विकासन्युज

बढी बिजुली चोरी बाराको कलैया र कम काठमाडौंमा, यी हुन् बढी बिजुली चोरी हुने क्षेत्र

काठमाडौं । सबैभन्दा बढी बिजुली चोरी बाराको कलैयामा हुने गरेको पाइएको छ । कलैयामा कुल आपूर्तिको ५४.३८ प्रतिशत बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तयार पारेको नयाँ चुहावट प्रतिवेदनले देखाएको छ । सबैभन्दा कम बिजुली चोरी काठमाडौको रत्नपार्क वितरण केन्द्रमा देखिएको छ । रत्नपार्क वितरण केन्द्रमा बिजुली चुहावट १.२२ प्रतिशत मात्र छ । कलैया वितरण केन्द्रमा सबैभन्दा बढी चोरी देखिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले चोरी र चुहावट नियन्त्रणको अभियान थालेको उनले जानकारी दिए । अधिकारीका अनुसार यो तथ्यांक मंसिरसम्मको हो । उद्योग भएका क्षेत्रमा बढी बिजुली चोरी हुने गरेको प्राधिकरणले जनाएको छ । तराईमा सडक बत्ति दिउसो बलिरहने, हुक लगाएर चोरी हुने गरेको छ । यस्तै रौतहटको गरुडामा कुल आपूर्तिको ४७.८३ र सोही जिल्लाको चन्द्रनिगाहपुरमा ४७.२६ प्रतिशत चोरी हुने गरेको पाइएको छ । बढी बिजुली चुहावट हुनेमा तुल्सीपुर वितरण केन्द्रमा ३९.३४, रंगेली वितरण केन्द्रमा ३७.७८, सिन्धुपाल्चोकमा ३३.९०, अछाममा ३२.५०, काभ्रेमा ३२.३३, इलाममा २८.१५, गुलरियामा २६.६६, बेल्बारीमा २४.२५, दमकमा २१.१ र अनारमुनीमा २१.७५ प्रतिशत, महेन्द्रनगरमा २०.३० र प्युठान वितरण केन्द्रमा २०.५४ प्रतिशत चुहावट हुने गरेको छ । कलैया वितरण केन्द्रमा कुल ३ करोड ५५ लाख २५ हजार युनिट बिजुली आपूर्ति भएकोमा १ करोड ९३ लाख १९ हजार रुपैयाँ युनिट बिजुली चुहावट भएको छ । यस्तै गरुडा वितरण केन्द्रमा कुल ३ करोड २२ लाख ४५ हजार युनिट बिजुली आपूर्ति भएकोमा १ करोड ५४ लाख २४ हजार युनिट बिजुली चुहावट भएको छ । यस्तै चन्द्रनिगाहपुर वितरण केन्द्रमा १ करोड २३ लाख ६४ हजार आपूर्ति भएकोमा ५८ लाख ४३ हजार युनिट युनिट चुहावट भएको छ । तुल्सीपुर वितरण केन्द्रमा १ करोड २९ लाख १७ हजार युनिट आपूर्ति भएकोमा ५० लाख ८५ हजार युनिट चुहावट भएको छ । अछाम वितरण केन्द्रमा कुल १ करोड ३६ लाख ६२ हजार युनिट बिजुली आपूर्ति भएकोमा ३६ लाख ९२ हजार युनिट चोरी भएको छ । रंगेली वितरण केन्द्रमा १ करोड २६ लाख ३६ हजार युनिट बिजुली आपूर्ति भएकोमा ४७ लाख ७३ हजार युनिट चुहावट भएको छ । काभ्रे वितरण केन्द्रमा २ करोड ९६ लाख ५४ हजार युनिट आपूर्ति भएकोमा ९५ लाख ८६ हजार युनिट बिजुली चुहावट भएको छ । सिन्धु वितरण केन्द्रमा ७० लाख १२ हजार युनिट बिजुली आपूर्ति भएकोमा २३ लाख ७७ हजार युनिट चुहावट भएको छ । राजधानीमा सबैभन्दा कम चुहावट भएको छ । काठमाडौंमा औसत ८ प्रतिशत मात्र चुहावट हुने गरेको छ । राजधानीको रत्नपार्क वितरण केन्द्रमा १ करोड १६ लाख ४९ हजार युनिट बिजुली आपूर्ति भएकोमा १४ लाख २० हजार युनिट मात्र चुहावट भएको छ । क्षेत्रगत रुपमा हेर्दा विराटनगर क्षेत्रिय कार्यलयमा १४.६५, जनकपुरमा ३४.३६, हेटौडामा १३.९१, काठमाडौमा ८, पोखरामा ११.५३, बुटवलमा १४.१४, नेपालगञ्जमा १५.४० र अत्तरियामा १५.२९ प्रतिशत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले गत मंसिरसम्म कुल २ अर्ब ७० करोड ४४ लाख ६७ हजार युनिट बिजुली आपूर्ति गरेकोमा ४० करोड युनिट चुहावट भएको छ । यो कुल आपूर्तिको १४.८० प्रतिशत हो । गत असारसम्म बिजुली चुहावट २२.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा घटाएर २० प्रतिशतमा झार्ने विद्युत प्राधिकरणको योजना छ । आउँदो ३ वर्षभित्र बिजुली प्रणालीमा हुने चुहावट घटाएर १५ प्रतिशत कायम गर्ने प्राधिकरणको योजना छ । वितरण प्रणालीमा हाल भइरहेको चुहावट १६.८२ प्रतिशतबाट घटाएर १३.८ प्रतिशतमा झार्ने प्राधिकरणको योजना छ । चुहावटका कारणले गर्दा मात्रै विद्युत प्राधिकरणले वार्षिक ५ अर्ब रुपैयाँ बढी नोक्सान व्यहोर्दै आएको छ ।  

अब मोबाइलमा पैसा सकिए पनि फोन काटिँदैन, टेलिकमले ल्याउँदैछ निर्ब्याजी सापटी योजना

काठमाडौं । फोन गर्दा गर्दै पैसा सकिएर फोन काटिने समस्याबाट हैरान हुनु भएको छ ? चिन्ता नगर्नुस, अब पैसा सकिएर तपाईले मोबाइलमा कुरा गर्न नपाउने दिन सकिए । किनकी नेपाल टेलिकमले अब तपाईको खातामा स्वतः पैसा राखिदिने छ, त्यो पनि निर्ब्याजी । टेलिकमले आगामी एक महिना भित्रै निर्ब्याजी सापटी योजना कार्यान्वयनमा ल्याउँदैछ । त्यसका लागि टेलिकमका प्रिपेड मोबाइल फोन प्रयोगकर्ताहरुले एक पटक सापटी योजनामा आवद्ध हुनु पर्नेछ । त्यसपछि कुनै पनि समयमा फोन गर्दा गर्दै पैसा सकिएर लाइन काटिने समस्या आउने छैन् । ‘सापटी योजनामा आवद्ध भएपछि इन्टरनेट चलाउँदा चलाउँदै र फोन गर्दा गर्दै पैसा सकिएर काटिने अवस्थाको अन्त्य हुनेछ, टेलिकमले निश्चित रकम स्वतः खातामा राखिदिनेछ’, टेलिकमका एक उच्च अधिकारीले भने । उनले त्यसरी प्राप्त हुने रकमको सिमाबारे भने छलफल भैरहेको जानकारी पनि दिए । ‘कति रकमको सापटी सुबिधा दिने भन्नेबारेमा छलफल जारी छ, केहि प्रबिधी पनि ल्याइँदैछ, आगामी एक महिनाभित्र हाम्रा उपभोक्ताले सापटी योजनाको उपयोग गर्न पाउनेछन्’, ती अधिकारीले भने । व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई निर्ब्याजी सापटी योजना तत्काल सञ्चालन गर्न निर्देशन दिएको थियो । समितिको सोही निर्णय बमोजिम कम्पनी सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

विद्युत प्राधिकरणमा ७ जना उपकार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । विद्युत प्राधिकरणको बुधबारको सञ्चालक समिति बैठकले निर्देशकहरु लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य, जगदिश्वरमान सिंह, मोहनरत्न शाक्य, हरराज न्यौपाने, हितेन्द्र देव शाक्य र अनिलराज भण्डारीलाई बढुवा गरेको हो ।  

देव: विकास बैंकले नाफा बढाउन सकेन

काठमाडौं । देव विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाउन सकेन् । चालु आवको पुससम्म बैंकले १४ करोड ६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानी १७.२३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३६.७९रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा पनि १.७० प्रतिशतबाट बढेर २.५७ प्रतिशत पुगेको छ । बैंकले २ करोड ७५ लाख प्रोभिजन गरेको छ ।

लुम्बिनी विकास बैंकको हकप्रद सेयर बिहीबारदेखि निष्कासन

काठमाडौं । लुम्बिनी विकास बैंकले चुक्तापुँजी बढाउन बिहीबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले २० करोड ८ लाख रुपैयाँको २० लाख ८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुनेछ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

सन नेपाल लाइफको साधारणसभा फागुन ४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा फागुन ४ गते हुने भएको छ । गत असोजदेखि जीवन बीमा व्यवसाय सुरु गरेको सन लाइफले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । यस्तै सञ्चालकको बैठक भक्ता, प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक स्वीकृत गर्ने प्रस्ताव सभामा पेश हुने सनले जनाएको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

नेपाल बंगलादेश बैंकको नाफा ४३ करोड मात्रै, उच्च ब्याजदरको असर नाफामा

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ४३ करोडमै सिमित भएको छ । बैंकको नाफा चालु आवको पुस मसान्त अवधीमा ११ करोडले घटेर ४३ करोडमा खुम्चिएको हो । बैंकले गत आवको सोही अवधीमा ५४ करोड नाफा कमाएको थियो । ब्याजदर वृद्धिको प्रभाव बैंकको नाफामा परेको देखिन्छ । बैंकले गत आवको पुस मसान्त अवधीमा ८४ करोड ब्याज खर्च गरेको थियो । तर चालु आवको सोही अवधीमा भने बैंकको ब्याज खर्च १ अर्ब ७२ करोड पुगेको छ । बैंकको खराब कर्जा पनि ०.९९ प्रतिशतबाट १.४७ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी पनि २७ रुपैंयाँबाट घटेर ११ रुपैंयाँमा झरेको छ ।

नेपाल एसबीआई बैंकको नाफा ९१ करोड, निष्क्रिय कर्जा न्युन

काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षका ६ महिनामा नाफा बढाएको छ ।चालु आर्थिक वर्षको पुससम्म बैंकले ९१ करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा ७५ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा एसबीआईले १६ करोड रुपैयाँ बढी नाफा गरेको छ । बैंकले बिहीबार चालु आवको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै निक्रिय कर्जा ०.१३ प्रतिशत मात्र रहेको जानकारी दिएको छ । निक्षेप लागत ५.१४, सीडी रेसियो ७७, आधार ब्याजदर ९.५० प्रतिशत भएको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ८५ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ७७ अर्ब ५९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएर ७१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ५९ अर्ब ७७ करोड रुपैयाँ थियो । पुससम्म बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यस्तै संचित कोषमा ३ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।