विकासन्युज

आइपीओ निष्काशन गर्ने आईएमई लाइफको तयारी, पाउला त अनुमति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले आफ्नो प्रथम बार्षिक साधारण सभाबाट आइपिओ निष्काशन गर्ने निर्णय गराउन लागेको हो । कम्पनीले बीमा समितिमा आइपिओ निष्काशनको अनुमति माग्दै लबिङ गर्दै आएको थियो । कम्पनीले पुस २६ गतेको प्रथम साधारण सभाबाट आइपिओ निष्काशनको एजेण्डा पास गराउन लागेको हो । बीमा समिति र नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको आइपिओ निष्काशन गर्नेछ । कम्पनीले गत आव २०७३।७४ को १० दिन वित्तिय विवरण पेश गरेको छ । तर धितो पत्र दर्ता तथा निष्काशन नियमावलीले भने आफ्नो उदेश्य अनुसार कारोबार गरेको एक बर्षको वित्तिय विवरण सार्वजनिक गरेपछि मात्रै आइपिओ निष्काशन गर्न पाउने व्यवस्था गरेको छ । यस अघि नै युनियन र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने भन्दै साधारण सभाबाट निर्णय गराईसकेका छन् ।

सेन्ट्रल फाइनान्सले पुस २३ देखि २६ करोडको हकप्रद निष्कासन गर्दै

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २६ करोड ३ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन पुस २३ गतेदेखि खुला हुने भएको छ । बन्द माघ २८ गतेलाई तोकिएको छ । हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्तापुँजी ७८ करोड ९ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

निर्धन उत्थान बैंकको साधारण सभा पुस २९ मा, ८० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । निर्धन उत्थान बैंकको १९ औं वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८० प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुने छ । सेयरधनीलाई ६६.६७ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस सेयर वितरण र १४ प्रतिशत अर्थात ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने बैंकको प्रस्ताव सभाबाट पारित हुने छ । यस्तै बैंकको अधिकृत शत्प्रतिशत बढाएर २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने भएको छ । बैंकको पुँजी संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने गरी तयार पारिएको लगानी संरचना पेश हुने कार्यक्रम छ । यसबाट संस्थापकका ७० बाट घटेर ५१ र सर्वसाधारणको ३० बाट बढेर ४९ प्रतिशत स्वामित्व हुनेछ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको साधारणसभा पुस २६ मा, १०० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकले सेयरधनीलाई शत्प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । बैंकले बोनस सेयर वितरण गरेपछि चुक्तापुँजी ८ अर्ब १ करोड रुपैयाँ पुग्ने जनाएको छ । यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने कार्यसुचि रहेको छ । साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

बैंक अफ काठमाडौंको संस्थापक सेयर बिक्री आवेदन खोलिदै, कहाँ कति बजे हेर्नुहोस

A gavel comes down on the word Auction to symbolize the final bid being called काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामीको दरखास्त (आज) बुधबार खोलिने भएको छ । बैंकले बुधबार साढे १० बजे परेको प्रस्ताव शाखा कार्यलय नक्सालमा खोल्ने जानकारी दिएको छ । बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामी गर्नका लागि बैंकले मंसिर २९ गतेसम्म आवेदन माग गरिएको थियो । सो दिनसम्म परेका आवेदनलाई खोलिन लागिएको हो । बैंकले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दर राखेर सेयर लिलामी गर्न लागेका हो ।  

बैठक बस्न नसकेपछि प्राधिकरणको एनभीभीएनलाई पुनः ३ महिना विद्युत आयातको म्याद थप्न पत्राचार

काठमाडौं । निर्धारित समयमा बैठक बस्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले बिजुली आयातको म्याद ३ महिना पुनः थप गर्न भारतको भारतको नोडल एजेन्सी एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडलाई पत्र पठाएको छ । मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगले विशेष परिस्थितिका कारण बैठक बस्न नसकेको भन्दै एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३ महिना अर्थात आउदो मार्चसम्म विद्युत आपूर्ति पहिलाको दरमा नविकरण गर्न पत्रचार गरेका हुन् । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारु रहेको छ । यो प्रसारणलाइनबाट बिजुली आयातको म्याद पुस १५ गतेसम्म थियो । एनभीभीएनलाई थप ३ महिना म्याद थप गर्न पत्राचार गरेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । पुरानो दरमा बिजुली आपूर्ति गर्न प्राधिकरणले एनभीभीएनलाई आग्रह गरेको उनले बताए । यसअघि दुई देशका ऊर्जा मन्त्रालयका सचिव स्तरिय संयुक्त स्थायी समिति बैठक गरेर थप बिजुली आयातको सम्झौता गर्ने कार्यसुचि भएपनि ऊर्जा मन्त्रालयले नयाँ सरकार गठन भइनसकेकको कारण देखाउदै मौखिक रुपमा भारतको ऊर्जा मन्त्रालयलाई आग्रह गरेपछि दुई देशबीचको सचिवस्तरिय बैठक रोकिएको हो । बैठक बुधबार सहसचिवस्तरिय संयुक्त कार्यसमूह र बिहीबार सचिवस्तरिय स्थाइ समिति बैठक बस्ने मिति तय भएको थियो । गत अक्टुबरमा म्याद थप भएपनि पुनः डिसेम्बरसम्मका लागि ३ महिना म्याद थप गरेको थियो । एनभीभीएनले बिजुलीको भाउ बढाउन प्रस्ताव गरिसकेको छ । विद्युत प्राधिकरणले भाउ बढाउन मानेको छैन । संयुक्त स्थायी समिति बैठकले न्यु बुटबलदेखि न्यु गोरखपुरसम्म ४ सय केभी क्षमताको प्रसारणलाइन निर्माणको वित्तीय प्रारुप तयार गरी सम्झौता गर्ने कार्यसुचि थियो । बैठक नभएपछि यो पनि रोकिएको छ ।

डिजेल र पेट्रोलको मूल्य १/१ रुपैंयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य पुनः बढाएको छ । निगमल सञ्चालक समितिको बैठकले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर एक एक रुपैंयाँले बढाएको हो । निगमका प्रवक्ता बिरेन्द्र गोइतका अनुसार मंगलबार राती १२ बजेबाट नयाँ मूल्य लागु हुनेछ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाईएको छैन् । अब पेट्रोलको मूल्य १०१ रुपैंयाँ पुगेको छ भने डिजेलको मूल्य ७८ रुपैंयाँ पुगेको छ । अझै निगमलाई पाक्षिक ११ करोड ३९ लाख नोक्सानी रहेको प्रवक्ता गोइतले बताए । निगमले १५ दिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक १५।१५ दिनमा इन्धनको मूल्य समायोजना गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागका निलम्बित पाण्डेसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर, जनही १० लाख विगोदावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खड्गबहादुर केसीविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबीसहित र कैद मागदाबी गरी अदालतमा मुद्दा दायर गरेको हो । गत कात्तिक २८ गते सेवाग्राहीबाट घूस लिएको पाइएपछि आयोगको टोलीले तीनै जनालाई पक्राउ गरेको थियो ।एसआरएस मेनपावर कम्पनीलाई कालोसूचीबाट हटाइदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा शाखा अधिकृत पौडेल र नासु केसीलाई एक महिनाअघि आयोगले पक्राउ गरेको हो ।