भजन घर निर्माणका लागि तत्काल २० लाख रूपैयाँ दिइने
काठमाडौं । पुरातत्व विभागले काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू ज्ञानमाला भजन घर निर्माणका लागि तत्काल २० लाख रुपैयाँ दिने भएको छ । गत पुस २८ गते राति भएको आगलागीका कारण क्षति भएको उक्त घरको स्वरूप नमासिने गरी निर्माण गर्न सो रकम उपलब्ध गराउने र नपुग रकम अर्को वर्ष थप गर्ने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । दोस्रो चौमासिक पनि सम्पन्न हुन लागेकाले विभागले अहिले नै उक्त शीर्षकमा धेरै रकम खर्च गर्न नसकेको हो । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भइ हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भई करिब रु ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले शाक्यमुनि गौतमबुद्धले दिएका उपदेशलाई साँगितीक रूपमा प्रस्तुत गरीे संस्कृतिको शुरुवात गरिएको ऐतिहासिक भजन घर चाँडो निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई संग्रह गरी तीन भागमा विभाजन गरी त्रिपिटकको विकास गरिएको थियो । पछिल्लो समयमा यिनै ज्ञानलाई गीतका भावमा भजन बनाएर स्रोतालाई सुनाउन विकास गरिएको पद्धतिलाई ज्ञानमाला भनिन्छ । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले बौद्ध शिक्षाको प्रवद्र्धनमा सहयोग पुर्याएको छ । विसं १९९४ मा स्वयम्भू महाचैत्यबाट भिक्षु तथा उपासकले बुद्ध वचनका विभिन्न आयामलाई समेटेर शिक्षा दिने उद्देश्य राखेर ज्ञानमाला भजनको विकास भएको इतिहास छ । बुद्धले अनुभव गरेका विषयवस्तु तथा ज्ञानका आधारमा विकास भएका, त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषय उक्त भजनमा समावेश गरिएको छ । बौद्ध साहित्यमा ज्ञानमाला भजनको ठूलो महत्व भए पनि यसलाई फैलाउन सकिएको छैन । कामपा–१५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले त्यस क्षेत्रमा देश विदेशबाट आउने भक्तजनको संख्या दिन प्रतिदिन बढ्दै गएकाले पनि जीर्ण रहेका सम्पदास्थलको मर्मत तथा सम्भार छिट्टै गर्न आवश्यक रहेको बताए । विशेषगरी हिन्दू तथा बौद्धले आस्था राख्ने उक्त क्षेत्रमा रहेका सम्पदास्थल पुनःनिर्माण तथा मर्मतका लागि सरोकार पक्षले राम्रोसँग देखाएमा खर्चको अभाव नहुने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न दातृ संघ संस्थाका प्रतिनिधिसंग सहयोगका लागि आग्रह गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भएको थियो । चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेको छ । प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि विभाग र महासमितिले समेत अध्ययन गरिरहेको छ । रासस
उपत्यकाका पाँच सय भूकम्पपीडितलाई काठ उपलब्ध, सबैभन्दा बढी भक्तपुरमा
काठमाडौं । द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले उपत्यकाका ४८६ भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पबाट भत्केको घरको पुनःनिर्माण गर्न पुस मसान्तसम्म पीडित परिवारलाई सहुलियत दरमा काठ उपलब्ध गराएको हो । भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माण गर्न चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै कर्पोरेशनले २०७४ जेठ २९ देखि काठ उपलब्ध गराउँदै आएकामा काठमाडौंमा १४७, भक्तपुरमा २६६ र ललितपुरमा ७३ छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौंमा सात हजार २५९, भक्तपुरमा १२ हजार ९९० र ललितपुरमा तीन हजार ४५४ क्यूफिट काठ उपलब्ध गराएको जानकारी दिएका छन् । कर्पोरेशनले एक परिवारलाई अधिकतम ५० क्यूफिटसम्म सहुलियत दरमा काठ उपलब्ध गराउँछ । सहुलियत दरको मूल्य प्रतिक्यूफिट दुई हजार ७४० पर्छ । कर्पोरेशनले सहुलियत नदिँदा रु तीन हजार ५०० मा काठ बिक्री वितरण हुँदै आएको छ । काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपूर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ । रासस
सेयर बजार ९ अंकले उकालो, विकास बैंक र अन्य बाहेक सबै समूह हरिया
काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो । बुधबारकाे बजारमा कुल २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियाे । कुल १५९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा ६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमामाई हाइड्रोपावरको ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबार रकमका आधारमा पनि सानिमामाई हाइड्रो नै अग्रस्थानमा रहेको छ । बिहीबार यस हाइड्रो एक करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बजारमा १० वटा समूहको कारोबार भएको छ । सो मध्ये विकास बैंक र अन्य समूहको सूचक सामान्य अंकले राताम्मे भएका छन् भने बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ३०, होटल २७ र माइक्रोफाइनान्स समूह २२ अंकले उकालो लागेका छन् । त्यसैगरी, सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ३.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।
नबिल फाउण्डेसनद्धारा दोलखाको विद्यालयलाई कम्प्युटर वितरण
काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दोलखाको मेलुङ स्थित श्री कालिका नमुना माध्यमिक विद्यालयलाई २ थान नयाँ कम्प्युटर वितरण गरेको छ । नबिल बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सन्तोष भट्टराईले सो कम्प्युटरहरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामभरत तामाङलाई हस्तान्तरण गरेका छन् । सो विद्यालयमा दलित, जनजाती तथा कमजोर आर्थिक अवस्था रहेका विद्यार्थीहरु समेत अध्ययनरत छन् । नबिल फाउण्डेसनले विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुर्याएकोमा कालिका नमुना माध्यमिक विद्यालय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेको थियो । सो अवसरमा शाखा प्रबन्धक भट्टराईले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएकोमा खुसी व्यक्त गरेका छन् ।
युनाइटेड सिमेन्ट्सद्धारा धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । यस सिमेन्ट्सले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग प्रदान गरेको हो । साथै, सोही कार्यक्रममा युनाइटेड सिमेन्ट्सले एम्बुलेन्स सञ्चालनको निमित्त एक लाख एक हजार रुपैयाँपनि हस्तान्तरण गरेको छ । युनाइटेड सिमेन्ट्सको यो सहयोगले सो स्थानका बिरामीले समयमै उपचार प्राप्त गरी अकालमा ज्यान गुमाउनु नपर्ने हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, यस युनाइटेड सिमेन्टले विगतमा पनि समाज प्रतिको उत्तरदायित्वलाई पुरा गर्ने हेतुले विभिन्न कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
सुरु भयो क्यान इन्फोटेक एक्स्पो, सञ्चारमन्त्री बस्नेतले गरे उद्घाटन
काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डमा यस वर्षको २४ औं ‘सुविसु क्यान इन्फोटेक एक्स्पो २०१८’ सुरु भएको छ । आज (बिहीबार) सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक्स्पोको उद्घाटन गरेका थिए । उनले एक्स्पो उद्घाटनको क्रममा सूचना प्रविधिको विकासविन देशको विकास सम्भव नहुने बताए । मुलुकको विकास गर्न सूचना तथा प्रविधि क्षेत्रको ठूलो महत्व रहने उनको भनाइ छ । ‘सूचना तथा सञ्चार प्रविधिको विकास गर्न सरकारले के गर्न पर्ने हो, त्यसको निम्ति सहयोग गर्नेछ,’ उनले भने ‘सरकारले विद्यार्थीहरुमाझ सूचना प्रविधि पुर्याउन ईलाइब्रेरीको स्थापना गर्ने तयारी गरिरहेको छ ।’ उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थित थियो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार क्षेत्रको पछिल्लो नयाँ प्रबिधिहरु एकै छानामूनि राखिएको छ । आयोजनका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेको छ । ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलह १० गरी जम्मा २२२ स्टल राखिएको छ । त्यस्तै हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीसी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स लगायको प्रदर्शनी रहेका छन् । आयोजकले सर्वसाधारणको प्रवेश शुल्क रु १००, विद्याथीको लागि ५० रुपैयाँ तोकेको छ । टिकटको अनलाईन खरीदमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ। प्रदर्शनी माघ १६ गतेसम्म चल्ने आयोजकले बताएको छ ।
बैंकहरु पुगे सीसीडी रेसियोको डिलमा, कर्जा दिन नसक्ने
काठमाडौं । वाणिज्य बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७८ प्रतिशत बढी रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ७ बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बंगलादेश बैंकको सीसीडी रेसियो ७९.१३ प्रतिशत पुगेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ । यस्तै नेपाल एसबीआई बैंकको ७७.३, मेगा बैंकको ७९.३७, लक्ष्मी बैंकको ७७.९३, सिटिजन्स बैंकको ७७.४, सानिमा बैंकको ७८.९९ र सिद्धार्थ बैंकको ७८.३३ प्रतिशत सीसीडी रेसियो पुगेको छ । निक्षेप नबढाइ थप कर्जा लगानी गरेमा वा ठुलो निक्षेप बाहिरिएमा बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्ने देखिएको छ । सबै बैंकले अहिले सीसीडी रेसियोको डिलमा पुगेको वित्तीय प्रतिवेदनले देखाएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकसंग पर्याप्त तरलता रहेको छ । बैंकले थप लगानी गर्ने अवस्था नरहेको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बताउछन् । “निक्षेप नबढाइ कर्जा लगानी गर्न नसक्ने अवस्थामा बैंक पुगेका छन्” उनले भने । विस्तारै निक्षेप पनि बढ्दै गएकाले लगानीयोग्य पुँजीको समस्या हट्दै जाने संकेत देखिएको उनी बताउँछन् । यस्तै, माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ पनि कर्जा लगानी गर्न नसकेको बताउछन् । निक्षेप परिचालन नबढेकाले थप कर्जा लगानी गर्न नसकिएको उनको भनाई छ । बैंकले लगानी गर्न नसकेको सानिमाका सीईओ भुवनकुमार दाहाल बताउछन् । सीसीडी रेसियोको डिलमा रहेको उनको भनाई छ । बजारमा कर्जाको माग अत्याधिक रहेकाले माग अनुसार दिन नसकेको दाहालको भनाई छ । एक महिनाको अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तै, अन्तर बैंक ब्याजदर बढेर ४.७ प्रतिशत पुगेको छ । एक साताअघि ३ प्रतिशतको हाराहारीमा रहेको अन्तर बैंक ब्याजदर बढेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल भएपछि राष्ट्र बैंकले डेढ महिनादेखि रिपोमार्फत बजारमा पैसा पठाउन पाएको छैन । बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि यसको असर सेयर बजारमा परेको छ । बैंकबाट ऋण लिएर ठुलो परिमाणमा सेयर किन्ने समूह चर्को ब्याजदरका कारण बजारबाट बाहिरिएको लगानीकर्ताको भनाई छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउदै छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितो लिएर बजारमा थप पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब रुपैयाँमा झरेपछि बिहीबार पैसा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो । यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइँदैन । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैंक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए ।
एनआईबिएल क्यापिटलले निशुल्क एसएमएस सेवा प्रदान गर्ने
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार(खरिद/बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । यस क्यापिटलले हालसम्म १ लाख १४,९०० आफ्ना ग्राहकवर्गहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।