विकासन्युज

सरकारी ढुकुटीको पैसा बैंकहरुले नपाउने

काठमाडौं । बाणिज्य बैंकहरुले सरकारी ढुकुटीमा रहेको पैसा निक्षेपका रुपमा नपाउने भएका छन् । लगानी योग्य पुँजी अभावको तत्कालिन समाधानका रुपमा सरकारको बिभिन्न कोषको रकम बाणिज्य बैंकहरुलाई दिन सकिने वा नसकिनेबारे अर्थमन्त्रालयले छलफल चलाएको थियो । ‘सरकारी कोषको केहि रकम बाणिज्य बैंकलाई निक्षेपका रुपमा दिन मिल्छ की मिल्दैन भनेर अध्ययन गरिरहेका छौं, अध्ययन सकिँदासम्म लगानी योग्य पुँजीको अभाव पनि हट्न सक्छ’, अर्थमन्त्रालयका एक सहसचिवले भने । उनका अनुसार बाणिज्य बैंकलाई सरकारी कोषको रकम निक्षेपका रुपमा दिने वा नदिने भन्नेबारे प्रारम्भिक अध्ययन मात्रै भएको हो । सरकारी ढुकुटीको पैसा बैंकहरुलाई उपलब्ध गराउन विद्यमान कानुनले नदिने अवस्था रहेको पनि उनले बताए । ‘हामीले सरकारी कोष पनि चलायमान हुनुपर्छ भन्ने मान्यता अघि सारेका छौं, यहि बेलामा वित्तिय क्षेत्रले कोषको पैसा माग्यो, हामीले के हुन सक्छ भनेर बुझ्न मात्रै थालेका थियौं, यहाँ त पाइन्छ रे भनेर हल्ला नै हुन थाल्यो, विद्यमान कानुनले त्यस्तो गर्न दिँदैन’, ति अधिकारीले भने । उता, राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाले भने सरकारी कोषको पैसा बाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा दिन नसकिने स्पष्ट पारे । वित्तिय क्षेत्रले निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्नु भएकाले सोही अनुसार आफ्नो काम गर्न बैंकहरुलाई सुझाव पनि दिएका छन् । बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा लगानी धेरै मात्रामा बढाएकाले लगानी योग्य पुँजीको अभाव भएको पनि बताए । ‘निक्षेप संकलन भन्दा धेरै कर्जा लगानी गर्ने अनि सरकारी कोषको पैसा चाहियो भन्ने यस्तो पनि हुन्छ ?’, कार्यकारी निर्देशक थापाले भने । उता, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि निक्षेप बढाउन नसके कर्जा लगानी पनि नगर्न बैंकरहरुलाई निर्देशन दिँदै आएका छन् । उनले निक्षेपको वृद्धि दर भन्दा धेरै कर्जा लगानी गरेर बैंकहरुले निउँ खोजेको भन्दै कडा कदम चाल्ने चेतावनी समेत दिएका थिए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने सरकारी कोषहरुमा जम्मा भएको केहि रकमलाई निक्षेपका रुपमा उपलब्ध गराएर सरकारले लगानी योग्य पुँजी अभावको तत्कालिन समाधान दिनुपर्नेमै जोड दिए । ‘सरकारी कोषमा रहेको केहि रकमलाई निक्षेपका रुपमा बैंकहरुलाई उपलब्ध गराएर यो समस्याको समाधान गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं, त्यसो गर्दा हामीले पनि बिजनेश पाउँछौं र सरकारको आम्दानी पनि बढ्छ’, नेपाल बंगलादेश बैंकका सिइओ समेत रहेको बैंकर्स संघका अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।

फागुनमा अन्तर्राष्ट्रिय व्यापार मेला हुदै, मंलबारदेखि मेलाको लागि स्टल बुकिङ खुल्ला

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ यस वर्ष फागुन २४ देखि २८ गतेसम्म राजधानीमा हुने भएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा आयोजना हुने उक्त सातौ व्यापार मेलाको लागि मंगलबार बाट स्टल बुकिङ खुल्ला गरिएको जनाइएको छ । नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न तथा स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई उकास्न सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । मेला  आयोजना गर्न वाणिज्य मन्त्रालयले सहयोग गर्ने भएको छ भने, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गर्ने भएको छ । अयोजकको अनुसार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको ३ सयभन्दा बढी स्टल रहनेछ । मुलुकबाहिर सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ । मेलामा मुख्य आकर्षण हस्तकलाका उत्पादनहरू, एनटीआइएसका प्रोडक्टहरू रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रियाको व्यवस्था गरिने  जनाइएको छ। हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी स्टलहरु राखिने छ । त्यस्तै शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन लगायतका पनि छुट्टाछुट्टै स्टलहरू रहने अयोजकले जानकारी दिएको छ । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने सो मेलाको स्वदेशी र विदेशी गरी करिव २ लाख ग्राहक तथा अवलोकनकर्ताहरूले अवलोकन गर्ने आयोजकले अपेक्ष राखेको छ । आयोजकका अनुसार गएको वर्ष भएको छैटौ मेलामा एकलाखभन्दाबढी स्वदेशी एवं विदेशी अवलोकनकर्ताहरुले मेलाको अवलोकन गरेका थिए ।

मृगौला, क्यान्सर र प्यारालाइसिस रोगीलाई दिईने ५ हजार भत्ताको कार्यविधी एक हप्ता भित्रै

काठमाडौं । नेपाल सरकारले मृगौला, प्यारालाइसिस र क्यान्सरका बिरामीहरुलाई दिने भनिएको ५ हजार रुपैंयाको कार्यविधी स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकृत हरिदास शर्माका अनुसार मन्त्रालयले कार्यविधी निर्माण गरी मन्त्रीपरिषदमा पेस गरेको हो ।अहिले मन्त्रिपरिषदमा राय तथा सुझाव संकलनको कार्य भैरहेको र ४/५ दिनमा कार्यविधी पास हुने चिकित्सा सेवा विभागका प्रमुख भोला राम शर्माले जानकारी दिए । गत पुस महिनामा सरकारले मृर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीहरुलाई जिवन यापन सहज बनाउन भन्दै मासिक ५/५ हजार रुपैंया दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषदले कार्यबिधी पास गरेपछि यी रोगका पीडितहरुले मासिक पाँच हजार भत्ता पाउनेछन् । विभागका प्रमुख शर्माले कार्यबिधी पास भए लगत्तै रोगीहरुलाई भत्ता वितरण गर्ने बताए । सरकारले अहिले मृर्गौलाका रोगीहरुलाई त्रिवी शिक्षण अस्पतालमा निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ । यस्तै प्यारालाइसिसको बिरामीलाई एक लाख रुपैया खर्च दिदैँ आएको छ भने अंग प्रत्यारोपण गर्नका लागी ५ लाख ५० हजार प्रदान गर्दै आएको छ । सरकारले पिडीतहरुलाई दिने भत्ता रकम रक्सी र चुरोट लगायत बस्तुहरुमा थप कर लगाई रकमको स्रोत जुटाउने तयारी गरेको छ ।

ओम डेभलपमेन्ट बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा घटेको छ । गत पुससम्म बैंकले १५ करोड रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेको जानकारी दिएको हो । तरलता कसिलो हुदा थप लगानी गर्न नसकेको र निक्षेपको लागत बढेका कारण नाफा घटेको बैंकले जनाएको छ । बैंकको निष्क्रिय कर्जा १.१७, निक्षेप लागत ८.४०, सीडी रेसियो ७६.४७, आधार ब्याजदर ११.४७ र स्प्रेड दर ४.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १२ अर्ब ९९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । बैंकले १५ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा कर्जा लगानी ११ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ९१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी २ अर्ब १३ करोड रुपैयाँ छ ।

मेगा बैकको नाफा ३९ करोड ३६ लाख, निष्क्रिय कर्जा घट्यो

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आवमा मेगाले २ करोड रुपैयाँ मात्र नाफा बढाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा घटेर ०.९६ प्रतिशतमा झरेको छ । गत असोजमा यस्तो कर्जा १.६७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.५८, सीडी रेसियो ७९.३७, आधार ब्याजदर १०.९६ र स्प्रेड दर ३ प्रतिशत मात्र छ । प्रतिसेयर आम्दानी १०.६४ प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर ४५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप ३७ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि बढेर ४० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिम कर्जा लगानी ३४ अर्ब ११ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

आर्टिफिसिएल इन्टेलिजेन्स मोवाइल एप बनाउदै कुलप्याड, ३००० हजार अनुसन्धाकर्ता अनुसन्धान र विकासमा व्यस्त

काडमाडौं । कुलप्याडले नयाँ प्रविधिसहितको मोवाइल निर्माण गर्न ३० करोड अमेरिकी डलर लगानी थप्ने भएको छ । सो लगानीमा कम्पनीले सिलिकन भ्यालीमा नयाँ प्लान्ट राख्ने भएको छ । पावर सन भन्चर मार्फत उक्त लगानी हुन लागेको कम्पनीले जनाएको छ । कुलप्याडका सिईओ जिया चावको अनुसार कुलप्याडले आफ्नो फोकस मोबाइल फोनमा निर्माणमा मात्र नभए र ए.आई प्रविधि भएको एप्प निर्माण गर्ने छ । नयाँ एप्स हेल्थ, एजुकेशन र गेमिङमा पनि कन्द्रीत हुनेछ, जसले आर्टिफिसिएल इन्टेलिजेन्सको काम गर्नेछ । कुलप्याड मोवाईलको व्यवसाय गर्ने कम्पनी मात्र नभई आर्टिफिसिएल इन्टेलिजेन्स टेक्नोलोजिको विकासमा केन्द्रीत भएको उनले बताए । कम्पनीले ३००० हजार अनुसन्धानकर्तालाई नया प्रविधिको लागि अध्यायन र आविष्कारमा खटाएको जनाएको छ । ‘जियाङ र उनको टोलिले गरेको काममा हामी विश्वस्त छौं कि दुई वर्षभित्रमा संसारमा हाम्रो बास्तविक व्यवसाय पस्कने छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कुलप्याडले अहिलेसम्म १० हजार भन्दा बढी आविस्कारको प्याटेन्ट राईट सुरक्षित गरेको छ जसको प्रयोग विश्वभर उत्पादन हुने विभिन्न ब्राण्डका मोबाइलमा हुने गरेको छ । कुलप्याडले विकास गर्ने नयाँ प्रविधिले दुई वर्षमा उल्लेख्य व्यवसाय वृद्धि गर्ने किकी ग्रुपको फाउन्डर र हेड चेङ वाले बताए । कुलप्याडले नेपालीमा बजारमा आफ्नो उपस्थिति फेब्रुवरी २०१७ बाट कुलवान, मेगा २.५ डी, मेगा ३, नोट ३एस र एनएक्स१ बाट गरेको हो । जयमा इन्टरकन्टिनेटल प्रा. लि. नेपालका लागि कुलप्याड स्मार्टफोनको आधिकारिक बिक्रेता हो ।

दोस्रो पुस्ताको राडार सञ्चालनमा आउँदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ‘टु जी राडार’ केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो ।   प्राधिकरण, यहाँस्थित जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार प्राविधिक परीक्षणको अनुगमन गर्ने तयारी गरिएको प्राधिकरणका निमित्त उपमहानिर्देशक नरेन्द्र थापाले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनोटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा अब १२० एरोनोटिकल माइलमा स्तरोन्नति हुनेछ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ । भट्टेडाँडाको ८ हजार २०० फिट अर्थात् २ हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको छ । उपत्यका बाहिर उडिरहेका जहाजलाई अहिलेसम्म रेडियो सिग्नलका आधारमा सम्पर्क गरेर अवस्था थाहा पाउनुपर्ने बाध्यता रहेकामा नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत १ अर्ब रुपैयाँ छ । नयाँ राडार जडान भएपछि काठमाडौंदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिनेछ । हाल नयाँ जडित राडारले उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा पनि जानकारी लिन वा दिन सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उनको भनाइ छ । भट्टेडाँडामा जडान गरिएको ‘इनरुट राडार’ र विमानस्थलमा जडिन गरिएको ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ । नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भूभागलाई समेटिने र उडान थप सुरक्षित हुने प्राधिकरणका निमित्त उपमहानिर्देशक थापाले बताए । अनौपचारिक रुपमा सञ्चालनमा आएको उक्त राडारको गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको ‘फेडरल एभिएसन एड्मिनिस्ट्रेसन’को जहाजले उडान गरी परीक्षण गरेको थियो । भट्टेडाँडामा जडित राडारले नेपालको पूर्वको सबै भूभाग र पश्चिममा दाङसम्मको विमानको गति, उचाइलगायतको जानकारी पाउन सकिने प्राधिकरणका निमित्त उपमहानिर्देशक थापाले जानकारी दिए । पुरानो राडारले करिब ११० किलोमिटर ९६० एरोनोटिकल माइल परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किलोमिटर २५० एरोनोटिकल माइलसम्मको जहाजको सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजबीचको दूरी घट्न जाने तथा पाँचदेखि नौ किलोमिटरको अन्तरमा राखेर विमानले उडान÷अवतरण गर्न सकिनेछ । अहिलेसम्म २० देखि २८ किलोमिटर अन्तरको दूरीमा राखेर उडान÷अवतरण गराउँदै आएको थियो । विसं २०५७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो प्रविधिको भएकाले नयाँ राडार सञ्चालनमा ल्याइएको हो । थाइ एयरको जहाज रसुवाको घोप्टेभीरमा दुर्घटना भएपछि राडार जडान गरिएको थियो । रासस

मञ्जुश्री फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

  काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । धितोपत्र बोर्डले मञ्जुश्रीलाई १ सय बराबर ५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन मञ्जुश्रीले ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।