विकासन्युज

गुहेश्वरी मर्चेण्ट बैंकिङले १० करोड ९१ लाख रुपैयाँ बोनस दिने

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त बोनस पश्चात कम्पनीको पुँजी करिब ८० करोड नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँ रहेको छ ।

तरलता अभावको संकेत, निक्षेप रोक्न बाणिज्य बैंकले बढाए ब्याजदर, केही बैंकले कर्जा नै रोके

काठमाडौं । वाणिज्य बैंकहरुले लगानीयोग्य पुँजी कम हुदै गएको भन्दै मुद्धति खातामा रहेको निक्षेप बाहिरिन नदिन ब्याजदर बढाएका छन् । गत वर्ष लगानीयोग्य पुँजीको चरम अभाव हुँदा बैंकहरुले महंगो ब्याजदरमा मुद्धति निक्षेप उठाएका थिए । यसपाली पनि तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्धति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । ‘तरलता अभावको सम्भावना कायमै छ, गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनुपर्ने बाध्यता भएको हो’ एक बैंकरले भने । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ । ऋण लगानी गर्न रकम नभएपछि गत वर्ष वाणिज्य बैंकले बजारबाट १४ प्रतिशतसम्ममा निक्षेप उठाएका थिए । अधिकाँश बैंकको मुद्धति निक्षेपको रकम फिर्ता हुने समय आएपछि यसलाई रोक्न बैंकले व्यक्तिगत मुद्धतिमा ब्याज दर बढाएको नेपाल राष्ट्र बैंक स्रोतले बतायो । “अहिले बजारमा पर्याप्त तरलता रहेका बेला लगानी गर्ने रकम समस्या देखिन्दैन” स्रोतले भन्यो “गत साल महंगोमा उठाएको व्यक्तिगत मुद्धति निक्षेपलाई रोक्न बैंकले ब्याज दर बढाएका हुन् । बैंकिङ प्रणालीमा अझै ४६ अर्ब रुपैयाँ तरलता छ ।” पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको स्रोतको भनाई छ । अहिले बैंकबीच ब्याज दर बढाउन प्रतिस्पर्धा देखिएको छ । बैंकहरुले पैसा उठाउन व्यक्तिगत मुद्धति निक्षेपमा न्युनतम् १० प्रतिशत ब्याज दिने प्रस्ताव गरेका छन् । मेगा बैंक, सेन्चुरी, माछापुच्छे्र, बैंक अफ काठमाण्डु र सानिमाललगायत अधिकाँश वाणिज्य बैंकले १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेका छन् । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ वर्षमा ९ प्रतिशत ब्याज दिने मुद्धति निक्षेप योजना बिहीबार सार्वजनिक गरेका छ । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् । लगानी गर्न पुँजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले बताए । विकास न्युजसंग कुरा गर्दै उनले केही बैंकमा तरलता भएपनि अधिकाँश बैंकसंग लगानी गर्ने रकम नभएको जानकारी दिए । केही बैंकले कर्जा रोकिसकेको जानकारी पाएको उनले सुनाए । निक्षेप तान्न सानिमाले पनि ब्याज दर बढाएको उनले बताए । “१२ प्रतिशत ब्याजमा निक्षेप उठाउदा कर्जाको ब्याजदर कति हुन्छ ? तपाइ नै अनुमान गर्नुस” उनले भने “त्यसैले सानिमाले घरकर्जा १३ र अन्यलाई १५ प्रतिशत ब्याज लिने भएको छ ।” कर्मचारी संचय कोषलगायत अन्य संस्थागत लगानीकर्ताले पनि ब्याज दर बढाएर १२ प्रतिशत पुर्याएको उनको भनाई छ । पुस मसान्तभित्र अर्बो रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा जाने भएकाले आउदा दिनमा तरलताको अभाव हुने संभावना देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । अहिले नै राज्यको ढुकुटीमा ३ खर्ब रुपैयाँ वचत रहेको बताउदै उनले पुसमा करको रुपमा रकम थप हुदा बजारमा तरताको समस्या आउने संभावना रहेको बताए । तरलताको अवस्था तलमाथि भइरहेकाले बैंकलाई योजना बनाउनका लागि प्रक्षेपण गर्न समस्या परेको उनको भनाई छ । गत वर्ष लिएको व्यक्तिगत मुद्धति निक्षेप रोक्नलाई ब्याजदर बढाउनु परेको उनको भनाई छ । माछापुच्छे्रले अहिले व्यक्तिगत निक्षेप रोक्न वार्षिक १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । संचय कोषलगायत संस्थागत निक्षेपकर्ताले ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको उनको भनाई छ । कोषका कामु प्रशासक दीपक रौनियारले बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशतमा ब्याज दिएको बताए । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले बिहीबार आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ ।

कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल

काठमाडौं । कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल भएकाे छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयका सचिवले त्यस्तो प्रक्रिया अघि बढाउँदा गलत नजिर बस्ने भनेपछि योजना बिचमै तुहिएको हो । ‘हामीले अदालति झमेलामा फसेको क्षेत्रमा यथास्थितीमै कालोपत्रे गरेर नागरिकलाई राहत दिन चाहेका थियौं, मन्त्रालयमा फाइल पनि पठाएका हौं तर रोकियो’, आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले भने । कुल १२.५ किलोमिटर लम्बाईको कलंकी–नागढुंगा सडक खण्डको २५ प्रतिशत क्षेत्रमा सडक विस्तार विरुद्ध दर्जनौं मुद्धा परेका छन् । अदालतले अन्तरिम आदेश दिएकाले तत्काल काम अगाडी बढाउने अवस्थामा पनि नरहेपछि आयोजनाले यथास्तिथीमै पिच गर्ने योजना बनाएको थियो । ‘२५ प्रतिशत सडकमा अवरोध छ, नागरिकले धरै दुःख पाए, त्यसैले अहिलेकै अवस्थामा चैडाई घटाएरै भएपनि पिच गर्ने सोँच बनाएर फाइल माथी पठाएका थियौं तर सफल भएन ।’, श्रेष्ठले भने । उनले यथास्थितिमा पिच गर्ने सम्बन्धी प्रस्ताव एक महिना अघि भौतिक पुर्वाधर मन्त्रालय पठाएका थिए । तर सचिवले यथास्थितिमै कालोपत्रे गर्दा सडक विस्तारका अन्य क्षेत्रमा पनि नकारात्मक नजिर बस्ने भन्दै फाइल फर्काइदिएको बताए । सचिवस्तरिय निर्णय गराएर कालोपत्रे गर्ने सोँच बनाएको आयोजना अब अदालती मामिला सुल्झिएपछि मात्रै काम अघि बढाउने निष्कर्षमा पुगेको छ । हाल सो सडक खण्डमा साढे ६ किलोमिटर सडकमा वाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । फागुनदेखि जेठको अवधीमा सम्पुर्ण खण्ड कालो पत्रे गरिसक्ने योजना अनुसार काम अघि बढेको उनले बताए । ‘जाडो महिनामा पिच राम्रो हुन्न, जाडो अवधी गरि वाल र फुटपाथको काम सक्छौं अनि फागुनदेखि जेठभित्रमा कालोपत्रै गर्ने काम सम्पन्न गर्छाै’, आयोजनाका प्रमुख दिपक केसीले भने । सो सडक खण्डका अधिकांश ठेक्को म्याद सकिनै लागेको छ तर हालसम्म २५ देखि ३० प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ । अदालतका कारण ठेक्का लम्बिने अवस्था आएपछि ठेकेदार कम्पनीले क्षतिपुर्ति माग्ने अवस्था सृजना हुनेछ ।  

प्रिमियम इन्स्योरेन्स कम्पनीको एफपीओ पुस १६ देखि निष्कासन, प्रतिसेयर ७९९ रुपैयाँ

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) पुस १६ गतेदेखि खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ । एफपीओ निष्कासन छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म तोकिएको छ । कम्पनीको सेयर देशभर ३८ स्थानबाट भर्न पाइने व्यवस्था गरिएको छ ।

राधी विद्युतको आईपीओ भर्न आज अन्तिम दिन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आज बिहीबारसम्म मात्र आवेदन लिने भएको छ । बढी आवेदन परेपछि बिहीबार बैकिङ समयसम्म मात्र आईपीओका लागि दरखास्त लिन बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । राधिको आईपीओ गत सोमबारदेखि बिक्री खुला हुने भएको हो । राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ । गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको संचित कोषमा २९ करोड ८४ लाख रुपैयाँ छ ।

१२९ कम्पनीलाई खनिज उत्खनन अनुमति, ५२ वटा चुनढुंगा खानी थपिए

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, टल्क १२, फलाम तीन, डोलोमाइट एक, मार्बल तीन, स्ल्याब आठ, म्याग्नेसाइट एक, जिङ्क एक, कायनाइट ९, क्याल्साइट एक र टुर्मालिनका १२ रहेका छन् । महाशाखाका प्रमुख रामप्रसाद घिमिरे खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरेपनि जम्मा १२९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे बताए । “सबै खोजतलास गरेका ठाँउमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो”– उनले भने । नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चार खनिजको उत्खनन भारतीय र तीन खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेका छन् । नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ । तीमध्ये अति महत्वपूर्णमा सुन, चाँदी, हीरालगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् । मुलुकमा उत्पादित काइनाइट, टुर्मालिन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए । रासस

जाडाेकाे कारण रगतकाे अभाव बढ्दाे, सीई ग्रुप अफ कम्पनीले गर्याे रक्तदान कार्यक्रम

काठमाडौं । सी.ई. ग्रुप अफ कम्पनीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जाडोका कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उदेश्यले सी. ई. ग्रुप अफ कम्पनीले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । यस कार्यक्रमले रगतको अभावलाई सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । बुधबार सी.ई. ग्रुप अफ कम्पनीका प्रमुख बिजय राजभण्डारीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सामाजिक उत्तरदायित्वमा संस्थाको ठूलो भूमिका रहने कुरा बताए । प्रमुख भण्डारीले यसरी रक्तदान गरी सेवा गर्ने मौका पाएकोमा आफु अत्तिनै हर्षित भएको बताए । यस्ता किसिमका सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि गर्दै जाने कुरामा जोड दिए । उक्त रक्तदान कार्यक्रममा १२५ भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए । कार्यक्रममा निःशुल्क मधुमेह परीक्षण र डाक्टर परामर्श पनि प्रदान गरिएको थियो ।

साँसद नवराज सिलवाल विरुद्ध उजुरी, पक्रन प्रहरी परिचालन

काठमाडौं । ललितपुर जिल्ला क्षेत्र नम्बर १ का नवनिर्वाचित साँसद नवराज सिलवाल विरुद्ध किर्ते गरेको भन्दै मुद्धा परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी सिलवालविरुद्ध कागजात किर्ते गरेको अभियोगमा बुधबार प्रहरी प्रधान कार्यलय नक्सालमा उजुरी दर्ता गराएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले उजुरी  दर्ता गराएको जानकारी दिए । गत साता सर्वोच्च अदालतले सिलवालले प्रहरी महानिरीक्षकमा बढुवाका लागि पेश गरेका कागजात किर्ते भएको भन्दै अनुसन्धान गर्न आदेश दिएको थियो । अदालतको फैसला कार्यन्वयन गर्नका लागि प्रहरी प्रधान कार्यलयमा उजुरी दर्ता भएको हो । प्रहरीले अब औपचारिक रुपमा जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने छ । मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सिलवाललाई थुनामा राखेर अनुसन्धान थाल्ने तयारी प्रहरीको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले त्रुटी देखिएको भन्दै कार्वाहीका लागि आदेश दिएको हो । सर्वोच्चले सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको छ ।