विकासन्युज

साढे ५ लाख सञ्चयकर्ताबाट २ खर्ब ४५ अर्ब परिचालन, सबै बचतकर्तालाई सेयर दिन घोषणा

काठमाडौं । कर्मचारी सञ्चय कोषले एक वर्षमा ३० अर्बले लगानीयोग्य रकम बढाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई खर्ब २३ अर्ब ९४ करोड रहेको रकम गत आवमा दुई खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ परिचालन गरेको कोषले जानकारी दिएको छ । कोषले निजामति, जंगी र प्रहरी सेवाका साथै शिषक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका ५ लाख ५० हजार भन्दा बढी कर्मचारीको सञ्चित रकम व्यवस्थापन गरेको छ । ५३ औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन अर्थ राज्य मन्त्री उदयशमशेर जवराले कोषले चालु आवको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम ब्याजको अंशबाट व्यहोरिने गरी स्वास्थ्य सुरक्षा योजना खाका तयार गरी लागु गरिने बताए । सो अवसरमा आर्थिक विवरण सार्वजनिक गर्दै कोषका कामु प्रशासक दीपक रौनियारले सञ्चयकर्ताको सेयर लगानी सुनिश्चित हुने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोषले नाफा मुलक परियोजनामा सेयर लगानी विस्तार गर्ने नीति लिएको उनले बताए । कोषले आर्थिक वर्ष २०७२/७३ को बचतबाट सञ्चयकर्तालाई १२७.९२ करोड मूनाफा प्रदान गर्ने उनले जानकारी दिए । जगेडा कोषमा ६ अर्ब २८ करोड रकम रहेको छ भने अन्य दायित्व तथा व्यवस्था दुई अर्ब ४८ करोड रुपैयाँ रहेको कोषले जानकारी दिएको छ । कुल लगानी दुई खर्ब ४३ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा अनुमानित बचत एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ । हाल कोषले सञ्चित कोषमा आठ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७२/७३को सुरुको सञ्चय कोष मौज्दातको आधारमा सञ्चयकर्तालाई ०.६५ प्रतिशत मूनाफा छुट्टै खातामा लेखांकन गरी उनीहरुको ४० प्रतिशत सेयर लगानी सुनिश्चित हुने गरी कर्मचारी सञ्चय कोष, विद्युत प्रधिकरण, विद्युत उत्पादन कम्पनीद्वारा प्रवद्र्धित बेतन कर्णाली हाईड्रोपावर कम्पनी स्थापना गरेको उनले जानकारी दिए । कोषले माथिल्लो तामाकोशी जलविद्युत परियोजनाका लागि हालसम्म पूँजीकृत सहित १२ अर्ब ६७ करोड ७८ लाख कर्जा प्रवाह गरिसेकेको जानकारी दिएको छ । ४५६ मेगावाटको यो परियोजनाका लागि कोषले १० अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । आव २०७३÷७४ मा कोषले १२५ वटा संस्थाका २५ हजार भन्दा बढी कर्मचारीलाई कोषमा आबद्ध गराएको जानकारी दिएको छ । अघिल्लो आवमा कोषले निजी क्षेत्रका कर्मचारीलाई कोषमा आबद्ध गराई संगठित क्षेत्रमा कोषको दायरा विस्तार गर्ने नीति ल्याएको थियो । वार्षिकोत्सवमा लामो समयसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक र २०७४ को एसईई परीक्षामा सफल हुने कर्मचारीका छोराछोरीलाई शैक्षिक पुरस्कारबाट सम्मानित गरिएको थियो । एप्स सार्वजनिक कोषले सञ्चयकर्ताको सुविधाका लागि ’नयाँ एप्स’ सार्वजनिक गरेको छ । कार्यक्रममा मूख्य सचिव राजेकिशोर क्षेत्रीले सो एप्सको उद्घाटन गरेका छन् ।  एप्सबाट सञ्चयकर्ताले कर्जाकारे जानकारी लिन मिल्ने र युजर प्रोफाइल पनि बदल्न मिल्ने उनले जानकारी दिए ।

स्वाभिमान माईक्रोफाइनान्सले ६ करोड चुक्ता पूंजी पुर्‍याउने, १:२ हकप्रद शेयर जारी गर्ने

  काठमाडौं । स्वाभिमान माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभाले चूक्ता पूंजी ६ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरेको छ । साधारण विद्यमान चूक्ता पूंजीको १:२ अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै संस्थापक शेयरधनीहरुको तर्फबाट श्री सन्तोष नारायण श्रेष्ठ, कैलाश बिकाश बैंकको तर्फबाट श्री कृष्ण प्रसाद अर्याल, श्री मधुसुदन कुमार श्रेष्ठ र श्री गिरिराज पाठकलाई संचालक पदमा निर्विरोध निर्वाचित समेत गरेको छ । संचालक समितिको बैठकले समितिको अध्यक्षमा श्री सन्तोष नारायण श्रेष्ठलाई चयन गरेको छ । हाल कम्पनिको केन्द्रीय कार्यालय तिलोत्तमा न.पा.वडा नं. ६, रुपन्देहीमा स्थापना भएको छ । यस वित्तीय संस्थाले १० वटा शाखा कार्यालय मार्फत लघुवित्त बैंकिङ सेवा प्रदान गरिरहेको छ । संस्थाको २०७४,  भादौसम्म ग्राहक संख्या ३३२८, ऋणी संख्या १८२०, कर्जा १३ करोड, बचत १ करोड ५० लाख रुपैयाँ रहेको छ । साथै संस्थाले चालु आ.ब.मा थप ७ वटा शाखा कार्यालय बिस्तार गर्ने लक्ष्य लिएको छ । कैलाश विकास बैंकद्वारा प्रवर्धित यस कम्पनिमा प्रतिष्ठित उद्मोगी, व्यवसायी, बैंकर तथा चार्टर्ड एकाउण्टेण्टहरुको लगानी रहेको छ ।

दशैं बिदामा विदेश घुम्न जानेलाई ट्राभल कम्पनीका यस्ता छन् ‘टूर प्याकेज’,

काठमाडौँ । पर्यटकीय याम सुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन् । चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका हुन् । यसै सन्दर्भमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचर रिट्रिट टुर एन्ड ट्राभल्स’ले चाडपर्व लक्षित गरेर विशेष ‘टूर प्याकेज’ ल्याएको छ । सेवामा विविधीकरण गर्दै कम्पनीले स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा जाने पर्यटकलाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । पाँच दिन र सात दिनको टूर प्याकेजमा पर्यटकीय गन्तव्य घुमघामसँगै स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले जानकारी दिए। नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्याण्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ । त्यहाँ हाडर्जोनी र नशासम्बन्धी सम्पूर्ण उपचार पाउने छन् । विदेशी पर्यटकका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । कम्पनीले थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गरिरहेको छ । लाजिम्पाटस्थित एमई ट्राभल एण्ड टुरले पनि पर्यटकलाई आकर्षण गर्न ‘भिन्न टूर प्याकेज’ ल्याइएको जनाएको छ । जसमा थाइल्याण्ड, मलेसिया, सिंगापुर तथा युरोपका गन्तव्यमा सेवाग्राहीले विशेष छुट तथा अफर पाउनेछन् । फ्रान्समा रेष्टुराँ व्यवसाय गर्दै आएका गैर आवासीय नेपाली कमलराज अधिकारीले नेपालको पर्यटन क्षेत्रमा लगानी बढाई विदेशी पर्यटक आकर्षण गर्न कम्पनीले नयाँ कार्यक्रम ल्याएको बताए। उक्त कम्पनीका अध्यक्ष रहनुभएका अधिकारीले (माउन्ट एभरेष्ट) समूहअन्तर्गत नेपालको कृषि, हस्पिटालिटी, शिक्षालगायत क्षेत्रमा लगानी सुरु गरिएको बताए । अन्तर्राष्ट्रियस्तरको प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यका साथ होटल व्यवस्थापन र नर्सिङ कलेज पनि चाँडै स्थापना गर्ने कम्पनीको लक्ष्य छ । नेपालका ठूला र नाम चलेका ट्राभल एण्ड टूर कम्पनीले पनि विभिन्न गन्तव्यमा जाने स्वेदेशी तथा विदेशी सेवाग्राहीका लागि आकर्षक अफर ल्याएका छन् । यो याममा विदेशी पर्यटक नेपालका मुख्य पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रामा निस्कने गर्छन् भने धेरै नेपाली विदामा घुमफिरका लागि लोकप्रिय एसिया तथा युरोपका गन्तव्यमा जाने गर्छन् । सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गरी व्यवसायीले पनि सोही किसिमका प्याकेज ल्याउने गरेका छन् । रासस

दशैँका लागि भेडाच्याङ्ग्रा अाउन थाले

बाबियाचौर (म्याग्दी), ३१ भदौ । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा अाउन थालेको छ ।   बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ । भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका विभिन्न ठाउँका व्यापारी खरिदका लागि त्यहाँ पुगेका छन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ । दशैँ तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ । हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिने भएकाले दशैँ तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ । मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा (च्यालु)लाई रु १९ हजार र च्याङ्ग्रालाई रु २५ देखि ३२ हजारसम्ममा खरिद बिक्री भइरहेको बताए । यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशु सेवा कार्यालयको अनुमान छ । मुस्ताङका कृषकले पालेका भेडाच्याङ्ग्रा बजारमा पठाउने क्रम शुरु भएको कार्यालयका योजना अधिकृत आइतबहादुर थकालीले बताए । खाद्य संस्थानले पनि मुस्ताङबाट दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । जोमसोमदेखि बेनीसम्म हिँडाएर ल्याउने भेडाच्याङ्ग्रा बेनीदेखि ट्रकमा राखेर बजारसम्म पु¥याउने गरिएको छ । भेडाच्याङ्ग्रा खरिद गर्नका लागि खाद्य संस्थानको टोली जोमसोम पुगिसकेको छ । गत वर्ष मुस्ताङका कृषकले १३ हजार भेडा र आठ हजार च्याङ्ग्रा निकासी गरेर रु २७ करोड आम्दानी गरेका थिए । रासस

३ अर्ब बढीको सेयर कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता  ३ अर्ब ६१ करोड ५७ लाख १७ हजार रूपैयाँकाे शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्चेन्जका अनुसार कुल १७७ कम्पनीको ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत बढी हो । गत साता १७१ कम्पनीको रु दुई अर्ब ३२ करोड सात लाख ३३ हजारबराबरका ४३ लाख ७७ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन एक हजार ५३०.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५ अंकले बढेर ३२०.७३ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १४ लाख ४० हजार बराबरको कारोबार भएको थियो । यस्तै शेयर संख्याका आधारमा नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । उक्त बैंकको तीन लाख ५४ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता मिर्मिरे माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । रासस

एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन) को अध्यक्षमा उद्यमी भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको उपाध्यक्ष समेत रहेका भट्टले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । एनआरएनले गर्न बाँकी काम आफनो कार्यकालमा पुरा गर्ने उनले जानकारी दिए । आगामी असोज २८ गते एनआरएनको सम्मेलन काठमाडौमा हुने छ । भट्टले आफु अध्यक्ष भएपछि वैदेशिक रोजगारी आपतकालिन कोषलाई सदुपयोग गरी एनआरएनमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गराउने घोषणा गरेका छन् । एनआरएनमा महिला फोरमलाई अझ बढी सशक्त बनाउने, स्टार्टअप फण्डको व्यवस्थाका साथै सामाजिक उद्यमशिलतालाई प्रवद्र्धन र महिला र युवाको सहभागितामा बढाउने उनले घोषणा गरेका छन् । यसैगरी लाप्राक नमूना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड, सामूहिक लगानी परियोजनाको निर्माण, अतिथि देवोभव, वैदेशिक रोजगार कोषको विस्तार, वौद्धिक पलायनलाई रोक्ने र वाहिरिएकालाई स्वदेशमा फर्काउन पहल गर्ने योजना सार्वजनिक गरेका छन् । नेपालमा सञ्चार, मदिरा, होटल र शिक्षालगायत पुर्वाधारको क्षेत्रमा भट्टको लगानी रहेको छ । एनआरएनको समेत लगानी भएको काठमाडौं, कुलेखानी हेटौडा सुरुङ मार्गको निर्माणमा उनले जोड दिएका छन् । सरकाले आयोजनाको लाइसेन्स खारेज गर्न लागेको विभिन्न सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको उनले स्पष्टपारे । उनले सो आयोजना अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

३० कम्पनीमा आवेदन गर्दा जागिर नपाएको ज्याक मा ३८ खर्बको मालिक, कसरी मिल्छ सफलता ?

काठमाडौं । “सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।” यो प्रेरक भनाई हो अलिबाबा डट कमका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । फोब्सका अनुसार उनीसँग ३८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । नेपाली रुपैयाँमा उनको सम्पत्तिको मूल्य ३८ खर्ब ८३ अर्ब रुपैयाँ हुन्छ, जुन नेपालको जीडीपी भन्दा १२ खर्ब रुपैयाँ बढी हो । सन् १९६४ मा चीनको हन्जाउ गाउँको एउटा गरिब परिवारमा जन्मिएका ज्याक मा आज विश्वकै सफल व्यवसायीहरु मध्येका एक मानिन्छन् । उनले यति ठूलो सफलता सजिलै हासिल गरेका भने होइनन् । सफलता हात पार्नु भन्दा अगाडि उनले थुप्रै असफलताका अनुभवहरु सँगालेका थिए । ज्याक मा सानैदेखि पढाईमा त्यति ध्यान दिँदैनथे । यही कारणले गर्दा उनी ४ कक्षामा २ पटक र ८ कक्षामा ३ पटक फेल भएका थिए । त्यसैगरी उनले ग्य्राजुएशनको इन्ट्रान्स एक्जाममा ५ पल्टसम्म असफलता हात पारेका थिए । युवा अवस्थाको हुँदा उनले ३० अलग अलग ठाउँमा जागिरका लागि निवेदन दिएका थिए । तर उनलाई जागिर दिनका लागि कुनै पनि कम्पनी तयार भएनन् । बहुराष्ट्रिय विजाहट केएफसीले एप्लाई गरेका २४ जनामध्ये २३ जनालाई जागिर दिए पनि ज्याक मालाई भने जागिर दिन अस्विकार गर्यो । त्यसपछि ज्याक माले पुलिसमा भर्ती हुने प्रयास गरे तर त्यहाँ पनि उनलाई अयोग्य ठहर गरियो र भर्ती गरिएन । त्यसैगरी हार्वड युनिवर्सिटीमा प्रवेश पाउन उनले १० पटकसम्म प्रयास गरेको भएता पनि ती प्रयासहरु त्यसै खेर गएका थिए । एक पछि अर्को गर्दै धेरै असफलताहरु हात लागेता पनि उनले कहिल्यै हरेश खाएनन् बरु आप्mनो प्रयासलाई जारी राखे । यसै शिलशिलामा सन् १९९९ मा आप्mना १७ जना साथिहरुसँग मिलेर अलिबाबा डट कम नामको ईकमर्स वेबसाइटको शुरुवात गरे । आज यो वेबसाइट संसारको सबैभन्दा धेरै कमाउने ईकमर्स वेबसाइट बन्न सफल भएको छ । फोब्र्सका अनुसार अलिबाबा डट कमले २०१६ अप्रिलदेखि २०१७ मार्चसम्ममा १२ महिनामा २३ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले बढी हो । अलिबाबा सन् २०१४ मा न्यूयोर्कमा जारी गरेको साधारण सेयर (आईपीओ) अहिलेसम्मकै विश्वको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन हो । अलिबाबा डट कमलाई सफलताको शिखरमा पुर्याएर ज्याक मा आज चीनमा मात्र होइन, विश्वमा नै चर्चित उद्यमी बनेका छन् । असफलताबाट कहिल्यै हरेश नखाने स्वभावका यिनै ज्याक माले विभिन्न कार्यक्रम तथा अन्तर्वार्ताहरुमा व्यक्त गरेका केही विचारहरु यस्ता छन् जो लाखौं करोडौं युवाहरुको भविष्य निर्माणका लागि कोशेढुंगा सावित भएका छन् । ज्याक माका प्रेरक विचारहरु १. सबैभन्दा ठूलो असफलता भनेकै हार मान्नु हो । यदी तपाईं हार मान्नुहुन्न भने तपाईंको सामु अर्को एउटा मौका अवश्य आउनेछ । २. यदी तपाईंलाई आफूमाथि भरोसा छ र आफ्नो कामप्रति पूर्ण लगाव छ भने कुनै पनि समस्याले तपाईंको बाटो छेक्न सक्दैन । ३. एकदमै जरुरी कुरा जुन तपाईंमा हुनैपर्छ, त्यो हो–धैर्य । ४. कसैको सफलताबाट सिक्नुभन्दा राम्रो हो उसको गल्तीबाट सिक्नु । किनभने सफल हुने विभिन्न कारणहरु हुन सक्दछन् तर असफल हुने कारण भने समान हुन्छ । ५. आफ्नो कम्पनीमा त्यस्ता व्यक्तिलाई मात्र जागिर दिनुहोस् जो तपाईं भन्दा बढी सक्षम छन् । किनभने त्यस्ता व्यक्तिले मात्र तपाईंको सपना पूरा गर्नमा तपाईंलाई मद्दत गर्न सक्छन् । ६. आफ्नो प्रतिद्धन्दीबाट धेरै कुरा सिक्ने गर्नुहोस् तर नक्कल कहिल्यै नगर्नुहोस् । यदी नक्कल गर्नुहुन्छ भने तपाईंको पतन निश्चित छ । ७. म आफैंलाई खुशी राख्ने प्रयास गर्छु, किनभने मलाई थाहा छ, म खुशी भइनँ भने मेरा स्टाफहरु खुशी हुँदैनन, मेरा शेयरहोल्डरहरु खुशी हुँदैनन् अनि मेरा ग्राहकहरु खुशी हुँदैनन् । ८. पैसा कमाउनका लागि मात्र व्यापार नगर्नुहोस् । बरु समाजलाई सकारात्मक तरिकाबाट कसरी प्रभावित पार्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रीत गर्नुहोस् । यस्तो गर्न सक्नुभयो भने पैसा निरन्तर रुपमै तपाईंको नजिक आइरहनेछ ।

जलविद्युत लगानी तथा विकास कम्पनीले ल्यायो ५ वर्षे योजना, ३२३८ मेगावाट बनाउन ३६ अर्ब लगानी गर्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा यो रकम लगानी गर्ने भएको हो । कम्पनीको व्यवसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ । आउदो ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा ५ अर्ब ९ करोड लगानी गर्ने भएको छ । सरकारी निकायबाट निर्माण गरिने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ आयोजनामा १६ अर्ब २१ करोड र निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले जानकारी दिए । सबै आयोजनामा सहवित्तीयकरणमा लगानी गर्ने छ । कम्पनीसंग हाल १० अर्ब रुपैयाँ मात्र पुँजी भएकाले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषको रकम परिचालनका अतिरिक्त सर्वसाधारणबाट लगानी जुटाउने उनले बताए । सकेसम्म स्वदेशी लगानीमा आयोजना बनाउने तयारी भइरहेको उनको भनाई छ । यस्तै एसियाली विकास बैंक (एडीबी) बाट ५० लाख डलर ऋण लिने तयारी भइरहेको उनले बताए । सरकारले ल्याएको योजनाअनुसार जलविद्युत आयोजना बनाउन खर्बौ रुपैयाँ लगानी जुृटाउनु पर्ने अवस्था रहेको पोखरेलले बताए । स्थापनाको ७ वर्षको अवधिमा कम्पनीले ५४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । यस्तै ५ कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । कम्पनीले हालसम्म १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरी ९० करोड रुपैयाँ लाभांश वितरण गरेको उनले बताए । गत आवमा कम्पनीले ५२ करोड रुपैयाँ खुदनाफा गरेको छ ।