सेयर बजार १२ अंकले ओरालो
काठमाडौं । साताको अन्तिम सेयर कारोबार १२.३२ अंकले ओरालो लागेर १४७२.१५ अंकमा झरेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा कुल ४७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टार्ड बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५८ लाख र मुक्तिनाथ विकास बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७ अंकले झरेको छ । उत्पादनमूलक समूहको सूचक भने १४ अंकले उकालो लागेको छ । त्यस्तै, दोहोरो अंकले घटेको बजारमा पनि माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२११ रुपैयाँ रहेको छ । बजारमा विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब ६ प्रतिशतले घटेको छ ।
विद्युत प्राधिकरणले भन्योः लोडसेडिङ भएको छैन र हुँदैन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घोषित÷अघोषित कुनै किसिमको विद्युतभार काटौती (लोडसेडिङ) नभएको स्पष्टपारेको छ । विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा लोडसेडिङ भइरहेको र हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेको भन्दै विद्युत प्राधिकरणको लोडसेडिङको संभावना नरहेको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार प्रेश विज्ञप्ति जारी गरी अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको जानकारी गराएका छन् । प्राविधिक समस्याका कारण कही कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको उनले बताएका छन् । आपूर्तिमा गुणात्मक सुधार ल्याउन फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको उनले बताएका छन् । हिउँद लागेसँगै नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर माग बढ्ने तर सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा पनि व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरणले प्रतिबद्ध व्यक्त गरेको छ । गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ नगर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको उनले जानकारी दिएका छन् । यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ । नपुग करिब ३ सय मेगावाट औद्योगिक ग्राहकमा तीन घण्टा विद्युत कटौती गरेको जनाएको छ । यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको उनले घिसिङले जानकारी दिएका छन् । हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारणलाइन संरचनाबाट सहजरुपमा विद्युत आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारतबाट सहयोग पाइरहेका उनले स्पष्टपारेका छन् । विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आफ्नो तर्फबाट सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
मध्यभोटेकोसी जलविद्युतले २ अर्ब ९४ करोडको आईपीओ ल्याउँदै, साधारणसभाबाट पारित
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न छैठौ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको बाटो खुला भएको छ । कुल पुँजीको ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ । ५१ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सभाले पारित गरेपछि सेयर निष्कासनको प्राविधिक काम सुरु भएको मध्यभोटेकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि काफलेले बताए । उनले इक्रासंग रेटिङको काम सुरु हुन लागेको जानकारी दिए । अहिले सेयर निष्कासन तथा बिक्री प्रवन्धकसंग छलफल भइरहेको काफलेले बताए । प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३.५ प्रतिशतले हुन आउने २१ करोड बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशतले हुन आउने ६ करोड बराबरको ६ लाख कित्ता सेयर निष्कासन हुने छ । यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड., एस क्यापिटल लिमिटेड, सिबीआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेबार पाएका छन् । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण सुरु भएको आयोजना आउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी नयाँ कार्यतालिका तयार भएको हो । हाल आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको सीईओ काफ्लेले बताए । उनले निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुने स्पष्ट पारे । ठेकेदार चीनको क्वाँङ सी हाइड्रो इलेक्ट्रिक कन्ट्रक्सन ब्युरोले गत मार्चबाट पुनः निर्माण सुरु गरेको हो । सुरुङको कुल लम्बाई ७ किलोमिटर बढी छ । ९ अर्ब रुपैयाँ अनुमानित लागतमा सुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । ३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।
प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिहीबार मात्रै सो मात्रा अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बैंकले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत २ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ ।
एभरेष्ट बैंकको नयाँ निक्षेप खाता संचालनमा, दुर्घटना र औषधी उपचार बीमा पाइने
काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, कुनै पनि ब्रान्चबाट कारोबार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ । त्यसैगरी, बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।
गरिमा विकास र डिप्रोक्स डेभलपमेन्ट बैंकको कहिले देखि बुक क्लोज?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको आगामी पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १५ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २८ गते कम्पनीको वार्षिका साधारणसभामा जाँदै छ । त्यस्तै, डिप्रोक्स डेभलपमेन्ट बैंकको पनि आगामी पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी पुस २७ गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ ।
आधा दर्जन व्यवसायीले चुनाव जिते, आधा दर्जन समानुपातिक कुर्दै
काठमाडौं । नेपालमा व्यवसाय र राजनीति पर्याय जस्तै बन्दै गएको छ । पछिल्ला केहि निर्वाचनहरुले पैसाको अपरिहार्यतालाई उजागर गर्दै आएका छन् । अब पैसावालहरुले मात्रै चुनाव जित्न सक्छन भन्ने गलत नजिर स्थापित हुँदै गएको छ । करोड भन्दा बढि खर्च नगरि प्रतिनिधी सभाको निर्वाचन जित्ने उम्मेदवारहरु सायदै भेटिन्छन् । यद्यपी उनीहरुले निर्वाचन आयोगमा भने २५ लाख भन्दा थोरै खर्च गरेको विवरण पेश गर्छन् । व्यवसायीक पृष्ठभूमिका भएका आधा दर्जन भन्दा बढिले प्रतिनिधी सभा सदस्यमा प्रत्यक्ष निर्वाचन जितेका छन । आधा दर्जन उद्यमी व्यवसायी भने समानुपातिक प्रणालीबाट सांसद बन्ने दौडमा छन् । रसुवामा दुई जना क वर्गका ठेकेदार निर्वाचनमा होमिएका थिए । एमालेका जनार्दन ढकाल र काँग्रेसका मोहन आचार्य । काँग्रेसका मोहन आचार्यले निर्वतमान सांसद समेत रहेका एमालेका जनार्दन ढकाललाई पराजित गरे । उता, पर्सा क्षेत्र नम्बर ३ मा संघिय समाजवादी फोरमबाट उम्मेदवारी दिएका हरिनारायण रौनियार विजयी भए । रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक हुन् । झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट वैदेशिक रोजगार व्यवसायी लाल प्रसाद(एलपी) साँवा लिम्बुले निर्वाचन जितेका छन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए । धनुषा क्षेत्र नम्बर ४ बाट एमाले पोलिटब्युरो सदस्य रघुबिर महासेठले निर्वाचत जितेका छन् । युटिएल नेपालमा लगानी कर्ता रहेको महासेठ ठुला उद्यमीकै रुपमा चिनिन्छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित एमालेका रामविर मानन्धर पनि चलचित्र उद्योगी हुन् । अष्टनारायण चलचित्र मन्दिरका मालिक मानन्धरले धेरै चलचित्र निर्माण पनि गरेका छन् । मोरङ ३ मा मेडिकल कलेज सञ्चालक रहेका काँग्रेस उम्मेदवार सुनिल शर्मा पराजित भए भने धादिङ १ मा पेट्रोलियम व्यवसायी विश्व अर्यालले पनि पराजय व्यहोरे । धादिङ २ मै निर्माण व्यवसायी समेत रहेका काँग्रेस उम्मदवार दिलमान पाख्रिनले निर्वाचन हारे । काभ्रे १ मा काँग्रेसकै तिर्थ लामाले पनि निर्वाचनमा पराजित हुनु पर्यो । नाम चलेका निर्माण व्यवसायी कम्पनीका मालिक उनी २०७० सालको निर्वाचनमा भने विजयी भएका थिए । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निर्वाचन लडेका राप्रपा प्रजातान्त्रिकका बिक्रम बहादुर पाण्डेले पनि निर्वाचन जित्न सकेनन् । उनी पनि क वर्गको ठेकेदार कम्पनीका मालिक हुन् । सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणाले पनि निर्वाचन हारे । उनको नेपाल र भारतका धेरै कम्पनीमा लगानी रहेको छ । समानुपातिकको पखाईमा अरबपतिहरु समानुपातिकको मत गणना सम्पन्न भएर पनि तथ्यांक विश्लेषणको काम भैरहेको छ । यतिबेला एमाले, काँग्रेस, माओवादी र मधेशवादी दलहरुको समानुपातिक सूचिमा परेका उद्योगी व्यवसायीहरु समानुपातिक सांसदको अन्तिम नामावली कुरिरहेका छन् । यसपाली काँग्रेसले सबै भन्दा धेरै उद्योगी व्यवसायीलाई समानुपातिक सूचिमा राखेका छ । जसमा नेपालका एक मात्र डलर अरबपति बिनोद, प्रभु ग्रुपका देवी प्रकाश भट्टचन, निर्माण व्यवसायी बहादुर सिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिब्यमणि राजभण्डारी, आनन्दराज मुल्मी, अनिलकुमार रुगंटा, सूर्यबहादुर केसी लगायत छन् । एमालेले भने मोति दुगडलाई मात्रै समानुपातिक सूचिमा राखेको छ । यस अघि एमालेका तर्फबाट राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, महेन्द्र शेरचन लगायत समानुपातिक सांसद बनेका थिए ।
एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा सार्वजनिक, साढे १ लाखकाे बीमा गर्न सकिने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा योजना अन्तर्गत “जन कल्याण”(म्यादी लघु जीवन बिमा योजना) सार्वजनिक गरेको छ । कम्पनीले जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका ग्राहकलाई लक्षित गरी बिहीबार(आज)देखि उक्त योजना सार्वजनिक गरेको हो । यस योजनाले सर्वसाधारणमा न्यून बचतबाट पनि बीमा गरेर आफू र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । यस योजना अन्तर्गत बीमितले दैनिक १ रुपैयाँ भन्दा पनि कम बचत गरेर अर्थात् वार्षिक २२३ रुपैयाँ भुक्तान गरी १ लाख ५० हजार रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । न्युनतम १६ वर्षदेखि अधिकतम ६४ वर्षसम्मका मानिसले बीमा गर्न सक्नेछन् । उक्त बिमा शुल्क अवधी नियमित बीमाशुल्क भुक्तानीमा ५ देखि १५ वर्ष र एकल बीमाशुल्क भुक्तानीमा १ देखि १५ वर्षसम्म रहेको छ । बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत १ लाख ५० हजार रुपैयाँ र दाह संस्कार खर्च वापत १० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, दुर्घटनामा परी बीमित पूर्ण अशक्त वा अंगभंग भएमा तोकिएको रकम क्षतिपूर्ती स्वरुप प्रदान गरिनेछ । त्यस्तै, नियमित तथा एकल बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सकिने र ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ एडीबीको व्यवस्था रहेको छ ।