सेयर बजार सामान्य अंकले उकालो, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाए सबैभन्दा बढी
काठमाडौं । केही समयअघि देखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक १.६९ अंकले उकालो लागेर १३९४.७३ अंकमा पुगेको छ । बुधबारको परिसूचकमा केही सुधार आएता पनि सेयर कारोबारमा भने गिरावट भएको छ । मंगलबार ३२ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार सबैभन्दा बढी नेपाल फाइनान्सको ३ करोड ५४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । सामान्य वृद्धि भएको बुधबारको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन यस इन्स्योरेन्सका लगानीकर्ताले ५.६४ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४९ रुपैयाँ रहेको छ, जुन अघिल्लो दिनको तुलनामा ८८ रुपैयाँ बढी हो । उता हिमालयन डिष्टिलरीको सेयर मूल्य भने ५.८० प्रतिशतले घटेको छ । बजारमा उत्पादनमूलक, माइक्रोफाइनान्स र फाइनान्स समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः १६ र १४ अंकले उकालो लागेका छन् ।
राष्ट्र बैंकले नोट छाप्न छान्यो आधा दर्जन विदेशी कम्पनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ । नयाँ नोटको डिजाइन, छाप्ने र आपूर्ति समेतको कामका लागि बैंकले विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेण्डर) गर्न लागेको छ । राष्ट्र बैंकले ग्लोबल टेण्डरमा भाग लिनका लागि आधा दर्जन विदेशी छपाइ कम्पनीलाई छनौट गरेको छ । छनौटमा परेका कम्पनीले ग्लोबल टेण्डरमा भाग लिन पाउने छन् । छनौटमा पर्नेमा गिसेक डेरिभेन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच जर्मनी, चाइना बैंक नोट प्रिटिङ एन्ड माइनिङ कर्पोरेशन, डेला रुइ इन्टरनेसनल लिमिटेड वेलायत, बुण्डुड्रोकी जीएमबीएच जर्मनी, ओवरर्थर फिन्डुसाइरे फ्रान्स र पेरुम पर्सेटेकन युङ रिपब्लिक इन्डोनेशिया रहेका छन् । राष्ट्र बैंकले एक चरण सबै दरको नोट छाप्ने प्रक्रिया अघि बढाएको हो । पुराना नोटलाई क्रमश विस्थापन गर्दे लैजान केन्द्रीय बैंकले नयाँ नोट छाप्नका लागि ठेक्कापट्टाको काम सुरु गर्न लागेको हो । छनौट भएका कम्पनीले मात्र नोटको डिजाइन, छाप्ने र आपूर्तिको कामका लागि हुने ग्लोबल टेण्डरमा भाग लिन पाउने छन् । यी मध्य सस्तो दरभाउ प्रस्ताव गर्नेले नोट छाप्ने जिम्मा पाउने छ । गत सेप्टेम्बर १२ मा राष्ट्र बैंकले कम्पनीको छनौटका लागि आशयपत्र मागेको थियो । यसअघि पिक्युका लागि प्रस्ताव आब्हान गर्दा सन्तोषजनक प्रस्ताव नपरेपछि रद्ध गरे पुनः आब्हान गरेको हो । केन्द्रीय बैंकले ५, १०, २०, ५०, १००, ५०० र १००० दरका ७ श्रेणीमा नयाँ नोट छाप्नका लागि पिक्यु गरेको जनाएको छ । यति नोट छाप्ने भनेर निश्चित नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए । “अहिले नै यति नोट छाप्ने निर्णय भएको छैन” उनले भने “कम्पनी छनौटपछि आवश्यकता अनुसार यसको प्रक्रिया सुरु हुने छ ।”उनका अनुसार यसको समय अवधि २ वर्षको हुने छ । मुलुकमा सेक्युरेटी प्रेस नहुदा राष्ट्र बैंकले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बो रुपैयाँ विदेशिने गरेको छ । लगानी बोर्डले नेपालमै नोट छपाइ गर्नका लागि ठुलो लगानीमा सेक्युुरिटी प्रेस राख्ने तयारी गरेपनि प्रक्रिया अवरुद्ध भएको छ । यसको प्रक्रिया अघि नबढेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी बताउछन् । केन्द्रीय बैंकले अधिकाँश नोट सिङापुर र इण्डिोनेशियामा छाप्ने गरेको छ ।
दुई लाखभन्दा बढी भूकम्प पीडित दोस्रो किस्ताका लागि प्रमाणीकरण
काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको सङ्ख्या दुई लाख नाघेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको मंगलबार दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको सङ्ख्या दुई लाख चार हजार ९९३ पुगेको हो । विसं २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा गत पुस मसान्तसम्म तोकिएको थियो । यस अवधिमा दोस्रो किस्ताका लागि योग्य लाभग्राहीको सङ्ख्या उल्लेखनीय रुपमा बढेको हो । यो तथ्यांकले पछिल्लो समय निजी आवास पुनःनिर्माण तीव्र रुपमा भइरहेको देखाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन् । ‘‘भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा इन्जिनियर, प्राविधिक खटिएका तथा दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण पनि निजी आवास पुनःनिर्माणले गति लिएको हो’’, उनले भने । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३८८ लाभग्राही छन् । सबैभन्दा कम भक्तपुरका एक हजार ९२१ लाभग्राही रहेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार घरको जग राखेपछि पुनःनिर्माणका लागि प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिश गर्छन् । भूकम्प कम प्रभावित १७ जिल्लाका दोस्रो किस्ताका लागि लाभग्राहीको लगत संकलन पनि भइरहेको छ । मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका अनुसार अति प्रभावित १४ जिल्लामा पुनःनिर्माण सम्पन्न भएका र निर्माणाधीन घरको सङ्ख्या तीन लाख ६० हजार ४७८ पुगेको छ । तथ्यांकअनुसार निर्माण सम्पन्न भएका घरको सङ्ख्या ९० हजार २६२ छ भने निर्माणाधीन घरको सङ्ख्या दुई लाख ७० हजार २१६ छ । प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार धादिङमा सबैभन्दा धेरै १८ हजार ९४० घर पुनःनिर्माण भएका छन् । सबैभन्दा कम भक्तपुरमा ३६२ भूकम्पले भत्किएका घर बनाइएको प्रवक्ता भुसालले बताए । भूकम्प पीडित भई लाभग्राही सूचीमा परेका पीडितले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी रु तीन लाख अनुदान पाउँछन् । रासस
सिद्धार्थ बैंकको माघ २२ गते बुक क्लोज, १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आगामी माघ २२ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकले १० बराबर १ को अनुपात अर्थात १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकलाई सो मात्राको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते नै अनुमति दिएको थियो । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
गरिमा विकास बैंकको सञ्चालकमा खड्का र ढकाल चयन
काठमाडौं । गरिमा विकास बैंकको नयाँ सञ्चालकमा डा. भुपेन्द्रबहादुर खड्का र सञ्जिब ढकाल चयन भएका छन् । बैंकको हालै सम्पन्न ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा खड्का र ढकाललाई चयन गरेको छ । डा. भुपेन्द्रबहादुर खड्का सञ्जिब ढकाल खड्का र ढकाल दुबै जना सर्वसाधारण समूहबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।
कालीगण्डकी करिडोरको कुस्मा-मिर्मी खण्डको ट्रयाक असारभित्रै खोल्ने
पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा-मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी-कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी सम्मको थोरै भूभागमा बाँकी रहेको ट्रयाक खोल्ने काम असार सम्ममा नै सक्न लागिएको हो । करिडोरको मिर्मी-कुस्मा खण्डमा झण्डै दुई किलोमिटर मात्रै सडकमा ट्रयाक खोल्न बाँकी रहेको छ । भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने गैँडाकोट-मिर्मी-फलेवास-जोमसोम-कोरल्ला सडक ३७७ किलोमिटर लामो छ । सेतीवेणी-मिर्मी खण्डमा पर्ने पिँडीखोलाको ठूलोखोलादेखि मिर्मी सम्मको सय मिटर कठिन पहरोमा ट्रयाक खोल्न बाँकी छ भने पर्वतको मोदीवेणीदेखि अर्मादीसम्म मात्रै डेढ किलोमिटर मिटर ट्रयाक खोल्नका लागि काम भइरहेको छ । “थोरै मात्र ट्रयाक खोल्न बाँकी छ, यसै वर्षभित्र खोलिसक्ने गरी काम अगाडि बढाइएको छ”, करिडोरको गैँडाकोट-राम्दी-मालढुंगा आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले भने । मोदीवेणी र मोहनडाँडा मिर्मी खण्डको पहरोमा ट्र्याक बनाउन विस्फोटन गर्नुपर्ने आवश्यकता भएकाले नेपाली सेनाको सहयोग लिनुपर्ने देखिएको छ । कालीगण्डकी करिडोरमा कालीगण्डकी पश्चिममा पाल्पा-गुल्मी-बागलुङ खण्डमा सडकको अधिकांश ट्रयाक नेपाली सेनाले खोलेको छ भने विभिन्न खोलामा बेली ब्रिज बनाउने कामसमेत सम्पन्न गरिसकेको छ । पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्रयाक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन । अहिले फलेवास नगरपालिकाको मुडिकुवादेखि अर्मादी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । मोहनडाँडादेखि मिर्मीसम्म विस्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अधुरै छ । आयोजना कार्यालयका अनुसार फलेवासदेखि अर्मादी सम्मको सडकको ट्र्याक खोल्ने काम असार सम्ममा सक्ने लक्ष्य छ । रानीपानीदेखि फलेवाससम्मको २२ किलोमिटर सडक चक्लाबन्दी गरी ग्राभेल स्ट्याण्डर्डको बनाउन टेण्डर आह्वान भइसकेको छ । त्यसका लागि रु ३९ करोड ३० लाख बजेट विनियोजन भएको छ । अहिले पनि मोदीखोला, लमायखोला र सेतीखोलामा पक्कीपुल निर्माणका लागि काम शुरु भएको छ भने आँधीखोलामा पुल निर्माणका लागि टेण्डर आह्वान गर्न अन्तिम चरणमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । “सडकको धेरै क्षेत्रमा काम भइरहेको छ, बजेटको पनि अभाव छैन”, उनले भने, “भूगोल र ठेकेदारका कारण कहिलेकाहीँ समस्या आएको छ”, उनले ठेकेदारलाई दबाब दिएर पनि लक्ष्यअनुसार समयमा काम सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । कालीगण्डकी करिडोरको पर्वत-मिर्मी खण्ड जम्मा ५५ किलोमिटर छ भने बागलुङ-गुल्मी-पाल्पा खण्ड यो भन्दा झण्डै ३० किलोमिटर बढी छ । पर्वत खण्डमा समयमा पुल र सडकको काम सक्ने हो भने उत्तर दक्षिण आउने सवारी साधनले यही मार्ग प्रयोग गर्ने सम्भावना छ । कालीगण्डकी करिडोरको पर्वत खण्डका लागि निरन्तर अभियान चलाइरहेका प्रदेशसभा सदस्य विकास लम्साल यो खण्डको काम जुनसुकै हालतमा पनि समयमा पूरा गराउने बताए । “कुस्मा-मिर्मी खण्डमा पुल र सडक निर्माणका लागि निरन्तर दबाब र अनुगमन जारी रहन्छ”, उनले भने, “समयमा नै काम सम्पन्न गर्न बजेटदेखि प्रक्रियागत ढिलाइ हुन दिइने छैन ।” पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले पनि करिडोरको कामलाई जुनसुकै हालतमा पनि सम्पन्न गराउन बजेटको कमी हुन नदिने बताए । ठेकेदारका कारण ढिलाइ हुने अवस्थामा नेपाली सेनालाई जिम्मा दिएर पनि काम अघि बढाउनुपर्ने उनको धारणा छ । गिरी सहितको टोलीले बागलुङ-गुल्मी खण्डमा नेपाली सेनाले गरेको काम अवलोकन गरेर फर्केको छ । अवलोकनका क्रममा नेपाली सेनालाई जिम्मा दिएमा सोचेको भन्दा छिटो र गुणस्तरीय हुने देखिएको उनले बताए । रासस
महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई सहयोग वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नवलपरासीेको तिलौली स्थित त्रिमूर्ती प्राथमीक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर साे विद्यालयलाई उक्त सहयोग प्रदान गरेको हो । कार्यक्रममा रामग्राम नगरपालीकाका मेयर नरेन्द्र गुप्ताले बैंकको यो कार्य सराहनीय भएको र यस सहयोगले अहिलेको आधुनिक युगमा, शहरमा जस्तै गाउँ गाउँमा पनि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय समर्थ भएको बताएका छन् । उक्त कार्यक्रममा श्री त्रिमूर्ती प्राथमीक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गरेका छन् । साथै, यस बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।
नबिल फाउण्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं। नबिल बैंंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका छात्र छात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ । फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा सञ्चालक माधवप्रसाद रेग्मीले सरस्वती पूजाको दिन पारेर उक्त सामाग्रीहरु बितरण गरेका फाउण्डेसनले जनाएको छ । फाउण्डेसनको अनुसार वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालको उपस्थित रहेको थियो । सो अवसरमा फाउण्डेसनका अध्यक्ष अग्रवालले शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।