एनआईसी एशिया बैंकले पायो एकै साथ दुई अवार्ड, बैंकिङ्ग क्षेत्रतर्फ उत्कृष्ट हुन सफल
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रतर्फको “बेष्ट ब्राण्ड अवार्ड” र “बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड” गरी दुईओटा अवार्ड पाएको छ । बैंकले वर्ल्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिट्युट एण्ड स्टार्स अफ द इन्डस्ट्री ग्रुपद्धारा एकैसाथ उक्त दुई अवार्ड पाएको हो । वर्ल्ड सीएसआर डे एण्ड वर्ल्ड सस्ट्याबिलिटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्धारा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो । यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्याति प्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।
बैंक अफ काठमाण्डूको संस्थापक सेयर कर्मचारी संचय कोषले उठाउने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गर्न पाउने भएको छ । कोषले सबैभन्दा बढी प्रतिकित्ता २५१ रुपैयाँमा किन्ने प्रस्ताव गरेपछि अधिकाँश सेयर उठाउन पाउने देखिएको हो । कोषले लिलामीमा राखिएको सबै सेयर किन्न आवेदन दिएको थियो । बैंकले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दरले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । बढी मूल्य कबोल गरेपछि संचय कोषले ६१ लाख ५० हजार कित्ता संस्थापक सेयर खरिद गर्न पाउने भएको हाे । १० हजारको हारहारीमा व्यक्तिगत लगायत अन्य आवेदन दिनेले खरिद गर्न पाउने भएका छन् । प्रारम्भीक नतिजाअनुसार ९१७ आवेदकले संस्थापक सेयर खरिद गर्न आवेदन दिएकोमा ८९० जना आवेदकले किन्न पाएनन् । २६ जना सेयरधनीको भागमा करिब ९ हजार कित्ता सेयर परेको छ । उनीहरुले २५० रुपैयाँदेखि ३८० रुपैयाँसम्ममा सेयर कबुलेका थिए । बाँकी सबै संचय कोषले पाएको सेयर बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सेयर लिलामीबाट लगभग १ अर्ब ५५ करोड रुपैयाँ जुटेकाे छ । संस्थागत रुपमा संस्थापक सेयर किन्नका लागि आवेदन दिनेमा एसियन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । एसियनले प्रतिकित्ता १८६ रुपैयाँमा ३ लाख २२ हजार ५ सय कित्ता १८६ रुपैयाँमा माग गरेको छ । नेकोले १३० रुपैयाँमा २ लाख ५५ हजार माग गरेको छ । यस्तै आइएमई इन्भेष्टमेन्ट लिमिटेडले २ लाख २५ हजार २१३ कित्ता, वल्र्ड वाइड इन्भेष्टमेन्ट कम्पनीले २ लाख ५ हजार २१२ कित्ता सेयर माग गरेको छ । हिमालयन जनरल इन्स्योरेन्सले १५० रुपैयाँका दरले २ लाख कित्ता माग गरेको छ । बैंकले संस्थापक ५१ र सर्वसाधारणको सेयर अनुपात ४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकलाई अझै एक अर्ब ७६ करोड रुपैयाँ पुँजी जुटाउनु पर्ने हुन्छ । संस्थापक सेयर लिलामी गर्नका लागि बैंकले मंसिर २९ गतेसम्म आवेदन माग गरिएको थियो ।
रनर मोटरसाइकल नेपाली बजारमा, ७ मोडेलका मोटरसाइकलको बिक्री शुरु
काठमाडौं । बंगलादेशको कम्पनी रनर अटोमोबाइल्सको नेपाली वितरक रमन मोटर्सले रनर मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक रमन मोटर्सले शनिबार एक कार्यक्रमको आयोजना गर्दै सो ब्राण्ड सार्वजनिक गरेको हो। रनर ग्रुप अफ कम्पनीका अध्यक्ष हफिजुर रहमन खान, सोही कम्पनीका प्रमुख कार्यकारी मुकेश शर्मा र रमन मोटर्सका अध्यक्ष बलराम महतो र प्रमुख कार्यकारी रमन महतोले शनिबार ह्यात होटलमा आयोजित एक समारोहका बीच उक्त ब्रान्डका ८० देखि १५० सिसिका विभिन्न आकर्षक ७ मोडेलका मोटरसाइकल तथा १ ओटा स्कुटरको बिक्रि शुभारम्भ भयो। बंगलादेशको रनर ग्रुप अफ कम्पनीका चियर म्यान हफिजुर रहमनले नेपालको रमन मोटर्सका सिईओ रमन महतोलाई कम्पनीको प्रमाण पत्र प्रदान गर्दै, आधिकारिक रुपमा नेपाली बजारमा रनर ब्राण्डाका मोटरसाईकलको कारोबार गर्ने इजाजत दिएका हुन्। रमन मोटर्सले यस अघि कन्ट्रक्सन क्षेत्रमा मात्र काम गर्दै आएकोमा अब भने अटोमोबाईल क्षेत्र पनि काम गर्ने भएको हो। यो सँगै नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधनमा नयाँ ब्राण्डको उदय समेत भएको छ।यसले नयाँ पुस्ताहरुमा नयाँ ब्राण्ड र नयाँपन समेत थपेको कम्पनीले बताएको छ। नेपाली बजारमा अहिले सम्म कुनै पनि ब्राण्ड तथा कम्पनीले दिन नसकेको अधिकतम ६ वर्षको वारेन्टी समेत रनरले प्रदान गरेको रमन मोटर्स्का सिईओ महतोले दाबी गरेका छन् । उनले रनरको सेल्स्पछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । सेल्स्, सर्भिस् तथा स्पेयर पार्टस्सम्मको सुविधालाई मध्यनजर गर्दै बजारमा डिलर तथा वर्कशपहरुको व्यवस्था गरिएको बताएका छन्। हाल काठमाण्डौमा मात्र ९ ओटा र बाहिरी क्षेत्रमा १० वटा रनरको स्पेयर पार्टस्तथा सर्भिस सेन्टरको व्यवस्था गरिएको र कार्यक्रममा प्रमुख अथितिका रुपमा बंगलादेशका नेपालका लागि राजदुतमा सफीविन्ती शामंस्रहेकी थिईन भन्ने उनले बंगलादेशी उत्पादन रनरको नेपालमा उपस्थितिले व्यवसायीक रुपमा मात्र नभई दुई देशबीचको आत्मियतालाई समेत थप उचाईमा पुर्याएको बताएकी छिन् । सँगै रमन मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सुविधा सम्पन्न र वृहत शोरुमका साथै सर्भिस सेन्टर समेत खोलेको छ। यसले रनर मोटरसाईकलको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ। यहाँ मोटरसाईकल विक्रि वितरण गरिनुका साथै विक्रि पश्चातका सबै खाले सेवा तथा सुविधा समेत उपलब्ध गराईने कम्पनीले बताएको छ।
केयर रेटिङले बिहीबारदेखि सेवा आरम्भ गर्दै
काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले बिहीबारदेखि सेवा आरम्भ गर्ने भएको छ । केयर नेपालले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर १ गते रेटिङ सेवा सञ्चालनको अनुमति पाएको थियो । हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले केयर नेपालको सेवा आरम्भ गर्नेछन् । कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने छ । कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायीक प्रतिष्ठान विशाल ग्रुप लिमिटेडको १०, इमर्जिङ नेपाल लिमिटेडको १०, ग्लोबल आईएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश ५।५ प्रतिशत स्वामित्व रहेको छ । केयर रेटिङ नेपाल गत मे मा कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको हो । मुनासिव र प्रतिस्पर्धी मुल्यमा नेपालमा रेटिङको काम गर्ने कम्पनीका निर्देशक विनोद आत्रेयले बताए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी साजन गोयलले सम्हालिरहेका छन् ।
ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सङ्खुवासभा जिल्लाको याखा चोकमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले स्थानिय ९० बर्षिय ज्येष्ठ नागरिक ललुमाया सुबेदिको नाममा खाता खोलि व्यक्तिगत रुपमा २,५०० रुपैयाँ जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गरेका हुन् । साथै, उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
बुधबारको सेयर बजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ४२ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा उतारचढाव आएको छ । बजार खुल्दा १४९३ अंकमा रहेको नेप्से करिब एक घण्टामा १० अंकले ओरालो लागेर १४८३ अंकमा पुगेको थियो । त्यस पछि फेरि एक घण्टाको अवधिमा ९ अंकले बढेर १४९२ अंकमा पुगेको नेप्से पछि पुन ओरालो लागेको छ । अन्ततः बजार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा ९.२९ अंकले झरेर १४८४ अंकमा आइपुगेको छ । बजारमा नेप्से सहित कारोबार रकममा पनि गिरावट आएको छ । बुधबारको बजारमा कुल १५५ कम्पनीको ४२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन जम्मा ९ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको जस्तै बुधबार पनि सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४३ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३१ र २६ अंकले झरेका छन् ।
संसदमा कुनै पनि दलको बहुमत नपुग्ने, दुई तिहाइ र बहुमतको कीर्तिमान काँग्रेसमा सीमित
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कूल २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन भएको थियो । निर्वाचन अयोगको तथ्यांकअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणाली तर्फको मत परिणाम हेर्दा कुनै पनि दलको स्पष्ट बहुमत नपुग्ने देखिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कूल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८०, नेकपा (माओवादी केन्द्र) ३६, नेपाली काँग्रेस २३, राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय समाजवादी फोरम नेपाल १०, नयाँ शक्ति पार्टी नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक, राष्ट्रिय जनमोर्चा एक र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा स्वतन्त्रले एक स्थानमा विजयी भएका छन् । ती राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेका मतका आधारमा एमालेले ४१, नेकाले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ/छ सिट पाउने प्रारम्भिक मत परिणामले देखाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगले शिघ्र समानुपातिकतर्फको मत परिणामका आधारमा दलले प्राप्त गर्ने सिट सङ्ख्या बाडफाँड गरी सार्वजनिक गर्ने जानकारी दिए। दुवै प्रणालीतर्फका परिणामअनुसार प्रतिनिधिसभामा एमाले १२१ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । नेका ६३ सिटसहित दोस्रो ठूलो दल बन्नेछ । त्यस्तै माओवादी केन्द्रले ५३, राजपा नेपालले १७ र संघीय समाजवादी फोरमले १६ सिट प्राप्त गर्ने देखिएको छ । संविधानअनुसार कूल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सदस्य सङ्ख्या आवश्यक पर्छ । प्रतिनिधिसभामा तीमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन भएको थियो । कुनै एक दलको बहुमत नभएका कारण अब सरकार गठन गर्न कम्तीमा दुई दलको गठबन्धन आवश्यक पर्नेछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपनाइएको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै एक दललाई दुईतिहाइ र बहुमत प्राप्त गर्न गाह्रो हुने राजनीतिक विश्लेषकको भनाइ छ । संवैधानिक कानूनका ज्ञाता डा भीमार्जुन आचार्य कुनै एकदलको बहुमत नआउनुलाई समानुपातिक निर्वाचन प्रणालीसँगै निर्वाचनमा गठबन्धन हुनु मुख्य कारकतत्व देख्छन् । उनी भन्छन्, “कुनै एक दलको बहुमत नआएसम्म संविधानअनुसार राजनीतिक स्थायित्वको सम्भावना छैन ।” निर्वाचनमा प्रत्यक्षतर्फ एमाले बहुमतको नजिक पुगे पनि समानुपातिक प्रणालीतर्फको मत परिणामले बहुमत प्राप्त गर्न सकेन । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पनि तत्कालीन माओवादी पार्टीले प्रत्यक्षतर्फ झण्डै बहुमत ल्याए पनि समानुपातिकतर्फ भने बहुमत पुग्न सकेन । दुईतिहाइ र बहुमतको कीर्तिमान नेकामा सीमित विस २०१५ देखि हालसम्म मुलुकमा सात आमनिर्वाचन सम्पन्न भए तर ती सबै निर्वाचनमा नेकाबाहेक कुनै पनि दलले दुई तिहाइ र बहुमत प्राप्त गर्न सकेका छैनन् । नेपालमा निर्वाचनको इतिहास हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको स्थापनापछि बालिग मताधिकारका आधारमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो । कूल १०९ निर्वाचन क्षेत्रमा भएको चुनावमा नेकाले ७४ स्थानमा विजयी भई दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । त्यस्तै नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टी नेपालले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (घन कोदालो) ले दुई, नेपाल प्रजा परिषद् (हलो) ले एक र स्वतन्त्रले चार स्थानमा विजय हासिल गरेका थिए । विसं २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले ११० स्थानमा विजय हासिल गरी बहुमत प्राप्त गर्यो । त्यस्तै एमाले ६९, संयुक्त जनमोर्चा नेपाल नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेकपा (प्रजातन्त्रवादी) दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) एक र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए । नेकाको बहुमतको सरकारले विसं २०५१ मा मध्यावधि निर्वाचनको घोषणा गर्यो । कूल २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । एमाले ८८ स्थानमा जितेर संसद्मा ठूलो दल बन्यो भने नेपाली काँग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र स्वतन्त्र सात स्थानमा विजयी भएका थिए । विसं २०५६ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेकाले १११ स्थानमा विजय हासिल गरी पुनः बहुमत ल्यायो । सो निर्वाचनमा एमाले ७१, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएका थिए । विसं २०६२÷०६३ को जनआन्दोलनको सफलतासँगै मुलुकमा पहिलोपटक २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । यसै निर्वाचनदेखि नेपालमा प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणाली अपनाइएको हो । सशस्त्र संघर्ष गरेर आएको माओवादीले निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै बहुमत ल्याएको थियो । तर समानुपातिकतर्फको मत परिणामपछि भने कुनै पनि दलको बहुमत पुगेन । कूल ६०१ सदस्यीय संविधानसभामा २३८ स्थानमा विजय हासिल गरेर माओवादी सबैभन्दा ठूलो दल बनेको थियोे । पहिलो संविधानसभा संविधान जारी गर्न नसकी विघटन हुन पुग्यो । त्यसपछि मुलुकमा पुनः २०७० मंसिर ४ गते दोस्रोपटक संविधानसभाको निर्वाचन भयो । ६०१ सदस्यीय संविधानसभामा नेपाली काँग्रेसले २०७ स्थान हासिल गरी सबैभन्दा ठूलो दल बन्यो । तर यस निर्वाचनमा पनि कसैले बहुमत ल्याउन सकेनन् । परिणामस्वरुप मुलुकमा राजनीतिक अस्थिरता र अल्पायुमै सरकार परिवर्तन गर्ने प्रवृत्ति मौलाउँदै गएको थियो । नयाँ संविधानले यस प्रवृत्तिलाई केही नियन्त्रण गरेकाले अगामी दिनमा मुलुकमा राजनीतिक स्थिरता कायम हुनेमा आशा गर्न सकिन्छ । रासस
चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दर्ता, ऐन विपरीत कारोबार गरेको आरोप
धनगढी । खाद्य ऐन नियम विपरीत कारोबार गरेको आरोपमा चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालु वर्षको चौमासिक अवधिमा कञ्चनपुरका तीन र बझाङका एक व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको हो । आज यहाँ आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा कार्यालयका प्रमुख उपेन्द्र रायले खाद्य ऐननियम विपरीत गई कारोबार गरेको फेला परेकाले यी व्यापारिक फर्मका सञ्चालकमाथि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको जानकारी दिए । सो अबधिमा कार्यालयले ९६४ खाद्य वस्तुका नमूनाको विश्लेषण र परीक्षण पनि गरेको छ । खाद्य बजार, होटेल, रेस्टुरेन्ट लगायतको अनुगमन गर्दा संकलन गरिएका १०२ वटा खाद्यका नमूनामध्ये सातवटा नमूनामा गुणस्तरयुक्त नभएको फेला परेका छन् । कार्यालयले सीमित साधान र स्रोतका बाबजुत विभिन्न जिल्लाका बजारमा गरिरहेको अनुगमन निरीक्षणका फलस्वरुप विगतको तुलनामा खाद्य गुणस्तरमा सुधार हुँदै गएको बताइएको छ । साधनस्रोतको अभावका कारण कार्यालयले ७ नं प्रदेशका पहाडी क्षेत्रका कतिपय जिल्लामा अझैसम्म नियमित रुपमा अनुगमन निरीक्षण गर्न सकेको छैन । कार्यक्रममा खाद्य क्वारेन्टाइन प्रयोगशाला गड्डा चौकी ९कञ्चनपुर०का प्रमुख गणेशदत्त जोशीले आफ्नो कार्यालयको प्रगतिबारे जानकारी दिएका थिए । सहभागीले खाद्यको गुणस्तर कायम गर्न मौजुदा खाद्य ऐननियमलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए । रासस