युनाइटेड फाइनान्सको साधारणसभा पुस २९ मा, हकप्रद निष्कासन रद्ध र मुत्तुट फाइनान्सलाई साझेदार बनाउने
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन नगर्ने भएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगिसकेको बताउदै थप २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने पहिलाको निर्णय रद्ध गर्न लागेको हो । गत वर्ष सम्पन्न २२ औं साधारणसभाले चुक्तापुँजी बढाउन १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीको पुस २९ गते बस्ने २३ औं साधारणसभामा हकप्रद सेयर निष्कासन रद्ध गर्ने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट १९ प्रतिशत बोनस सेयर निष्कासन गरेपछि चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्ने भएको छ । सभामा गत आवमा गरेको नाफाबाट १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख ७८ हजार १३९ कित्ता बोनस सेयर वितरणको प्रस्ताव सभाबाट पारित हुनेछ । यस्तै भारतको कोचीस्थित मुत्तुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्राउने प्रस्ताव सभाबाट पारित हुने भएको छ । यसका लागि प्रिमियम दरमा प्रतिकित्ता १९० रुपैयाँमा २१ लाख कित्ता संस्थापक समूहको थप सेयर जारी गर्ने र यस सम्बन्धित सबै काम गर्ने अख्तियार सञ्चालक समितिमा दिने प्रस्ताव सभाबाट पारित हुनेछ । यस्तै फाइनान्सले निर्जीवन तथा जीवन बीमाको एजेन्टको भई काम गर्ने भएको छ । यसका लागि साभामा प्रस्ताव पारित गर्ने कार्यक्रम छ । सभाले सञ्चालक समितिको संरचनामा परिवर्तन गरी ४ जना संस्थापक, २ जना सर्वसाधारण र १ जना विज्ञ सञ्चालक समिति हुने प्रस्ताव पनि पारित गर्ने छ ।
बिजुली उत्पादन कम भएपछि व्यवस्थापनमा समस्या झेल्दै, कुलमान भन्छन, सबैको सहयोग आवश्यक छ
काठमाडौँ । हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर त्यसलाई निरन्तरता दिन दैनिकजसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ । प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग १ हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारण लाइनमा करिब ३ सय मेगावाट विद्युत् अपुग हुँदै आएको छ । आन्तरिक रुपमा प्राधिकरणको करिब ३८०, निजी प्रवद्र्धकको २८० र भारतबाट ३७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती गर्दै आएको छ । हाल नेपालको उत्पादित विद्युत् जडित क्षमता १ हजार १० मेगावाट छ । तर हिउँदको समयमा कूल जडित क्षमताको करिब ५० प्रतिशतको हाराहारीमा मात्रै विद्युत् उत्पादन हुने गरेको छ । माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा विद्युत् व्यवस्थापनका लागि समस्या पर्दै आएको छ । पुराना संरचना र जीर्ण प्रसारण लाइन तथा वितरण प्रणालीका कारण देशका विभिन्न स्थानमा समस्या आइरहेको छ । भक्तपुरमा पछिल्लो दिनमा देखिएको समस्या त्यसैको उपज भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ । प्राधिकरणले सबस्टेशनको मर्मत, प्रसारण लाइनको मर्मत तथा नयाँ संरचना निर्माणमा जोड दिएर तत्कालको व्यवस्थापन गर्दै आएको छ । हिउँदको माग सम्बोधन गर्न प्राधिकरणले ४७० मेगावाट आयात गर्ने लक्ष्य राखेको छ । माग र आपूर्तिबीचको चर्को असन्तुलनका कारण विद्युत् वितरणमा समस्या आएको भन्दै सकेसम्म मिलाएर व्यवस्थापन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। दशैलगत्तै भक्तपुरको सबस्टेशनमा मुसा छिरेर प्रसारण प्रणाली अवरुद्ध गरायो भने शुक्रबार बाँकेको कुसुममा जंगली हात्तीले प्रसारण प्रणालीमा क्षति पुयाउँदा सुदूरुपश्चिम र मध्यपश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या खडा गरेको छ । प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेको कुलेखानीमा गत वर्षभन्दा यस वर्ष बढी पानी जम्मा भएका कारण समस्या कम हुने प्राधिकरणको प्रक्षेपण छ । प्रसारण लाइन बिग्रँदा तथा अन्य आयोजनाबाट विद्युत् उत्पादनमा समस्या आउँदा चलाउने गरी कुलेखानीको पानी जम्मा गरेर राखिएको प्राधिकरणको भनाइ छ । भार व्यवस्थापनमा कुलेखानीको यस हिउँदमा महत्वपूर्ण सहयोग हुने कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवको भनाइ छ । कुलेखानीमा हाल पानीको सतह १ हजार ५२४ मिटरमा छ । हिउँदभर ९२ मेगावाट विद्युत् उत्पादनका लागि उक्त परिणामको पानी उल्लेख्य रहेको प्राधिकरणको बुझाइ छ । यसै महिनाको अन्तिम साताबाट मात्रै कुलेखानी चलाउने योजनामा प्राधिकरण छ । कुलेखानी जलाशयका कारण हाल दुईवटा विद्युत्गृहले विद्युत् उत्पादन गर्ने गरेको छ । कुलेखानी तेस्रो निर्माणमा संलग्न निर्माण व्यवसायीले समयमा काम नगर्दा थप १४ मेगावाट विद्युत् उत्पादन गर्ने पानी त्यत्तिकै खेर फाल्नु परिरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन गर्ने बताइए पनि सम्भावना कम छ । यस्तै काबेली करिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेका तीन आयोजनासमेत समस्यामा परेका छन् । काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको भए राष्ट्रिय प्रसारण लाइनमा ५७ मेगावाट विद्युत् थप हुने भए पनि प्राधिकरणले ध्यान नदिएको काबेली ‘बी’ एक आयोजनाका प्रमुख रमेशकुमार न्यौपाने बताउछन् । उता प्रसारण लाइनको अभावमा दोलखाको सिप्रिङखोला जलविद्युत् आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या पैदा भएको छ । सो आयोजनाले १० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । ३ मेगावाट विद्युत् माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले प्रयोग गरिरहेको छ भने बाँकी विद्युत् खेर गइरहेको छ । चालु आवको ५ महिनामा निजी क्षेत्रका सात आयोजनाले ४० मेगावाट विद्युत् थप गरेका छन् । तर हिउँदमा ती आयोजनाले मात्रै २० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गरिरहेका छन् । हिउँदको समयमा नदीमा पानीको सतह घटेका कारण प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेका मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’ले ८० मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाको क्षमता १४४ मेगावाट छ । आउदो फागुनमा कालिगण्डकीको बिजुली उत्पादन घटेर ४८ मेगावाटमा सीमिति हुने छ । प्राधिकरणले साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्दै विद्युत् व्यवस्थापनमा सहयोग गर्न गत वर्ष जस्तै आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबैको सहयोगले गत वर्ष जस्तै यस वर्षको हिउँदमा समेत विद्युत् व्यवस्थापनमा आफूहरु सफल हुने बताए । प्राधिकरणले यस वर्ष नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाएको २५ मेगावाटको सौर्य ऊर्जा उत्पादन प्रणाली प्रक्रियामा देखिएको विवादका कारण रोकिन गयो । कुलेखानी तेस्रो आयोजनामा निर्माण व्यवसायीले धोका दिए पनि निर्माण शुरु भएको करिब ११ वर्षपछि ३० मेगावाट क्षमताको चमेलिया आयोजना निर्माण सम्पन्न भएको छ । सो आयोजनाका कारण सुदूर र मध्यपश्चिममा विद्युत् व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ । रासस
हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको आईपीओ ल्याउदै, चैतसम्म निष्कासन हुने
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको छ । आउदो चैतसम्म आईपीओ निष्कासन भइसक्ने हिमालय ऊर्जाका प्रवन्धक प्रकाश दुलालले बताए । कम्पनीको वार्षिक साधारणसभा अगावै आईपीओ निष्कासन गर्न लागेको उनले जानकारी दिए । आईपीओको काम सुरु गर्न साधारणसभा चैतमा गर्ने मिति तय भएको दुलालले बताए ।कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । कम्पनीको गत वर्षको १६ औ साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुत्त गरेको छ । सरकारी जग्गाको लिजमा लिने काम सकिएपछि आईपीओ निष्कासनको काम अघि बढ्ने उनको भनाई छ । कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।
राष्ट्र बैंकले सिक्का छाप्न ५ कम्पनी छनौट गर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिक्का छाप्न ५ वटा विदेशी कम्पनीलाई छनौट गरेको छ । राष्ट्र बैंकले १, २ र ५ दरका सिक्का छाप्न अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट ५ वटा कम्पनीलाई छनौट गरेको हो । यी कम्पनीले मात्र सिक्का छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् । पुर्वयोग्यता छनौट भएका कम्पनीमा मेनिका पोलस्का एसए पोल्याण्ड, चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेशन, दी रोयल मिन्ट लिमिटेड, दी इन्डोनेसियन गभरमेन्ट सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन र मिन्ट अफ फिनल्याण्ड लिमिटेड रहेका छन् । यी कम्पनी मध्येबाट सबैभन्दा कम दर प्रस्ताव गर्नेले सिक्का छाप्ने ठेक्का पाउने छन् ।
एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा
कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्दै छ । प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिईसकेको छ । ३ अर्ब रुपैयाँको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरेको छ । उक्त ऋणपत्र पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिन्छ । ऋणपत्रको पाँच फाइदाहरु ऋणपत्रको सबैभन्दा आकर्षक पक्ष भनेको उच्चतम व्याजदर हो । बैंकले ऋणपत्रको व्याज वार्षिक ९ प्रतिशत तोकेको छ र व्याज अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने जनाएको छ । ‘९ प्रतिशत व्याजदर लगानीकर्ताको लागि धेरै राम्रो अवसर हो’ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रबक्ता रोशनकुमार न्यौपाने भन्छन–‘हामीले विगत १० वर्षसम्म बैंकहरुले मुद्दति बचतमा दिने व्याजदरको अध्ययन गरेको थियौं । १० वर्षमा मुद्दति खाताको औसत व्याज ७ दशमलव २५ प्रतिशत रहेछ, हामीले त्यो भन्दा बढी व्याज दिएका छौ ।’ बैंकको व्याजदर घट्ने वा बढ्ने हुन्छ भने ऋणपत्रको व्याजदर ७ वर्षसम्म स्थीर रहने छ । लामो अवधिका लागि स्थीर व्याजदार यस ऋण पत्रको दोस्रो फाइदा हो । नेपालको वित्तीय बजारमा मुद्रास्फिति दर भन्दा बैंकले दिने व्याजदर प्रयाः कम हुन्छ । हाल मुद्रास्फित ७.५ प्रतिशतको हाराहारीमा छ । मुद्रास्फिति दरभन्दा भन्दा ऋणपत्रको व्याजदर बढी भएको लगानीकर्तालाई हुने देखिएको छ । मुद्रास्फिति दर भन्दा उच्च दरको प्रतिफल पाउनु लगानीकर्ताको लागि चौथो फाइदा हो । ऋणपत्रको पाँचौं फाइदा भनेको यो ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा पनि सूचिकृत हुन्छ । सूचिकृत हुँदाको फाइदाबारे न्यौपाने भन्छन्–‘मुद्दति खातामा राखेको पैसा बीचमा चलाउनु पाइदैन । तर यो ऋणपत्र नेप्सेमा सूचिकृत हुने हुँदा नगदको आवश्यकता पर्दा ऋणपत्र बिक्री गर्न सकिन्छ । आम्दानीको पनि निश्चित भएको र आवश्यक पर्दा बिक्री गर्न पनि सकिने भएकोले लगानीकर्ताको लागि दोहोरो लाभ छ ।’ दीर्घकालिन सोचका साथ लगानी गर्ने व्यक्तिगत वा संस्थागत दुबै प्रकारका लगानीकर्ताको लागि राम्रो वित्तीय उपकरण भएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल बताउँछन् । ‘बैंकको व्याज कहिले १२ प्रतिशत पुग्छ, कहिले ५ प्रतिशतमा झर्छ’ उनले भने–लगानीे पोर्टफोलियो मिलाउन र संस्थाको आम्दानीमा सन्तुलन कायम गर्न यस्तो ऋणपत्र बजारको लागि आवश्यक भएको हुन्छ ।’ दीर्घकालिन लगानीको लागि पुँजी भएको जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाहरुका लागि यो ऋणपत्र लगानीको लागि राम्रो अवसरको भएको र यी संस्थाहरुले लगानीको लागि चासो देखाईरहेको प्रवक्ता न्यौपानेले बताए ।
शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी १ अर्ब नाघ्यो
काठमाडौं । शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सो मात्राको बोनस शेयरको वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिबाट २०७५ आषाढ मसान्तभित्र निर्जिवन बीमा कम्पनीले चुक्तापुँजी १ अर्ब पुर्याउनुपर्ने निर्देशन भएकोमा कम्पनीले बोनस शेयरकै माध्यमबाट चुक्तापुँजी कायम गर्न सफल भएको छ । साथै, सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने समेत निर्णय गरेको छ । कम्पनीले चालु आव सम्ममा १ अर्ब ४३ करोड रुपैयाँको बीमाशुल्क संकलन गर्न सफल भएको बताएको छ ।
शनिबार पोखरामा एनसेल मेला हुँदै, चर्चित कलाकारहरुको सहभागी
काठमाडौं । एनसेलले शनिबार “एनसेल मेला २०७४” पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमामा आयोजना गर्दैछ । कम्पनीले आफ्ना ग्राहकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न उक्त मेलाको आयोजना गर्न लागेको हो । गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुँने भएको छ । मेलामा चर्चित कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आफ्नो विषेष प्रस्तुतीबाट मनोरञ्जन प्रदान गर्नेछन् । एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । स-साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहनेछन् । मेलाको अरु आकर्षणहरुमा पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । मेलामा प्रवेश निःशुल्क हुने र कन्सर्ट सहित साझ ६.३० सम्म चल्ने छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । मेलामा एनसेलको विषेश फोरजी जोन पनि रहने छ जहाँ मेलामा सहभागी आगन्तुकहरुले देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न सक्नेछन् । यसका साथै दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । पर्यटकीय नगरी पोखरामा मेला मार्फत आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न कम्पनी उत्साहित रहेको एनसेलले जनाएको छ । पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुने कम्पनीले जनाएको छ ।
पुस १५ सम्म मेलम्ची दोस्रो खण्डको सुरुङको काम सम्पन्न हुने
काठमाडौँ । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान–ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब ९ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । सिन्धु–ग्याल्थुम खण्डमा कमजोर चट्टान भेटिएकाले काम ढिला भए पनि सम्पन्न गर्ने सम्झौता भएकै मितिमा सकिने समितिले जनाएको छ । यो खण्डमा ५०० मिटरभन्दा बढी सुरुङ खन्न बाँकी छ । इटालियन ठेकेदार कम्पनी सिएमसीले आगामी चैत १२ सम्म सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सुरुङसँगै मुहानस्थलमा ‘हेड वक्र्स’ का काम पनि भइरहेको प्रवक्ता पन्तले बताए । सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई सफलरुपमा परीक्षण पनि भएको छ । अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माणको काम शुरु भएको छ । विसं २०७५ को शुरुआतसँगै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । सुन्दरीजलदेखि उपत्यकामा विभिन्न भागमा पानी वितरणका लागि पाइप बिच्छ्याउने कामको जिम्मेवारी भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ । पहिलो चरणमा पानी वितरण गर्न तोकिएका स्थलमा चैतअगावै पाइप बिच्छ्याइ सकिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । सुरुङ निर्माण सम्पन्न भएपछि सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । रासस