दशैंको अवसरमा टेलिकमले दियाे ८ सेवामा विशेष छुट, हेरौँ कुन कुनमा केके दियो ?
काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा कम्पनीका विभिन्न ८ सेवाहरुमा विशेष छुट उपलब्ध गराएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई उपलब्ध गराएको विशेष छुट निम्न प्रकारका छन् । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म ५०, १००, २००, ५०० र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराएको छ । २. युट्युब डाटा प्याकेज: जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । ३. कम्बो प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने कम्पनीले जनाएको छ । ४. भ्वाइस प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । ५.पोष्टपेड सेवामा बोनस: सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००/१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ । ६. एडिएसएल/एफटिटिएच/वाइम्याक्स अफर: असोज ११ गतेदेखि असोज १८ भित्र अनलिमिटेड र भोलुम बेस एडिएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि असोज १९ गतेसम्म थप गरिएको छ । त्यसैगरी असोज ११ देखि १८ गते भित्र एफटिटिएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि असोज १९ गतेसम्म थप गरिएको छ । ७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा असोज ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिन कम्पनीले जनाएको छ । ८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम(यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने टेलिकमले जनाएको छ ।
कर कानुन पालना नगर्ने ५०९ करदाता कारवाहीमा
काठमाडौं । आन्तरिक राजस्व विभागले कर कानून पालना नगर्ने ५०९ करदातालाई कार्वाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेका छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको जाकारी दिएको छ । भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा ६ दिनमा ३६६ टोलीद्वारा ३ हजार १८६ करदाताको अनुगमन गरेको विभागले जनाएको छ । प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले बजार अनुगमनलाई तिव्रता दिइएको जनाएको हो । अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको हो । अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।
विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैंकको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा चेक किलियरेन्सको काम गर्न भनेको छ । सो दिनमा पनि राजश्व संकलन हुने भएकाले बैंक खोल्न भएको हो । यसअघि अर्थमन्त्रालयले विदाको दिनमा पनि बैंक खोल्न पत्राचार गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
सरकारको निर्णयलाई चुनौति दिँदै खड्का पुगे सर्वोच्च, निर्णय कार्यान्वयन नगराउन माग
काठमाडौ । सरकारले नेपाल आयल निगम लिमिटेडको जग्गा खरिदमा आर्थिक हिनामिना गरेको भन्दै कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका गोपालबहादुर खड्का बुधबार सर्वोच्च अदालत पुगेका छन् । सरकारले बर्खास्त गरेको निर्णयलाई चुनौति दिदै खड्का सर्वोच्च पुगेका हुन् । आफूलाई सफाइ गर्न समेत मौका नदिएको जिकिर गर्दे खड्काले अन्तरिक आदेश जारीको माग गर्दै मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन माग गर्दै रिट दायर गरेका छन् । खड्काले रिट दायर गरेको सर्वोच्चका प्रवत्ता नारायण पन्थीले जानकारी दिए । उनले आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र आउदो ०७५ माघ १२ गतेसम्म कार्यकाल रहेको भन्दै सरकारले गरेको निर्णय गैरकानूनी भएको खड्काको दावी थियो । जग्गा खरिदमा सरकारी जग्गा प्राप्ति ऐन अनुसारको प्रक्रिया पूरा नगरी बोलपत्र आब्हान गरेर उनले जग्गा खरिद गरेका थिए । संसदको उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण सम्बन्ध समितिले अध्ययन गर्दा जग्गा खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित खड्कालाई पदमुक्त सरकारलार्इ सुझाव दिएकाे थियाे । सोमबार विकासन्युजसंग कुरा गर्दे खड्काले न्यायका लागि सर्वोच्च जाने बताएका थिए । (साथै, यो पनि पढ्नुहोस्)
डिशहोमले शुरु गर्यो दुई नयाँ च्यानल, आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिन पाइने
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण शुरु गरेको छ । बुधबार दरबार मार्ग स्थित होटल अन्नपूर्णमा आयोजित एक समारोहमा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण शुरु गरेको हो । कम्पनीका अनुसार डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाईलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलि श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण हुनेछन् । यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रशारण हुनेछ । यस च्यानलमार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुग्ने डिशहोमको विश्वास रहेको छ । डिशहोमका यी नयाँ च्यानलहरु हेर्नको लागि ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिनुपर्ने हुन्छ । बेसिक, मिडियम, डिलक्स र सुपर एच.डी. प्याकेज हेरिरहेका ग्राहकहरुले न्युन रकम थप गरेर बेसिक प्लस, मिडियम प्लस, डिलक्स प्लस वा सुपर एच.डी. प्लस प्याकेज लिन सक्नेछन् । प्लस प्याकेजमा रमाईलो टिभि र एक्सन स्पोर्ट्स च्यानलका अलावा ग्राहकहरुले नेपाली चलचित्रहरु प्रशारण हुने प्लस मुभि, सांगितिक च्यानलहरु, कार्टुन च्यानल तथा अन्य डिशहोमका च्यानलहरु पनि हेर्न पाउनेछन् । नयाँ च्यानलहरु संगै डिशहोमले नेपाली चलचित्रहरु रिलिज भएकै दिनमा घरमै बसेर हेर्न मिल्ने “डिशहोम सिनेमाघर” नाम गरेको सेवा पनि सुरु गरेको छ । यस सेवा अन्तर्गत डिशहोमले धुम-२ र लिला चलचित्र रिलिज भएकै दिन सफलतापुर्वक प्रशारण गरिसकेको छ । डिशहोमको यस सेवा मार्फत नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ मञ्च पाएको र यसबाट आफुहरु निकै उत्साहित भएको विभिन्न नेपाली चलचित्रकर्मीहरुले बताएका छन् । ग्राहकहरुले चलचित्र प्रशारण हुने दिनमा एस.एम.एस पठाएर वा डिशहोम ग्राहक सेवामा फोन गरेर यो सेवा लिन सक्नेछन् । डिशहोमले आफ्नै नयाँ च्यानलहरु निरन्तर थप्दै जाने र कम्तीमा १५ देखि २० वटा सम्म आफ्नै च्यानलहरु बनाउने लक्ष्य राखेको छ । साथै, डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ हजार ९९९ रुपैयाँ पर्ने डिशहोमको हाईब्रिड एच.डी. कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गरी २ हजार ९९९ रुपैयाँमै जोड्न सक्ने कम्पनीले जनाएको छ ।
हिमालयन हाइड्रो एक्स्पो पुस २१ देखि हुने, जलविद्युतमा लगानी जुटाउने लक्ष्य
काठमाडौं । जलविद्युतमा लगानी जुटाउन काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले संयुक्त रुपमा पुस २१ देखि २३ गतेसम्म आयोजना हुने भएको छ । राष्ट्रिय योजना आयोगले एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस र युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टरको सक्रिय सहयोग रहेको छ । एक्सपोमा नेपाल टनेलिङ एसोसियसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ । यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसनले गदैछ । एक्सपोमा ३ सयभन्दा बढी स्टल राखिने भएको छ । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १५० भन्दा बढी विदेशी स्टल रहनेछन् । सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास गरिएको छ ।
महाकाली नदी नियन्त्रणका लागि ४० करोड खर्च गरिने, निर्माणको काम अन्तिम चरणमा
दार्चुला । महाकाली नदी किनारमा तटबन्ध अन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ । यस्तै, प्याकेज नं ७, ८, १० र ११ मा चालु आव २०७४/७५ भित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताए । चालु आवमा तीनवटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ र १५ नं प्याकेजको काम तिहार लगत्तै सञ्चालन हुने देवकोटाको भनाइ छ । “गत आवमा गिट्टी अभावका कारण तटबन्ध निर्माणको काम प्रभावित बन्यो,” देवकोटाले भने । आयोजनाले चालु आवमा ४० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । चालु आवका लागि २८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएकामा १२ करोड रुपैयाँ थप खर्च गर्ने योजना रहेको देवकोटाले बताए । वर्षेनी जिल्लाबाट अन्य विकासे कार्यालयको बजेट काम गर्न नसकी फिर्ता हुने गरेकामा महाकाली नदी नियन्त्रण आयोजनाले भने थप बजेट माग गरी खर्च गर्ने गरेको छ । रासस
पाटन नगरपालिकाको बजेट ४८ करोड, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता
बैतडी । पाटन नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि ४८ करोड ५९ लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम नगरसभाले भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाका सबै वडाका केन्द्रमा सडक पुर्याउने उद्देश्यसहित सडक निर्माणका लागि झण्डै रु तीन करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने र निजी स्रोतका शिक्षकको व्यवस्थापन गर्ने उद्देश्यसहित नगर शिक्षक राख्ने कुरा नगरसभाले पारित गरेको भण्डारीले बताए । यसैगरी, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यचौकी नभएका वडामा स्वास्थ्यचौकी विस्तार गर्न र अनमी राख्न एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । कृषि तथा उद्यमशीलतालाई महत्व दिँदै कृषिका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने नगरसभाले निर्णय गरेको छ । रासस