हकप्रद पनि आश्वा प्रणालीबाटै, प्रमुख सहरका लगानीकर्ताले लिलामीको हकप्रदमा आवेदन दिन सक्ने
काठमाडौं । अब हकप्रद सेयरमा पनि आश्वा प्रणालीबाटै आवेदन दिन सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयरका लागि पनि आश्वा प्रणालीबाटै आवेदन दिन पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएस), सम्पूर्ण धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट वैकर तथा आस्वा सदस्यहरुलाई निर्देशन दिएको हो । बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन आश्वा प्रणालीबाटै आवेदन दिन सक्ने व्यवस्था लागू गर्न भनेको हो । बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरको प्रमुख सहरहरुबाट आवेदन दिन सकिने छ । बोर्डले उपत्यका बाहिरको प्रमुख केन्द्रहरु कम्तिमा विराटनगर, वीरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । बोर्डले धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाई नियमपालनाको अवस्थालाई थप सुदृढ बनाउन नेप्से र सिडिएसलाई परिपत्र गरेकाे छ: १. धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन धितोपत्रको हकप्रद निष्काशनमा आस्वा प्रणालीमार्फत समेत आवेदन गर्न सक्ने व्यवस्था गर्ने । २. बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका वाहिरको प्रमुख केन्द्रहरु कम्तिमा विराटनगर, वीरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्ने । ३. नेप्से र सिडिएसले बाेर्डमा पेश गर्नुपर्ने त्रैमासिक प्रतिवेदनमध्ये प्रत्येक दोस्रो तथा चौंथो त्रैमासिक प्रतिवेदनसँग र धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) ले पेश गर्नुपर्ने अर्धवार्षिक प्रतिवेदनसँग लेखापरीक्षकवाट प्रमाणित नियमपालना प्रतिवेदन समेत वोर्डमा पेश गर्ने व्यवस्था गर्ने भनिएकाे छ ।
रेमिट्यान्स वृद्धिदर रोकियो, अर्थतन्त्रमा अब के हाेला ?
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाह वृद्धि रोकिएको छ । भदौमा रेमिट्यान्स आप्रवाह रोकिएर ०.७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएपछि यसको असर परेको हो । गत वर्ष १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबर रेमिट्यान्स प्राप्त भएको थियो । रेमिट्यान्स आप्रवाह घटेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) घट्ने संभावना छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । रेमिट्यान्स वृद्धिमा ब्रेक लाग्ने क्रमले निरन्तरता पाए मुलुकको विदेशी मुद्रा संचितीमा असर गर्ने अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । यसले आगामी दिनमा गरिवी न्युनीकरण र उपभोगमा असर गर्ने उनको तर्क छ । “अहिले नै यसले खासै असर गर्देन, निरन्तर यो अवस्था रहेमा सरकारले विकल्प सोच्नु पर्ने अवस्था आएको छ” शर्माले भने ।
ग्याँस कमिशन दोब्बरले बढाउन व्यवसायीको माग, माग पूरा नभए वितरण रोक्ने चेतावनी
काठमाडौं । ग्याँस बिक्रेताहरुले ग्याँसको कमिसन दोब्बरले बढाउन माग गर्दै सरकारलाई दबाव दिएका छन् । ग्याँस बिक्रेता महासंघले कमिशन नबढेकोमा आपत्ति प्रकट गर्दै कमिशन बढाउन माग गरेको हो । अहिले ग्याँसको मूल्य प्रति सिलिन्डर १३२५ रुपैयाँ रहेको छ । महासंघले कमिसन प्रति सिलिन्डर ग्याँस मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग अघि सारेको छ । उनीहरुले अहिले प्रतिसिलिन्डर ३२ रुपैयाँ पाउँदै आएको कमिसनलाई ६५ रुपैयाँ बढाउन माग गरेका हुन् । महासंघले आइतबार आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना विभिन्न ७ बुँदे माग पुरा नभए डिलरहरुले सरकारलाई ग्याँस वितरण नगर्ने चेतावनी दिएको छ । गत साउनमा सरकारले कमिशन नबढाई ग्यासको मूल्य कायम गरेकोमा आपत्ती प्रकट गरेको छ । आफ्नो माग सम्बोधन नभए ग्याँसको बिक्री वितरण रोक्ने चतावनी महासंघले दिएको छ । आयल निगममा बिक्रेताहरुले आफ्ना मागसहित ज्ञापनपत्र पेश गरिसकेका छन् । बढ्दो महंगीका कारण अहिले पाइरहेको कमिसन अपुग भएको बिक्रेताको तर्क छ । दिनदिनै भइरहेको मूल्य वृद्धिलाई थेग्न नसक्दा ग्यास व्यवसायी पलायन हुनुपर्ने अवस्था रहेको महासंघको भनाई छ । नेपाल आयल निगमले ग्यासको भाउ बढाउने तर व्यवसायीले पाउने मूनाफा कहिले वृद्धि नभएको उनिहरुले बताएका छन् । उनीहरुको मागअनुसार डिलर कमिसन बढेमा आयल निगमले ग्यासको मूल्य पनि बढाउने निश्चित छ । महासंघले विगत ५ वर्षदेखि सबै उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा कमिसन बढाउनुपर्ने बताएको छ । यो पटक माग सुनुवाइ नभए ग्यासको वितरण समेत ठप्प पार्ने चेतावनी दिएका छन् । साथै व्यवसायीले बिक्रेताको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने माग पनि अघि सारेका छन् । ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने महासंघले सरकारसमक्ष माग राखेको छ । एलपि ग्यास सर्वसाधरणको चुलोमा अतिआवश्यक भएकाले यसमा भ्याट हटाउनुपर्ने उनीहरुको माग छ । देशमा एलपि ग्यासको कुल खपत मध्ये ४० प्रतिशत ठुला घराना र ६० प्रतिशत सर्वसाधारणले प्रयोग गरिरहेको महासंघले जानकारी दिएको छ । ग्यास दुर्घटनालाई न्युनिकरण गर्न डिलरलाई इजाजत दिँदा राम्रो जानकारी भएको र तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने माग अघि सारेका छन् । उपभोक्ताहित प्रतिकुल माग गरेको भन्दै उपभोक्ताकर्मीले ग्यास बिक्रेताको विरोध गरेका छन् । निगम र ग्यास व्यवसायीको आन्तरिक विवादले उपभोक्तालाई प्रतिकुल असर पार्न खोजेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । उनले भने, ‘अहिले व्यवसायीको कमिशन बढाउँदा र ग्यासको वितरण रोक्ने धम्की दिदाँ त्यसको सिधा असर उपभोक्तालाई पर्छ । सर्वसाधारणलाई असर पार्ने किसिमले कमिसन बढाउने र वितरण रोक्ने धम्कीपूर्ण मागप्रति हाम्रो विरोध छ ।’
एशियन लाईफ इन्स्योरेन्स र जनता बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र जनता बैंक नेपालबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन लाईफको प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र जनता बैंकको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । यस मार्फत बैंकका ग्राहकलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सजिलो हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस सम्झौता मार्फत एशियन लाईफका बीमा योेजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग जनता बैंक नेपालका सम्पूर्ण शाखाबाट समेत लिन सकिने छ । एशियन लाईफको हाल ७२ वटा उपाशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् ।
वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई निःशुल्क तालिम दिइने
काठमाडौं । सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न यस तालिम दिन लागेको हो । वैदेशिक रोजगार प्रवद्रधन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो । तालिम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । तालिमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ/गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालिम दिइने उनले बताए । बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर/वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ । यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालिम लिएकाले विदेश गएपछि बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा लिइएको छ । निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यही मध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिए । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालिममा सहभागी हुन उनको आग्रह छ । सकेसम्म सातै प्रदेशमा त्यस्ता तालिम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उनको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीम पश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालिम प्राप्त गर्ने रोजगारीमा जानेछन् । रासस
टेलिकमको जिएसएम सेवा बाजुराको बाधु र बिच्छामा, ४ हजार घरधुरी लाभान्वित हुने
काठमाडौं । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । यो भन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव गुफा, स्वामि कार्तिक र बुढीनन्दा नगरपालिकाको केही भाग, मुगुको सुखाढिक, कोटडाँडा र ह्याग्लु, कालिकोटको पूर्वी भेग, कर्णाली कोरिडोरको केही भेग तथा कोल्टी-रारा पदमार्गमा सेवा उपलब्ध हुनेछ । यसबाट यो क्षेत्रका करिब ४ हजार घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ । त्यसैगरी, बिच्छामा जडान गरिएको बिटिएस मार्फत बाजुराका साविकका बिच्छा, रुगिन, मदना तथा मैला गाविसका करिब ३ हजार घरधुरी लाभान्वित हुने छन् । बाजुराको सदरमुकाम मार्तडीबाट बाधु र बिच्छासम्म बिटिएसका सामान पु¥याउनका लागि कठिन भौगोलिक बनावटका कारण केही भागमा ट्रयाक्टर र भरियाको प्रयोग गरिएको थियो । सदरमुकाम मार्तडीबाट बाधु पुग्न करिब दुई दिन र बिच्छा पुग्न करिब चार दिन लाग्छ । सोलार र भिस्याट प्रविधिको प्रयोग गरी बिटिएस टावर सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमले सेवा शुभारम्भ गरेको अवसरमा सेवा सञ्चालन गरेकै स्थानमा सहज रुपमा निःशुल्क सिम वितरण समेत गरेको छ । स्थानीय सेवाग्राहीहरु सिम प्राप्त गर्नका लागि दुई/तीन दिन हिडेर सदरमुकाम मार्तडी आउनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क सिम वितरण गरिएको हो । आगामी केही समयसम्म निःशुल्क रुपमा सिम उपलब्ध गराउनका लागि गाउँपालिकालाई जिम्मेवारी प्रदान गरिएको छ । हालसम्म कुनै पनि किसिमको सञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत क्रमशः नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीको लक्ष्य अनुरुप यी दुई स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।
‘इएमभी चीप’ पूर्ण रुपले परिपालना गर्नेमा सिद्धार्थ बैंक पहिलो, जोखिम र ठगी न्युनिकरण
काठमाडौं । सिद्धार्थ बैंक इएमभी चीप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रिप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु इएमभी चीप कार्डमा स्तरोन्नति गर्दै आएको थियो । साथै, यसको सफलता सँगै अब बैंकको एटिएम र पीओएसले पनि कार्डमा रहेको इएमभी चीपलाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चीप परिपालना गर्ने बैंक भए पश्चात म्याग्नेटिक स्ट्रिप भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको बैंकले जनाएको छ । साथै, बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउँदै आएको छ । हाल बैंकले १०२ एटिएम, १ मोबाइल एटिएम र ५५० भन्दा बढी पीओएस् मेसिनद्वारा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
ब्याजदर घट्दा पनि बैंकको लागत दोब्बरले वृद्धि, सीईओ भन्छन्-गत वर्षका असर अझै छ
काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) बढेर ब्याज दर घट्न थाले पनि बैंकहरुको पुँजीगत लागत (कस्ट अफ फण्ड) भने उकालो लागेको छ । ३ वटा वाणिज्य बैंकले सार्वजनिक गरको चालु आर्थिक वर्षको अपरिष्कृत त्रैमाशिक वित्तीय विवरणअनुसार लागत दोब्बर बढेर ८ प्रतिशत नाघेको छ । वित्तीय विवरण प्रकाशित गर्ने सानिमा बैंक, सिटिजन्स बैंक र एभरेष्ट बैंकको लागत बढेको हो । वित्तीय विवरण प्रकाशित गर्नेमा सबैभन्दा बढी लागत सिटिजन्सको छ । सिटिजन्सको लागत बढेर ८.०२ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमाशमा सिटिजन्सको लागत ४.३४ प्रतिशत थियो । यस्तै, सानिमाको पनि लागत दोब्बर बढेको छ । चालु आवको पहिलो त्रैमाशमा सानिमाको लागत दोब्बर बढेर ७.४३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा सानिमाको लागत ३.७७ र गत असारमा ५.३५ प्रतिशत थियो । यस्तै, वित्तीय विवरण सार्वजनिक गर्ने एभरेष्टको लागत सिटिजन्स र सानिमाको भन्दा कम छ । असोजसम्म बैंकको लागत बढेर ४.८५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा एभरेष्टको लागत २.३२ प्रतिशत थियो । गत असारमा लागत ४.८२ प्रतिशत भएको एभरेष्टले जनाएको छ । बैंकको लागत बढेपछि यसको असर नाफामा पर्छ । निक्षेपको ब्याजदर बढेपछि लागत बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको भनाई छ । सस्तोमा निक्षेप नपाएसम्म लागत बढ्ने उनीहरुको तर्क छ । हाल बचतको ब्याजदर औसत ८ प्रतिशत रहेको सीईओहरुको भनाई छ । गतवर्ष कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम राख्न बैंकले महंगो ब्याजदरमा निक्षेप उठाउँदा हालसम्म यसको असर देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । निक्षेपको ब्याजदर बढेपछि यसको असर बैंकको लागतमा पर्ने उनको भनाई छ । गत वर्षको असर अहिलेसम्म देखिएको बताउँदै उनले भने “निक्षेपको ब्याज दर पनि कम हुँदै गएकाले घट्ने संभावना पनि त्यत्तिकै छ ।” उनले माछापुच्छे्रको लागत पनि ७.३ प्रतिशतको हारहारीमा रहेको जानकारी दिए । निक्षेपको ब्याजदर घटेर औसत साढे ८ प्रतिशत पुगेको बताउँदै उनले माछापुच्छ्रेको आधार दर अझै १० प्रतिशत रहेको उनले सुनाए । हाल बैंकिङ प्रणालीमा ६३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । लगानी गर्न पुँजीको अभाव नभएको सीईओहरुको भनाई छ । गत वर्ष बजारमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) अभाव भएपछि बैंकहरुले महंगो दरमा निक्षेप उठाउदा लागत दोब्बर बढेको थियो । महंगो दरमा निक्षेप परिचालन गर्दा लागत बढेको सानिमाको सीईओ भुवनकुमार दाहाल बताउँछन् । निक्षेप नबढेसम्म ब्याज दर नघटे्ने र बैंकको लागत बढ्ने उनको तर्क छ । साधारण बचतमा अझै ८ प्रतिशत ब्याज दिइरहेको उनको भनाई छ । बैंकको नाफा बढेपनि वृद्धि दरमा पनि कमी आएको उनी बताउँछन् ।