सेयर बजार राताम्मे, नेप्से दोहोरो अंकले घट्दा ५० करोडको कारोबार
काठमाडौं । तीन दिन पछि खुलेको सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन (आइतबार)को बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन परिसूचक १३.४९ अंकले घटेर १५४० अंकमा अडेको छ । दोहोरो अंकले घटेको सेयर बजारमा ५० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ४ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कुल १५८ कम्पनीका १३ लाख ८१ हजार कित्ता सेयरहरु किनबेच भएका छन् । सो दिन कारोबारमा आएका ९ वटै समूहका परिसुचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५८ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३८, उत्पादनमूलक ३७, विकास बैंक १७, हाइड्रोपावर १५ र बैंकिङ समूह १२ अंकले ओरालो लागेका छन् । त्यस्तै, बाँकी रहेका ट्रेडिङ, फाइनान्स र अन्य समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ओरियन्टल होटलको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । उता मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले भने बजार घट्दा पनि ९.७३ प्रतिशत कमाएका छन् ।
आफन्तले दिने उजुरीको सुनुवाइ नहुँदा अस्पतालका अँध्यारा कोठामा लाशको मोलतोल बढ्दो
बिरामीको मृत्युपछि ‘अस्पताल र डाक्टरको लापरवाही’ भनेर हुने हुलदंगा र आफन्तले दिने उजुरीको विधिसम्मत सुनुवाइ नगरिंदा अस्पतालका अँध्यारा कोठामा लाशको मोलतोल गर्ने क्रम बढ्दैछ, कसरी ? २ असोज २०७४ मा मन्त्रिपरिषद्ले उपचारका क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सकले नै तिर्नुपर्ने गरी कानूनको मस्यौदा तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दियो । त्यसको १२ घण्टा बित्न नपाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिए । अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि ९ दिनसम्म हजारौं बिरामी अलपत्र परे । काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा ९ वर्षीया बालिकाको मृत्युपछि जम्मा भएको भिड यसले दुईवटा कुरा सतहमा ल्याइदियो । पहिलो, मन्त्रिपरिषद्ले अचानक उक्त विधेयक तयार पार्ने निर्देशन किन दियो ? दोस्रो, चिकित्सकहरूले ‘जेल विदआउट वेल’ (अभियुक्तलाई धरौटीमा नछाडी सीधै जेल पठाउनुपर्ने) माग किन प्राथमिकतापूर्वक उठाए ? नौ दिनपछि सरकार चिकित्सकहरूका मागमा सहमत भयो र ‘जेल विदआउट वेल’ किटान गरेर कानून बनाउन राजी भयो । सरकारले कानून बनाउन निर्देशन दिनु र चिकित्सकहरूलाई अभियुक्तलाई थुन्नै पर्ने कानून चाहिनुका पछाडि अहिले अस्पतालहरूमा भइरहेको एउटा डरलाग्दो अभ्यासले काम गरेको रहेछ । के रहेछ त्यो अभ्यास ? उपचार गर्न गएको बिरामीको अस्पतालमै मृत्यु भयो । ऊ कालगतिले म¥यो वा अस्पतालले लापरवाही गर्यो ? अथवा ठीक समयमा ठीक उपचार नगरिंदा उसको मृत्यु भयो । कालगतिले मरेको अवस्थामा आफन्तले चित्त बुझाउँछन् र अन्त्येष्टि गर्छन् । उपचारमा अस्पताल वा डाक्टरको गल्ती हो भन्ने जसलाई लाग्छ, उसले कानूनी उपचार खोज्नुपर्छ । तर, नेपालमा पछिल्ला चार वर्षमा बाहिर आएका ३५ मध्ये २३ वटा यस्ता घटनामा कुनै कानूनी उपचार खोजिएन । गुपचुपमै पैसा लेनदेन गरेर टुंग्याइयो । पीडित भनिएकाहरूले पैसामा चित्त बुझाए, पीडक भनिएकाले ‘कानूनी प्रक्रियामा जाँदा के हुने हो’ भन्ने डरले पैसा तिर्न सहमति जनाए । चार वर्षयता राजधानी काठमाडौं र देशका अन्य शहरमा चिकित्सकीय त्रुटि भएका भनिएका मध्ये ११ वटा घटना मात्रै कानूनी प्रक्रियामा गएका छन् । ओम अस्पतालमा भएको कमला भट्टराईको मृत्युमा पनि पैसाकै लेनदेन भएको भनिए पनि कानूनी प्रक्रियामा गएको अस्पताल र मृतकका आफन्तहरूले दाबी गरिरहेका छन् । पछिल्लो एक महीनामा मात्र ओम अस्पताल चाबहिल, किष्ट मेडिकल कलेज ग्वार्को, नर्भिक अस्पताल थापाथली र भरतपुर अस्पताल चितवन चिकित्सकीय लापरवाही भएको विवादमा तानिए । तीमध्ये नर्भिक अस्पतालको घटना छानबीन प्रक्रिया मन्त्रालयसम्म पुग्यो, ओम अस्पतालको घटना छानबीन भइरहेको भनिए पनि आपसी लेनदेनमा मिलिसकेको विश्वस्त स्रोतको दाबी छ । बाँकी दुई घटना सामसुम भए । कानूनी प्रक्रियामा नगई पीडित र पीडक दुवैले लाशको मोलमोलाइ किन गर्छन् ? लोकलाजको डर, झन्झटिलो कानूनी प्रक्रिया र आफूले सोचेजस्तो क्षतिपूर्ति समितिको फैसला नआउने डर जस्ता कारणले पीडित भनिएको पक्ष मौखिक लेनदेनमै विवादहरू टुंग्याउन तयार हुन्छ । पीडक भनिएको अस्पताल वा डाक्टर पक्ष चाहिं आफ्नो र अस्पतालको बेइज्जती हुने, कानूनी लडाइँको कुनै भर नहुने, चर्को क्षतिपूर्ति तिर्नुपर्ने डर र सकेसम्म छिटो यो झन्झटबाट मुक्ति पाउने चाहनाले घटनालाई गुपचूप मिलाउन राजी हुन्छन् । परिणाम, कुनै बिरामीको मृत्युपछि अस्पतालको अँध्यारो कोठामा पैसा लेनदेन गरेर दुवै पक्ष पन्छिने प्रवृत्ति बढिरहेको छ । आधिकारिक अभिलेख नराखिने हुँदा पीडित पक्षलाई मृतकका नाममा पैसा लिएको आरोप पनि नलाग्ने, पीडक पक्षलाई पनि लामो समयसम्म कानूनी झमेलामा लागिरहनु नपर्ने, अनि डाक्टर र अस्पतालको बदनामी पनि नहुने हुँदा लाश मोलतोलको यो अपारदर्शी धन्दाले निरन्तरता पाइरहेको छ । पछिल्लो चार वर्षमा चिकित्सकीय त्रुटि भएका भनिएका ३५ घटना सार्वजनिक भए । जानकारहरूका भनाइमा यो संख्या ठूलो छ । गुपचूप मिलाइने हुनाले धेरै घटना बाहिर आउँदैनन् । बाहिर आएका मध्ये १० वटा घटनाबाट मात्रै पीडितले रु.१ करोड ३२ लाख बराबरको क्षतिपूर्ति लिएको खुलासा भएको छ । ९ वटा घटनामा भने अस्पताल प्रशासन विरुद्ध आन्दोलन भएको, तर के कति पैसा लेनदेनमा सहमति भयो भन्ने खुल्न सकेको छैन । अहिले राजधानीका अस्पतालमा चलेको दरभाउको औसत अनुपात निकाल्ने हो भने यी घटनाबाट रु.१ करोड १८ लाख ८० हजारभन्दा बढी अस्पतालहरूले पीडित भनिएको पक्षलाई बुझाएका हुनसक्छन् । तीन वटा घटनामा चाहिं आन्दोलनकारी पक्षले रु.१ करोड ५ लाख क्षतिपूर्ति र बीमा दाबी गरेको खुलेको छ । यी तीनमध्ये पनि दुईवटा केस कानूनी प्रक्रियामै गएनन् । यसको अर्थ ती पनि लेनदेनमै मिलेको मान्नुपर्ने हुन्छ । एउटा घटनाको चाहिं अहिलेसम्म पनि छानबीन चलिरहेको छ । राजधानीका अस्पतालमा भएका ११ वटा घटना अहिले क्षतिपूर्ति समितिमा विचाराधीन छन् । तीमध्ये ९ घटनामा रु.२० करोड ५० लाख ६४ हजार ६५८ क्षतिपूर्ति दाबी गरिएको छ । अस्पताल विरुद्ध क्षतिपूर्ति दाबी गर्दै परेका उजुरीमध्ये चार वर्षयता जिल्ला प्रशासन कार्यालय काठमाडौंले एउटा मात्रै टुंग्याएको छ । सिभिल अस्पताल मीनभवन विरुद्ध परेको विवादमा रु.३० लाख माग गरिएकोमा पीडितलाई रु.२० लाख ३६ हजार क्षतिपूर्ति भराउने निर्णय भएको छ । पैसा लेनदेन, घटना सामसुम अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सक र अस्पतालको लापरवाही भन्दै आन्दोलन गर्ने क्रम पछिल्लो समय बढ्दो छ । आश्चर्यको विषय, यस्ता आन्दोलनपछि कहीं पनि लापरवाही वा त्रुटि पहिल्याउन छानबीन समिति बनाउने र त्यस्ता प्रतिवेदनहरू सार्वजनिक गर्ने गरिंदैन । उल्टो पीडित भनिएको पक्षसँग पैसाको लेनदेन हुन्छ र घटना सामसुम हुन्छ । केही उदाहरण हेरौंः -२३ साउन २०७४ मा नौ वर्षीया बालिका बस्नेतको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भयो । दुई दिनअघि खाटबाट लडेर खुट्टा मर्किएको भन्दै सोही अस्पतालमा बेण्डेज गरेर घर लगिएकी बालिकालाई चिकित्सकले दुखाइ कम गर्ने औषधि पनि दिएका थिए । औषधि खान थालेको दोस्रो दिन त्यसले नकारात्मक असर गरेको भनेर बालिकालाई फेरि अस्पतालमा ल्याएर आईसीयूमा राखियो । केही घण्टामै उनको मृत्यु भयो । अस्पताल र चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तले नाराबाजी गर्न थाले । परिवारजन र अस्पतालबीच रु.५ लाखमा सहमति भयो, आन्दोलन टुंगियो । -२० साउन २०७४ मा पित्तथैली शल्यक्रियाको लागि ५४ वर्षीया नन्दकुमारी लामिछाने ओम अस्पताल भर्ना भइन् । शल्यक्रिया सफल भएर आईसीयूमा सारिसकेपछि भोलिपल्ट दिउँसो १ बजे उनको मृत्यु भयो । अस्पतालले शल्यक्रियामा लापरवाही नभएको र बेडमा सारिसकेपछि हृदयघातबाट उनको मृत्यु भएको दाबी गर्यो । तर, बिरामीका आफन्तहरूले डाक्टर र अस्पतालले लापरवाही गरेको भनेर अस्पताल परिसरमा नाराबाजी गरे । बेलुका रु.१७ लाख दिने सहमतिमा नाराबाजी टुंगिएको ओम अस्पतालका माथिल्लो तहका एक अधिकारी बताउँछन् । -६ असार २०७४ मा दोलखा, भीमेश्वरकी ३८ वर्षीया उषा बस्नेतको भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । सामान्य अवस्थामा अस्पताल पुर्याईएको दुई घण्टामा मृत्यु भएको भन्दै बिरामीका आफन्त र नातेदारहरू विरोधमा उत्रिए । अस्पताल तोडफोड भयो । अस्पताल प्रशासनले बिरामीका आफन्तलाई रु.५ लाख दिएपछि आन्दोलन टुंगियो । त्यसअघि यस्तै एउटा केसमा अस्पतालले रु.३ लाख दिएर समस्या सुल्झाएको थियो । -१५ जेठ २०७४ मा तल्लो पेट दुख्ने समस्या लिएर रोजकुमारी श्रेष्ठ ललितपुरको मिडाट अस्पताल भर्ना भइन् । भोलिपल्ट डा. रन्जना श्रेष्ठ र डा. विनय राजभण्डारीले ५३ वर्षीया श्रेष्ठको पाठेघरको शल्यक्रिया गरे । शल्यक्रियापछि पेट फुल्दै गयो, भिडियो एक्सरे गर्दा आन्द्रा काटिएको पाइयो । त्यसपछि डा. मनिष श्रेष्ठले पुनः शल्यक्रिया गरे । पुनः शल्यक्रियापछि पनि निको नभएपछि आईसीयूमा राख्नुपर्ने भन्दै उनलाई पाटन अस्पताल रेफर गरियो । तर अस्पताल नलैजाँदै उनको मृत्यु भयो । चिकित्सकलाई कारबाही र रु.६० लाख क्षतिपूर्तिको माग गरेर आन्दोलन भएपछि अस्पताल प्रशासन र आफन्तबीच रु.३० लाखमा सम्झौता भयो । नियामक निकायमा रहेका व्यक्ति संलग्न अस्पतालले नै यस्तो अपारदर्शी सहमति गरेका उदाहरण समेत छन् । नेपाल मेडिकल काउन्सिलकी सदस्य रहेकी प्रा.डा. चन्दा कार्कीलगायतको समूहले सञ्चालन गरेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएकी ९ वर्षीया बालिका बस्नेतको केस रु.५ लाखमा मिलाइयो । बिरामीका आफन्तभन्दा पनि अन्य व्यक्ति हूलहुज्जतसहित तोडफोडमा उत्रिएपछि भीड साम्य पार्न सम्झौता गर्न अस्पताल बाध्य भएको डा. कार्कीको दाबी छ । उनी भन्छिन्, “हामीले कतै लिखित सम्झौता गरेका छैनौं, मानवीय आधारमा पैसा दिएका हौं ।” स्वास्थ्य क्षेत्रका जानकारहरू यसले डाक्टर र अस्पतालप्रतिको विश्वास घटाउने र स्वास्थ्य क्षेत्रमा विकृति बढाउने चिन्ता व्यक्त गर्छन् । चिकित्सा पेशा, मानिसको स्वास्थ्य र जीवनसँग जोडिएका यस्ता संवेदनशील घटनाहरू अनुसन्धान गरेर कानूनी निरुपणमा नपुगी लेनदेनमा टुंग्याउँदा जनस्वास्थ्यका क्षेत्रमा मुलुक कानूनविहीन सावित हुनपुग्छ । यसबाट न अस्पताल वा डाक्टरको लापरवाही भए/नभएको पुष्टि हुन्छ, न मृतकका आफन्तको आरोप सही वा गलत थियो भन्ने थाहा पाइन्छ । अस्पताल र पीडित भनिएको पक्षको चलाखीका कारण हुने अलिखित र अपारदर्शी सम्झौताले राज्यका निकायहरूलाई कानूनी निदान खोज्न असम्भव बनाउँछ । “यसले भीडतन्त्रलाइ प्रोत्साहन गर्छ, काममा प्रतिबद्ध चिकित्सकलाई पनि खुलेर काम गर्न हतोत्साही बनाउँदै लैजान्छ” वरिष्ठ चिकित्सक प्रा.डा. भगवान कोइराला भन्छन्, “कानूनी शासनलाई भीडले मिच्दै गएको छ, त्यसको मारमा चिकित्सक र पीडित पक्ष परेका छन् ।” अस्पतालले हतारहतार पैसा दिने हुनाले यस्ता घटना कानूनी निष्कर्षमा नपुग्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन्, “हामीले अस्पतालमा मृत्यु भएकाको विषयमा प्रश्न उठे तत्काल कानूनी प्रक्रियामा जानुस्, पैसामा नमिलाउनुस् भन्दै आएका छौं । तर, अस्पतालहरू आत्तिएर हतारहतार सम्झौता गर्छन् । यसले अस्पताल मात्र होइन, चिकित्सा पेशाप्रति नै अविश्वास पैदा गरेको छ ।” विचौलिया माहोल २० साउनमा ओम अस्पतालमा मृत्यु भएकी नन्दकुमारीका भाइ केशव सापकोटा दिउँसो ४ बजेसम्म लापरवाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्छ भनिरहेका थिए । तर, एकाएक त्यो आन्दोलनमा नयाँ अनुहारहरू थपिए । भीड उत्तेजित हुँदै गयो । बेलुका ७ बज्दानबज्दै कुरा मिल्यो । अस्पताल स्रोतका भनाइमा रु.१७ लाखमा त्यो विवाद सल्ट्याइएको थियो । चिकित्सकलाई कारबाही हुनुपर्ने माग गरिरहेका मृतकका आफन्तहरू पैसाको लेनदेनपछि चूप लाग्ने गरेको दृष्टान्त हो, यो । अनुसन्धान र कानूनी प्रक्रियामा नजाने हुँदा धेरै केसहरूमा लापरवाही भएको हो÷होइन यकिन गर्न सकिंदैन । चिकित्सक संघका अध्यक्ष श्रेष्ठको बुझाइमा मान्छे मर्ने बित्तिकै अस्पताल तोडफोडमा उत्रने पेशेवर मान्छेहरू नै छन्, राजधानीमा । श्रेष्ठ भन्छन्, “तिनीहरूले बिरामीका आफन्तसँग होलसेलमा डिल गर्छन् । हामी अस्पताल र डाक्टरलाई कानूनी प्रक्रियामा जान भन्छौं, तर गुण्डाहरू आएर तोडफोड गरेपछि अस्पतालहरू डराउँछन् ।” महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख रहिसकेका डीआईजी छविलाल जोशी चाहिं आफूले अहिलेसम्म त्यस्तो ‘प्रुफ’ नभेटेको बताउँछन् । भन्छन्, “हामीले प्रमाण भेटेका छैनौं, मेरै भाइ हो, मेरै दाइ हो भनेर प्रस्तुत हुन्छन् ।” स्वास्थ्य मन्त्रालयका अधिकारीको तर्क चाहिं अनौठो छ । मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठ व्यक्ति र संस्थाबीच भएको सम्झौतामा सरकारले हस्तक्षेप गर्न नसक्ने बताउँछन् । “मोलमोलाइको जुन संस्कार बस्दै गएको छ, यसले स्वास्थ्य सेवा झन् महँगो बनाउँछ” डा श्रेष्ठ थप्छन्, “तर हामीसँग मोलमोलाइको सम्झौतामा कारबाही गर्ने कानून छैन ।” निजी नर्सिङहोम तथा अस्पताल सञ्चालक संघको आफ्नै तर्क छ । संघका वरिष्ठ उपाध्यक्ष कुमार थापा भन्छन्, “अस्पताल सुरक्षाको ग्यारेन्टी नहुँदा सामान्य घटनामा पनि भीड उर्लेर तोडफोड र पैसाको वार्गे्निङ गर्ने परिपाटी बसेको छ । सरकारले सुरक्षाको ग्यारेन्टी गरे यो संस्कारको अन्त्य हुनेथियो ।” उजुरी गर्यो, सुनुवाइ हुन्न १० फागुन २०६७ मा काठमाडौं जिल्ला, साविकको कपन गाविस (हाल बूढानीलकण्ठ नपा) वडा नं. ३ का २७ वर्षीय मनिष पौडेलले जिल्ला क्षतिपूर्ति समितिमा मुद्दा दर्ता गरे । ‘आफ्नो बुबा सुशील पौडेलको शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा चिकित्सकीय लापरवाहीका कारण मृत्यु भएको’ भन्ने उनको उजुरी थियो । उपचारमा संलग्न चिकित्सकहरू डा. यादव भट्ट, डा. ज्वतेन्द्र शर्मा र डा. रविन्द्र तिमिला तथा गंगालाल हृदयरोग केन्द्रलाई विपक्षी बनाएर उनले रु.७९ लाख ६० हजार क्षतिपूर्ति माग गरेका थिए । तर, दायर भएको ५ वर्ष ६ महीनामा पनि मुद्दा छिनोफानो भएको छैन । जिल्ला क्षतिपूर्ति समितिमा पुगेर निर्णय हुन नसकेको मध्ये रु.१० करोड क्षतिपूर्ति दाबी गरिएको सुदीप विष्ट मृत्यु प्रकरणको केस सबभन्दा ठूलो हो । ग्रीनल्याण्ड बस्दै आएका रूपन्देहीको तिलोत्तमा नगरपालिकाका सुदीप छातीमा असह्य दुखाइ भएपछि ‘हार्ट अट्याक’ को आशंकामा ३ कात्तिक २०७३ मा ग्राण्डी अस्पताल भर्ना भएका थिए । मुटुको डाक्टर भए/नभएको सोधपुछ गरेपछि बेलुका उनको चेकजाँच भयो । चिकित्सकले मुटुको समस्या नभएको भनेर उनलाई नर्मल वार्डमा सारेर ग्याष्ट्रिकको औषधि दिए । भोलिपल्ट बिहान ७ बजे ‘हार्ट अट्याक’ ले उनको मृत्यु भयो । जे आशंकाले बिरामी अस्पताल पुगेको थियो, त्यहीकारण अस्पतालमै मर्नु चरम लापरवाही हो भनेर परिवारले क्षतिपूर्ति मुद्दा दायर गर्यो । ग्राण्डी अस्पताल प्रशासनले भने उपचारमा लापरवाही नगरेको भन्दै समितिमा आफ्नो बचाउ गरेको छ । अर्को उदाहरण छस हातमा कुकुरले टोकेपछि उपचार गर्न काठमाडौंका गोपालराज पोखरेल मेडिकेयर अस्पताल चाबहिल पुगे । मेडिकेयरका डाक्टरहरूले उनको हातमा स्टीच गरिदिए । तर, हात प्लारलाइज भयो । त्यसपछि गोपालराजले मेडिकेयरको लापरवाहीविरुद्ध रु.५२ लाख क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरे । तर, सुनुवाइ भएको छैन । रु.४७ लाख क्षतिपूर्ति माग गरेर बुटवलका युवराज कार्कीले ग्राण्डी अस्पताललाई हालेको मुद्दा पनि टुंगिएको छैन । वीर अस्पताल विरुद्ध मोहनलाल कडौरी, त्रिवि शिक्षण अस्पतालविरुद्ध राजनराज पाठकले ठूलो रकम क्षतिपूर्ति माग गरेर हालेको उजुरी पनि क्षतिपूर्ति समितिमा सुनुवाइकै क्रममा छन् । त्यस्तै ललितपुरको क्षतिपूर्ति समितिमा बी एण्ड बी अस्पतालविरुद्ध रु.५ करोड र रु.१ करोड क्षतिपूर्ति दाबी गरिएका दुईवटा मुद्दा विचाराधीन छन् । जिल्ला क्षतिपूर्ति समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुन्छ । जिल्ला प्रशासन कार्यालयका कानून अधिकृत पारस पोख्रेलका भनाइमा, “काठमाडौं जिल्लामा मात्रै २०६७ सालयताका ९ वटा मुद्दा विचाराधीन छन् ।” नवलपरासी जहदा गाविस वडा नं. ८ (साविक) का अहमदले मेडिकल काउन्सिलमा दिएको उजुरीको हालत पनि उस्तै छ । उनले बुवा कमरुदिन चुरिहारलको आँखाको उपचारका क्रममा भरतपुर अस्पतालका चिकित्सकले लापरवाही गरेको भनेर २९ असार २०७३ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । काउन्सिलले एक वर्षसम्म त्यसको सुनुवाइ गरेको छैन । अहमद भन्छन्, “हाम्रो उजुरीमाथि प्रभावकारी छानबीन भएन ।” तर, काउन्सिलका रजिष्टार डा. दिलीप शर्माको आफ्नै तर्क छ । उनी भन्छन्, “छानबीन नगरी भन्न सकिन्न । यहाँ त ‘हिंडेर आएको मान्छे मर्यो’ भनेर हूलदंगा हुन्छ । पैसा दिएर कुरा मिलाउने गरिएका धेरै उदाहरण छन् ।” चिकित्सकको गल्ती नहुँदा पनि अस्पताल आफैं चुकेका देखिन्छन् । उदाहरण मनमोहन अस्पतालको मिर्गौला प्रकरण हो । नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको अप्रेसन गर्दा बाध्यतावश चिकित्सकले मिर्गाैला निकाल्नुपर्यो । तर, अस्पताल व्यवस्थापनले विवादमा परिने डरले बिरामीसँग हतारहतार सम्झौता गर्यो । सरकार र मेडिकल काउन्सिलले छुट्टाछुट्टै छानबीन गर्दा चिकित्सकले कुनै गल्ती गरेको पाइएन । त्यसो त मेडिकल काउन्सिलमा डाक्टरविरुद्ध परेको उजुरीमा सबैजसो निर्णय डाक्टरकै पक्षमा आउँछन् । काउन्सिलमा पछिल्लो दुई वर्षमा चिकित्सकको आचरणसँग सम्बन्धित ७५ वटा उजुरी परेकोमा ६० वटाको किनारा लगाइएको छ, जसमा चारवटामा मात्रै चिकित्सकलाई निलम्बन गरिएको छ । मेडिकल काउन्सिलमा चिकित्सक मात्रै हुने भएकाले चिकित्सकको गल्तीलाई गल्ती नमान्ने प्रवृत्ति रहेको आरोप लाग्ने गर्छ । तर, काउन्सिलको चिकित्सकीय आचरण समितिका निवर्तमान संयोजक डा. सतिश देव यो मान्न तयार छैनन् । उनी भन्छन्, “बोल्ने सबैको मुख थुन्न सकिंदैन । नियामक निकायमा बसिसकेपछि आफ्नो कर्तव्य हामीले राम्ररी निभाएका छौं ।” लापरवाही: एउटा उदाहरण २९ पुस २०७३ मा नयाँबानेश्वरका उद्धवसिंह अयर मदिराको नशामा घरको भर्याङबाट लडे । निधार ठोक्किएर घाउ भएका उनलाई लिएर श्रीमती राति साढे ११ बजे मीनभवनस्थित सिभिल अस्पताल पुगिन् । उद्धवलाई ‘इमर्जेन्सी’ मा भर्ना गरियो । इमर्जेन्सीमा भर्ना हुँदासम्म उद्धवसिंह होश मै थिए । सामान्य चोटपटक लागेर उपचारका लागि अस्पताल पुगेका उनी कहिल्यै बोल्न नसक्ने अवस्थामा पुगे । कारण थियो- डाक्टरले गरेको ‘मेडिकल नेग्लिजेन्स’ । उद्धवसिंहलाई अस्पताल पुर्याइसकेपछि डाक्टरले टाउकोमा थप चोटपटक हुन सक्ने भन्दै ‘सिटीस्क्यान’ गर्नुपर्ने बताए । होशमै रहेका उद्धवसिंह र उनकी श्रीमती दीपाले शुरूमा सिटीस्क्यान गर्न अस्वीकार गरे । डाक्टरको सल्लाहपछि परिवार तयार भयो, बिरामीले भने अझै पनि सिटीस्क्यान गर्न मानेनन् । डाक्टरले सिटीस्क्यान गर्ने तयारी गरे, तर नशामा मातेको अवस्थामा सिटीस्क्यान गर्न सम्भव थिएन । सिटीस्क्यान गर्दा हलचल गर्नुहुँदैन । त्यसका लागि बिरामीलाई पहिले बेहोश पार्नुपर्ने भयो । डाक्टरले बिरामीलाई बेहोश बनाउन ‘मिडाजोलम’ दिए । यो औषधि बिरामीलाई लठ्याउन सुईबाट दिइन्छ । ‘मिडाजोलम’ दिएपछि उद्धवसिंह बेहोश भए । उनको सिटीस्क्यान गरियो । १० मिनेटपछि इमर्जेन्सीको मोनिटर भएको बेडमा सारेर चेक गर्दा मुटु र ‘अक्सिजन स्याचुरेसन’ को गति कम भएको भेटियो । डाक्टरले यस्ता बिरामीलाई ‘न्युरो सर्जरी कन्सल्टेसन’ चाहिने र उक्त सुविधा सिभिलमा नभएको भनेर नर्भिक अस्पतालमा रेफर गरे । तर, त्यहाँ ‘रेफर’ गर्दा पनि सिभिलले उद्धवसिंहलाई मिडाजोलम दिइएको कुरा खुलाएन । १२ बजे नर्भिक पुर्याइएका उद्धवको स्वास्थ्यमा कुनै सुधार आएन, उनी कोमामा पुगे । २९ पुस २०७३ मा सिभिल अस्पताल पु¥याइएका उद्धवसिंह २७ माघमा नर्भिकबाट घर ल्याउँदा ‘ब्रेन डेथ’ भएर फर्किए । परिवारको मुख्य व्यक्ति नै कोमामा पुगेपछि आफन्तहरूले सिभिल अस्पतालमाथि दबाब दिन थाले । सिभिलले पनि एक आन्तरिक छानबीन समिति बनायो, जसले आफ्नो प्रतिवेदनमा ‘इमर्जेन्सी स्ट्यान्डर्ड प्रोटोकल अनुसार नै उद्धवसिंहलाई मिडाजोलम दिइएको’ प्रतिवेदन दियो । २ फागुनमा तयार पारिएको उक्त प्रतिवेदनले ‘नर्भिक हस्पिटलमा रेफर गर्दा इमर्जेन्सी टिकटमा मिडाजोलम औषधि उल्लेख गर्न छुटेको र बिरामी कोमामा जानुको कारण स्पष्ट हुन नसकेको’ उल्लेख छ । बिरामीको मृत्युपछि भक्तपुरको नागरिक सामुदायिक अस्पतालमा गरिएको तोडफोड बिरामीका आफन्तहरू अस्पतालको प्रतिवेदनबाट सन्तुष्ट भएनन् । उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार घटनाको छानबीन र क्षतिपूर्ति माग्दै ५ फागुनमा दीपाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको क्षतिपूर्ति समितिमा उजुरी दिइन् । उजुरीमा बिरामी र परिवारले सिटीस्क्यान नगर्न आग्रह गरेको, मादक पदार्थ सेवन गरेको अवस्थामा दोब्बर मात्रामा मिडाजोलम औषधि प्रयोग गरिएको, तत्काल आईसीयूमा राख्नुपर्नेमा आफ्नो गल्ती ढाकछोप गर्न नर्भिक अस्पताल रेफर गरिएको लगायतका कारण उल्लेख गर्दै रु.३० लाखभन्दा बढी आर्थिक नोक्सानी भएकाले क्षतिपूर्ति पाउनुपर्ने उल्लेख छ । प्रमुख जिल्ला अधिकारी विष्णु पन्थीको अध्यक्षतामा ५ सदस्यीय क्षतिपूर्ति समिति गठन भयो । १२ साउन २०७४ मा समितिले ‘उद्धवसिंह कोमामा जानुको प्रमुख कारण डाक्टरको लापरवाही नै रहेको’ ठहर गर्यो । समितिको फैसलामा भनिएको छ- ‘उद्धवसिंहको उपचारमा सिभिल अस्पतालका चिकित्सक टोलीबाट आवश्यक सावधानी अपनाएको नदेखिएको हुनाले बिरामी पक्षलाई क्षतिपूर्ति दिनुपर्ने देखिन्छ ।’ बिरामी पक्षले दाबी गरेको रु.३० लाखको बिल पेश गर्न नसकेपछि सक्कल बिल अनुसार रु.१५ लाख ३६ हजार ९५६ र थप क्षतिपूर्ति बापत रु.५ लाख गरी रु.२० लाख ३६ हजार ९५६ क्षतिपूर्ति भराउने फैसला गरियो । समितिको फैसलामा सिभिल अस्पताललाई रु.१० लाख ३६ हजार ९५६, अस्पतालका निर्देशक दीर्घराज आरसीलाई रु.४ लाख, इमर्जेन्सी वार्ड प्रमुखलाई रु.३ लाख र डा. राजीव थपलियालाई रु.३ लाख क्षतिपूर्ति भराउने उल्लेख छ । साथै, घरमै कोमामा रहेका उद्धवसिंहलाई बाँचुन्जेल लाग्ने उपचार खर्च समेत सिभिल अस्पतालले बेहोर्नुपर्ने ठहर गरिएको छ । समितिको बैठकमा मेडिकल रेपे्रजेन्टेटिभ डा. गौरी श्रेष्ठले भने फरकमत राखेका छन् । ‘टाउकोमा चोट लागेको बिरामीलाई तत्कालीन अवस्थामा सिटीस्क्यान गराउने निर्णय ठीक भएको र उपचारका क्रममा बिरामीलाई राम्रै गर्ने उद्देश्यले मिडाजोलम दिइएको’ उनको तर्क थियो । क्षतिपूर्ति समितिको उक्त फैसलापछि सिभिल अस्पतालसामु भने क्षतिपूर्ति तिर्ने वा पुनरावेदनका लागि अदालत जाने दुवै विकल्प खुलै छन् ।
सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा, थप तीन शाखा खोल्ने तयारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । बैंकले गत कात्तिक ९ गते यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । बैंकले हालसम्म ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले देश संघीयतामा गए संगै दुरदराजका नेपालीजनतालाई बैंकिंग सुबिधा संग पहुँच पुर्याउन बैंक कटिबद्ध भएर लागीपरेको बताएका छन्। उक्त शाखाका इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताए । साथै, अबका दिनमा बैंकले झापाको हल्दिबारी, महोतरीको औरही र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराएका छन् ।
विद्युत प्राधिकरणले ३ सहरमा विद्युतीय ट्रान्सफरम ल्याव बनाउदै, बेजिङ हुत्यान मेकानिकललाई ठेक्का दिने तयारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ स्थानमा विद्युतीय ट्रान्सफरमको परीक्षण प्रयोगशाला (ल्याव) बनाउने भएको छ । प्राधिकरणले विराटनगर, बुटवल र नेपालगन्जमा ट्रान्सफरमर परीक्षण ल्याव बनाउन लागेको हो । यसका लागि बेइजिङ हुत्यान मेकानिकल इलेक्ट्रिक इन्ष्टच्युट कम्पनी लिमिटेडलाई छनौट गरेको छ । सारभूत रुपमा प्रभावग्राही र न्युनतम मूल्य अंकित बोलपत्रदाताको रुपमा बेइजिङलाई छनौट गरिएको हो । बेइजिङले मूल्य अभिवृद्धि कर (भ्याट) लगायत भन्सार शुल्क बाहेक झण्डै १७ करोड रुपैयाँ अर्थात १६ लाख ५५ हजार १६७ अमेरिकी डलरमा ठेक्का पाउने भएको छ । प्राधिकरणको हेटौडा र काठमाडौमा ट्रान्सफरमर परीक्षण ल्याव रहेको छ । यो समेत गरी परीक्षण ल्याव ५ पुग्ने छ । ट्रान्सफरमर परीक्षणलाई सहज बनाउन थप ३ सहरमा ल्याव स्थापना गर्न लागिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुङेलले बताए । प्राधिकरणले नेपालमा ट्रान्सफरमर उत्पादन गर्न लागेको जानकारी दिए । उनकाअनुसार विद्युत प्राधिकरणले स्वदेशमा ट्रान्सफरम उत्पादन थाल्नका लागि ट्रान्सफरमर उत्पादन कम्पनी स्थापना गरिसकेको छ । नेपालमा सरकारी तवरबाट ट्रान्सफरमर उत्पादन गर्न प्राधिकरणले यस्तो प्रयास थालेको हो । प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ कम्पनी र ट्रान्सवेल्ड कम्पनीको विद्युतीय ट्रान्सफरम खरिद गर्दे आएको छ । यस्तै विदेशबाट पनि ग्लोबल टेण्डर गरेर प्राधिकरणले ट्रान्सफरमर खरिद गर्दे आएको छ । चीन र थाइल्याण्डबाट आयात गरिएका ट्रान्सफर गुणस्तरहीन भएको प्रमाणित भएपछि ठुलो काण्ड भएको थियो ।
मुक्तिनाथ विकास बैंकले २१ प्रतिशत लाभांश दिने, पुँजी साढे २ अर्ब नाघ्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको गत कात्तिक ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्ने छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश दिँदै छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, उक्त पुँजीमा २० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ नाघ्ने छ ।
३ जलविद्युत आयोजनाले २५ करोडको आईपीओ निष्कासन गर्दै, अनुमति माग्न पुगे धितोपत्र बोर्ड
काठमाडौं । निर्माणधिन र सम्पन्न भएका ३ जलविद्युत कम्पनीले सर्वसाधारणलाई २५ करोड ३६ रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेका छन् । गत असोज महिना भित्र ३ वटै कम्पनीले सो मात्राको आईपीओे निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ती कम्पनीले २५ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको २५ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, घलेमदी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् । मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख रुपैयाँ, घलेमदी हाइड्रोले ५ करोड ५० लाख रुपैयाँ र १२ करोड ५० लाख रुपैयाँ गरी सो मात्राको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । मैलुङ जलविद्युतले ५ मेगावाटको मैलुङखोला आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ । यस्तै, घलमदी हाइड्रोले ४ मेगावाटको घलेमदी आयोजना र माउन्टेनले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । यी ३ वटै आयोजना निजी लगानी र स्वदेशी पुँजीबाट निर्माण भएका हुन् । मैलुङले सर्वसाधारण, घलमदी र माउन्टेनले स्थानियबासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् । जलविद्युत आयोजनाका प्रवद्र्धकले स्थानियबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने भएपछि सबै कम्पनीले धमाधम सेयर निष्कासन गर्न लागेका हुन् । धितोपत्र बोर्डले पनि न्युनतम् १० प्रतिशत सेयर सर्वसाधारणलाइ निष्कासन गर्न पाउने व्यवस्था गरेको छ । बोर्डमा विभिन्न २० कम्पनीले ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । ती मध्ये १६ कम्पनी जलविद्युतसंग सम्बन्धित छन् । चालु आर्थिक वर्ष शुरु भएको ३ महिनामा राधि विद्युत उत्पादन कम्पनी लिमिटेडले मात्र १५ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । ४ मेगावाटको राधी जलविद्युत आयोजना बनाएर सञ्चालन गरिरहेको राधीले ९ करोड ४४ लाख ५५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफरद्धारा उत्सव एक्स्प्रेस योजनाको बिजेता घोषित
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा शन्ता देवी दाहाल, आशो कुमार राजबन्शी, रेश्मा खनाल, लक्ष्मी बस्नेत, राजु थापा, बिरेन्द्र धामी, गुलाबी कुमारी देवी मन्डल र मासिनी तामाङ छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा सप्तरीकी राखी यादव छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलाई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।
स्वदेशी लघुवित्त र ओरियन्टल होटलको सेयर मूल्य समायोजन
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटलको बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार दुबै कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले स्वदेशी लघुवित्त १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मुल्य प्रतिकित्ता ३१० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २०५ रुपैयाँ रहेको थियो । त्यस्तै, ओरियन्टल होटलको पनि १८ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ६१७ रुपैयाँ रहेको थियो ।