एनबीआईले सिद्धार्थ बैंकका कर्मचारीलाई विभिन्न तालिमहरु उपलब्ध गराउने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएकाे छ । जसका लागि सिद्धार्थ बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । यी दुई संस्थाले कर्मचारीको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा गरेका छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर गरेका हुन् । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५५० भन्दा बढी पीओएस मार्फत् उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।
त्रिशुली ३ बी आयोजनामा लगानी जुट्यो, नविल बैंकको अगुवाइमा ६ अर्ब ऋण लगानी हुँदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको साझेदारीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाले लगानी जुटाएको छ । नविल बैंकको अगुवाईमा नेपाल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटड र नागरिक लगानी कोषले सहवित्तीयकरण अन्तर्गत ६ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् । बैंक र प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटडेबीच ऋण लगानी गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको प्रवन्ध सञ्चालक मोहन गौतमले बताए । उनले ऋण सम्झौताको तयारी भइरहेको जानकारी दिए । दशैअघि नै त्रिशुली र विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । पीपीए भएपछि बैंकले लगानी गर्न सहमत जनाएका हुन् । लगानी जुट्ने भएपछि आयोजना बन्ने निश्चित भएको छ । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । योजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको गौतमले जानकारी दिए । ‘अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम गरिरहेका छौं’,उनले भने ‘पुसबाट काम सुरु गरी ३ वर्ष भित्रमा सक्ने लक्ष्य राखेका छौं ।’ विद्युत प्राधिकरणसंग भएको पीपीएअनुसार आयोजनाबाट सुख्खायाममा अर्थात मंसिर १६ देखि जेठ १५सम्म १३ करोड ४८ लाख ८० लाख गिगावाट र वर्षायाममा अर्थात जेष्ठ १६ देखि मंसिर १५ सम्म १५ करोड ७७ लाख १० हजार युनिट बिजुली विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश: ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना एक्सिडेन्टल फलो (क्यु) ७० मा डिजाइन गरिएकाले वर्षको ७ महिना आयोजना पुर्ण क्षमतामा सञ्चालन हुनेछ । आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि एको क्यास्केड आयोजना हो ।
वर्षा अघि ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सारिन्छः प्राधिकरण
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तर्क्रिया गरेको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका युवराज भुसालको विकास साझेदारसँग यो पहिलो अन्तर्क्रिया हो । अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गरेका छन् । पुनःनिर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउँदै उनले संगठनात्मक र नीतिगत चरण सकिएकाले अव तीव्ररूपमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरेका छन् । “वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने लक्ष्य छ, यसमा विकास साझेदारको सहयोगको खाँचो छ, पुनःनिर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा पनि विकास साझेदारको सहयोग आवश्यक पर्छ”–उनले भने । विकास साझेदार संस्थाका प्रतिनिधिले पुनःनिर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । संयुक्त राष्टसंघ, युरोपेली युनियन, जपानी सहयोग संस्था जाइका, बेलायती सहयोग संस्था डिफिड, विश्व बैंक, एसियाली विकास बैंक, चीन, भारतलगायतका प्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका थिए । प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा सक्रिय भएका पूर्व प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई विकास साझेदारका तर्फबाट बिदाइ गरिएको थियो । प्राधिकरणले पनि पूर्व प्रमुख कार्यकारी अधिकृत पोखरेललाई आइतबार बिदाइ गरेको थियो । प्राधिकरणमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणका लागि पोखरेलले थुप्रै सकारात्मक काम गरेको भन्दै आफूले यसलाई निरन्तरता दिने बताए । “पुनःनिर्माणलाई यो चरणमा ल्याउन पोखरेलले धेरै मेहनत गर्नुभयो, अव अर्को चरणमा यसलाई थप गति दिएर अघि बढ्ने मेरो प्रयास रहनेछ”-उनले बताए। रासस
सनराइज र नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन, कसको मूल्य कति?
काठमाडौं । सनराइज बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सोमबार यी दुबै कम्पनीको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको पनि सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकिएको छ । यस बैंकको १२ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।
बैंकको कर्जा लगानी ३७ अर्ब ९१ करोड वृद्धि, रियलस्टेट र ओभरड्राफटमा घट्यो, हायर पर्चेजमा बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । कर्जा लगानी बढेर २० खर्ब २४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत असारमा १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी थियो । २ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३७ अर्ब ९१ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको १.८, विकास बैंकको ४.८ र वित्त कम्पनीको १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.१, औद्योगिक उत्पादन २.४, निर्माण ३.०, थोक तथा खुद्रा व्यापार ३.३, सेवा उद्योग २.८, र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०. र १५.२ प्रतिशत थियो । भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत अर्थात ४८ अर्ब २३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ । यस्तै ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । १ करोड ५० लाख रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा ३.८ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा ०.४ प्रतिशतले घटेको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग अवधिमा बढेको छ । गत भदौ मसान्तसम्ममा साधारण पुनरकर्जा ६ अर्ब ४६ करोड र निर्यात कर्जा ६८ करोड १३ लाख गरी ७ अर्ब १४ करोड रुपेयाँ पुनरकर्जा लगानीमा रहेको छ । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधि सम्म ९० करोड ४७ लाख रुपैयाँ उपयोगमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
उद्योगपति विनोद चौधरी काँग्रेसबाट समानुपातिक उम्मेदवार
काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति तथा उद्योगी विनोदकुमार चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । काँग्रेसमा प्रवेश गरपछि उनी समानुपातिक सूचीबाट परेका छन् । लामो समय नेकपा एमालेमा रहेका चौद्यरी काँग्रेसमा प्रवेश गरेका हुन् । एमालेमा रहदा उनी काँग्रेसले लिएको उदार अर्थनीतिको पक्षपाति थिए । वि.सं २०६४ को पहिलो संविधान सभा निर्वाचनमा उनी एमालेले उनलाई समानुपातिक सभासद बनेका थिए । त्यसबेला नाम चलेका धेरै व्यवसायी पार्टीको समानुपातिक सुचिमा परेका थिए । २०७० सालको चुनावमा उनी सभासद भएनन् । चौधरी पुर्वमन्त्री तथा एमालेका नेता भरतमोहन अधिकारीको नजिक थिए । विश्व प्रसिद्ध फोर्बस म्यागेजिनमा अर्बपतिको सूचिमा पर्ने चौधरी नेपालका एकमात्र उद्योगपति हुन् । उनको सम्पत्ति सवा खर्ब रुपैयाँ छ । एमाले र माओवादी गठवन्धन बनेपछि असन्तुष्ठ चौधरी काँग्रेमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसले वृद्ध भत्ता मासिक १० हजार बनाउने, एमालेले उमेर हद घटाउने
काठमाडौं । नेपाली काँग्रेसले वृद्ध भत्ता मासिक प्रतिव्यक्ति १० हजार पुर्याउने भएको छ । काँग्रेसका प्रवत्ता समेत रहेका गगन थापाले बीबीसीको साझा सबालमा बोल्दै भनेका छन्–नेपाली काँग्रेसले आगामी निर्वाचतको तयार गर्दै गरेको घोषणा पत्रमा वृद्धि भत्ता मासिक प्रति व्यक्ति १० हजार पुर्याउने निर्णय गरिसकेको बताए । ‘ मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले बनाउने घोषणा पत्रको मस्यौदामा लेखिसकेको छ, त्यो हट्दैन, घोषणापत्र सँगै त्यो सार्वजनिक हुन्छ’ उनले भने । सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका नेतृ विन्दा पाण्डेले एमालेको घोषणापत्रमा वृद्धवृद्धाको भत्ताको लागि उमेर कम गर्ने तयारी भएको बताइन् । “वृद्ध भत्ता दिने काम गलत थियो, तर अहिले त्यसैका भरमा एमालेले भोट बढाईरहेको छ, त्यसैले अब काँग्रेसले वृद्ध भत्ता र वेरोजगार भत्ता १० हजार पुर्याउने सोँच बनाएको हो,” युवा नेता थापाले भने । “जनता विदेशी लगानी ल्याउछौ, उद्योग खोल्छौ र ठूलो संख्यामा रोजगारी दिन्छौ भन्दा विश्वास गर्दनन्” उनले भने “वृद्धभत्ता बढाउछौ र वेरोजगार भत्ता दिन्छौ भन्दा जनता दङ परेर भोट हाल्छौ भन्ने हामीले किन १० हजार भत्ता नदिने ? । उनले भने “आउने योजनामा हामी १० वृद्ध र वेरोजगारलाई १० हजार रुपैयाँ भत्ता दिने योजना ल्याउदै छौ । यस्तो प्रतिस्पर्धा गलत भएको बताउदै दार्चुलामा गएको बेला पनि यस्तै भएको भन्दै उनले वृद्ध भत्ता ५, हजार पुर्याउछौ ताली १० हजार पुर्याउछौ भन्दा ताली बज्ने गरेको बताए । एउटा ठूलो उद्योगले दिने रोजगारी भनेको ३ हजार भएको बताउदै नेता थापाले वर्षका ४ लाख नयाँ वेरोजगारलाई रोजगारी दिन खर्बो रुपैयाँ लगानी आवश्यक पर्ने बताए । “वृद्ध भत्ता बढाउछु, वेरोगारीलाई भत्ता दिन्छु, शैक्षिक प्रमाणपत्र राखेर ऋण दिन्छु भन्द जनताले भोट दिन्छन भने हामीले किन नदिने ?” उनले भने “हामीले पनि यसपाली ल्याउदै छौ ।” कम्यूनिष्टहरुले ६० वर्षमाथि उमेर पुगेका वृद्ध वृद्धालाई गोलि हानी मार्छन भनेर नेपाली काँग्रेसले २०४८ साल र २०५१ सालको निर्वाचनमा प्रचार गरेको थियो । पछि नेकपा एमालेले सत्तामा पुगेपछि नेपालमा पहिलो पटक वृद्धि भत्ता वितरणको नीति लिएको थियो । तत्कालिन एमाले सरकारले २०५१ सालमा वृद्धवृद्धालाई मासिक एक सय भत्ता दिन सुरु गरेको थियो । हाल वृद्ध वृद्धाहरुले मासिक २ हजार भत्ता पाउँदै आएका छन् । यतिबेला वृद्ध भत्तालाई राजनीतिक दलहरुले भोट बढाउने अस्त्रका रुपमा उपयोग गर्दै आएका छन् ।
सिद्धार्थ बैंकले सामान्य वचतमा ८ प्रतिशत ब्याज दिने
काठमाडौं । सिद्धार्थ बैंकले सामान्य निक्षेपमा दैनिक मौज्दातमा वार्षिक ८ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । सिद्धार्थ स्वर्णिम बचतन नामक योजनामा निःशुल्क क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, इन्टरनेट बैकिङ सुविधा र सिद्धार्थ क्यापिटलको स्मार्ट एप्लिकेसन रहेका छन् ।