फोर्डको कारमा अधिक मूल्य निर्धारणा, तीन दिनभित्र प्रष्ट पार्न विभागको निर्देशन
काठमाडौ। फोर्डको १. ५ लिटर क्षमताको पेट्रोलबाट चल्ने इकोइकोस्पोर्ट गाडीकाे मूल्यमा कैफिएत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठको नेतृत्व गएको अनुगमन टोलिले फोर्डको गाडी इकोस्पोर्टमा कैफियत भेटेको हो । टोलिले मंगलबार काठमाडौं स्थित फोर्डको आधिकारीक बिक्रेता जिओ अटोमोबाइल्स प्रालि थापाथलिमा अनुगमन गरेको थियो । अनुगनको क्रममा उक्त ‘एचआर–६४६०० इञ्जीन भएको गाडीको मूल्य सूचिमा भ्याटबाहेक २२ लाख ५८ हजार रुपैयाँ रहेकोमा करबाहेक २४ लाख ८६ हजार रूपैयाँमा बिक्री गरेको फेला पारेको थियो । साथै सोही गाडीको बिक्री मूल्य २८ लाख २३ हजार रुपैयाँ राखेर ३ लाख ३६ हजार रुपैयाँ छुट दिएको पाइएको छ । ती सम्पूर्ण रकमको बारेमा सोध्दा कम्पनीले प्रष्ट पार्न नसकेपछि तीन दिनभित्र प्रष्ट लिखित जवाफ विभागमा पेश गर्न अनुगमन टोलीका संयोजक श्रेष्ठले निर्देशन दिए । ‘ग्राहकहरुको उजुरिको आधारमा पछिल्लो समय विभागले विभिन्न गाडी बिक्रेता कम्पनीहरुको अनुगमन तिब्र पारेको छ,’ उनले भने ‘यो अभियानलाई निरन्तरता दिने छौं ।’ उनले कैफियत भेटिएको गाडी कम्पनीहरुको विभिन्न चरणमा अनुसन्धान गरिने बताए । ठगि गरेको स्पष्ट प्रमाण जुटेमा सिधै प्रहरी प्रशासनमा अनुसन्धानको लागि फाइल दर्ता गराउने उनको भनाइ छ ।
अरुण फाइनान्सको सञ्चालकमा तीन जना चयन
काठमाडौं । अरुण फाइनान्स लिमिटेडको सञ्चालकमा तीन जना चयन भएका छन् । गत पुस २७ गते सम्पन्न संस्थाको २१औँ वार्षिक साधारणसभाले फाइनान्सको सञ्चालकमा अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाललाई चयन गरेको हो ।
अन्नपुर्ण संरक्षण क्षेत्रमा ६.६ मेगावाटको गाच्र्याङ्ग खोला जलविद्युत आयोजना बन्ने
काठमाडौं । अन्नपुर्ण संरक्षण क्षेत्रको ८.२६ हेक्टर जमिन प्रयोग गरी गाच्र्याङ्ग खोला जलविदुयत आयोजना निर्माण हुने भएको छ । सिटिजन हाइड्रोपावर प्राइभेट लिमिटेडले कास्कीमा ६.६ मेगावाट क्षमताको गाच्र्याङ्ग खोला जलविदुयत निर्माण गर्न लागेको हो । आयोजनाको विद्युतगृह कास्कीको नामार्जुन गाउँ विकास समितिमा हुनेछ । विद्युतगृह २० मिटर लम्बाई, १० मिटर चौडाई र १० मिटर उचाई हुने कम्पनीले जनाएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ को दफा ६ बमोजिम वातावरणीय प्रभाव मुल्याङ्ककनको लागी सूचना समेत जारी गरेको छ । सूचना अनुसार आयोजनाबाट कास्की जिल्ला साबिककोे नामार्जन गाउँ विकास समिति प्रभावित बन्नेछ । सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा संस्थाको ठेगानामा पुग्ने गरी लिखित राय तथा सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ ।
नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार मात्रै नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएकाे छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ रहेको छ ।
सानिमामाई हाइड्रोपावरको सेयर मूल्यमा निरन्तर गिरावट, यस्तो छ कारण
काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य निरन्तर घट्दै गएको छ । सेयर मूल्य घट्दै गएपनि दुई सातादेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सबैभन्दा बढी सेयर कारोबार सानिमामाईको नै भइरहेको छ । गत वर्षको चैतको दोस्रो साता सानिमाको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २३९ रुपैयाँ पुगेको थियो । त्यसपछि सेयर मूल्य लगातार घट्दै आएको छ । मूल्य समायोजन भएपछि १ हजार १०५ बाट घटेर ६१५ मा झरेको थियो । मूल्य समायोजनपछि लगानीकर्ताले झण्डै २ सय रुपैयाँ गुमाएका छन् । गत पुस १८ गते प्रतिकित्ता ५ सय रुपैयाँमा कारोबार भएको सानिमाको सेयर मूल्य लगातार घट्दै गएर मंगलबार प्रतिकित्ता ४२३ रुपैयाँमा झरेको छ । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी जलविद्युत आयोजनामा लगानी गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । कम्पनीले गत आवमा २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट लगानीकर्ताले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि कम्पनीले १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । सबैभन्दा बढी कारोबार भएपनि यस हाइड्रोको सेयर मूल्य भने निरन्तर ओरालो लागेको छ ।
नेप्से परिसूचक १४ सय अंक तल, उत्पादनमूलक बाहेक सबै समूह राताम्मे
काठमाडौं । मंगलबारको नेप्से परिसूचक १४ सय अंकबाट तल झरेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको परिसूचक मंगलबार झण्डै दोहोरो अंकले ओरालो लागेको छ । समग्रमा मंगलबारको परिसूचक ९.०५ अंकले झरेर १३९३.०४ अंकमा अडेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन कुल १५५ कम्पनीका ३२ करोड २६ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको २ करोड ९२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८७ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र होटल समूह दोहोरो अंक अर्थात क्रमशः २९ र ३७ अंकले घटेका छन् । सो दिन उत्पादनमूलक समूह भने सोमबारको तुलनामा स्थिर रहेको छ । बजारमा सबैभन्दा बढी फष्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस संस्थाका लगानीकर्ताले मंगलबार मात्रै ५.४१ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।
आशा लघुवित्तको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्र चितवनको विरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावको समिक्षा, प्रगति र व्यक्तित्व विकासको विषयमा छलफल भएको छ । सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा, दिपेन्द्र खनाल, सुजित खतिवडा, अशोक कोईराला र सुशिल पौडेलले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका हुन् । कार्यक्रममा प्रभु मनी ट्रान्सफरका संजय थापाले वर्तमान स्थीतिमा ग्रामिण जनता समक्ष मनी ट्रान्सफरले दिएको सेवाको बारेमा समेत छलफल गरेका थिए ।
३ वर्षमा नाफा ३ सय प्रतिशत बढाउने नेको इन्स्योरेन्सको योजना
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आउदो ३ वर्षमा नाफा ३ गुणा बढाउने भएको छ । कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा ३ सय प्रतिशत बढाएर ५९ करोड ७० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा उसले २० करोड ८५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । चालु आवमा कम्पनीले नाफालाई बढाएर ३२ करोड ४१ लाख, आव ०७५/०७६ मा ४५ करोड ९ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण सार्वजनिक गरेको छ । कम्पनीको नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ७४ पैसा पुर्याउने लक्ष्य लिएको छ । गत आवमा कम्पनीको ईपीएस २९.२५, आगामी वर्ष २७.५६ र आव ०७५/०७६मा ३३.३४ रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । यस्तै नेकोको आम्दानी पनि बढेर ३ वर्षमा ९६ करोड ४१ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गत आवमा कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढेर ५४ करोड ४३ लाख, आगामी वर्ष ७४ करोड ५६ लाख रुपैयाँ पुग्ने छ । जगेडा कोष बढेर ३३ करोड ३१ लाख रुपैयाँ पुर्याउने उसको लक्ष्य छ । यसैगरी नेकोले बीमा शुल्क आर्जन बढाएर १ अर्ब ४८ करोड रुपैयाँ पुर्याउने भएको छ । गत आवमा कम्पनीले ७४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवमा बढाएर ९४ करोड ९३ लाख र आगामी वर्ष ०७५/०७६ मा १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७१ करोड २८ लाख रुपैयाँ छ । आगामी ३ वर्षमा यसलाई बढाएर १ अर्ब ५५ करोड रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ । चुक्तापुँजी बढाउन नेकोले आउदो माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।