बनेपामा सेयर कारोबार बढ्दै, दैनिक १ करोड बढीको किनबेच
बनेपा । खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोकरले कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयरसम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढेको देखिएको छ । “समयको बचत भएको छ र त्यहाँभन्दा बढी सुविधा पाएका छौँ”– बनेपाका सेयर लगानीकर्ता राजकुमार तिमल्सिनाले भने । उनले ७ महिनादेखि सेयरका लागि काठमाडौँ जान बन्द गरेको जानकारी िदए । भिजन सुक्युरिटिज प्रालि (३४), नम्बर ब्रोकर कार्यालय बनेपाका प्रमुख प्रकाश अधिकारीले ग्रामीण क्षेत्रबाट सेयर कारोबार गर्न आउने केही नयाँ सदस्य थप भए पनि अधिकांश पुरानाले नै कारोबार गर्ने गरेको बताए। कारोबार बढेको समयमा त झन दबाब बढी हुन्छ त्यसैले पनि सेयर कारोबारप्रतिको आकर्षण बढी भएको देखाउँछ उनले भने । अधिकारीका अनुसार आइतबार मात्रै बनेपा शाखाबाट १२ हजार ५५० कित्ता सेयरको १ करोड १० लाख ८ हजार १२ रूपैयाँको कारोबार भएको छ । कारोबार भएकामध्ये सबैभन्दा बढी बैंकिङ क्षेत्रको छ । यसबाहेक ४० नम्बर ब्रोकर कार्यालय क्रियटिभ सेक्युरिटिज प्रालि र डायनामिक सेक्युरिटिज प्रालिले पनि यस क्षेत्रमा सेयर कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रका रुपमा रहेको बनेपामा धुलिखेल, पनौती, भक्तपुर पाँचखाललगायतका क्षेत्रबाट पनि सेयर कारोबारका लागि आउने गर्छन् । रासस
केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्चस्तरिय चिनियाँ टोली नेपाल आउँदै
काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गको निर्माण सम्बन्धी छलफल गर्न उच्चस्तरिय चिनियाँ टोली नेपाल आउने भएको छ । चीन सरकारले नेपालसँग भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्र्ग निर्माणका लागि छलफल गर्न यसै साता आफ्नो उच्चस्तरिय प्रतिनिधी मण्डल नेपाल पठाउन लागेको हो । यो पनि पढौं-अघि बढ्यो केरुङ-काठमाडौं रेल, रसुवागढी यात्रा एक घण्टामै प्रतिनिधी मण्डलमा चिनियाँले आफु रेल निर्माणबारे छलफल गर्न नोभेम्बर पहिलो साता नेपाल आउने भएकाले आवश्यक सुरक्षा लगायतको प्रबन्ध मिलाउन दुतावास मार्फत पत्र पठाएको हो । ‘दुई सरकारबिच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरिय चिनियाँ प्रतिनिधी मण्डल एक साता भित्रै नेपाल आउने भनेर खबर आएको छ, हामी आवश्यक तयारी गरेर बसेका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । गत साउन ३१ गते नेपाल भ्रमणमा आएका चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा तत्कालिन अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी हस्ताक्षर गरेका थिए । २०७२ साल चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । उपाध्यायका अनुसार चिनियाँ प्रतिनिधी मण्डलसँग केरुङ–काठमाडौं रेलमार्ग रेलमार्ग निर्माण सम्बन्धी ठोस सम्झौतामा हस्ताक्षर गरेर अध्ययन आरम्भ गर्ने सम्भावना रहेको छ । ‘चीन सरकारले प्राबिधिक सहितको टोली आउने खबर पाएका छौं, हामी पनि तयारीका साथ प्रस्तुत हुन्छौं, सम्भाव्यता अध्ययन अघि बढाउनका लागि सम्झौता हुन सक्छ’, उपाध्यायले भने ।
वित्तीय हस्तान्तरण ऐन आउने
काठमाडौं । स्थानीय तहमा संकलन र खर्च गरिने पर्यटन शुल्क व्यवस्थापनका लागि ‘वित्तीय हस्तान्तरणसम्बन्धि ऐन’ ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले वित्तीय ऐन नबनेसम्म पर्यटन शुल्कका नाममा स्थानीय तहले जथाभावी राजश्व संकलन गर्न नमिल्ने बताए। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ३९ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमको अाइतबार राजधानीमा उद्घाटन गर्दै सचिव न्यौपानेले भने “वित्तीय हस्तान्तरणसम्बन्धी ऐन अर्थ मन्त्रालयले बनाउँदैछ, त्यसले निर्धारण गरेपछि संघीय ढाँचाअनुसार तीन तह – केन्द्र, प्रदेश र स्थानीय निकायले राजश्व संकलन र बाँडफाँड गर्न पाउने व्यवस्था हुन्छ ।” खुम्बुलगायत प्रमुख पर्यटकीय गन्तव्यका विभिन्न गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउँदै आएकोमा मन्त्रालयले पर्यटन शुल्क नउठाउन दुई हप्ताअघि मन्त्रिस्तरको निर्णयबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । तीन निकायले प्रतिपर्यटक २ हजार रूपैयाँसम्म शुल्क लिएका थिए । साे अवसरमा टानका अध्यक्ष चन्द्र रिजालले राजनीतिक अस्थिरताले चाँडो मन्त्री, सचिव फेरिने प्रवृत्तिका कारण पर्यटन क्षेत्रको योजनाबद्ध विकास हुन नसकेको उल्लेख गरे । रासस
नियमविपरित घर बनाउँदै हुनुहुन्छ ? काठमाडौं महानगरपालिका अनुगमनमा आउँदैछ
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले घरघरमा इञ्जिनियर अवधारणा ल्याएपछि नियमविपरीत घर निर्माण गर्नेको सङ्ख्यामा कमी आएको छ । कामपाका इञ्जिनियर राम थापाका अनुसार गत साउन महिनाबाट महानगरभित्र निर्माण हुने सबै घरमा अनिवार्यरुपमा कामपाका इञ्जिनियरले अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । यसरी अनुगमन नियमित हुन थालेसँगै नक्साविपरीत भवन निर्माण गर्नेको सङ्ख्यामा कमी आएको हो । कामपाको ३५ वटै वडामा गरी दैनिक रुपमा तीस जना इञ्जिनियरले निर्माणाधीन घरको अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । निर्माण धनीले कामपाबाट नक्सा पास गरिसकेपछि निर्माणको समयमा आफ्नो इच्छाअनुसारको इञ्जिनियर राखे पनि नियमअनुसार घर निर्माण नक्साअनुरुप अनिवार्य गराउन यो किसिमको अवधारणा ल्याएको कामपाले बताएको छ । खटिएका इञ्जिनियरले दैनिक १० देखि १५ वटासम्म घरको अनुगमन गर्ने गरेका थापाले जानकारी दिनुभयो । अनुगमनका क्रममा नक्सा विपरीत घर निर्माण भएको पाएमा घरधनीलाई बीचमा नै काम रोक्न लगाई थप कारबाहीको प्रक्रियासमेत कामपाले गर्नेछ । अघिल्लो आर्थिक वर्षमा नियम विपरीत घर बनाउनेको सङ्ख्या अत्यन्तै रहेको पाए पनि अहिले भने २० वटा घर निर्माण हुँदा मुस्किलले एक दुईवटाले मात्र नियम विपरीत कार्य गर्ने गरेको पाइन्छ । यसरी निर्माणको शुरुको समयदेखि नै नियमित अनुगमनले गर्दा नियम विपरीत घर निर्माण कमी आएको कामपाको भनाइ छ । गत साउन महिनाभन्दा पहिले निर्माण हुने घरमध्ये ५० प्रतिशत नियम विपरीत हुने गरेको थियो । रासस
अनुकुल मौसम र बिजुली आपूर्तिले कृषि तथा औद्योगिक उत्पादन वृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको कृषि र औद्योगिक उत्पादनमा सुधार भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आवको २ महिनाको आर्थिक परिदृष्य सार्वजनिक गर्दे कृषि र औद्योगिक उत्पादनमा भएको सुधारले अर्थतन्त्र विस्तार हुने अवस्थामा रहेको जानकारी दिएको छ । गत साउन अन्तिम साता तराइमा आएको बाढी र डुवानबाट कृषि उत्पादनमा क्षति पुगे पनि धानबालीमा भएको यसको असर न्यूनिकरण गर्न सरकारबाट चालिएका कदमका साथै पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेकोले कृषि क्षेत्रको वृद्धि हुनु अनुमान केन्द्रीय बैंकको छ । समीक्षा अवधिमा उर्जा आपूर्तिमा सुधार आएको तथा कच्चा पदार्थको आपूर्ति समेत नियमित रहेकोले उद्योगहरुको क्षमता उपयोगमा विस्तार भएको अनुमान गरिएको छ । केही जलविद्युत आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न हुने भएकोले राष्ट्रिय प्रसारणलाइनमा थप विद्युत थप हुने र यसबाट औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा थप सुधार आई औद्योगिक क्षेत्रको उत्पादन बढाउने प्रक्षेपण राष्ट्र बैंककको छ । यस्तै पर्यटनतर्फ होटल वेड अकुपेन्सी दरमा वृद्धि भएको र होटल वुकिङ्ग एवम् होटल तथा रेष्टुरेण्टको दर्ता उत्साहप्रद रहेकोले पर्यटन क्षेत्रको वृद्धि सन्तोषप्रद देखिएको छ । आगामी मंसिर १० र २१ गतेको लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने ठहर राष्ट्र बैंककको छ । निर्वाचनको कारणले उपभोग खर्चमा वृद्धि हुुुने, समग्र आन्तरिक माग बढ्ने र यसबाट उपभोक्ता एवम् लगानीकर्ताको आत्मवलमा सुधार आर्ई आर्थिक वृद्धिलाई गतिशिल गराउने राष्ट्र बैंकले जनाएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकका साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कर्मचारी समायोजन विधेयक पारित भएकाले यसले स्थानिय तहलाई क्रियाशिल गराई पुँजीगत खर्च वृद्धि हुने अनुमान गरिएको छ । मुलुकको समग्र परिसुचक सकरात्मक भएकाले देशव्यापी रुपमै आर्थिक क्रियाकलापहरुमा विस्तार हुने अपेक्षा राष्ट्र बैंकको छ । चालु आवमा सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
उपभोत्ता मूल्यवृद्धि ३.४ प्रतिशत, सबैभन्दा कम राजधानीमा
काठमाडौं । बाढी, पहिरो र डुवानले गर्दा तरकारको मूल्य अकासिएपछि गत भदौमा समग्र मुल्य वृद्धि भएको छ । साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत रहेकोमा भदौमा केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७.९ प्रतिशतको तुलनामा भने समीक्षा अवधिको मुद्रास्फीति कम हो । समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ७.७ प्रतिशत थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.७ र मसलाको मूल्यमा ४.२ प्रतिशतले कमी आएको कारण समग्र खाद्य मुद्रास्फीति अघिल्लो वर्षको भन्दा न्यून रहन गएको हो । समीक्षा अवधिमा तरकारीको मूल्य ८.९ र मदिराजन्य पेय पदार्थको मूल्य ८.८ प्रतिशतले वृद्धि भएको छ । गैर–खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ८.१ प्रतिशत थियो । लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४, तराईमा ३.८, पहाडमा ३.४ र काठमाडौं उपत्यकामा २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.५, तराईमा ७.४, पहाडमा १०.३ र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत रहेको थियो ।
हिमालय एयरलाइन्स ‘एशियाकै प्रभावशाली’ वायु सेवा कम्पनी, १५ विमान थप्ने तयारी
काठमाडौं । नेपालको निजी अन्तराष्ट्रिय वायु सेवा कम्पनी हिमालय एयरलाइन्स दक्षिण एशियाकै प्रभावशाली नयाँ अन्तराष्ट्रिय एयरलाइन्स अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) ले शनिबार मलेशियाको इक्वेटर भिलेजमा आयोजित साटा २०१७ कार्यक्रममा एयरलाइन्सलाई सम्मान गरिएको हो । उक्त समारोहमा गान अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक इब्तिशामा अह्मद साइदले स्वर्ण श्रेणी अन्तरगत ब्राण्ड एण्ड सर्भिस डिपार्टमेन्टका प्रमुख उज्ज्वल डालीलाई सम्मान गरेका थिए । यसले उडानका क्षेत्रमा हिमालयन एयरलाइन्सलाई अघि बढ्न प्रत्साहित बनाएको एयरलाइन्सले बताएको छ । साटा दक्षिण एसियाको पर्यटन क्षेत्रमा पहिलो रिजनल ट्राभल अवार्ड समारोह हो । गत अगष्ट ३१ सम्म अनलाइनमार्फत मतदानको व्यवस्था गरिएको थियो । अवार्ड प्राप्त गर्दै डालीले भनिन्, ‘यो अवार्ड प्राप्त गर्न पाउँदा हामी एकदमै गर्वान्वित भएका छौं । यसले हामीलाई सेवा र सुविधा विकासलाई बढाउन उर्जा प्रदान गरेको छ । हामी यात्रुको सेवाका लागि अहोरात तल्लिन भएर लाग्नेछौं ।’ सन् २०१३ मा स्थापना भएको यो एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी रहेको छ । दोहा, कोलालम्पुर, दुबई र दम्माममा सेवा दिइरहेको यो एयरलाइन्सले ढाका, हङकङ र ब्यांकक् मा पनि सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी केही महिनामा यो एयरलाइनले चीनको बेइजीङ र छेङडुलाई पनि अन्य शहरहरुसँग जोड्ने योजना बनाएको छ । हाल तीवटा एयरबस रहेको यो एयरलाइन्सले आगामी दिनमा १५ विमान थप्ने योजना तयारी गरेको छ ।
टाटा “योद्धाको चुनौती” कार्यक्रम अन्तर्गत राजेन्द्र डंगाललाई योद्धाको साँचो हस्तान्तरण
टाटा “योद्धाको चुनौती” कार्यक्रम अन्तर्गत ग्राहक राजेन्द्र डंगाल, नेपाल ग्याँस (दाँया) अर्का ग्राहक, आक्वा वल्र्डका श्रेष्ठलाई योद्धाको साँचो हस्तान्तरण गर्दै ।