विकासन्युज

प्राधिकरणकाे प्रसारणलाइन निर्माणमा ढिलाई, थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न गरेको छ । नेपालमै पहिलो ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योग सञ्चालनको तयारी भइरहँदा विद्युत् नपाएपछि उद्यमीले ५० मेगावाट विद्युत् उत्पादन गर्ने गरी थर्मल प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ । नेपालको विशाल समूह र चीनको होङ्सी समूहको संयुक्त लगानीमा नवरपरासीको सर्दीमा उद्योग स्थापना भएको छ । आगामी फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन गर्ने तयारीमा उद्योग छ । कूल ३६ अर्ब रूपैयाँ लागतमा उद्योग स्थापना भए पनि विद्युत्का लागि थप १ अर्ब ३६ करोड रूपैयाँ लगानी गर्नुपर्ने होङ्सी शिवम् उद्योगका नायब महाप्रबन्धक गौरव गोयलले जानकारी दिए। उद्योगले सुधारिएको स्टिम इञ्जिन प्रणालीबाट खेर जाने धुलोलाई प्रयोग गरेर १२ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी रहेको छ । उद्योगबाट दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । कूल ८० मेगावाट विद्युत् उपलब्ध भए दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सकिने गोयलको भनाइ छ । सरकारले उद्योग र कलकारखानाका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि सोअनुसारको काम हुन सकेको छैन । सरकारले आफ्नै प्रतिबद्धता पूरा नगरेका कारण होङ्सी शिवम् सिमेन्ट उद्योगमा समस्या देखिएको हो । मुलुकमा औद्योगिक वातावरण बनाउने भन्दै एक दशक अगाडि उद्योग स्थापनामा गर्ने क्षेत्रमा अत्यावश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति ल्याएको थियो । तर सो नीति हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । आवश्यक विद्युत् उपलब्ध नभएका कारण उद्योग स्वयंले नै १७ वटा आफ्नै डिजेल प्लान्ट राख्ने काम शुरु गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो आयोजनामा सरकारले दुई वर्षभित्र विद्युत् जोड्ने आश्वासन दिएको गोयल स्मरण गर्छन् । प्राधिकरणले भने सरकारको अनुरोधपछि बर्दघाट सर्दी प्रसारण लाइन निर्माणको काम अगाडि बढिसकेको जानकारी दिएको छ । तर आगामी फागुनबाट सिमेन्ट उत्पादन गर्ने तयारीमा रहेको उद्योगसम्म पुयाउने प्रसारण लाइनको सर्वेक्षण मात्रै सम्पन्न भएको छ । मुलुकमा ठूला भौतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक पर्ने सिमेन्ट भारतलगायतका मुलुकबाट आयात भइरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि गुणस्तरीय सिमेन्टमा देखिएको परनिर्भरता केही हदसम्म भए पनि अन्त्य हुने बताइएको छ । उद्योगका महाप्रबन्धक लाई विपेङले बिजुलीसँगै सडक र वन क्षेत्रको जग्गा प्रयोगमा समेत समस्या रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको दुम्कीबासबाट १२ किमी उत्तरी क्षेत्रमा स्थापना गरिएको उद्योगसम्म पुग्ने सडक उद्योग स्वयंले निर्माण गरेको छ । सडक ग्राभेलिङ गरिएको छ । उक्त सडक कालोपत्र गर्ने जिम्मा सरकारको हो । उद्योगले चुनढुंगा निकाल्ने पाल्पाको ज्यामिरेमा वन मन्त्रालयले आवश्यक सहजीकरण नगरेको नायब महाप्रबन्धक गोयलको भनाइ छ । वन मन्त्रालयले चुनढुंगा निकाल्ने स्थान बराबरको जग्गा उस्तै वातावरणमा खरिद गरेर उपलब्ध गराउन उद्योगलाई भनेको छ । उद्योगमा दैनिक एक हजार ५०० मजदुर कार्यरत छन् । स्थानीयस्तरमा रोजगारी उपलब्ध भएको छ भने सिमेन्ट आयातमा देखिएको परनिर्भरतासमेत अन्त्य हुने विश्वास लिइएको छ । उद्योगले बजारमा उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने दाबी गरेको छ । जलविद्युत् आयोजना, पुल तथा ठूला संरचना बनाउन नेपालका अन्य सिमेन्ट उद्योगको गुणस्तर नपुग्ने भन्दै नायब महाप्रबन्धक गोयलले होङ्सी शिवम् सिमेन्ट उद्योगले नेपालमा पहिलोपटक उच्च क्षमताको सिमेन्ट उत्पादन हुन लागेको जानकारी दिए । रासस

रिलायन्स उद्योगले शुरु गर्यो उखु क्रसिङ

कलैया  । मनहर्वा–५ स्थित रिलायन्स सुगर एण्ड केमिकल उद्योगले उखु क्रसिङ शुरु गरेको छ । उद्योगका उखु महाप्रबन्धक ओमप्रकाश शुक्लाका अनुसार उद्योगले यस वर्ष बारा, पर्सा र रौतहटका कृषकबाट खरिद गरी करिब ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । आव २०७३/७४ मा सो उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा उखुको अभावले गर्दा कूल १६ लाख ६४ हजार क्विन्टल मात्र क्रसिङ गरी कूल एक लाख ५३ हजार ४६७ क्विन्टल चिनी उत्पादन गरेको थियो । रासस

हात्तिले टावरमा क्षति पुर्याएपछि बिजुली आपूर्ति बन्द, पश्चिमका केही स्थानमा लोडसेडिङ

काठमाडौं । कुसुम र कोहलपुरकाबीच समशेरगञ्ज नजिक पर्ने १३२ केभी. डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्याउदा विद्युत प्रसारण हुन नसकी सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ । टावर नंम्बर ४८५ क्षतिग्रस्त भएपश्चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था नरहेपछि भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेको छ । सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । टावरको वास्तविक क्षति जाँचगरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुस १६ गतेदेखि बुक क्लोज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आगामी पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ११ दिन बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चाल समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी छ । १०० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ ।

बोनसपछि तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । शुक्रबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, मुक्तिनाथ विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । रुरल माइक्रोफाइनान्सको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१२ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको पनि २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५५ रुपैयाँ रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । त्यसैगरी, सिभिल लघुवित्तको पनि ४.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँ रहेको छ ।

एनआरएनले भने-सेयर बजारमा १० अर्ब लगानी गर्छाै

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन) का पदाधिकारीहरुले सेयर बजारमा लगानी गर्ने व्यवस्था भएमा सुरुमै १० अर्ब लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग सेयर बजारमा एनआरएनको लगानीका बारेमा छलफल गर्न पुगेका पदाधिकारीहरुले सुरुमै १० अर्बको लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । भेटमा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पुँजी बजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको र सुरुमै १० अर्ब लगानी गर्ने मनसाय तयार पारेको बताएका हुन् । भेटमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुँजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि लगायतका सुधारका काम सम्पन्न गरेको बताएका थिए । उनले एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मकरुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि बढाईसकेको जानकारी पनि दिएका थिए । डा.कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको जानकारी पनि दिएका थिए ।  

हिमालयन डिष्टिलरीको नगद लाभांस पारित

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रतिसेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । हालै सम्पन्न कम्पनीको १७औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसाव सहितको नगद प्रवाह विवरण पारित गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभंसमा लाग्ने कर सहित प्रतिसेयर २१.०५ रुपैयाँका दरले नगद लाभांस वितरण गर्न लागेकाे हाे । साथै, साभाले कम्पनीका संस्थापक समुहबाट रहिशा शाह श्रेष्ठ, अखिलेश्वरप्रसाद सिंह र नरेन्द्रकुमार वस्न्यात् निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समुहबाट शंकरराज पाण्डे र साण्टु श्रेष्ठ निर्विरोध सञ्चालकमा चयन भएका छन् ।

काबेली करिडोरमा ढिलाइले लगानीकर्ता मारमा , ५७ मेगावाट विद्युत् खेर जाने

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारणलाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका ३ वटा आयोजनाकाे  बिजुली  खेर जाने भएकाे छ । कूल ५७ मेगावाट क्षमताका ३ आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारणलाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन् । झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु भएको हो । पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छ । आर्थिक वर्ष २०६२/६३ देखि शुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन सकेको छैन । जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइनको निर्माण अवरुद्ध छ । सो करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’ ए, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेका छन्र  । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली ‘बी’ एकको लगानी र ४ अर्ब ३० करोड, तल्लो हेवाको लगानी ४ अर्ब तथा इवा खोलाको लगानी १अर्ब ६० करोड  रूपैया छ । काबेली ‘बी’ एको करिब ९८ प्रतिशत काम सम्पन्न भएको छ । सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगे पनि प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने स्थिति निम्तिएको गुनासो गरे । प्राधिकरणले १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या भएको उनकाे भनाइ छ । करिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकतामा नराखेको निजी ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले प्राधिकरणले ठेकेदारलाई प्रभावकारीरुपमा काममा लगाउन नसकेकामा आपत्ति जनाएका छन् । काबेली ‘बी’ अरुण काबेली पावरले  निर्माण गरेको आयोजना हो । सो आयोजनाका प्रमुख पोखरेलले प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा समस्या परेको बताए। पेनस्टक पाइप र मेशिन जडानको काम भइरहेको छ भने आयोजना निर्माण सम्पन्न हुन लागे पनि प्रसारण लाइनको अभावमा समस्या भएको छ । कूल २२ मेगावाट क्षमताको तल्लो हेवा खोला निर्माण सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी चैतको अन्तिमसम्म निर्माण सम्पन्न हुने आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए । स्थानीय थापाटारमा रहेको प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । निजी ऊर्जा उद्यमीले प्राधिकरणले प्रसारण लाइन निर्माणमा सधैँ समस्या मात्रै देखाउने र समस्या समाधानमा चासो नदेखाएको गुनासो गरेका छन् । यता प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या सहजीकरण गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यक निर्देशन दिइसकेकाे जानकारी दिए । प्राधिकरणले स्थानीय प्रशासनले काममा सहयोग नगरेको गुनासो गरेको छ । प्रसारण लाइनको ‘राइट अफ बे’मा पर्ने जग्गाको मुआब्जा वितरणमा स्थानीयवासीले चित्त बुझाएका छैनन् । जसका कारण २२ वटा टावर निर्माणमा समस्या पैदा भएको छ । प्राधिकरणले पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग जग्गाको मुआब्जाको विषयमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरिसकेको छ । तर काम किन शुरु हुन नसकेको हो सो बारेमा प्राधिकरणले स्पष्ट जानकारी दिन सकेको छैन । रासस