विकासन्युज

केयर नेपाल रेटिङको कारोबार सुरु, स्वदेशी लघुवित्तको रेटिङ गर्दै

काठमाडौं । नेपाली तथा भारतको संयुक्त लगानीमा स्थापना भएको केयर रेटिङ्गस् नेपालले लिमिटेडले बिहीबारदेखि रेटिङको कारोबार सुरु गरेको छ । कारोबारको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले शुभारम्भ गरेको छ । केयरले पहिलो व्यवसायको रुपमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङको काम पाएको छ । केयर सञ्चालनमा आएकालो अब इक्रा नेपालको रेटिङमा एकाधिकार तोडिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष कार्कीले नेपालको बजार सम्भाव्यताका आधारमा तथा वित्त बजारमा बढी पारदर्शीता ल्याउने केयरलाई अनुमति दिएको जानकारी दिए । नेपालमा पुँजीबजारको आकार बढ्दै गएकाले १ भन्दा बढी रेटिङ एजेन्सीको आवश्यकता भएको बताए । केयर रेटिङ्गस् लिमिटेडको संयुक्त लगानीमा स्थापित केयर रेटिङ्गस् नेपालले गत कार्तिक ३० गते बोर्डबाट नेपालमा रेटिङ्ग व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको थियो । केयर नेपालले साधारण सेयर (आइपिओ) र हकप्रद सेयरको स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानी कोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निधार निर्धारण गर्ने भएको छ । २ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना भएको कम्पनीमा केयर रेटिगं भारतको ५१, विशाल ग्रुपको १९, इमर्जिगं नेपालको १० बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट हाउसको ९ प्रतिशत लगानी छ ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा नियुक्त भएका छन् । गत मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अरोरालाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । अरोराले नियुक्त भएको दिन देखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।

पुर्णिमा विकास बैंकको साधारणसभा पुस २८ मा, ८ करोड ४५ लाखको बोनस सेयर बाँड्ने

  काठमाडौं । पुर्णिमा विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस २८ गते रुपन्देहीमा बस्ने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाबाट पारित हुने कार्यक्रम छ । बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी बढाउन प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । बैंकलाई गाभ्ने वा प्राप्ति गर्ने विषयमा सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव सभाले पारित गर्ने छ ।

कञ्चन डेभलपमेन्ट बैंकले ५ करोड ५५ लाखको बोनस सेयर बाँड्ने

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा पुस २९ गते कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई चुक्तपुँजीको १२.३३ प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ५९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।  

सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ पुनरागमन, विगतकाे द्वन्द्व विर्सेर सहकार्य गर्ने प्रतिवद्धता

काठमाडाैं । सिभिल बैंक लिमिटेडका अध्यक्ष ई. इच्छाराज तामाङ्गले पदभार समालेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसँग बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरेका हुन् । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तामाङ्गलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तामाङ्ग सो बैंकका संस्थापक अध्यक्ष हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) ले प्रतिनिधिसभा सदस्य बैंकको अध्यक्ष बन्न नपाउने व्यवस्था गरेपछि केही महिना अघि मात्र तामाङ्गले पदबाट राजीनामा दिएका थिए । वाफिया बनाउने क्रममा सभासद्हरु बैंकको सञ्चालक बन्न पाउने कि नपाउने भन्ने विषयमा गभर्नर नेपाल र सभासद् इच्छाराज तामाङबीच नीतिगत विवाद भएको थियो । अन्तत उक्त विवादमा गभर्नर नेपाललाई सफलता मिलेको थियो । उक्त विवादलाई विर्सदै सपथग्रहण कार्यक्रममा आपसमा सहयोग गर्ने भनाई दुबैले व्यक्त गरेका राष्ट बैंक स्राेतले बतायाे । सभासद्को कार्यकाल सकिएपछि तामाङ्गलाई बैंक अध्यक्ष बन्न बाटो खुला भएको थियो । मंसिर २२ गतेदेखि शेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद शेयरको निस्कासन गरेको यस बैंकले हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजी कोषमा रहेको रकम र गत आ.व.को नाफाबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रूपैयाँ पुर्याउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

फुटबलमा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ  । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन् । त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् । विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम, छैटौँमा स्पेन, सातैाँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । फिफाले प्रत्येक महिना बरियता सार्वजनिक गर्दछ । रासस

बीपीसीको एफपीओ पुसभित्रै, प्रतिकित्ता ५०१, एफपीओ किन्नेले लाभांश पनि पाउने

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले थप निष्कासन (एफपीओ) पुसभित्रै ल्याउने भएको छ । कम्पनी रजिष्टारको कार्यलयमा अद्यावधिक गर्ने काम सकिलगतै बीपीसीले एफपीओको आब्हानपत्र सार्वजनिक गर्ने भएको छ । कम्पनी रजिष्टारको काम सकिनसाथ एफपीओ निष्कासन हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । कम्पनी रजिष्टारको कार्यलयले यस वर्षदेखि नयाँ नियम लागु गरेकाले प्रक्रिया पुरा गर्नतर्फ समय लागेको उनले भनाई छ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने उनले बताए । एफपीओ गर्नुअघि वार्षिक साधारणसभा गर्न धितोपत्र बोर्डबाट विशेष स्वीकृति लिनुपर्ने उनको भनाई छ । प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो । एफपीओबाट बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने छ । एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३/७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।

जलविद्युत लगानी तथा विकास कम्पनीले ५० करोड लाभांश बाँड्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको छैटौ वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । कम्पनीको स्वतन्त्र व्यवसायीक सञ्चालक मनोनयन गर्ने विषय सुचि रहेको छ ।