प्रतिशत लाभांश पास, सञ्चालक समिति सर्वसहमतिमा निर्वाचित
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सो सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४ लाख ४८हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै, बैंकको साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल, रामचन्द्र संघाईलाई निर्वाचित गरेको छ । त्यस्तै, सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा राजेन्द्रप्रसाद अर्याल, विनोद कुमार प्याकुरेल, आदित्यकुमार अग्रवाल सर्वसम्मतिमा सञ्चालक पदमा निर्वाचित भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिएका छन् । यसअघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो । साथै, साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतिले चयन गरेको छ । बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
प्राधिकरणमा पिपिएका लागि जलविद्युत् आयोजनाको चाङ
काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब छ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन् । गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन । ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन् । वर्षाको समयमा बढी विद्युत् उत्पादन गर्ने तर हिउँद लागेपछि कूल जडित क्षमताको ३० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन गर्न सक्ने सामथ्र्य राख्ने ती आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने कि नगर्ने भन्ने बारेमा प्राधिकरणले हालसम्म कुनै निर्णय गर्न सकेको छैन । सरकारले जलाशय, अर्धजलाशय र नदी प्रवाहमा आधारित आयोजना भनी तीन तहमा वर्गीकरण गरेको छ । प्राथमिकता सूची निर्धारण गर्दा जलाशय र अर्धजलाशयलाई नै प्राथमिकता दिएको छ । बढी माग हुने समयमा विद्युत् दिन नसक्ने आयोजनाभन्दा बढी विद्युत् दिन सक्ने आयोजना नै प्राथमिकतामा रहेको सरकार र प्राधिकरणको बुझाइ छ । सोही बुझाइका कारण छ हजार मेगावाट क्षमता बढीका आयोजना प्रतीक्षा सूचीमा रहेका छन् । प्राधिकरणले केही समय पहिले लिऊ वा तिर टेक अर पे प्रावधानका आधारमा सम्झौता गर्दै आएको थियो । विगतमा लिऊ र तिर टेक एण्ड पे प्रणाली कायम हुँदा ऊर्जा उद्यमी मारमा परेका थिए । विद्युत् आयोजना बनाए पनि बनाउ नबनाए पनि नबनाउन विद्युत् आवश्यक परेमात्रै खरिद गर्छौं भन्ने मान्यताले काम गरेको उनीहरुको भनाइ थियो । तर, सरकारले आवेदन दिएकालाई लिऊ वा तिरको रणनीतिका साथ सम्झौताको प्रक्रिया अगाडि बढाएपछि रहँदै आएको समस्या समाधान भएको थियो । पछिल्लोपटक नदी प्रवाहमा आधारित आयोजनाको तीन हजार ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजनासँग पिपिए गरिसकिएको र सोही आधारमा नै नयाँ सम्झौता गर्न नसकिने भन्दै प्राधिकरणले तत्कालका लागि सम्झौता स्थगित भएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका अहिले पनि छ हजार मेगावाट क्षमताभन्दा बढी नदी प्रवाहमा आधारित आयोजना सम्झौताका लागि आवेदन आएको बताए । उनले सञ्चालक समितिले नयाँ निर्णय नगराएसम्म र नयाँ गुरुयोजना नबनाउँदासम्म तत्काल सम्झौता हुन नसक्ने बताए । “सम्झौता त हुन्छ, तर एउटा मोडालिटी आवश्यक पर्यो । कार्यविधि नबन्दासम्म हामीलाई सम्झौता गर्न अप्ठ्यारो परेको छ”, उनले भने । सरकारले सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने रणनीति अगाडि सारेको छ । तर सम्झौता नै हुँदैन भनेर बस्नु चाहीँ गलत भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंको भनाइ छ । यस्तै बिहीबार पत्रकार सम्मेलन नै आयोजना गरेर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले १० वर्षमा १२ हजार मेगावाट विद्युत् खपतको कार्ययोजना बनाएको जानकारी दिनुभएको थियो । विद्युत् विकास विभागले सर्वेक्षण, उत्पादन तथा निर्माणको अनुमित लगातार दिइरहेको सन्दर्भमा प्राधिकरणले मात्रै विद्युत् खरिद सम्झौता रोक्दा त्यसबाट नकारात्मक प्रभाव पर्न सक्ने भन्दै सरोकार भएकाहरुले आपत्ति जनाएका छन् । “दैनिकजसो ऊर्जाको माग बढ्दै गएको छ, त्यसलाई सम्बोधन गर्न पनि बढीभन्दा बढी विद्युत् उत्पादन गर्नैपर्ने बाध्यता छ, तर सरकारकै निकायका बीचमा कुरा बाझिँदा समस्या पर्न सक्छ”, अध्यक्ष गुरागार्इंले भने । कर्णाली अञ्चलको जाजरकोटबाहेक अन्य जिल्लामा विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेको छैन । शहरी क्षेत्रको विकास र विस्तार भइरहेको सन्दर्भमा प्राधिकरणले सहजरुपमा विद्युत् उपलब्ध गराउने हो भने तत्काल नै पाँच हजार मेगावाट विद्युत् खपत हुन सक्छ, त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता छ । प्राधिकरणकै प्रक्षेपणलाई आधार मान्ने हो भने पनि वर्षेनी १५ प्रतिशतका दरले ऊर्जाको माग बढ्दै गएको छ । सम्झौता गरिएकामध्ये हाल तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । त्यसमा स्वतन्त्र ऊर्जा उद्यमीका आयोजना नै बढी छन् । सरकारले सामान्यरुपमा सहजीकरण मात्रै गर्ने हो भने आगामी दुई वर्षभित्र ती सबै आयोजना सञ्चालनमा आउन सक्छन् । तर वन, जग्गा प्राप्ति र स्थानीयस्तरमा पैदा हुने अनावश्यक समस्याका कारण धेरैजसो आयोजना ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार’मा परिणत भएर बसेका आयोजनालाई अगाडि बढाउन पनि पिपिए जरुरी देखिने सरोकारवालाको भनाइ छ । रासस
बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान
पोखरा । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए । पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा ३ हजार ६ सय रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २ सय र विदेशीका लागि ९७ डलर कायम गरिएको छ । यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए । रासस
ताम्राकार मोबाइल कम्प्लेक्समा अवलोकनकर्ताको भीड, साँढे सात करोडभन्दा बढीको कारोबार
काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा अवलोकनकर्ताको घुइँचो लागेको छ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको बताए । लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा लक्की ड्र मार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक , ब्लुतुथ हेडफोनको लक्की ड्र मार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए । हरेक बर्ष जस्तो यो बर्ष पनि दशैँ देखि तिहार सम्म हरेक दिन लक्की ड्र मार्फत हरेक दिन मोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको छ । मोबाइल मेला अवधिभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वान प्लस, एमआइ, लेनेभो लगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार भइरहेको कम्पनीले जानकारी दिएको छ । बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौंका २ रुटमा ५० यात्रु क्षमताका बस मात्रै, ३५ टेम्पो र २६ माइक्रोलाई अन्तै स्थानान्तरण
काठमाडौं । राजधानीका २ वटा रुटमा ५० सिट क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा राजधानीका २ वटा रुटमा ५० यात्रु क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने नयाँ रुट छनौट गरेर सञ्चालनको तयारी गरेको हो । १० करोडको लागतमा १७ देखि २५ वटासम्म अपांग मैत्री बस सञ्चालन गर्ने तयारी अन्तिम चरण पुगेको हो । त्यसका लागि दिगो सार्वजनिक यातायात प्राली कम्पनीको ५ प्रतिशत, एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिनेछ । त्यसमा शहरी विकास कोषले ८० प्रतिशत ऋण दिनेछ । दिगो सार्वजनिक यातायात प्रालीले भने आफ्नो भागमा परेको ५० लाख रुपैंयाँ जम्मा गरिसकेको कम्पनीका सचिव लालप्रसाद गुरागाइँले जानकारी दिए । ‘३५ वटा टेम्पो र २६ वटा माइक्रोहरुका तर्फबाट ५० लाख रुपैंयाँ जम्मा गरिसकेका छौं, शहरी विकास कोषसँग असोज ३ गते ऋण सम्झौताको तयारी भैरहेको छ’, दिगो सार्वजनिक यातायात प्रालीका सचिव गुरागाईँले भने । कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि सहुलियत ऋण दिन लागेको हो । | ऋण सम्झौता भएको ४ महिना भित्रै बस सञ्चालनमा ल्याइसक्ने योजनासहित काम अघि बढेको पनि उनले बताए । बस गुड्ने रुट यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । यी टेम्पो र माइक्रो स्थानान्तरण गरेर उपत्यका भित्रै अर्काे रुटमा पठाईनेछ । ‘एडिबीको सहयोगमा काठमाडौं दिगो शहरी यातायात योजनाले एस ५ नामको रुटलाई ठूला बस मात्रै गुड्ने नयाँ रुटका रुपमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको हो’, योजना प्रमुख खड्गलाल श्रेष्ठले भने । उनका अनुसार रुटको अध्ययन र यात्रु क्षमता हेरेर नै योजना अघि सारिएको हाे । ‘हामीले एडिबीसँग मिलेर यात्रुको आवागमन, रुटको भौतिक पुर्वाधार र लगानी र लगानी उठ्न लाग्न अनुमानित समय सबै अध्ययन गरेपछि पाइलट प्रोजेक्ट अघि बढाउने निष्कर्षमा पुगेका हौं’, श्रेष्ठले सुनाए । ६४ रुटको पहिचान एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।
केएल टावरमा मोबाइलको मेगा मेला, बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने
काठमाडौं ।राजधानीकाे केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गर्ने कम्पनीले जनाएको छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र १ जनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर बिजय लामाले गरेको कम्पनीले जानकारी दिएको छ । केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर लामाले एस ८ प्लस हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरि, बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बेसडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् । दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् । यसको साथै मेलामा ६० प्रतिशतसम्म छुटका मोबाइल पनि रहेकाले कम्पनीले अफर भित्रको पनि अफर योजना समाबेश गरेको छ । साथै, यो मेगा मेला तिहार सम्म संचालनमा आउने कम्पनीले जानकारी दिएको छ ।
राष्ट्र बैंकमा रहेको भारु साट्न भारतको आनकानी, पत्रचारमा सीमित
काठमाडौं । नेपालको बैकिङ प्रणालीमा रहेका ५ सय र १ हजार दरका भारतीय रुपैयाँ (भारु) साट्न रिजर्व बैंक अफ इन्डिया (आरबीआई) आनाकानी गर्दै आएको छ । भारतले ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि मात्रै नेपालका २ जना प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् । भारु प्रतिबन्धपछि प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल र शेर बहादुर देउवाले भारत भ्रमण गरेका थिए । विभिन्न चरणमा वार्ता र पत्राचार भएपनि आरबीआईले नेपाल राष्ट्र बैंकमा रहेको ७ करोड ८३ लाख भारु साटन ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकले पटकपटक प्रयास गर्दा पनि बैकिङ प्रणालीमा भएको ५ सय र १ हजार दरका भारु साट्न आरबीआईले ढिलाइ गरिरहेको राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । यसअघि नेपालको बैकिङ प्रणालीमा भएको सबै र सर्वसाधारणसंग भएको भारु साट्ने सहमति जनाए पनि अझै पनि प्रक्रिया अघि नबढेको पण्डित बताउछन् । “बैंकमा भएको भारु कहिले साटिने हो अझै निश्चित भएको छैन” उनले भने “आरबीआईले साट्ने भन्दै आएको छ तर अहिलेसम्म साटेको छैन् ।” भारतीय अधिकारीसंग सहमति भएपछि ६ महिना अघि नै अर्थ मन्त्रालयले नेपालीसंग रहेका प्रतिवन्धित ५ सय र १ हजार दरका साढे ४ हजार भारु साट्नका लागि प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । आरबीआई र भारतका वित्त मन्त्रालयका अधिकारीबीच ६ महिनाअघि काठमाडौमा भएको छलफलपछि बैंकमा भएको सबै र सर्वसाधारणको बढीमा साढे ४ हजार भारु साट्ने सहमति जनाएको थियो । सोही आधारमा अर्थ मन्त्रालयले पत्राचार गरी भारु सटहीको प्रक्रिया अघि बढाउन राष्ट्र बैंकलाई पत्रलेखेको थियो । २५ हजार भारु भन्दा बढी भए यसलाई नेपालमा अवैध मानिन्छ । कात्तिक २३ गते प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजारका नोटमा रातरात प्रतिवन्ध लगाएपछि नेपालमा समस्या आएको थियो । नेपाल र भारतबीच भारुमा कारोबार हुने गरेको छ । नेपालले वर्षेनी अर्बो डलर बेचेर खर्बो भारु खरिद गर्दे आएको छ । नयाँ ५ सय र २ हजार भारु नेपालमा अनिश्चित ५ सय र १ हजार दरका भारु प्रतिवन्ध लाएर ५ सय र २ हजार दरका भारु सञ्चालनमा ल्याए पनि भारतले नयाँ नोट कारोबारका लागि स्वीकृति दिएको छैन् । नेपालमा अहिले १ सय र सो भन्दा साना दरका नोटमा चल्ने गरेको छ । ५ सय र २ हजार दरका भारु नेपालमा अझै अवैध ठहरिन्छन् । आरबीआईले सूचना जारी नगरेकाले नेपालमा ५ सय र २ हजार दरका भारु कारोबार अवैध हुने पण्डित बताउछन् । यता खुला नहुदा खुला सीमामा भारुको कारोबार मौलाएको छ । आन्तरिक राजश्व विभागले प्रतिवन्धित भारु नोट नेपालमा काराबोर हुन थालेको जानकारी दिएको छ । विभागले विभिन्न समयमा प्रतिवन्धीत लाखौ भारु बरामद गरेको छ ।