आइएमईका १० व्यवसायीक साझेदार युएई भ्रमणमा
काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १० व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । आइएमईले गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोबारका आधारमा आफ्ना साझेदारहरुलाई उक्त भ्रमण गराएको हो । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गीकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो । त्यस्तै, गत मंसिरमा आफ्ना दशजना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुर पश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखी व्यापार प्रवद्धनात्मक कार्यक्रम अन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो । यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका सहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आइएमई सेन्टर सञ्चालनमा ल्याएको छ । साथै, सातै वटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिटेन्स सेवा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा, निर्माण लागत ३८ करोड रुपैयाँ
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिएका छन् । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै अरु कसैले बनायो भने मात्र हो नत्र हामी नै हौँ पहिलो”, उनले भने । मुलुकको मौसमी सूचना प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन अत्याधुनिक भवन बनाइएको महानिर्देशक शर्माको भनाइ छ । चार रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनमा बढीभन्दा बढी सौर्य ऊर्जा प्रयोग गरिनेछ । ‘एयर टनेलिङ’ को व्यवस्था गरिने हुँदा यसले भवनको प्रत्येक कोठाको तापक्रम एउटै बनाउन मद्दत गर्छ । सामान्यतः वायुमण्डलमा तापक्रमको घटबढ असाध्यै धेरै हुन्छ । जमिनको पाँच/दश मिटर तलतिर जाँदा तापक्रमको भेरिएसन बिहान, दिउँसो र राति त्यति धेरै हुँदैन । महानिर्देशक शर्माले भने, “अहिले बनाउन खोजिएको जमीनको तापक्रम सबै कोठामा पुर्याइनेछ, किनकि त्यहाँको हावा धेरै तातो पनि नहुने, धेरै चिसो पनि नहुने हुँदा त्यो हावा माथि पठाउँदा कोठाको तापक्रम बाहिरको जस्तो नभएर चिसोमा तातो र तातोमा चिसो हुन्छ । यसले एयर कण्डिसन (एसी) लगाउन नपर्ने हुँदा ऊर्जा बचत हुने भएकाले हामीले वातावरणमैत्री भनेका हौँ ।” भवनमा मौसमी सूचना प्रवाह गर्न अत्याधुनिक मौसमी टिभी स्टुडियो, मौसमी उपकरण गुणस्तर मापनको प्रयोगशालालगायत अन्य थुप्रै प्रयोगशाला रहनेछ । विभागका अनुसार हाल भवनको करिब ४० प्रतिशत काम सकिएको छ । दशतले र पाँचतले दुई भवनमध्ये पाँचतले भवन ढलान भइसकेको छ । एक वर्षअघि शुरु भएको भवन निर्माण अबको करिब एक वर्षभित्रै सकिने महादिर्नेशक शर्माले बताए । नेपाली ठेकेदार कम्पनीबाटै निर्माण भइरहेको भवनको कूल लागत मूल्यअभिवृद्धि करसहित रु ३८ करोड हुनेछ । भवन बनेपछि विभागले हाल भाडामा प्रयोग गरिरहेको कामपा-१ नागपोखरीको केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखालाई बबरमहलमै सारेपछि मौसमी गतिविधिसम्बन्धी सबै काम नयाँ भवनबाटै हुन्छ । विभागका हाल देशभर ठूला छ कार्यालय धरान, विराटनगर, नारायणगढ, पोखरा, सुर्खेत र नेपालगञ्जमा छन् भने १५ एकाइ कार्यालय छन् । विभागले मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित सुर्खेत, पाल्पा र उदयपुरमा अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया थालेको छ । मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभागले आगामी फागुनमा मौसम मापन गर्ने मौसमी बेलुन उडाउने तयारी गरेको छ । यसबाट विश्वको मौसम पूर्वानुमानलाई नेपालको तथ्यांक पनि प्रयोग गरेर सही मौसम पूर्वानुमान गरिनेछ । रासस
हिमालयन बैंकद्धारा पाटन दरवार क्षेत्रको पुनर्निर्माणमा १ करोड सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्रष्टलाई सो मात्राको सहयोग प्रदान गरेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रन्जितकारलाई ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरेका हुन् ।
५० प्रतिशत हकप्रद पछि फष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५० प्रतिशत हकप्रद सेयर पछि यस फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ।
सगरमाथा सेक्यूरीटीजकोे सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबारदेखि तीन दिन सगरमाथा सेक्यूरीटीज प्राइभेट लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरीटीजकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरीटीजको कारोबार खुला हुने छ ।
सेयर बजार घटेका बेला राम्रो प्रतिफल दिने म्युचअल फण्डमा पनि लगानीकर्ताको आकर्षण कम
काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब रुपैयाँको २० करोड इकाई म्युचअल फण्ड बिक्री नभएपछि म्याद थप गरेका छन् । दुबै बैंकको म्युचअल फण्ड निष्कासनको म्याद सोमबारसम्म थियो । एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेका हुन् ।सिटिजन्सको सोमबारसम्म ६० करोड रुपैयाँको मात्र म्युचअल फण्ड खरिदका लागि १४ हजार आवेदन परेको छ । यस्तै एनआईसी एसियाको यही हारहारीमा आवेदन परेको एनआईसी एसिया क्यापिटल लिमिटडले जनाएको छ । राम्रो प्रतिफल दिने भएपनि म्युचअल फण्डमा लगानीकर्ताको आकर्षण कम देखिएको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “ आकर्षक प्रतिफल हुदाहुदै खरिद नहुदा हामी अचम्म परेका छौ” उनले भने “निर्धारित समयमा पुरै बिक्री नभएपछि आउदो १७ गतेसम्म म्याद थप गरेका छौ ।” यस्तै एनआईसी क्यापिटलका सीईओ जनकराज ढुङेलले पनि म्युचअल फण्ड पुरै बिक्री नभएकाले म्याद थप गरिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले २१ गतेसम्म समय थपेको बताए । राम्रो प्रतिफल दिने भएपनि लगानीकर्ताको आकर्षण कम देखिएको उनले स्वीकारे । यसअघि सानिमा बैंक र सिद्धार्थ बैंकले निष्कासन गरेको म्युचअल फण्ड पनि लगानीकर्ताको चासो कम देखिएको थियो । सिटिजन्स र एनआईसी दुबै म्युचअल फण्डको अवधि ७ वर्ष छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्सले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ । ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएलले गरेका छन् । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ । सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ । यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ ।
अब घरमै बसेर आइपीओ, हकप्रद र एफपीओ भर्न सकिने
काठमाडौं । अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आजबाटै सि आश्वा प्रणाली अनिवार्य गरेर प्राथमिक निष्काशनकाे अावेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको हो । सिडिएसले सार्वजनिक सूचना प्रकाशित गरेर भनेको छ–यसै मितिबाट पूर्ण रुपमा लागू गरिएको व्यहोरा सम्पूर्ण बैंक तथा वित्तिय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्रि प्रबन्ध, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइन्छ ।’ हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सिडिएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ । सिडिएसका प्रवक्ता सुरेश न्यौपानको अनुसार अब ७७ वटै जिल्लाबाट सि आश्वा मार्फत घरमै बसेर सेयर आवेदन दिन सकिनेछ । लगानी कर्ताले आफ्नो बैंक खाता र डिम्याट खातालाई सम्बन्धीत बैंक मार्फत मिलान गराउनुपर्नेछ । त्यसपछि बैंकले लगानीकर्तालाई सि आश्वा रजिष्ट्रेशन नम्बर(सिआरएन) उपलब्ध गराउनेछ । सोही नम्बरका आधारमा लगानीकर्ताले आइपीओ, हकप्रद र एफपीओमा घरबाटै आवेदन दिन सक्नेछन् ।
लुम्बिनी विकास बैंकको नाफा १४ करोड ३७ लाख
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी विकास बैंकको नाफा सामान्य वृद्धि भएको छ । गत पुससम्म बैंकले १४ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ११ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार वित्तीय अवस्था सन्तोषजनक रहेको देखाएको छ । गत पुसम्म बैंकको खराब कर्जा साढे २ प्रतिशत रहेको छ । निक्षेप लागत ८.७९, सीडी रेसियो ७७, आधार ब्याजदर १२.३६ र स्प्रेड दर ३.८५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १९ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा निक्षेप १५ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको बैंकले जनाएको छ । गत पुससम्म बैंकले १७ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी १३ अर्ब २१ करोड रुपैयाँ थियो । हालसम्म बैंकको संचित कोषमा १ अर्ब १ करोड रुपैयाँ वचत छ । चुक्तापुँजी २ अर्ब रुपैयाँ छ ।