प्रतिबन्धित भारतीय नोट नेपाल भित्रने क्रम बढ्यो, साढे तीन कराेड भारूसहित ५ जना पक्राउ
काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २३ कात्तिकमा गैरकानुनी कारोबार रोक्न भारतीय मुद्रा पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । त्यस क्रममा ५० दिनसम्म सर्वसाधारणसँग भएको नोट बैं कमा जम्मा गर्ने सुविधा दिइएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलमार्फत नेपालमा रहेका भारु पाँच सय र एक हजार दरका नोट साट्ने पहल गरेको थियो । पटक पटक भारतीय रिजर्भ बैंकमार्फत प्रतिबन्धित नोट साट्न पहल गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । बैंकिङ च्यानलमार्फत पैसा जम्मा गर्दा वैध आर्जनको बाटो खोजिने भएकाले कतिपय भारतीय व्यापारीले यस्तो पैसा आपूmसँग राख्दै आएका छन् । ८ जेठ ०७४ मा भारत हरियाणा प्रदेश रोहतक डिस्ट्रिक्ट, थाना पोस्ट अफिस रोहतक ८१३ वडा २, इन्द्रा कोलोनी घर भएका अनिलकुमार सोनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । उनीको साथबाट प्रहरीले ५० लाख ५० हजार रुपैयाँको प्रतिबन्धित नोट बरामद गरेको थियो । अनुसन्धानका क्रममा सोनीले उक्त रकम दिल्लीको चाँदनी चोकका होलसेल व्यापारी रामकुमार अग्रवालले पठाएको बताए । डेराबाट पक्राउ परेका उनी ४ जेठमा नेपाल एयरलाइन्सको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका थिए । उनले आफू काठमाडौंमा पुराना टायर मर्मतको काम गर्दै आएको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ वैशाखपछि प्रतिबन्धित नोटसँग सम्बन्धित पाँच घटना विभागको जिम्मा लगाएको छ । पाँच घटनामा तीन करोड ३९ लाख प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पठाएको विवरणका आधारमा थप अनुसन्धान गरेर विभागले मुद्दा दर्ता गर्दै आएको छ । दुई करोड १६ लाख प्रतिबन्धित भारुसहित पक्राउ परेका अंकुर अग्रवाल र दिनेश अग्रवालले काठमाडौंंमा सटही हुने सुनेकाले भारतबाट विमल मेहतासँग मागेर ल्याएको बयान दिएका छन् । नेपाली र भारतीयसहित १४ जनाको समूह मिलेर भारतबाट ल्याएको नोट गैरीघाटस्थित कमला भण्डारीको डेराबाट बरामद भएको थियो । १५ असार ०७४ मा प्रहरीले सुरक्षा जाँच गर्दा बुद्धनगरबाट पाँच लाख भारुसहित गणेश घिमिरे र तीर्थ पोखरेल पक्राउ परेका थिए । नेपालमा कस्मेटिक सामान आयात गर्दै आएका उनीहरूले भारतमा सस्तो मूल्यमा पाएका कारण भारु ल्याएको बताएका थिए । नेपालमा साट्न सकिन्छ भन्ने सोचका साथ उनीहरूले भारु ल्याएका थिए । विभागका सूचना अधिकारी थपलिया अहिले पनि नेपालमा साटिन्छ भन्दै प्रतिबन्धित भारु ल्याउने क्रम जारी रहेको बताउँछन् । अन्नपूर्ण पोष्टबाट
बाल्ट्राको दुई घरेलु सामान: आरओ र डिप फ्रिजर नेपाली बजारमा
काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राको आरओ र डिप फ्रिजर लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । शुद्ध पिउने पानीको समस्यालाई मध्यनजर गर्दै बाल्ट्राले १२ चरणको शुद्धीकरण प्रक्रिया भएको आरओलाई नेपाली बजारमा भित्र्याएको हो । नेचुरल्ला र ओस्मस नामका दुई मोडलमा उपलब्ध बाल्ट्राको च्इमा क्यान्डल मिनिरल, सेडिमेन्ट कार्बन फिल्टर, एबिएस बडी, आरओ र यसभी का साथ टिडिएस कन्ट्रोल जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । त्यसै गरी बाल्ट्राले डिप फ्रिजर पनि नेपाली बजारमा ल्याएको छ । आर्टिक (बिडिएफ – २०१) र आर्टिक (बिडिएफ- २०२०) गरी दुई मोडलमा उपलब्ध छ । यसमा १००% कप्पर कम्पेर्सर, झिक्नमिल्ने बास्केट, बाहिरी साँचो, भित्रिलाईट जस्ता अन्यविशेषताहरु रहेका छन् । बाल्ट्रा होम एप्लाइन्सेसले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा नयाँ उत्पादनहरु उत्पादन गर्दै आएको छ ।
ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, २९ भदौ । सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकाे छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा यहाँँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको बिस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्रीको केही दिनअघि सम्पन्न चीन भ्रमणका समयमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रअनुसार नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा नेपालको जलविद्युत् क्षेत्रमा थप लगानी भित्रने विश्वास सरकारले लिएको छ । यस्तै मुलुकका विभिन्न नदी जलाधार क्षेत्रमा अध्ययन गर्नसमेत उक्त समझदारीपत्रमा भएको हस्ताक्षरपछि मार्ग प्रशस्त भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्झौता नेपालको सन्दर्भमा महत्वपूर्ण भएको बताए। यस्तै विद्युत् उत्पादन कम्पनीले आयोजना विकासका लागि किमाथांका अरुण, जगदूल्ला, फूकोट कर्णाली लगायतका विद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको समेत सो अवसरमा जानकारी दिइयो । यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी क्षमताको प्रसारण लाइनको संयुक्तरुपमा उद्घाटन भएको समेत सरकारको १०० दिनको प्रगतिमा समेटिएको छ । ती दुवै प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्न सकिने र आगामी हिउँदमा हुनसक्ने विद्युत्को उच्च मागलाई सम्बोधन गर्न सकिने सरकारको विश्वास लिइएको छ । ती प्रसारण लाइन विगत छ महिना पहिल्यै निर्माण भएको भए पनि भारतसँग सम्झौता नहुँदा विद्युत् आयात गर्न सकिएको थिएन । प्रधानमन्त्रीको भारत भ्रमणपछि ती प्रसारण लाइनको उद्घाटन गरिएको हो । रासस
सिद्धार्थ बैंकको नयाँ शाखा पुतलीसडकको शेयर मार्केट कमर्सियल कम्प्लेक्समा
काठमाडौं । सिद्धार्थ बैंकले भदौ २९ गते बिहीबार राजधानीको पुतलीसडकस्थित शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्स्टेन्सन् काउन्टर मार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ । सिद्घार्थ बैंक नेपाल स्टक एकसचेञ्जको क्लियरिङ एण्ड सेटलमेन्ट बैंक हो । सिडिएस र क्लियरिङकोे कार्यालय पनि यहि भवनमा रहेकोले यो शाखाको स्थापनापछि सेयर कारोबार गर्ने ग्राहकहरुलाई कारोबार गर्न सहज र सरल हुनेमा बैंक विश्वस्त रहेको छ । हालै बैंकले शेयर कारोबार सहज र सरल बनाउन सिद्घार्थ मेरो शेयर खाता पनि सञ्चालनमा ल्याइसकेको छ । यस एक्स्टेन्सन् काउन्टर सहित बैंकले हाल देशभर रहेका ७७ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पिओस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
भदौ ३१ गतेदेखि सि.जी. इलेक्ट्रोनिक्स महाकुम्भ मेला सुरु, लक्की ड्र मार्फत उपहार
काठमाडौं । चौधरी ग्रुपले घरायसी सामग्रीको मेला आयोजना गर्ने भएको छ । टंगाल स्थित सि.जी. इलेक्ट्रोनिक्सको सोरुम सि.जी. डिजीटलमा कम्पनीले दशैं तिहारलाई लक्षितगरि महाकुम्भ मेला आयोजना गर्ने भएको हो । कम्पनीको आफ्नै सोरुम भदौ ३१ गते देखि सुरु हुने मेला असोज ७ सम्मचल्नेछ । मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै, खरिद गरेमाआकर्षक नगद छुट तथाउपहारहरु प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । यो मेलामा अन्य आकर्षक कार्यक्रमहरुको रहेको साथै अवलोकन गर्न आउने ग्राहकहरुलाई हरेक दिन लक्की ड्र मार्फत विभिन्न उपहारहरु पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
हिमालयन बैंकले दियो ६ नेपाली फेलोलाई एचबिएल-दायित्व फेलोसिप अवार्ड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले यस वर्ष नेपाली फेलोहरुलाई एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ । यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्याउने बैंकले जानकारी दिएको छ। बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको ५ लाख ४ हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेका छन् । सोही अवसरमा दायित्वका तर्फवाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा पत्र प्रदान गरेका छन् ।
प्रतिनिधिसभा उम्मेदवारले १४ लाख खर्च गर्न पाउने प्रस्ताव
काठमाडौँ, २९ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ । परामर्शमा आयोगका तर्फबाट पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना उम्मेदवारले अधिकतम १४ लाख ४१ हजार ५०० रूपैयाँसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । मतदाता नामावली खरिद १ हजार ५००, सवारी साधन प्रयोगमा ३ लाख, सवारी साधनको इन्धनमा ६० हजार, प्रचारप्रसार सामग्री छपाइमा ५० हजार, ढुवानीमा २५ हजार, आमसभा, गोष्ठी, जुलुसमा ७लाख, अन्य प्रचारप्रसार र विद्युतीय माध्यममा एक लाख, मतदान खर्च ५५ हजार तथा विविध एक लाख ५० हजार गरी १४ लाख ४१ हजार ५०० सम्म खर्च गर्न पाउने प्रस्ताव आयोगले छलफलका लागि अघि सारेको हो । त्यस्तै प्रदेशसभा सदस्यको पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले प्रतिनिधिसभा सदस्यको आधा अर्थात् ७ लाख २१ हजार ७५० निर्वाचन खर्च गर्न पाउने अधिकतम हदको प्रस्ताव गरेको छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आफूले पेश गरेको बन्द सूचीमा उम्मेदवारी दिएको उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार रु दुई लाखका दरले हुन आउने रकमसम्म खर्च गर्नसक्ने आयोगले प्रस्ताव गरेको छ । त्यस्तै प्रदेशसभा सदस्यमा पनि उम्मेदवारको संख्याका आधारमा प्रतिउम्मेदवार १लाख ५० हजारका दरले निर्वाचन खर्च गर्नसक्ने प्रस्ताव आयोगले राजनीतिक दलका बीचमा छलफलका लागि लगेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउने सन्दर्भमा आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने प्रस्ताव अघि सारेको हो । निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने दायित्व भएका राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३० दिनभित्र बिल भरर्पाईसहितको खर्चको विवरण पेश गर्नुपर्नेछ । आयोगले तोकेको हदभन्दा बढी खर्च गर्ने वा तोकिएको अवधिमा खर्चको विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्नसक्ने कानूनी व्यवस्थाका लागि पनि आयोगले प्रस्ताव गरेको छ । आयोगद्वारा गरिएको जरिवाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्नसक्ने कानूनी व्यवस्थाका लागि प्रस्ताव गरेको छ । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गराउन आयोग संवेदनशील रहेको बताए। रासस
नेपालको फुटवल खेल खस्कियो, फिफा वरियातमा १८१ औ स्थान
काठमाडौं । नेपाल फुटवल खेलमा कमजोर हुदै गएको छ । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८१ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १७५ औं स्थानमा रहेको थियो । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र नेपाल एसियाली मुलुक ताजिकिस्तानसँग पराजित भएपछि ६ अंक तल झरेको हो । त्यसबेला नेपाल ताजकिस्तानसंग २–१ ले पराजित भएको थियो । फिफाको नयाँ वरियता अनुसार नेपाल भुटानभन्दा पछि छ भने दक्षिण एसियामा चौथो स्थानमा पुगेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् । फिफाको नयाँ वरियताको शीर्षस्थानमा जर्मनी हुन पुगेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको हो । ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जे्न्टिना चौथो र बेल्जियम पाँचांै स्थानमा छन् ।